दुईटै महाधिवेशन रोक्न शेखरको मध्यमार्गी प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै घोषित दुई महाधिवेशन रोक्न ‘मध्यमार्गी र विवेकपूर्ण समझदारी’ खोज्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

बिहीबार (आज) प्रेस वक्तव्य जारी गर्दै कोइरालाले सहमति र सहकार्यको बाटो खोज्न नेतृत्व तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

कोइरालाले कांग्रेसको आसन्न दुई महाधिवेशनप्रति नै आफ्नो मुख्य चिन्ता रहेको उल्लेख गरेका छन् । 

दुई अलग महाधिवेशनले पार्टीलाई थप विभाजित बनाउने र त्यसको असर नेपालको राष्ट्रियता तथा लोकतान्त्रिक आन्दोलनमा पर्न सक्ने उनको धारणा छ ।

‘दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात’ रोक्नुपर्ने भन्दै उनले आफू विगतदेखि नै पार्टी एकताका लागि प्रयासरत रहेको बताएका छन् । 

कोइरालाका अनुसार अहिलेको आवश्यकता पक्ष–विपक्षमा विभाजित भएर अघि बढ्नु नभई सबैलाई स्वीकार्य हुने समझदारीको बाटो पहिल्याउनु हो ।

कोइरालाले कांग्रेसको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी विभाजित र दिशाहीन भएको बताएका छन् । 

उनले ‘को ठीक र को बेठीक’ भन्ने बहसमा आफू नलाग्ने स्पष्ट गर्दै पार्टीभित्रको विवादलाई व्यक्तिगत असुरक्षा, अपमान र घृणाको तहमा पुर्याउन नहुने पनि बताएका छन् ।

उनले कांग्रेसभित्रको विवादसँगै मुलुकमा देखिएको प्राकृतिक विपत्तितर्फ पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 

रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको विपत्तिबाट नागरिकले ज्यान गुमाइरहेको र परिवार तथा आफन्त गुमाएका नागरिक पीडामा रहेको अवस्थामा कांग्रेसले राजनीतिक विवादभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

पार्टीका संस्थापक नेता बीपी कोइरालालगायतको राजनीतिक तथा नैतिक विरासत स्मरण गर्दै उनले कांग्रेसले आफ्नो इतिहास र मूल्यमान्यतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

विश्व राजनीतिमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कांग्रेस थप एकताबद्ध हुनुपर्ने बताए ।

आफूले अघि सारेको बाटोलाई ‘मध्यमार्ग’ भनेका छन् । यो बाटो कठिन भए पनि कांग्रेसको राजनीतिक जीवनदर्शनसँग मेल खाने उनको दाबी छ । 

nullnullnull

Share News