काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा दुई दिन विद्युत आपूर्ति बन्द गर्ने भएको छ ।
रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले नियमित मर्मतसम्भार, भूमिगत तार व्यवस्थापन तथा अन्य प्राविधिक कार्य गर्न विद्युत आपूर्ति बन्द गर्न लागेको हो ।
प्राधिकरणका अनुसार आज (असोज ३ गते शनिबार) अनामनगर र पुतलीसडक फिडरअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।
अनामनगर फिडरअन्तर्गत के–३ सडकको पर्खाल हुँदै अनामनगर पानी ट्यांकी, अनामनगर मोड, पूर्वी गेट, हनुमानस्थान, सिंहदरबार दक्षिण गेट हुँदै अन्नपूर्ण न्युरो अस्पतालसम्म, अनामनगर भाटभटेनी, धोबीखोला करिडोर हुँदै मैतीदेवी सेतो पुलसम्म तथा आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुनेछ ।
त्यस्तै, पुतलीसडक फिडरअन्तर्गत माइतीघर मण्डला, बबरमहल, काठमाडौं जिल्ला अदालत हुँदै बिजुलीबजार पुल, थापाथली एपीआई टेलिभिजन तथा आसपासका क्षेत्रमा सोही समय विद्युत आपूर्ति बन्द हुनेछ ।
यस्तै, असोज ४ गते आइतबार भोटेबहाल फिडरअन्तर्गत भोटेबहाल पिपलबोट, एङ्गल चोक, लगन चोक, भगवती मन्दिर, दक्षिणकाली मन्दिर तथा आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले कार्य सम्पन्न भएमा निर्धारित समयभन्दा अगावै विद्युत सेवा सुचारु हुन सक्ने जनाएको छ । विद्युत आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।