काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ ।
कम्पनी सचिव डण्डपानी ढकालका अनुसार दुवै संस्थालाई प्राप्ति गर्ने गरी बैंकले दुवै संस्थासँग प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौतासँगै एकआपसमा प्राप्ति गर्ने सहमति भएको बैंकले जनाएको छ ।
प्राप्ति प्रक्रियाका लागि आवश्यक नियामकीय प्रक्रिया अघि बढाउने क्रममा मुक्तिनाथ विकास बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई पत्र पठाउँदै आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट जारी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गर्न अनुरोध गरिएको बैंकका कम्पनी सचिव डण्डपानी ढकालले जानकारी दिए ।
जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गरेपछि मुक्तिनाथ विकास बैंकको व्यवसायिक आकार तथा शाखा सञ्जाल थप विस्तार हुने अपेक्षा गरिएको छ । यद्यपि प्राप्ति प्रक्रिया पूरा हुन सम्बन्धित नियामक निकायको स्वीकृति तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।