विकासन्युज

बीमा रकमका लागि ‘विवाह’ को नाटक गर्दै श्रीमतीको हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित हमिरपुरमा एउटा यस्तो हृदयविदारक घटना सार्वजनिक भएको छ, जसले मानवीय संवेदनालाई नै स्तब्ध बनाएको छ ।  त्यहाँ एक व्यक्तिले आफ्नै श्रीमतीको नाममा रहेको ४४ लाख रुपैयाँ बीमा रकम हात पार्नका लागि उनको हत्या गरेको पुष्टि भएको छ । घटनाको भित्री पाटो केलाउँदा ती व्यक्तिले साढे दुई वर्षअघि मात्रै ती महिलासँग प्रेम विवाह गरेका थिए । यो महिलाको दोस्रो र पुरुषको तेस्रो विवाह थियो ।  योजनाबद्ध रूपमा गरिएको भनिएको उक्त विवाहलगत्तै ती पुरुषले श्रीमतीको ठूलो रकमको बीमा गराएका थिए । बीमा रकम हडप्न उनले आफ्ना साथीहरूसँग मिलेर हत्याको डरलाग्दो षड्यन्त्र रचेको भारतीय प्रहरीले जनाएको छ । गत जुलाई २९ को राति हमिरपुरको लालपुरा क्षेत्रमा सडकको छेउमा ती महिलाको शव फेला परेको थियो । सुरुवातमा प्रहरीले यसलाई सामान्य सडक दुर्घटना मानेको थियो । तर, अनुसन्धान गर्दै जाँदा जाँदा घटनाको ४८ घण्टाभित्रै रहस्यको पर्दाफास भयो । दुर्घटना नभई नियतवश गरिएको हत्या भएको र त्यसको मुख्य योजनाकार उनकै श्रीमान रहेको प्रमाण प्रहरीले फेला पारेको छ ।  हाल प्रहरीले अभियुक्त श्रीमान् र हत्यामा संलग्न उनका साथीहरूलाई नियन्त्रणमा लिएर थप कानुनी कारबाही अघि बढाएको छ । (भारतीय सञ्चारमाध्यमको सहयोगमा)

तालिममा लाखौं खर्च, जनचेतनामा शून्य

काठमाडौं । विपन्न तथा न्यून आय भएका नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्ने मुख्य लक्ष्यसहित स्थापना गरिएका लघुबीमा कम्पनीहरूको प्राथमिकता सर्वसाधारणमा बीमासम्बन्धी जनचेतना फैलाउनुभन्दा आफ्ना अभिकर्ता र जनशक्ति बलियो बनाउनतर्फ बढी केन्द्रित देखिएको छ । विशेषगरी लघु जीवन बीमा कम्पनीहरूको ध्यान तालिममा बढी केन्द्रित भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘नेपालको लघुबीमा क्षेत्रसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ अनुसार लघुबीमा व्यवसाय मात्रै गर्ने गरी स्थापना भएका सातवटा लघुबीमा कम्पनीले २०८२/८३ फागुन मसान्तसम्ममा क्षमता विकास (तालिम), सामाजिक उत्तरदायित्व र जनचेतनाका क्षेत्रमा कुल ९२ लाख ३६ हजार ५२० रुपैयाँ खर्च गरेका छन् । तर, लघुबीमा कम्पनीहरूले जनचेतनामूलक कार्यक्रममा भने जम्मा ४ लाख ५५ हजार रुपैयाँ मात्रै खर्च गरेका छन्, जुन कुल खर्चको करिब ५ प्रतिशत हो । यसको तुलनामा कम्पनीहरूले तालिममा मात्रै ७८ लाख १९ हजार ८१४ रुपैयाँ खर्च गरेका छन् ।  यो कुल खर्चको ८४.६ प्रतिशत हो । ग्रामीण क्षेत्रका न्यून आय भएका तथा पछाडि परेका वर्गलाई लक्षित गरी ल्याइएको लघुबीमाले पर्याप्त जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा अपेक्षाअनुसार बजार विस्तार गर्न सकेको छैन ।   बीमा भनेको के हो र यसले कसरी आर्थिक सुरक्षा प्रदान गर्छ भन्नेबारे समेत जानकारी नभएका ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई लक्षित गरी जनचेतना फैलाउने कार्यक्रममा लघुबीमा कम्पनीहरूले गरेको न्यून खर्च निराशाजनक रहेको सरोकारवालाहरू बताउँछन् । जनचेतनामूलक कार्यक्रममा ‘शून्य’ खर्च जनचेतनामूलक कार्यक्रममा लघु जीवन बीमकहरूको अवस्था झनै दयनीय देखिएको छ ।  प्रतिवेदनअनुसार लघु जीवन बीमा कम्पनीहरूले जनचेतनामूलक कार्यक्रममा एक रुपैयाँ पनि खर्च गरेका छैनन् । जनचेतनाका लागि भएको कुल ४ लाख ५५ हजार रुपैयाँ खर्चको शतप्रतिशत रकम निर्जीवन लघुबीमा कम्पनीहरूले मात्रै गरेका हुन् ।  यसको विपरीत लघु जीवन बीमा कम्पनीहरूले सीएसआर (सामाजिक उत्तरदायित्व) मा ६२.३२ प्रतिशत र तालिममा ६१.५२ प्रतिशत रकम खर्च गरेका छन् । प्रतिवेदनअनुसार लघु जीवन बीमक कम्पनीहरूले सामाजिक उत्तरदायित्वमा ५ लाख ९९ हजार र तालिममा ४८ लाख १० हजार रुपैयाँ खर्च गरेका हुन् । यो तथ्यांकले लघु जीवन बीमा कम्पनीहरू गाउँ–गाउँमा पुगेर सर्वसाधारणलाई बीमाबारे बुझाउने र जनचेतना फैलाउनेभन्दा आफ्ना कर्मचारी तथा अभिकर्ताको क्षमता विकास र अन्य सामाजिक गतिविधिमा बढी केन्द्रित रहेको देखाउँछ । कुन कम्पनीको खर्च कति ? आव २०८२/८३ को फागुन मसान्तसम्ममा सबैभन्दा धेरै खर्च गार्डिएन माइक्रो लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले तालिम र सामाजिक उत्तरदायित्व शीर्षकमा कुल (२३ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । यो कुल खर्चको २६ प्रतिशत हो । त्यस्तै, लिबर्टी माईक्रो लाईफले तालिम तथा सामाजिक उत्तरदायित्व शीर्षकमा कुल खर्चको १८ प्रतिशत अर्थात १६ लाख ५२ हजार ६५६ रुपैयाँ खर्च गरेको छ । क्रेस्ट माईक्रो लाईफले तालिम, सामाजिक उत्तरदायित्व र जनचेनामूलक शीर्षकमा १३ लाख ९६ हजार २६४ रुपैयाँ खर्च गरेका छन् । यो कुल खर्चको १५ प्रतिशत हो ।  त्यसैगरी, प्रोटेक्टिभ माइक्रोले १३ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । यो कुल खर्चको १५ प्रतिशत हो । ट्रस्ट माइक्रोले कुल खर्चको ११ प्रतिशत १० लाख ४० हजार रुपैयाँ खर्च गरेको छ ।  सबैभन्दा कम खर्च स्टार माइक्रो इन्स्योरेन्सले गरेको छ । कम्पनीले कुल खर्चको ७ प्रतिशत अर्थात ६ लाख २७ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । नेपालमा न्यून भएका, आर्थिक, सामाजिक तथा भौगोलिक रूपले पिछाडिएका वर्ग तथा समुदायलाई वित्तीय मूल प्रवाहीकरणमा समावेश गराउने उद्देश्यका साथ लघुबीमा निर्देशिका २०७१ जारी भएको थियो ।  यस नीतिगत व्यवस्थाअनुरूप ठूला बीमा कम्पनीहरूमार्फत लघु बीमा व्यवसाय हुँदै आएको थियो । ती बीमा कम्पनीहरूले लघुबीमाको उद्देश्यअनुरूप काम गर्न नसकेपछि लघु बीमा मात्रै व्यवसाय गर्ने गरी २०७९ र ८० सालमा लघु जीवन बीमार्फत ३ वटा र लघु निर्जीवन बीमामार्फत ४ वटा गरी कुल ७ वटा बीमा कम्पनी स्थापना भयो ।  सञ्चालनको करिब ३ वर्षको अवधिमा लघु बीमा कम्पनीहरूले पनि सोचेअनुसार ग्रामीण क्षेत्रमा गएर व्यवसाय गर्न सकेका छैनन् । सबै बीमा कम्पनीको व्यवसाय सहरकेन्द्रित नै हुँदै आएको छ । लघुबीमा क्षेत्रको समग्र सुधारको लागि नीतिगत तथा नियामकीय हस्तक्षेप आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी साउन २४ गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले आइतबार (आज) जारी गरेको सूचनाअनुसार बैठक श्रावण २४ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने तय भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ ।  बैठकका एजेन्डाबारे भने पार्टीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकमा उपस्थित हुन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिइएको जानकारी दिए ।

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, सञ्चालक समितिको बैठक नबस्दा नयाँ मूल्य रोकियो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य प्राप्त भएको दुई दिन बितिसक्दा पनि नेपाल आयल निगमले नयाँ खुद्रा बिक्री मूल्य सार्वजनिक गरेको छैन । यसपटक खरिद मूल्यमा उल्लेख्य परिवर्तन भएकाले निगम सञ्चालक समितिको निर्णयपछि मात्र नयाँ मूल्य लागू गरिने भएको हो ।  नेपाल आयल निगमले सामान्यतया हरेक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गर्दै आएको छ ।  आईओसीले प्रत्येक महिनाको अन्तिम दिन र १५ तारिखमा नयाँ खरिद मूल्य पठाउने गर्दछ । सोहीअनुसार शुक्रबार नै नयाँ मूल्य प्राप्त भए पनि निगमले हालसम्म संशोधित मूल्यसूची सार्वजनिक गरेको छैन ।  निगमको स्वचालित मूल्य प्रणालीसम्बन्धी कानुनी व्यवस्थाअनुसार प्रतिलिटर दुई रुपैयाँसम्म मूल्य समायोजन गर्ने अधिकार व्यवस्थापनलाई मात्र छ । तर, दुई रुपैयाँभन्दा बढीले मूल्य बढाउन वा घटाउनुपर्ने अवस्था आएमा भने सञ्चालक समितिको बैठकबाट निर्णय गराउनुपर्ने अनिवार्य व्यवस्था छ । आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यमा उल्लेखनीय परिवर्तन (दोहोरो अंकको वृद्धि) भएकाले सञ्चालक समितिको बैठक बसेर निर्णय भएपछि मात्र नयाँ मूल्य सार्वजनिक गरिने निगमका प्रवक्ता मनोजकुमार ठाकुर बताउँछन् ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडी अध्यक्ष रहेको निगम सञ्चालक समितिमा अर्थ मन्त्रालय, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभागका प्रतिनिधि, विज्ञ सदस्य, निगमका कार्यकारी प्रमुख र ट्रेड युनियनका प्रतिनिधिहरू सदस्य रहेका छन् ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले यसपटक भारतबाटै इन्धनको मूल्य उल्लेख्य बढेर आएको निगम स्रोतले जनाएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण सञ्चालक समितिको बैठक बस्न नसकेको र बैठक बस्नासाथ निर्णय गरी नयाँ मूल्य लागू गरिने निगमले जनाएको छ ।  भारतबाट खरिद मूल्य बढेर आएका कारण नेपालमा पनि इन्धनको खुद्रा मूल्य बढ्ने निश्चित जस्तै छ ।

त्रिविको रजिष्ट्रारमा अर्याल र रेक्टरमा खनाल दाबेदार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका रजिष्ट्रार र रेक्टर पदमा नियुक्तिका लागि तयारी हुँदै गर्दा हप्राध्यापक डा. कुन्दन अर्याल र प्राध्यापक डा. शंकरप्रसाद खनालको नाम सम्भावित दाबेदारका रूपमा अगाडि आएको छ ।  त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार पद विश्वविद्यालयको प्रशासनिक संरचनाको महत्वपूर्ण जिम्मेवारी मानिन्छ । आर्थिक व्यवस्थापन, नीति कार्यान्वयन, प्रशासनिक समन्वय तथा विश्वविद्यालयका दैनिक व्यवस्थापनसँग सम्बन्धित विषयमा रजिष्ट्रारको भूमिका निर्णायक हुन्छ । विश्वविद्यालय स्रोतका अनुसार सहप्राध्यापक डा. अर्यालको नाम रजिष्ट्रार पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएको छ । प्राज्ञिक क्षेत्रको अनुभव र विश्वविद्यालय प्रशासनसम्बन्धी ज्ञानका कारण उनको नाम अगाडि आएको स्रोतको दाबी छ ।  अर्याललाई विश्वविद्यालयभित्र प्राध्यापन तथा अनुसन्धान क्षेत्रमा सक्रिय प्राज्ञिक व्यक्तिका रूपमा हेरिन्छ । विश्वविद्यालयको प्रशासनिक नेतृत्वमा जाने व्यक्तिका लागि आवश्यक मानिने शैक्षिक अनुभव, संस्थागत बुझाइ र व्यवस्थापकीय क्षमताका आधारमा उनको नाम चर्चामा आएको श्रोतको दाबी छ ।  अर्यालको भोली सोमबार प्राध्यापक पदको भाइवा रहेको छ । सोमवार बेलुकाबाट प्राध्यापकमा पदोन्नती हुँदै गरेका अर्याल पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख समेत हुन् । रेक्टरमा खनालको नाम त्रिविको रेक्टर पद शैक्षिक नेतृत्वसँग जोडिएको महत्वपूर्ण जिम्मेवारी हो । शैक्षिक नीति निर्माण, अनुसन्धान प्रवद्र्धन, पाठ्यक्रम सुधार तथा प्राज्ञिक कार्यक्रमको समन्वयमा रेक्टरको भूमिका रहन्छ । यस पदका लागि प्राध्यापक डा. शंकरप्रसाद खनालको नाम पनि सम्भावित दाबेदारका रूपमा चर्चामा रहेको श्रोतले बताएको छ । लामो समयदेखि प्राध्यापन तथा प्राज्ञिक क्षेत्रमा सक्रिय खनाललाई विश्वविद्यालयको शैक्षिक नेतृत्वका लागि योग्य व्यक्तिका रूपमा केही समूहले अघि सारेको स्रोतको भनाइ छ । हाल कामु रेक्टर रहेका खनाल तथ्यांक विभागका पुर्वप्रमुख समेत हुन् । त्रिभुवन विश्वविद्यालय पछिल्लो समय शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थापन, अनुसन्धानको विस्तार र प्रशासनिक सुधारका विषयमा निरन्तर दबाबमा छ । शिक्षामन्त्री तथा विश्वविध्यालयका सहकुलपति सस्मित पोखरेल निकट श्रोतका अनुसार नयाँ पदाधिकारी चयनलाई विश्वविद्यालय सुधारको दिशासँग जोडेर हेरिएको छ । विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी वृत्तले नयाँ नेतृत्वमा प्रशासनिक दक्षतासँगै प्राज्ञिक दृष्टिकोण, पारदर्शिता र संस्थागत सुधारको क्षमता भएका व्यक्तिको आवश्यकता औंल्याउँदै आएका छन् । त्रिविको रजिष्ट्रार र रेक्टर नियुक्ति प्रक्रिया उपकुलपतिको सिफारिस तथा विश्वविद्यालय ऐनअनुसार अघि बढ्नेछ ।  गत असारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका थिए । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपतिमा नियुक्त गरेका थिए । 

‘राष्ट्रिय भेला’मा नाम राखिएकोप्रति अपांग संघका अध्यक्ष चम्लागाईंको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि आयोजना गर्न लागिएको भनिएको ‘राष्ट्रिय भेला’को ५५१ सदस्यीय मूल आयोजक समितिमा आफ्नो नाम बिना सहमति राखिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । बिहीबार जारी अपिलमा अध्यक्ष चम्लागाईंले उक्त भेलासँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने तथा विभाजनकारी गतिविधिमा आफू सहभागी नहुने बताएका छन् ।  राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षका रूपमा आफ्नो नाम राखिएको विषय स्वीकार गर्न नसकिने उनको भनाइ छ। अपिलमा उनले पार्टीभित्र असन्तुष्टि हुन सक्ने तर त्यसको समाधान विधान, विधि र संगठनात्मक प्रक्रियाभित्रै खोजिनुपर्नेमा जोड दिएका छन् ।  नेपाली कांग्रेसको वैधानिक नेतृत्व र संस्थागत संरचनाको विकल्प कुनै पनि समानान्तर वा अवैधानिक भेला हुन नसक्ने उनको तर्क छ । चम्लागाईंले नेतृत्व परिवर्तनको लोकतान्त्रिक बाटो महाधिवेशन नै भएको उल्लेख गर्दै असन्तुष्ट नेताहरूलाई १५औं महाधिवेशनमा नेतृत्वको परीक्षामा उत्रिन आग्रह गरेका छन्। उनले समानान्तर गतिविधि, भ्रम सिर्जना गर्ने प्रयास र विभाजनको राजनीति त्यागेर खुला लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरेका छन् । उनले कांग्रेस लाखौं कार्यकर्ताको त्याग, बलिदान र जनविश्वासबाट बनेको संस्था भएकाले पार्टीलाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।  साथै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा आबद्ध सदस्य तथा कांग्रेस कार्यकर्ताहरूलाई वैधानिक नेतृत्वको पक्षमा दृढतापूर्वक उभिन र यस्ता गतिविधिमा सहभागी नहुन अपिल गरेका छन् । चम्लागाईंले पार्टीभित्रका मतभेद संवाद, सहकार्य र विधानसम्मत प्रतिस्पर्धामार्फत समाधान गर्दै एकताबद्ध र समयानुकूल कांग्रेस निर्माणमा जुट्न सबै पक्षलाई आग्रह गरेका छन् ।

ऋतिकमाथि कंगनाको प्रहार- ‘सबा भेटिसक्नुभयो, अब मलाई जिस्क्याउन छोड्नूस्’

काठमाडौं । बलिउड अभिनेत्री तथा बिजेपीकी नेतृ कंगना रनौतले अभिनेता ऋतिक रोशनको हालैको अभिव्यक्तिलाई ‘आधारहीन’ भन्दै त्यसको कडा आलोचना गरेकी छन् ।  कंगनाले ऋतिकका टिप्पणीहरूले आफूविरुद्ध भइरहेको अनलाइन ट्रोलिङलाई थप प्रोत्साहन दिएको र त्यस्ता व्यक्तिविरुद्ध खुला रूपमा बोल्न उनी पछि हटिरहेको आरोप लगाएकी छन् । यतिबेला सामाजिक सञ्जालमा ‘सरी ऋतिक’ ट्रेन्ड चलिरहेको छ भने कंगना–ऋतिकबीचको पुरानो विवाद फेरि चर्चामा आएको छ । यसैबीच इन्स्टाग्राममा एउटा पोस्ट सार्वजनिक भयो, जसमा लेखिएको थियो, ‘संसारले ऋतिक रोशनसँग माफी माग्नुपर्छ।’ यो पोस्ट कंगना रनौतले विद्यार्थीहरूको प्रदर्शनबारे टिप्पणी गरेपछि सार्वजनिक भएको बताइएको छ । उक्त पोस्टमा प्रतिक्रिया दिँदै ऋतिक रोशनले सामाजिक सञ्जालमा चलिरहेका न्यारेटिभका आधारमा धारणा बनाउन नहुने बताएका थिए । उनले कुनै पनि विषयमा आफ्नो धारणा बनाउनु अघि सही सन्दर्भ र तथ्यहरूको प्रतीक्षा गर्ने बताएका थिए । ऋतिकले कमेन्टमा लेखेका थिए, ‘साथी, अहिले ‘बी’ मन नपरेको भन्दै ‘ए’ को पक्ष लिनु हाम्रो समाजको ठूलो समस्याको सानो अंश मात्र हो । म सही सन्दर्भ र तथ्यहरूको प्रतीक्षा गर्नेछु । त्यही निष्पक्ष हुनेछ । तर अहिले त्यसको कसलाई वास्ता छ र ?’ ऋतिकको यही टिप्पणीको स्क्रिनसट कंगना रनौतले आफ्नो इन्स्टाग्राम स्टोरीमा साझा गर्दै उनको आलोचना गरेकी हुन्। कंगनाले आफ्नो स्टोरीमा लेखेकी छन्, ‘प्रिय ऋतिक, तपाईंलाई तपाईंको उपयुक्त जीवनसाथी सबा आजाद भेटिनुभएकोमा म खुसी छु । तपाईंहरू दुवै सँगै निकै राम्रो देखिनुहुन्छ र प्रतिबद्ध सम्बन्धमा हुनुहुन्छ । यस्तो अवस्थामा कुनै महिलालाई यसरी जिस्क्याउनू तपाईंलाई सुहाउँदैन ।’ उनले थप लेखेकी छन्, ‘यसको सट्टा तपाईंले तपाईंको नाम प्रयोग गरेर मलाई दुःख दिने र अनलाइन बुलिङ गर्नेहरूको निन्दा गर्नुपर्थ्यो । आगोमा घ्यू थप्ने र आफ्नै पार्टनरलाई लज्जित बनाउने काम नगरी समझदारी अपनाउनुहोस्। आशा छ, तपाईंमा सद्बुद्धि आउनेछ र यस्ता आधारहीन टिप्पणी गर्न छोड्नुहुनेछ ।’ कंगनाले सामाजिक सञ्जालमा यस प्रकारका टिप्पणी गर्नु उचित नभएको र यस्ता अभिव्यक्तिले अनलाइन ट्रोलिङलाई थप बढावा दिने पनि बताएकी छन् ।

गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन् । आइतबार जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच करिब डेढ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो । हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका १३ बुँदे मागहरूमा थप ६ बुँदा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ ।  सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा एक समिति गठन गर्ने समझदारी भएको उनले बताए ।  वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष सनातनीले देशमा धार्मिक सद्भाव कायम राख्न र मुलुकलाई द्वन्द्वबाट जोगाउन आफूहरू सहमतिमा आएको बताए । उनले भने, ‘हामी वैदिक सनातन हिन्दू धर्मावलम्बी ‘वसुधैव कुटुम्बकम’ मा विश्वास गर्छौं । हिन्दू राष्ट्रको परिकल्पना गर्दा हामी सबै धर्म र समुदायलाई उत्तिकै सम्मान गर्छौं । कसैलाई पनि अन्याय गर्ने हाम्रो उद्देश्य होइन ।’ उनले राजनीतिक दलहरूले यस विषयलाई लिएर षडयन्त्र गर्नसक्ने भन्दै सबैलाई सचेत रहन समेत आग्रह गरे ।  हिन्दु सम्राट सेना नेपालका अध्यक्ष राजेश यादवकाअनुसार धर्मका आधारमा कुनैपनि आयोग गठन नगरिने, मदरसा तथा मस्जिदको ‘फन्डिङ’ (कोष परिचालन) र धार्मिक स्थलहरूमा प्रयोग गरिने लाउड स्पिकरको व्यवस्थापन लगायतका विषयमा समेत समझदारी भएको छ । वार्ताका क्रममा गृहमन्त्रीले सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै कुनै पनि धार्मिक समुदायका पर्व र गतिविधिमा अवरोध वा हिंसा हुन नदिने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए । सरकारी पक्षबाट माग सम्बोधन गर्ने लिखित तथा मौखिक प्रतिवद्धता प्राप्त भएपछि हिन्दू सम्राट सेनाले नेपाल बन्दसहितका सम्पूर्ण विरोधका कार्यक्रमहरू तत्कालका लागि फिर्ता लिएको जानकारी दिएको छ ।  अहिलेको परिस्थितिमा देशलाई अन्धकारतर्फ धकेलिन नदिन र शान्ति कायम राख्नका लागि वार्ता र सहमतिलाई प्राथमिकता दिइएको संगठनले जनाएको छ ।