राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप उठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले १ महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भदौ ३१ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको छ । निक्षेप संकलनको अवधि ३० दिनको हुनेछ ।

राष्ट्र बैंकका अनुसार यसका लागि ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोल गर्न सक्नेछन् । बोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल ६० अर्ब रुपैयाँसम्म बोल गर्न सकिनेछ ।

निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।

बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकता दिई क्रमशः ६० अर्ब रुपैयाँसम्म बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । समान ब्याजदरमा गरिएको बोलको रकम कुल आह्वान रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँड गरिनेछ ।

राष्ट्र बैंकले स्वीकृत गरेको निक्षेपको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी छुट्टै खातामा जम्मा गरिनेछ ।

निक्षेपको साँवा तथा ब्याज २०८३ असोज ३० गते भुक्तानी गरिनेछ । भुक्तानी मितिभन्दा अगाडि उक्त रकम फिर्ता वा समयअगावै भुक्तानी नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनमा राखिएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ ।

Share News