काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा बुधबार थप एकजनाको शव फेला परेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र खोजी जारी राख्ने क्रममा उक्त शव फेला पारेको हो ।
यससँगै चिलिमेको सुरुङभित्रबाट निकालिएका मृतकको संख्या पाँच पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण चिलिमेसहितका विभिन्न जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको थियो ।
बाढीका वेला काममै खटिएका आयोजनाका कामदार तथा कर्मचारीहरू बेपत्ता भएका थिए । सुरुङभित्र मानिसहरू थुनिएको वा बाढीले बगाएर पुर्याएको आशंकामा सेना र सशस्त्र प्रहरीका ११ जना सम्मिलित विशेषज्ञ उद्धार टोली लगातार खोजी कार्यमा खटिरहेको छ ।
बाढीले पुर्याएको क्षतिका कारण आयोजनाको विद्युत् उत्पादन ठप्प हुनुका साथै उद्धार कार्यमा पनि ठूलो चुनौती थपिएको छ ।
सुरुङभित्र अझै अन्य मानिसहरू हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार टोलीले सुरक्षा सतर्कता अपनाएर खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।