६ लाख घुस लिएको आरोपमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले दुवै कर्मचारीले आपसी मिलेमतोमा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर खड्काले पुलको पुनःडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको सूचनाका आधारमा अख्तियारको टंगालस्थित कार्यालय र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले खड्कालाई ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा पुलको डिजाइन, पुनःडिजाइन, तेस्रो पक्षबाट प्रमाणीकरण तथा भुक्तानी प्रक्रियासम्बन्धी काम सम्पन्न गर्न दुवै कर्मचारीले मिलेमतो गरेको खुलेको अख्तियारले जनाएको छ । ठेक्कासम्बन्धी काम सम्पन्न भएपछि पेस गरिएको बिलको रकम भुक्तानी गराइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेर लिएको अनुसन्धानबाट स्थापित भएको आयोगको दाबी छ । अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर कायम गरेको छ । आयोगले ६ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ । उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
बजाजका दुई नयाँ विद्युतीय स्कुटर नेपालमा, मूल्य २ लाख ८१ हजार
काठमाडौं । बजाज अटो लिमिटेडले नेपालमा चेतक विद्युतीय स्कुटरका दुई नयाँ मोडल सी२५०१ र सी३५०३ सार्वजनिक गरेको छ । नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा यी स्कुटर सार्वजनिक गरिएको हो । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएका नयाँ स्कुटरले बजाजको विद्युतीय सवारीसाधनको सूची थप फराकिलो बनाएको कम्पनीले जनाएको छ । सी२५०१ मा ११३ किलोमिटरसम्मको दूरी चेतक सी२५०१ मा २.५ किलोवाट घण्टाको लिथियम–आयन ब्याट्री जडान गरिएको छ । यसले एकपटकको चार्जमा प्रमाणित आईडीसीअनुसार ११३ किलोमिटरसम्म यात्रा गर्न सक्नेछ । यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा शून्यदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने द्रुत चार्जिङ प्रणाली छ । रङ्गीन एलसीडी पर्दा, ब्लुटुथ जडान, संगीत चलाउने तथा रोक्ने सुविधा, पछाडि चलाउने सुविधा र २५ लिटरको सिटमुनिको भण्डारण क्षमता उपलब्ध छ । सी२५०१ ग्लसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल र मिस्टी यल्लो गरी ६ रङमा उपलब्ध हुनेछ। यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ । सी३५०३ मा १५१ किलोमिटरसम्मको यात्रा चेतक सी३५०३ मा ३.५ किलोवाट घण्टाको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ । यसले एकपटकको चार्जमा १५१ किलोमिटरसम्म यात्रा गर्न सक्नेछ। यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ । सी३५०३ मा डिजिटल एलसीडी पर्दा, ब्लुटुथ जडान, फोन तथा सन्देश आएको सूचना र ३५ लिटरको सिटमुनिको भण्डारण क्षमता रहेको छ । घोडाको नालजस्तो आकारको डीआरएल बत्तीले यसको पुरानो शैलीको आकर्षणलाई आधुनिक डिजाइनसँग जोडेको कम्पनीले जनाएको छ । सी३५०३ इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चार्कोल ग्रे र साइबर ह्वाइट गरी चार रङमा उपलब्ध हुनेछ । यसको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ । हरित यातायात प्रवर्द्धनमा जोड लन्च कार्यक्रममा हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले चेतकको नयाँ मोडलसँगै नेपालमा हरित यातायातको क्षेत्रमा बजाजको उपस्थिति थप विस्तार भएको बताए । गत वर्ष चेतकले पाएको उत्साहजनक प्रतिक्रियापछि नयाँ दुई मोडलमार्फत थप ग्राहकको आवश्यकता पूरा गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । चेतक सी२५०१ र सी३५०३ नेपालभरका छनोट गरिएका बजाज विक्रेतामार्फत बुकिङका लागि उपलब्ध छन् । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ स्कुटर प्रत्यक्ष रूपमा हेर्न तथा अनुभव गर्न विशेष प्रदर्शनी क्षेत्रसमेत राखिएको छ । बजाज नेपालले विद्युतीय सवारीसाधनका ग्राहकलाई सहज र भरपर्दो सेवा दिन आफ्नो सेवा सञ्जालमार्फत निरन्तर सहयोग उपलब्ध गराउने जनाएको छ ।
विशेष अदालतमा गोल्छाको बयान लिइँदै
काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएपछि शेखर गोल्छा विशेष अदालत पुगेका छन् । मंगलबार (आज) गोल्छा विशेष अदालतमा बयानका लागि हाजिर भएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा यति बेला उनको बयान चलिरहेको छ । गोल्छा जोडिएको यस मुद्दामा दीपक भट्ट, सुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर यो मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । त्यसैगरी, भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ। त्यस्तै, अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी छ ।
अमेरिकी अदालतबाट अडानीलाई ‘क्लिन चिट’, मुद्दा नै स्थायी रूपमा खारेज
काठमाडौं । अमेरिकाको एक अदालतले अडानी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिजा सागर अडानीविरुद्ध ठगी तथा घुसखोरीसँग सम्बन्धित आपराधिक आरोप स्थायी रूपमा खारेज गरेको छ । यससँगै दुई वर्षदेखि चलिरहेको आपराधिक कानुनी प्रक्रिया पनि अन्त्य भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकाको न्युयोर्कस्थित इस्टर्न डिस्ट्रिक्टको जिल्ला अदालतले न्याय विभागले दायर गरेको मुद्दा खारेज गर्न माग गर्दै दिएको निवेदन स्वीकृत गरेको हो । अदालतले गौतम अडानी, सागर अडानी र अडानी ग्रिन इनर्जी लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत विनीत जैनविरुद्ध लगाइएका आरोप खारेज गरेको छ । उनीहरूमाथि सेक्युरिटिज ठगीको षड्यन्त्र, वायर ठगीको षड्यन्त्र तथा सेक्युरिटिज ठगीलगायतका आरोप लगाइएको थियो । अदालतको यो फैसला ‘डिसमिसल विथ प्रिजुडिस’ अर्थात् स्थायी रूपमा मुद्दा खारेज गर्ने आधारमा आएको हो । यसको अर्थ यी आपराधिक आरोपमा पुनः मुद्दा दायर गर्न पाइने छैन र आपराधिक कानुनी प्रक्रिया स्थायी रूपमा अन्त्य भएको छ । गौतम अडानीले अदालतको फैसलाको स्वागत गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘म ती सबैप्रति हृदयदेखि आभार व्यक्त गर्दछु, जसले हामीमाथि, व्यवस्थामाथि र भारतको न्याय दिने क्षमतामाथि कहिल्यै विश्वास गुमाएनन् ।’ यो मुद्दा सन् २०२४ को नोभेम्बरमा सार्वजनिक भएको थियो । अमेरिकी अभियोजकहरूले गौतम अडानी, सागर अडानी, अडानी ग्रिन इनर्जीका तत्कालीन सीईओ विनीत जैन तथा अन्य व्यक्तिहरू भारतीय सरकारी अधिकारीहरूलाई करिब २५ करोड अमेरिकी डलर घुस दिने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएका थिए ।
कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख सहयोग
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि बैंकले उक्त सहयोग गरेको हो । सहयोग रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा र उपकरण व्यवस्थापनमा प्रयोग गरिने छ । नेपाल सरकारअन्तर्गत सञ्चालित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो । केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले सहयोग गरेको जनाएको छ । यस सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचार सेवा थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गको स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार सहयोगले बालबालिकाको उपचार गुणस्तर अभिवृद्धि गर्नुका साथै जीवनरक्षा दर बढाउन र स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरण गर्न सहयोग पुग्नेछ । ‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनासहित बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकका देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइ रहेका छन् । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
देउवा समूहको भेलामा बद्री पाण्डे नजाने
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री बद्री पाण्डे साउन २९ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको संस्थापनइतर समूहको भेलामा सहभागी नहुने भएका छन् । वरिष्ठ नेता डा. शेखर कोइराला भने उक्त भेलामा सहभागी भएर सम्बोधन गर्ने निश्चित भइसके पनि कोइराला समूहकै नेता पाण्डेले भेलामा सहभागी नहुने स्पष्ट पारेका हुन् । पाण्डेले आफू विगतदेखि नै पार्टीभित्रका कुनै पनि समूह वा गुटले आयोजना गर्ने छुट्टाछुट्टै भेला तथा कार्यक्रममा सहभागी नभएको बताए । त्यसैअनुसार साउन २९ गतेदेखि आयोजना हुने भेलामा पनि आफू सहभागी नहुने उनको भनाइ छ । विकास न्यूजसँग कुरा गर्दै पाण्डेले भने, ‘म कुनै समूहको भेला र कार्यक्रममा जाने गरेको छैन । त्यसैले २९ गते हुने भेलामा पनि जाँदिनँ ।’ वरिष्ठ नेता डा. कोइराला भने आफ्नो राजनीतिक धारणा राख्नका लागि उक्त फोरममा सहभागी हुनु उपयुक्त हुने पाण्डेको धारणा छ । पार्टीभित्र फरक विचार र दृष्टिकोण राख्ने नेताहरूले आफ्ना कुरा राख्ने अवसरलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ । तर, आफू भने कांग्रेसलाई समूहगत विभाजनबाट बाहिर निकालेर एकीकृत र सग्लो पार्टी निर्माण गर्ने अभियानमा रहेको पाण्डेले बताए । पार्टीभित्र अहिले देखिएको गुटगत गतिविधिले कांग्रेसलाई थप कमजोर बनाउने भन्दै उनले सबै पक्षलाई एकताको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पाण्डे कुनै समूह विशेषको गतिविधिमा सहभागी हुनुभन्दा पार्टीको समग्र एकता र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने पक्षमा छन् । त्यसैले पार्टीभित्रको पूर्ण एकतापछि आयोजना हुने भेलामा मात्र आफू सहभागी हुने उनले बताए । ‘मेरो प्राथमिकता कांग्रेसलाई एकीकृत र सग्लो बनाउने हो । पूर्ण एकतापछिको भेलामा मात्रै म सहभागी हुन्छु,’ पाण्डेले भने । नेपाली कांग्रेसको संस्थापनइतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजना हुने भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, विशेष महाधिवेशनसँग जोडिएका विषय तथा आगामी रणनीतिबारे छलफल गर्ने तयारी छ । भेलामा संस्थापनइतर पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहने नेताहरूले बताएका छन् । उक्त भेलालाई पूर्वसभापति देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पाण्डे भने आफू कुनै गुट वा समूहको भेलामा सहभागी नहुने पुरानै अडानमा कायम रहेको बताएका छन् । उनले पार्टीभित्र देखिएका मतभेदको समाधान समूहगत शक्ति प्रदर्शनबाट नभई संवाद र एकताबाट खोजिनुपर्ने धारणा राखेका छन् ।
शक्तिशाली भूकम्पले कोलम्बिया संकटमा , मृतकको संख्या बढ्ने आशंका
काठमाडौं । पश्चिमी कोलम्बियामा उद्धार कार्य मंगलबार दोस्रो दिन पनि जारी रह्यो । उद्धारकर्मीहरूले भत्किएका भवन र ध्वस्त भएका घरको भग्नावशेषमा खोजी गरिरहेका छन् । दशकौंयताकै शक्तिशाली भूकम्पका कम्तीमा १३० जना मानिसहरूको मृत्यु भएको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पले पेरेइरा र कालीजस्ता सहरमा अग्ला भवनहरूलाई भग्नावशेषमा परिणत गरिदिएको छ । मनिजालेस सहरको ऐतिहासिक क्याथेड्रलको एउटा टावरसमेत चर्किएर क्षतिग्रस्त भएको छ । प्रहरी, सैनिक र स्वयंसेवकको सहयोगमा उद्धार टोलीले रातभर उत्खनन गर्ने मेसिन प्रयोग गर्दै तथा कतिपय अवस्थामा आफ्नै हातले भग्नावशेष हटाउँदै जीवित मानिसको खोजी गरेका थिए । करिब २२ लाख जनसंख्या रहेको कालीमा कम्तीमा ८५ जनाको मृत्यु भएको छ । दर्जनौं भवन ढल्ने अवस्थामा पुगेका वा पूर्ण रूपमा ध्वस्त भएका छन्, जसका कारण स्थानीय बासिन्दा सडकमा निस्कन बाध्य भएका छन् । सहरको एउटा अस्पतालका माथिल्ला केही तला आफैभित्र खसेका छन् । तीमध्ये केही बालबालिकाको उपचारका लागि प्रयोग हुने तला थिए । घटनाका कारण केही बिरामी भग्नावशेषमा फसेका छन् भने करिब ६ सय अन्य बिरामीलाई भग्नावशेषले भरिएको सडकमा उपचार गर्नुपरेको अस्पतालका निर्देशक इर्ने टोरेस कास्ट्रोले काराकोल टेलिभिजनलाई बताएका छन्। कालीकी ४३ वर्षीया कार्मेन यास्मिन गार्सिया उद्धार टोलीसँग स्वयंसेवकका रूपमा काम गरिरहेकी छन् । उनले सोमबार दिउँसो आफ्नो समूहले भत्किएको भवनबाट सात जनालाई जीवितै उद्धार गरेको, तर अन्य चार जना र एउटा कुकुर अझै भग्नावशेषमा फसेको बताइन् । ‘केही समयअघि हामीले कोतरेको जस्तो आवाज सुनेका थियौं तर अहिले केही सुनिँदैन। कुकुर जीवितै छ र हामी यी मानिसलाई बाहिर निकाल्न सक्छौं भन्ने आशा अझै छ,’ गार्सियाले भनिन्, ‘हामीलाई लाठी र बेल्चा लिएर आउने मानिस चाहिन्छ । जति धेरै मानिसले सहयोग गर्छन्, त्यति नै राम्रो हुन्छ ।’ भूकम्पबाट सबैभन्दा बढी प्रभावित रिसाराल्डा राज्यको राजधानी पेरेइरामा अधिकारीहरूले ६६ जनाको मृत्यु भएको बताएका छन् । सहरमा भूकम्पबाट भएको विनाश पनि स्पष्ट रूपमा देखिएको छ । पूरै आवासीय क्षेत्र कंक्रिटका ढिस्का र बटारिएका फलामका थुप्रोमा परिणत भएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा भूकम्पका बेला सहरको विमानस्थल निकै जोडले हल्लिएको देखिन्छ । मानिसहरू सुरक्षित स्थानमा बसिरहेका बेला विमानस्थलको छतका ठूला टुक्रा खसेका थिए । भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको ग्रामीण प्रान्त चोकोमा थप १३ जनाको मृत्यु भएको छ । कालीतर्फ सुरक्षा बल परिचालन केही दिनअघि मात्रै सत्ता सम्हालेका राष्ट्रपति अबेलार्दो डे ला एस्प्रिएल्लाले कालीमा मात्रै ३५ जनाको मृत्यु भएको र १८८ जना बेपत्ता रहेको बताएका छन् । लुटपाटका घटना भएको खबरपछि उनले बिहान उज्यालो हुनुअघि नै १ हजार सुरक्षाकर्मी सहरमा परिचालन गरिने बताएका छन्। काली र पेरेइरामा सोमबार राति कर्फ्यू लागू गरिएको थियो । ‘हाम्रो उद्देश्य आवश्यक पर्ने जुनसुकै तरिकाले सहयोग गर्नु हो । यहाँ आफ्ना जनताको रक्षा गर्ने वा ऐक्यबद्धता जनाउने विषयमा कुनै भेदभाव वा वैचारिक विभाजन छैन,’ डे ला एस्प्रिएल्लाले सोमबार साँझ पत्रकारहरूसँग भने। यस विपत्तिलाई सन् १९९९ मा यही कफी उत्पादन हुने क्षेत्रमा गएको विनाशकारी भूकम्पसँग तुलना गरिएको छ । उक्त भूकम्पमा १ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यस्तै, गत जुनमा छिमेकी भेनेजुएलामा गएको विनाशकारी भूकम्पसँग पनि यस घटनाको तुलना गरिएको छ, जहाँ ६ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मंगलबार (आज) अपरान्ह ३ बजे बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।