वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ६० अर्ब खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि अन्तर बैंक ब्याजदर थप घट्न नदिन केन्द्रीय बैंकले उक्त कदम चाल्न लागेको हो । राष्ट्र बैंकले ३१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ माग गरेको छ । यस प्रक्रियाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो तरलताको अवस्थालाई ध्यानमा राखी बढी भएको मात्र रकम केन्द्रीय बैंकमा जम्मा गर्नेछन् । राष्ट्र बैंकका अनुसार आइतबार मात्रै बैंक तथा वित्तीय संस्थाले राखेको करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप परिपक्व हुने भएकाले सो रकम व्यवस्थापन गर्न निक्षेप संकलन जारी गरिएको हो । गत शुक्रबारसम्ममा वित्तीय प्रणालीमा करिब ६० अर्ब रुपैयाँ बढी तरलता रहेको र हाल करिब साढे ६ खर्ब बराबरको तरलता राष्ट्र बैंकमा रहेको जानकारी समेत दिइएको छ ।
अब सुन आयात गर्दा ५ लाख डलरसम्मको सटही सुविधा, यस्तो छ नयाँ नियम
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट सुनचाँदी आयात गर्दा ५ लाख डलरसम्मको सटही सुविधा दिने भएको छ । आइतबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त निकायलाई परिपत्र जारी गर्दै सटही सुविधाको सीमा बढाएको हो । सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवत्त्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ,’ राष्ट्र बैंकले भनेको छ । यसअघि तीन लाख डलरको सीमा थियो । अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, चांदीको गरगहना/कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई विभिन्न व्यवस्था गर्दै सटही सुविधा प्रदान गर्न सकिने उल्लेख गरेको छ । राष्ट्र बैंकले निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, बुंदा (१) को कागजातमा उल्लिखित मूल्य सम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि यस खण्डमा उल्लिखित चाँदी आयातमा भुक्तानीको सीमा लागू नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ यस्तै, सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नु पर्ने व्यवस्था गरेको छ । सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनु पर्ने व्यवस्था गरिएको छ ।
नारायणी डेभलपमेन्ट बैंकका सीईओ विष्णु रेग्मीले दिए राजीनामा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णु रेग्मीले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य कारण देखाउँदै रेग्मीले पद त्याग गरेका हुन् । उनको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । रेग्मीलाई २०८० भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको थियो । सञ्चालक समितिको बैठकले बैंकका वरिष्ठ कार्यकारी अधिकृत कृष्ण दवाडीलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।