व्यापारीले नैतिकता देखाएकाे भए आयातमा कडाइ आवश्यक थिएन : मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले व्यापारीले अर्थतन्त्र सुधारमा नैतिकता देखाएको भए आयातमा कडाइ आवश्यक नभएको बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले उद्योगी व्यवसायीले नैतिकता नदेखाएकै कारण राष्ट्र बैंक आयातमा कडाइ गर्न बाध्य भएको बताएका हुन् । उनले व्यापारीहर”ले अर्थतन्त्रको सुधारका लागि नैतिकता नदेखाएकै कारण आयातमा कडाइ गर्नुपर्ने अवस्थता सिर्जना भएको बताएका हुन् । ‘अल्पकालका लागि आयात रोक्नुको विकल्प थिएन तर, दीर्घकालका लागि भने निर्यात बढाउनैपर्छ,’ उनले भने । यस्तै, उनले कर्जा जीडीपीको तुलनामा बढी भएकाले अर्थतन्त्रमा समस्या देखिएको पनि बताए ।
महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालय सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाद्वारा अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मावि चमडालाई ह्वाइट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठनमा सहजताका लागि ७ थान ह्वाइट बोर्ड तथा एक हजार लिटर क्षमता भएको एक थान पानी ट्याङ्की हस्तान्तरण गरिएको हो । बैंकले प्रदेश १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कूल १०३ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डरमा रवि लामिछाने
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा पत्रकार रवि लामिछानेलाई नियुक्त गरेको छ । सोमबार काठमाडौंस्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको घोषणा गरिएको थियो । बैंकका ब्राण्ड एम्बास्डर रवि लामिछानेले बैंकको पारिश्रमिकबापत पाउने पारिश्रमिकको केही रकम शिक्षाको पहुँचबाट टाढा रहेको समुदायलाई दिने बताएका छन् । त्यस्तै बैंकले नेपालको गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौतासमेत नवीकरण गरेको छ ।