विकासन्युज

क्यानडा ईयूको एसोसिएट सदस्य बने अमेरिकाले भारी शुल्क लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू) ले क्यानडालाई आफ्नो पहिलो एसोसिएट सदस्य बनाउन अघि बढे अमेरिकाले ईयूविरुद्ध कारबाही गर्न सक्ने चेतावनी दिएका छन् । ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै ईयूको कदम आफूलाई कुनै पनि हिसाबले शत्रुतापूर्ण लागे युरोपमाथि निकै भारी शुल्क लगाउने वा विभिन्न क्षेत्रमा युरोपसँगको व्यापार रोक्न सक्ने बताएका छन् । ‘यदि उनीहरूले त्यसो गर्छन् र मलाई यो कुनै पनि हिसाबले शत्रुतापूर्ण कदम हो भन्ने लाग्यो भने म युरोपमाथि निकै भारी शुल्क लगाउनेछु वा धेरै विषयमा युरोपसँगको व्यापार रोक्नेछु,’ उनले भने । उनले ईयूको कदमको उद्देश्य राम्रो भए आफूलाई कुनै समस्या नहुने पनि बताए । ‘यदि उद्देश्य राम्रो छ भने ठीक छ । तर उद्देश्य खराब छ भने हामी युरोपमाथि निकै भारी शुल्क लगाउनेछौं,’ ट्रम्पले भने । अमेरिकी राष्ट्रपतिले क्यानडा ईयूको सहयोगी सदस्य बन्न सक्ने सम्भावनालाई ‘हास्यास्पद’ भन्दै क्यानडासँगको समग्र सम्बन्धबारे पनि टिप्पणी गरेका छन् ।  ‘क्यानडासँगको पूरै विषय नै त्यस्तै छ । क्यानडा खराब व्यापारिक साझेदार रहँदै आएको छ,’ उनले भने । पछिल्ला महिनामा क्यानडा र अमेरिकाबीचको सम्बन्ध निकै बिग्रिएको छ । यहीबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघसँगको सम्बन्ध थप सुदृढ बनाउने दिशामा पहल अघि बढाइरहेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयेनले आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा क्यानडाका लागि ‘ढोका खोल्ने’ दिशामा काम गर्न चाहेको बताएकी थिइन् ।  यसअन्तर्गत विभिन्न महत्त्वपूर्ण क्षेत्रमा क्यानडा र ईयूबीच थप निकट सम्बन्ध स्थापना गर्न सकिने उनको भनाइ थियो । उनले बुधबार अमेरिकाको प्रत्यक्ष नाम नलिई भनेकी थिइन्, ‘यो कसैको विरुद्धको साझेदारी होइन, बरु हाम्रो साझा शक्तिका लागि हो ।’

एसियन पेन्ट्स नेपालको पहिलो नेपाली प्रमुख बने बराल

काठमाडौं । एसियन पेन्ट्स नेपालले दीपक बराललाई नेपाल प्रमुखको जिम्मेवारी दिएको छ । उनी कम्पनीको नेपाल बजारको नेतृत्व गर्ने पहिलो नेपाली बनेका छन् । बरालले सन् २००३ मा एसियन पेन्ट्स नेपालमा फ्रन्टलाइन कर्मचारीका रूपमा काम सुरु गरेका थिए। त्यसयता उनले बिक्री, मार्केटिङ र सेल्स एक्टिभेसनलगायत विभिन्न विभागमा काम गर्दै नेतृत्व तहसम्मको यात्रा तय गरेका हुन् । यसअघि उनी सेल्स एन्ड मार्केटिङ प्रमुखको जिम्मेवारीमा थिए । अगस्ट २०२६ सम्म उक्त पदमा काम गरेका बराललाई अहिले कम्पनीको नेपाल बजारको समग्र नेतृत्वको जिम्मेवारी दिइएको हो । कम्पनीका अनुसार नेपाल बजारको नेतृत्वमा यसअघि विदेशी नागरिकलाई जिम्मेवारी दिइँदै आएको थियो। बराल भने यो जिम्मेवारी पाउने पहिलो नेपाली बनेका छन् । दुई दशकभन्दा लामो समय एउटै संस्थामा काम गर्दै विभिन्न जिम्मेवारी सम्हालेका बरालले बीचमा केही समय अन्य कम्पनीमा पनि उच्च व्यवस्थापन तहमा काम गरेका थिए । सन् २०२४ मा उनी पुनः एसियन पेन्ट्स नेपालमा सेल्स एन्ड मार्केटिङ प्रमुखका रूपमा फर्किएका थिए । फ्रन्टलाइन कर्मचारीबाट कम्पनीको शीर्ष नेतृत्वसम्म पुगेको बरालको यात्रा नेपाली कर्पोरेट क्षेत्रमा मेहनत र निरन्तरताको उदाहरणका रूपमा हेरिएको छ ।

सिटिजन्स बैंकले सुदूरपश्चिममा गर्‍यो बजेट तथा व्यवसाय वृद्धि समीक्षा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा बजेट उपलब्धि, रणनीतिक योजना तथा व्यवसाय विस्तारबारे समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स (२०८३/८४)’ विषयक सेमिनार आयोजना गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतसहित वरिष्ठ कार्यकारीहरूको सहभागिता थियो। कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ। कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय र प्रदेश तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत अन्तरक्रिया गरिएको थियो। सुदूरपश्चिम प्रदेशका सात जिल्लामा बैंकका १० शाखा सञ्चालनमा छन्। यसअघि बैंकले बागमती, कोशी र मधेश प्रदेशमा पनि व्यवसाय विस्तार तथा रणनीतिक योजनासम्बन्धी यस्तै कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। सोही कार्यक्रमको निरन्तरताका रूपमा सुदूरपश्चिममा सेमिनार आयोजना गरिएको हो। अन्य प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ। बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकले पछिल्लो समय डिजिटल तथा लक्षित ग्राहक केन्द्रित विभिन्न सेवा पनि विस्तार गरेको जनाएको छ । फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको बैंकले ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको छ। त्यस्तै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआरमार्फत नगद प्राप्त गर्न सकिने क्रस–बैंक टेलर सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ। सिटिजन्स बैंकले हाल ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहत कमिटीलाई निर्देशन

काठमाडौं । नेकपा एमालेले असोज ३ गते मनाइने संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित भव्य रूपमा मनाउन प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूलाई निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले प्रदेश, जिल्ला र पालिका कमिटीका इन्चार्ज तथा अध्यक्षलाई पत्र पठाउँदै विगतका वर्षहरूमा झैं यस वर्ष पनि संविधान दिवसलाई उत्साहजनक रूपमा मनाउन निर्देशन दिएका हुन् । पत्रमा संविधानको रक्षाको सन्देशसहित आ-आफ्नो क्षेत्र र तहमा विभिन्न कार्यक्रम आयोजना गर्न भनिएको छ । एमालेले सोही अवसरमा प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरेको छ । महासचिव पोखरेलले संविधान दिवसलाई सफल बनाउन मातहतका सम्पूर्ण कमिटी सक्रिय हुनुपर्ने उल्लेख गरेका छन् । नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ ।

प्रधानमन्त्री राहत कोषमा गुरु रिम्पोछेले दिए डेढ करोड

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोछेले एक करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन् । गुरु रिम्पोछेले बिहीबार (आज) शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरे ।  रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिने जनाइएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापनाका लागि योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरिएको गुरु रिम्पोछेले बताए । सोही अवसरमा गुरु रिम्पोछेले आफ्नो पुस्तक ‘जोए अफ लाइफ’समेत शिक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरेका थिए ।

९ लाख ५३ हजार बिगो कायम गर्दै सरकारी साक्षीविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन पैदावारको रोयल्टी असुल नगरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका राजेन्द्र राज आचार्यविरुद्ध आरोपपत्र दायर गरेको छ । सागरनाथ वन विकास परियोजनाको व्यवस्थापनमा रहेको जग्गाबाट उत्खनन भएको वन पैदावार (नदीजन्य पदार्थ) को रोयल्टी असुल नगरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा विशाल घिमिरेसमेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा अनुसन्धानमा सहयोग गरी प्रमाण संकलन गर्न सहयोग गरेको आधारमा आचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ६६ बमोजिम सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको अख्तियारले जनाएको छ । तर, आचार्यले २०८३ भदौ १० गते विशेष अदालत काठमाडौंमा बकपत्र गर्दा आयोगका अनुसन्धान अधिकृतसमक्ष दिएको बयानको विपरीत हुने गरी बकपत्र गरेको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ । अख्तियारका अनुसार आचार्य सञ्चालक रहेको रसुवा कन्स्ट्रक्सनले बागमती नगरपालिकासँग प्रचलित कानुनभन्दा कम मूल्यमा वन पैदावार (नदीजन्य पदार्थ) खरिद गर्ने सम्झौता गरी खरिद कार्यमा संलग्न भएको देखिएको छ । त्यस्तै, सागरनाथ वन विकास परियोजना क्षेत्रमा रोयल्टी दाखिला नगरी गैरकानुनी रूपमा वन पैदावार उत्खनन गरी राजस्व चुहावट गर्ने कार्यमा मुख्य कसुरदारहरूसँग मिलेमतो गरी गैरकानुनी लाभ लिएको तथा कसुरमा सहयोग गरेको आयोगको अनुसन्धानबाट पुष्टि भएको जनाएको छ । आचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) बमोजिमको कसुरमा मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको ठहर गर्दै अख्तियारले आरोपपत्र दायर गरेको हो । आयोगले रसुवा कन्स्ट्रक्सनले बागमती नगरपालिकासँग सम्झौता गरी खरिद गरेको ३ हजार घनमिटर वन पैदावारको ९ लाख ५३ हजार ४९६ रुपैयाँ ९० पैसा बिगो कायम गरेको छ । उक्त बिगोका आधारमा मुख्य कसुरदारलाई हुने सजायलाई आधार मानी आचार्यलाई पनि मुख्य कसुरदारसरह कैद र चुहावट भएको राजस्व रकमको दोब्बर जरिबाना हुनुपर्ने मागदाबी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

दुईटै महाधिवेशन रोक्न शेखरको मध्यमार्गी प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै घोषित दुई महाधिवेशन रोक्न ‘मध्यमार्गी र विवेकपूर्ण समझदारी’ खोज्नुपर्ने प्रस्ताव अघि सारेका छन् । बिहीबार (आज) प्रेस वक्तव्य जारी गर्दै कोइरालाले सहमति र सहकार्यको बाटो खोज्न नेतृत्व तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । कोइरालाले कांग्रेसको आसन्न दुई महाधिवेशनप्रति नै आफ्नो मुख्य चिन्ता रहेको उल्लेख गरेका छन् ।  दुई अलग महाधिवेशनले पार्टीलाई थप विभाजित बनाउने र त्यसको असर नेपालको राष्ट्रियता तथा लोकतान्त्रिक आन्दोलनमा पर्न सक्ने उनको धारणा छ । ‘दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात’ रोक्नुपर्ने भन्दै उनले आफू विगतदेखि नै पार्टी एकताका लागि प्रयासरत रहेको बताएका छन् ।  कोइरालाका अनुसार अहिलेको आवश्यकता पक्ष–विपक्षमा विभाजित भएर अघि बढ्नु नभई सबैलाई स्वीकार्य हुने समझदारीको बाटो पहिल्याउनु हो । कोइरालाले कांग्रेसको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी विभाजित र दिशाहीन भएको बताएका छन् ।  उनले ‘को ठीक र को बेठीक’ भन्ने बहसमा आफू नलाग्ने स्पष्ट गर्दै पार्टीभित्रको विवादलाई व्यक्तिगत असुरक्षा, अपमान र घृणाको तहमा पु‍र्याउन नहुने पनि बताएका छन् । उनले कांग्रेसभित्रको विवादसँगै मुलुकमा देखिएको प्राकृतिक विपत्तितर्फ पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।  रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको विपत्तिबाट नागरिकले ज्यान गुमाइरहेको र परिवार तथा आफन्त गुमाएका नागरिक पीडामा रहेको अवस्थामा कांग्रेसले राजनीतिक विवादभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । पार्टीका संस्थापक नेता बीपी कोइरालालगायतको राजनीतिक तथा नैतिक विरासत स्मरण गर्दै उनले कांग्रेसले आफ्नो इतिहास र मूल्यमान्यतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । विश्व राजनीतिमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कांग्रेस थप एकताबद्ध हुनुपर्ने बताए । आफूले अघि सारेको बाटोलाई ‘मध्यमार्ग’ भनेका छन् । यो बाटो कठिन भए पनि कांग्रेसको राजनीतिक जीवनदर्शनसँग मेल खाने उनको दाबी छ । 

नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा महालक्ष्मी विकास बैंकको सहभागिता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६ मा सहभागी भएको छ । काठमाडौंको भृकुटीमण्डपमा असोज १ गतेदेखि ४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जाबारे जानकारी तथा परामर्श दिने भएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा प्रदर्शनी भइरहेको हो । बैंकले ग्राहकको आवश्यकताअनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले प्रदर्शनीमा सहभागिता जनाएको जनाएको छ । बैंकका अनुसार घर तथा जग्गा खरिद र घर निर्माण कर्जामा आकर्षक ब्याजदर उपलब्ध गराइनेछ । साथै, प्रदर्शनी अवधिमा प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ । बैंकको भदौ महिनाको आधार दर ५.६४ प्रतिशत रहेको जनाइएको छ । सो आधार दरअनुसार घर तथा जग्गा खरिद वा घर निर्माणका लागि कर्जा लिने ग्राहकले प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा लिन सक्ने बैंकले जनाएको छ । कर्जासम्बन्धी जानकारी तथा सेवा लिन चाहने ग्राहकले प्रदर्शनीमा रहेको स्टल नम्बर ७७ मा सम्पर्क गर्न सक्नेछन् । बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष अन्तर्क्रिया गरी कर्जा प्रक्रिया तथा विभिन्न बैंकिङ सुविधाबारे जानकारी र परामर्श दिनेछन् । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।