भदौमा ५ अर्ब बढीको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।

प्राधिकरणको प्रणाली सञ्चालन विभागअन्तर्गत भार प्रेषण केन्द्र, स्युचाटारले सार्वजनिक गरेको विवरणअनुसार भदौमा भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा द्विपक्षीय सम्झौतामार्फत तथा विद्युत् बजारमार्फत विद्युत् निर्यात गरिएको हो ।

उक्त अवधिमा दुवै माध्यमबाट गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात भएको छ । यसको कुल कारोबार रकम ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँ रहेको छ ।

द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख २१ हजार २८८ युनिट विद्युत् निर्यात गर्दा ३ अर्ब ६४ करोड २५ लाख २८ हजार रुपैयाँ आम्दानी भएको छ ।

यस्तै, विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट विद्युत् निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

भदौमा भएको कुल विद्युत् निर्यातमा द्विपक्षीय सम्झौतामार्फत भएको निर्यातको हिस्सा बढी रहेको छ । विद्युत् बजारमार्फत पनि उल्लेख्य मात्रामा विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि बंगलादेशतर्फको विद्युत् निर्यात भने बन्द रहेको छ । अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोधसमेत गरिसकिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ ।

Share News