एनएमबि बैंकको नयाँ अटो लोन योजना : ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउँदो चाडपर्वलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र सञ्चालन गर्ने जनाएको छ । साथै, आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ । इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि यो अफर विशेष अवसर हुने बैंकको दाबी छ । वातावरण मैत्री सवारी प्रयोगलाई प्रोत्साहन गर्दै दिगो तथा हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य एनएमबि बैंकले लिएको जनाएको छ । यस अफरबारे थप जानकारी नजिकको शाखा वा नाडा अटो शोमा रहेको बैंकको स्टल नं. इ–२४ मा सम्पर्क गरेर लिन सकिनेछ ।

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र स्काइ ब्रोडब्याण्ड प्रालिबीच सम्झौता भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्डको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा १ हजार ५०० छुट प्राप्त गर्न सक्नेछन् ।  बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १ हजार ५०० रुपैयाँ छुट प्राप्त गर्ने जनाइएको छ । यस सुविधाको उपभोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।  स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले ग्राहकलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।   

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् ।  सञ्चालक समितिको आइतबार बसेको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । पौडेललाई आजैबाट लागू हुने गरी नियुक्त गरिएको हो । बैंक तथा वित्तीय क्षेत्रमा पौडेलको लामो अनुभव रहेको छ ।