म्यानको अध्यक्ष बने उपेन्द्र पौडेल, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडाैं । नेपाल व्यवस्थापन संघ (म्यान) को नयाँ अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । उनले ३६४ मत पाएका छन् । कार्यसमितिमा पौडेल पक्षीय सदस्य बढी निर्वाचित भएपछि उनी स्वतः अध्यक्ष बनेका छन् । अध्यक्षका लागि रमण नेपालकाे पनि दावी थियाे । शनिबार सम्पन्न निर्वाचनबाट व्यक्तिगत तर्फ कार्यसमिति सदस्यमा बिजयी हुनेहरूमा म्यानका सदस्य मोहन राज ओझा, मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेल, राष्ट्रिय बाणिज्य बैंकका तत्कालीन सीईओ कृष्ण प्रसाद शर्मा, नबिल बैंककी स्वतन्त्र संचालक आशा राना अधिकारी, व्यवसायी अश्मी राना, मिलन गुरुङ, इन्द्र कुमार श्रेष्ठ, मनिष झा, अनु जोशी (श्रेष्ठ), हेम कुमारी अधिकारी रहेका छन् । कार्यसमितिमा व्यक्तिगत सदस्यबाट ११ जना र संस्थागत सदस्यबाट ६ जना निर्वाचित हुने प्रावधान रहेको छ। उता संस्थापक तर्फबाट कार्यसमिति सदस्यमा विजयी हुनेहरूमा नबिल बैंकबाट मनोज ज्ञवाली, कर्मचारी संचय कोषबाट जितेन्द्र धिताल, शिवम सिमेन्टबाट सुरेन्द्र कुमार गोयल, सनराइज बैंकबाट सीईओ सुमन शर्मा, राष्ट्रिय बाणिज्य बैंकबाट कविराज अधिकारी, नेपाल बैंक लिमिटेडबाट कृष्णबहादुर अधिकारी निर्वाचित भएका छन्।
गभर्नर बर्खास्त गर्ने काँग्रेसको दोस्रो प्रयास, दुई अर्थमन्त्री माओवादीका
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको हो । मन्त्रिपरिषद् बैठकले बिहीबार नै निलम्बन गर्ने निर्णय गरेपनि सो विषय भने बिहीबार राति मात्रै बाहिरियो । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा गरिएको व्यवस्था अनुसार सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेकाे हो । नेपाल राष्ट्र बैंक एक स्वायक्त निकाय हो । सरकार वा मातहतका निकायले राष्ट्र बैंकमाथि प्रत्यक्ष रुपमा हस्तक्षेप गर्न मिल्दैन । गभर्नरलाई निलम्बन गरेको यो पहिलो घटना भने होइन । नेपालमा नेपाली काँग्रेसकै सरकारले योसहित दुई पटक राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गरिसकेको छ भने एक पटक माओवादी केन्द्रको सरकारले गभर्नरलाई निलम्बन गरेको छ । माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका बाबुराम भट्टराईले पनि गभर्नर निलम्बन गरेका थिए । नेपालसम्म नेपाल राष्ट्र बैंकका तीन जना गभर्नर सरकारको निलम्बनमा परिसकेका छन् । राष्ट्र बैंकले अहिलेसम्म १७ जना गभर्नर पाइसकेकाे छ । सरकारको निलम्बनमा पर्ने गभर्नरहरुमध्ये डा. तिलक बहादुर रावल, विजयनाथ भट्टराई र हालका महाप्रसाद अधिकारी हुन् । रावल र भट्टराई राष्ट्र बैंकमा आर्थिक अनियमितता गरेको भन्दै निलम्बनमा परेका थिए भने हालका गभर्नर अधिकारी सरकारलाई साथ नदिएको भन्दै निलम्बनमा परे । सुरुमा निलम्बनमा परेका गभर्नर हुन् डा.तिलक बहादुर रावल । उनले नेपाल राष्ट्र बैंकमा वि.स २०५६ माघ ४ गतेदेखि २०५७ भदौ १२ गतेसम्म गभर्नरका रुपमा काम गरे । राष्ट्र बैंकका एघारौं गभर्नर रहेका उनीमाथि भ्रष्टाचारको मुद्दा लागेको थियो । त्यसकारण पनि उनी बर्खास्तीमा परे । उनी बर्खास्त भएपछि नेपाल राष्ट्र बैंकको गभर्नर बने पूर्वसचिव दिपेन्द्रपुरुष ढकाल । ढकालले ७ महिना गभर्नरको रुपमा काम गरे । त्यसपछि भ्रष्टाचारको मुद्दाबाट सफाइ पाएका रावल पुनः राष्ट्र बैंकमा फर्किए । र, पूर्वसचिव ढकाल बाहिरिए । रावलले ५ रुपैँया दरको नोटको छपाइमा साधारण त्रुटि गरेबापत डिलारु कम्पनीलाई करिब ११ करोडको थप व्ययभारमा नोट पुनः मुद्रण गराएका थिए । सोही मुद्दा लागेका उनले पछि सफाइ पाएर निरन्तर ४ वर्ष गभर्नरको रुपमा काम गरे । त्यतिखेर नेपाली काँग्रेसका नेता महेश आचार्य अर्थमन्त्री थिए । नेपाल सरकारको निलम्बनमा परेका अर्का गभर्नर हुन् विजयनाथ भट्टराई । भट्टराई नेपाल राष्ट्र बैंकका १३औँ गभर्नर तथा गणतान्त्रिक नेपालका पहिलो गभर्नर पनि हुन् । उनी वि.स २०६१ पुस २१ गतेदेखि २०६५ माघ १६ गतेसम्म गभर्नर बनेका थिए । उनी पनि भ्रष्टाचारको आरोप लागेर सरकारको निलम्बनमा परेका हुन् । निलम्बनपछि उनको दोष नदेखाएपछि उनको पनि पुनर्बहाली भयो । निलम्बन हुँदा सरकारले दिपेन्द्र बहादुर श्रेत्रीलाई गभर्नरको जिम्मेवारी दिएको थियो । यस्तै, अहिले पनि गभर्नर अधिकारी निलम्बनमा परेका छन् । यतिबेला पनि नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धन सरकार छ । संयोग त केछ भने हालसम्म निलम्बनमा परेका तीन गभर्नरमाध्ये दुई पटक नेपाली काँग्रेसको सरकारले निलम्बन गरेकाे छ भने दुई पटककाे निलम्बनमा माओवादी केन्द्रका अर्थमन्त्री रहेका छन् । रावललाई निलम्बन गर्ने तत्कालिन अर्थमन्त्री नेपाली काँग्रेसका नेता महेश आचार्य, विजयनाथ भट्टराईलाई निलम्बन गर्ने माओवादी केन्द्रका तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराई (हाल जनता समाजवादीका नेता) र महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने माओवादी केन्द्रकै नेता जनार्दन शर्मा रहेका हुन् । गभर्नर निलम्बन गर्ने दुई पटक नेपाली काँग्रेस र एक पटक माओवादी केन्द्र देखिएपनि अर्थमन्त्री भने दुई पटक माओवादी केन्द्र र पटक नेपाली काँग्रेस देखिएको छ । यो बिचमा विभिन्न राजनीतिक दलको सरकारले गभर्नरलाई निलम्बन गर्न खोजेपनि सफल भने भएको हुन सकेन । गभर्नर अधिकारी २०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए । ५ वर्षे गभर्नरको कार्यकालमा उनी २ वर्ष पुरा नहुँदै निलम्बनमा परेका छन् । उनलाई तत्कालिन अर्थमन्त्री युवराज खतिवडाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको थियो । सरकारको निलम्बन र नजिर सरकारले यसअघि दुई पटक गभर्नरलाई निलम्बन गरिसकेकको छ । निलम्बनमा परेका दुवै गभर्नरको पुर्नबहाली पनि भयो । यसले पनि एक किसिमको नजिर स्थापित गरेको छ । नेपाली काँग्रेसबाट तत्कालिन अर्थमन्त्री महेश आचार्यलाई भ्रष्टाचारको मुद्दामा डा. तिलक रावललाई निलम्बन गरे । तर, उनी निर्दोष सावित भए र राष्ट्र बैंकमा पुनः फर्किए । उनी निलम्बन पर्दा सरकारले पूर्वसचिव दीपेन्द्रपुरुष ढकाललाई गभर्नरमा नियुक्त गरेको थियो । पछि सर्वोच्च अदालतले रावलकै पक्षमा फैसला गरेपछि ढकाल राष्ट्र बैंकबाट बाहिरिए । माओवादी केन्द्रका सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराइले गभर्नर विजयनाथ भट्टराईलाई निलम्बन गरेपनि पछि सर्वोच्च अदालतले भट्टराईकै पक्षमा फैसला सुनायो र उनको पुर्नबहाली भयो । यी दुई नजिरले पनि गभर्नर महाप्रसाद अधिकारीको निलम्बन कमजोर बन्न सक्ने कानुनी आधार छ । उनले सरकारलाई असहयोग गरेको तथा आर्थिक अवस्था धरासायी बनाउन भूमिका खेलेको भन्दै सरकारले निलम्बन गरेको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री गभर्नर निलम्बन गर्नु राम्रो अभ्यास नभएको र यसले देशमा अस्थिरता निम्तन सहयोग पुग्ने टिप्पणाी गर्छन् । ‘उसाे त अहिले देशको अर्थतन्त्र सही अवस्थामा छैन, यही अवस्थामा गभर्नरलाई निलम्बन गरेर सरकारले राम्रो गरेन, यसले राम्रो नजिर बसाल्दैन, स्वायक्त निकायमाथि सरकारको प्रत्यक्ष हस्तक्षेप भएको ठहरिन्छ, अस्थिरता बढ्छ,’ उनले भने । यस्तै, उनले गभर्नर निलम्बन सम्बन्धि कानुन पहिले र अहिले फरक भएकोले सरकारले आफ्नो अधिकार प्रयोग गरेको बताए । ‘पहिले पनि सरकारले गभर्नरलाई हटाएको थियो तर, अहिले र पहिलेको कानुनमा धेरै फरक छ, सरकारले आरोप के लगाएको छ र त्यसलाई सरकारले पुष्टि गर्न सक्छ कि सक्दैन भन्ने मुख्य विषय हो, सक्यो भने गभर्नर बाहिरिनु हुन्छ, सरकारले पुष्टि गर्न सक्दैन भने उहाँको पुनर्बहाली हुन्छ,’ उनले भने ।
गभर्नर निलम्बित हुँदा विज्ञ समूह चिन्तित; सेयर, सवारी र घरजग्गा कारोबारी उत्साहित
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट निलम्बन गर्ने सरकारको निर्णयको विज्ञ समूहले विरोध गरेका छन् भने सेयर, सवारी र घरजग्गा काराेबारीले खुशी व्यक्त गरेका छन् । पूर्व मुख्यसचिव डा विमल कोइराला, पूर्व अर्थसचिव रामेश्वर खनाललगायत अर्थतन्त्र र बैकिङ प्रणालीबारे जानकारी राख्नेहरुले सरकारी निर्णय गलत भएको प्रतिकृया दिएका छन् । ‘गभर्नर महाप्रसाद अधिकारीले बिग्रदो अर्थतन्त्र मर्मत गर्न रामै सुझाव दिनु भएको थियो, सरकारले पचाएन, उहाँलाई निलम्बन गर्नु ठिक भएन’ पूर्वमूख्य सचिव, अर्थसचिव तथा नेपाल राष्ट्र बैंकको सञ्चालकसमेतको भूमिका निर्वाह गरेका डा. कोइरालाले सामाजिक सञ्चालमा लेखेका छन् । पूर्व अर्थसचिव एव अर्थविद् रामेश्वर खनालले पनि सरकारले गलत निर्णय लिएको टिप्पणी गरेका छन् । ‘सडकमा फोहोर थुप्रिएको छ, आपूर्ति प्रणाली र वित्तिय क्षेत्रमा समस्या बढ्दै गएको छ, तर सार्वजनिक संस्थाहरु क्रमशःबनाइदैछ’ उनले गर्भनर निलम्बन गर्ने सरकारी निर्णयलाई लक्षित गर्दै भनेका छन् – ‘यसैगरी निर्वाचन आयोगमाथि पनि आक्रमण भए आश्चर्य नहुने भयो ।’ पूर्वअर्थसचिव शान्तराज सुवेदीले पनि सरकारको निर्णयलाई दुर्भाग्यपूर्ण भनेका छन् । ‘गभर्नर महाप्रसाद अधिकारीको निलम्बन अत्यन्तै दुर्भाग्यपूर्ण, सरकारले गर्नै नहुने काम गर्यो ।’ बैंकर्सहरुले पनि गभर्नर अधिकारीको निलम्बनलाई गलत भन्ने धारणा व्यक्त गरेका छन् । बहालवाला बैंकर्सहरुले पदीय सीमाका कारण खुलेर विरोध गरेका छैनन् । तर गभर्नर निलम्बन गलत भएको बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेलले पुरानो नजिर सम्झाउदै डा. तिलक रावल भर्सेस महेश आचार्यको पुनारावृति भएको टिप्पणी गरेका छन् । ‘नतिजा के भयो, नजिर हेरम् । हामी केही जाने सुनेका मान्छे हजूर (गभर्नर महाप्रसाद)को पक्षमा छौं ।’ पूर्व बैंकर्स अजय मिश्रले गलत समयमा गभर्नरको निलम्बन भएको भन्दै सरकारले अपरिपक्वता देखाएको बताएका छन् । त्यस्तै पूर्व बैंकर्स परशुराम कुँवर क्षेत्रीले सरकारी निर्णयलाई केटाकेटीले निर्णयसँग तुलना गरेका छन् । त्यस्तै, पत्रकार तुला अधिकारीले ‘अर्थमन्त्री हुत्तिनु पर्ने, गभर्नर पो हुत्याइछन् त’ भनेर आश्चर्य व्यक्त गरेका छन् । पत्रकार रामप्रसाद दाहालले भने गभर्नर निलम्बलनलाई स्वभाविक भन्दै अब अर्थमन्त्री निलम्बनमा परुन् भावना प्रकट गरेका छन् । ‘अर्थतन्त्र नबुझेका अर्थमन्त्री जनार्दन र चाहिने भन्दा बढी बुझेका गभर्नर महाप्रसादको जुँगाको लडाईमा अर्थमन्त्रीले गभर्नरलाई आज पेनाल्टी सुटआउट गरेछन् । वा… कति रमाइलो’ केदार खड्काले ब्यङ्ग गरेका छन् । ‘अर्थमन्त्री शर्माले तानसेन आक्रमण शैलीमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आक्रमण गरे । जसरी गरे पनि आक्रमण गर्ने बानी चाँही बिर्सेका छैनन्’ फेसबुकमा देविड भण्डारीले लेखेका छन् । यता सेयर, घरजग्गा र अटोमोवाइल क्षेत्रका कारोबारीहरुले भने गभर्नर निलम्बन गर्ने सरकारी निर्णयको तारिफ गरेका छन् । सेयर बजारका विभिन्न लगानीकर्ता संगठनका प्रतिनिधिहरुले ‘जे भयो ठिकै भयो’ भन्ने आशयमा सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरेका छन् । त्यस्तै, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका कार्यकारिणी सदस्य अनुप बरालले गभर्नर अधिकारी लिम्बित समाचार सामाजिक सञ्चालमा सेयर गर्दै ‘डिसिजन अफ द एयर’ अर्थात सरकारले वर्षको उत्कृष्ट निर्णय गरेको भन्ने सरकारलाई प्रणाम गरेका छन् । राष्ट्र बैंकका निर्णयहरुको विरोध गर्दै आएका नाडाका प्रतिनिधि मण्डलले गभर्नर निलम्बित भएको खबर सार्वजनिक भएको दिन बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।