राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा रक्तदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मधेश प्रादेशिक कार्यालयको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका बैंकले जनाएको छ । बैंकको मधेश प्रादेशिक कार्यालयको प्रादेशिक प्रबन्धक कमलेश ठाकुरको अध्यक्षतामा सञ्चालन भएको रक्तदान कार्यक्रममा वीरगंज, श्रीपुर शाखाका कर्मचारी तथा आम नागरिकले रक्तदान गरे । बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

एकैदिन सेञ्चुरी बैंकका तीन शाखा विस्‍तार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरूकाबीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । बैंकले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको-४ को महेन्द्रनगर बजार, कैलाली जिल्लाको लम्की नगरपालिका -१ लम्की बजारमा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका-७ को गुलरिया बजारमा सेवा प्रारम्भ गरेको हो । बैंकको हालसम्म कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

कामना सेवा विकास बैंकको आठौं शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका-२ सोतीपसलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । पौडेल इलेक्ट्रिक पसललाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी र वडाअध्यक्ष चन्द्रमणि पौडेलले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा उद्योग वाणिजय संघका अध्यक्ष ऋषी राम पुरीर मंगला माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुहरि बास्तोला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो । शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।