कृषि विकास बैंकमा सुरु भयो साताव्यापी ‘केवाईसी सचेतना सप्ताह’

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले वित्तीय अपराध न्यूनीकरण र ग्राहक सुरक्षालाई प्राथमिकता दिँदै साताव्यापी ‘ग्राहक पहिचान (केवाईसी) सचेतना सप्ताह’ सुरु गरेको छ ।

‘सही ग्राहक पहिचान, सुरक्षित बैंकिङ हाम्रो अभियान’ भन्ने नाराका साथ बैंकले भदौ ३० गतेदेखि असोज ५ गतेसम्म केवाईसी सचेतना सप्ताह सञ्चालन गर्ने भएको हो ।

अभियानको शुभारम्भ बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकका विभागीय प्रमुख तथा काठमाडौं उपत्यकाभित्रका शाखा प्रबन्धकहरूको भौतिक उपस्थिति थियो भने उपत्यकाबाहिरका शाखा प्रबन्धकहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।

कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुवेदीले आधुनिक बैंकिङ प्रणालीमा ग्राहक पहिचान विवरणको महत्वपूर्ण भूमिका रहने बताए । उनले केवाईसी विवरण समयमै अद्यावधिक गर्दा बैंकिङ प्रणालीलाई थप पारदर्शी बनाउन सहयोग पुग्नुका साथै ग्राहक पनि सम्भावित वित्तीय जोखिम तथा ठगीबाट सुरक्षित हुने बताए ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन गरिएको अभियानअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई नजिकको शाखामा पुगेर केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकले अभियान अवधिभर ग्राहकलाई सुरक्षित बैंकिङ अभ्यास अपनाउन र आफ्नो व्यक्तिगत विवरण समयमै अद्यावधिक गर्नसमेत अनुरोध गरेको छ ।

Share News