कृषि विकास बैंकका कर्मचारीले राहत कोषमा दिए १ करोड ५३ लाख रुपैयाँ

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीले १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ सहयोग गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी कर्मचारीसम्मले आफ्नो तलब तथा भत्ताबाट रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् ।

बैंकका तर्फबाट सञ्चालक समिति अध्यक्ष टंकप्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, बजार तथा बिक्री विभागका प्रमुख बीना शर्मा र जनशक्ति व्यवस्थापन विभागका प्रमुख अजय रिमालको पनि उपस्थिति थियो ।

यसअघि कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरिसकेको छ । त्यस्तै, बाढी प्रभावितका लागि १० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा राहत सामग्रीसमेत प्रत्यक्ष रूपमा वितरण गरिसकेको बैंकले जनाएको छ ।

प्राकृतिक विपद्को कठिन समयमा पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंक संस्थागत तथा कर्मचारी व्यक्तिगत रूपमा निरन्तर सहयोगमा जुटेको जनाएको छ ।

Share News