नयाँ प्रविधिसहित आयो बीवाईडी एट्टो सिरिज, मूल्य ३० लाख ७५ हजारदेखि
काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक गरेको छ । कम्पनीले एट्टो १, नयाँ एट्टो २ र २०२६ एट्टो ३ सार्वजनिक गरेको हो । नयाँ पुस्ताका यी विद्युतीय गाडीमा प्रविधि, डिजाइन, आराम, सुरक्षा तथा सुविधामा सुधार गरिएको कम्पनीले जनाएको छ । नयाँ एट्टो सिरिजमार्फत विभिन्न मूल्य र सेग्मेन्टका ग्राहकलाई लक्षित गरिएको छ । एट्टो १ मा थप सुविधा नयाँ एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा ३६० डिग्री क्यामेरा थप गरिएको छ । यसले पार्किङ तथा साँघुरो स्थानमा गाडी चलाउँदा चालकलाई वरपरको अवस्थाबारे जानकारी लिन सहज बनाउनेछ । एट्टो १ प्रिमियममा अटो–फोल्ड ओआरभीएमसमेत थप गरिएको छ । एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । एट्टो २ मा नयाँ एसेन्सियल भेरियन्ट बीवाईडीले एट्टो २ मा नयाँ एसेन्सियल भेरियन्ट थप गरेको छ। यसमा ४५.१२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्जमा ३१२ किलोमिटरसम्म रेन्ज दिनेछ । एट्टो २ प्रिमियममा ५१.१३ किलोवाट आवरको ब्याट्री छ । यसको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर रहेको कम्पनीले जनाएको छ । एट्टो २ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नयाँ एट्टो ३ मा डिजाइनदेखि प्रविधिसम्म सुधार सन् २०२२ मा नेपालमा सार्वजनिक भएदेखि लोकप्रिय बनेको एट्टो ३ लाई बीवाईडीले नयाँ पुस्तामा थप परिष्कृत गरेको छ । नयाँ एट्टो ३ मा ‘डाइनामिक ड्रागन फेस डिजाइन’ अपनाइएको छ । पछाडिको भागमा रियर स्पोइलर, हाई–माउन्टेड ब्रेक लाइट तथा नयाँ टेललाइट डिजाइन राखिएको छ । गाडीको भित्री भागमा पनि सुधार गरिएको छ । सफ्ट–टच सरफेस बढाइएको छ भने प्रयोग भएका सामग्रीको गुणस्तर र आराममा सुधार गरिएको कम्पनीले जनाएको छ । नयाँ एट्टो ३ मा कोलम–सिफ्टर गियर सेलेक्टर राखिएको छ । यसले गियर परिवर्तनलाई सहज बनाउने कम्पनीको भनाइ छ । त्यस्तै, ५० वाटको वायरलेस स्मार्टफोन चार्जर, ८.८ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर तथा अन्य प्रविधि सुविधा थप गरिएको छ । चालक र अगाडिको यात्रुका लागि भेन्टिलेटेड सिट उपलब्ध गराइएको छ । एट्टो ३ एडभान्स र सुपेरियर भेरियन्टमा डिराक एचडी साउन्ड र ८ वटा स्पिकरसमेत राखिएको छ । २०२६ बीवाईडी एट्टो ३ एडभान्सको मूल्य ६२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । एक्स्पोमा विशेष सुविधा नयाँ एट्टो सिरिज सार्वजनिक गरेको अवसरमा बीवाईडीले नाइमा मोबिलिटी एक्स्पोमा गाडी खरिद गर्ने ग्राहकका लागि विभिन्न सुविधा ल्याएको छ । योजनाअन्तर्गत एक वर्षको निःशुल्क इन्फोटेनमेन्ट तथा बीवाईडी एप कनेक्टिभिटी, नगद छुट, १० वर्षसम्मको विस्तारित वारेन्टी, एक वर्षको निःशुल्क बीमा, एक वर्षको निःशुल्क सडक दस्तुर तथा निःशुल्क एसेसरिज उपलब्ध गराइने कम्पनीले जनाएको छ । नाइमा मोबिलिटी एक्स्पो २०२६ अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । एक्स्पोमा बीवाईडीको स्टल हल ‘ए’ अन्तर्गत स्टल ए५ मा रहेको छ । त्यहाँ ग्राहकले नयाँ एट्टो सिरिजका गाडी प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । नयाँ पुस्ताका एट्टो सिरिजमा गरिएको डिजाइन, प्रविधि, सुरक्षा र आरामसम्बन्धी सुधारले नेपाली विद्युतीय सवारी बजारमा बीवाईडीको प्रतिस्पर्धात्मक उपस्थितिलाई थप बलियो बनाउने कम्पनीको अपेक्षा छ ।
सुजुकीको मनसुन सर्भिस क्याम्प : पार्ट्समा २० प्रतिशतसम्म छुट
काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले वर्षायामलाई लक्षित गर्दै देशभर ‘सुजुकी मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा क्याम्प सञ्चालन गर्न लागेको हो । मनसुनका कारण सवारीसाधनमा हुने जोखिमलाई ध्यानमा राख्दै अभियान सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ । क्याम्पमा ग्राहकले वर्षायाममा बढी जोखिममा पर्ने सवारीका विभिन्न भागको निःशुल्क जाँच गराउन सक्नेछन् । क्याम्पअन्तर्गत पार्ट्स र लुब्रिकेन्टमा १० प्रतिशत, श्रम शुल्कमा २० प्रतिशत र एक्सेसरिजमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ । त्यस्तै, ग्राहकले निःशुल्क सामान्य जाँच, एसी तथा ब्याट्री जाँच गराउन सक्नेछन् । ब्रेक, टायर, वाइपर र विद्युतीय प्रणालीको समेत विशेष जाँच गरिने कम्पनीले जनाएको छ । क्याम्पमा सवारीसाधनको हेरचाह तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे निःशुल्क जानकारीसमेत दिइनेछ । सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले मनसुन सवारीसाधनका लागि चुनौतीपूर्ण समय भएकाले ग्राहकको सुरक्षा र सवारीको उचित मर्मतसम्भारलाई प्राथमिकता दिइएको बताए । क्याम्पका क्रममा तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्याम्प देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुनेछ । सुजुकीका ग्राहकले साउन २७ देखि २९ गतेसम्म आफ्नो नजिकको अधिकृत सर्भिस सेन्टरमा पुगेर क्याम्पको सुविधा लिन सक्नेछन् ।
विराटनगर जुट मिल पुनः सञ्चालन गर्न अध्ययन कार्यदल गठन
काठमाडौं । सरकारले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार (हिजो) बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरिएको हो । बैठकमा सचिव यादवका साथै अर्थसचिव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसहित सम्बन्धित मन्त्रालयका अधिकारी तथासरोकारवालाहरू सहभागी थिए । बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो । सचिव यादवका अनुसार कार्यदलले पुनः सञ्चालनका लागि आवश्यक आर्थिक, प्राविधिक, कानुनी तथा अन्य सम्बन्धित पक्षको वस्तुगत अध्ययन गर्नेछ । कार्यदलको अध्ययन तथा सिफारिसका आधारमा आवश्यक निर्णय लिइनेछ । प्रधानमन्त्री कार्यालयका अनुसार कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनेछन् । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव रकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सदस्य रहनेछन् । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट दुई जना विज्ञ सदस्य मनोनित गरिनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाका उपसचिवसदस्य–सचिव रहने जनाइएको छ । कार्यदलले आफ्नो प्रतिवेदन एक महिनाभित्र उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयमा पेस गर्नेछ। मिल पुनः सञ्चालनका सम्बन्धमा यसअघि लिइएका निर्णय तथा विभिन्न निकायबाट गठन भएका कार्यदलले पेश गरेका प्रतिवेदन, सुझाव र सिफारिसहरूको पनि कार्यदलले अध्ययन गर्नेछ । साथै मिल परिसरमा रहेका भवन, कारखाना,अन्य भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था समेत अध्ययन गरिनेछ । सम्पत्ति तथा दायित्वसम्बन्धी विषयको फरफारकका लागि आवश्यक कानुनी तथा व्यावहारिक सुझाव सरकारलाई पेस गर्ने जिम्मेवारीसमेत कार्यदललाई दिइएको छ ।
नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशतसम्म छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीलाई चितवनस्थित मनकामना अस्पताल प्रालिले स्वास्थ्य सेवामा छुट दिने भएको छ । यससम्बन्धी सम्झौतामा नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, अस्पतालमा उपलब्ध सिटी स्क्यान तथा शल्यक्रिया सेवामा थप १०–१० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र पेस गर्नुपर्नेछ । सहभागीले कोषमा आबद्ध भएको प्रमाणपत्र वा आफ्नो पहिचान खुल्ने अन्य कागजात पेस गरी सुविधा लिन सक्ने व्यवस्था गरिएको छ ।
मन्त्रिपरिषद बैठक जारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । मंगलबार (आज) अपरान्ह ३ बजे बस्ने भनिएको बैठक पौने चार बजेदेखि सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसिरहेको बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।
सर्वोच्चमा पुनरावलोकनको ‘निस्सा’पछि कांग्रेसका सांगठनिक गतिविधि रोक्न देउवा पक्षको माग
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका रूपमा रहेको देउवा समूहले पार्टीका आगामी सबै सांगठनिक गतिविधि तत्काल रोक्न माग गरेको छ । सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा पुनरावलोकनका लागि ‘निस्सा’ जारी गरेको आधार देखाउँदै देउवा पक्षले पार्टीको केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाएको हो । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले कांग्रेस सभापति गगन थापा, प्रदेश, जिल्ला, क्षेत्रीय तथा वडा तहका सबै कार्यसमितिका साथै निर्वाचन आयोगलाई समेत पत्र पठाएका छन् । पत्रमा सर्वोच्च अदालतबाट विवादको अन्तिम निरूपण नभएसम्म कांग्रेसका तर्फबाट १५औँ महाधिवेशनलगायत कुनै पनि दूरगामी प्रभाव पार्ने सांगठनिक निर्णय तथा गतिविधि अघि नबढाउन आग्रह गरिएको छ । कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको फैसलाविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए । उक्त निवेदनमा सर्वोच्चले पुनरावलोकनका लागि ‘निस्सा’ जारी गर्दै यसअघिको फैसलामा गम्भीर कानुनी त्रुटि रहेको औँल्याएको कोइरालाको दाबी छ । सर्वोच्चबाट पुनरावलोकनको अनुमति प्राप्त भएसँगै पार्टीको वर्तमान नेतृत्व तथा सांगठनिक संरचनाको वैधानिकतामाथि नै कानुनी प्रश्न उत्पन्न भएको देउवा पक्षको निष्कर्ष छ । त्यसैले अदालतबाट अन्तिम फैसला नआएसम्म वर्तमान अवस्थामा कुनै पनि नयाँ सांगठनिक प्रक्रिया अघि बढाउँदा विवाद थप जटिल बन्न सक्ने उनीहरूको तर्क छ । विशेषगरी १५औँ महाधिवेशनको तयारी, सदस्यता नवीकरण, अधिवेशनसम्बन्धी प्रक्रिया तथा पार्टीका विभिन्न तहका सांगठनिक गतिविधि तत्काल स्थगित गर्न पत्रमार्फत आग्रह गरिएको छ । देउवा पक्षले सर्वोच्च अदालतमा विचाराधीन विषयको अन्तिम टुंगो नलाग्दै पार्टीको नेतृत्व र संरचनासँग सम्बन्धित महत्वपूर्ण निर्णय गरिएमा त्यसको वैधानिकतामाथि पुनः प्रश्न उठ्न सक्ने भन्दै सावधानी अपनाउन माग गरेको हो । यसैबीच, कांग्रेसभित्र नेतृत्व र पार्टीको वैधानिकतासम्बन्धी विवाद थप चर्किएको छ । एकातर्फ वर्तमान नेतृत्वले पार्टीका नियमित सांगठनिक गतिविधिलाई निरन्तरता दिने तयारी गरिरहेको छ भने अर्कोतर्फ देउवा पक्षले अदालतको निर्णय नआएसम्म कुनै पनि दूरगामी सांगठनिक प्रक्रिया अघि नबढाउन दबाब बढाएको छ । यसले कांग्रेसभित्रको संस्थापन र संस्थापनइतर पक्षबीचको विवादलाई थप कानुनी तथा राजनीतिक मोडमा पुर्याएको छ ।
ग्लोबल आइएमई बैंकको नाइमा अफर : ५.२५ प्रतिशत ब्याजमै अटो लोन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पोको अवसरमा व्यक्तिगत सवारी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । योजनाअनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा पाउनेछन् । हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ । बैंकको आधारदर घटबढ भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ । त्यस्तै, नयाँ विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ । तीन वर्षपछि भने उक्त कर्जामा बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुने व्यवस्था गरिएको छ । नाइमा अटो एक्स्पोमा ग्लोबल आइएमई बैंकले आफ्नै प्रदर्शनी कक्षसमेत राखेको छ । उक्त कक्षबाटै गाडी खरिद गर्न इच्छुक ग्राहकले सवारी कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । ग्राहकले आवश्यक कागजात पूरा गरेपछि बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार विशेष योजनाले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज र छिटो कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्नेछ ।
नेप्सेमा झिनो सुधार, ४ अर्ब ११ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.७९ अंकले बढेर २ हजार ६४१.८५ विन्दुमा पुगेको छ । मंगलबार बजारमा कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार अवधिमा ९५ लाख ३४ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् । कुल ३४० कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १२२ कम्पनीको सेयर मूल्य घट्दा २० कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर (एसओएचएल) शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनी (आरआईडीआई) को ३३ करोड ६७ लाख रुपैयाँ, न्यादी हाइड्रोपावरको १७ करोड ८६ लाख रुपैयाँ र खानीखोला हाइड्रोपावरको १३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार युनाइटेड हाइड्रोपावर लिमिटेड (यूएलएचसी) का लगानीकर्ता सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर ४३६.६० रुपैयाँ पुगेको छ । त्यस्तै, आरबीबीडी २०८८ को सेयर मूल्य ५.९२ प्रतिशत, एलयूकेको ५.२७ प्रतिशत, हिमस्टारको ३.७४ प्रतिशत र यूएचईडब्ल्यूएको ३.६० प्रतिशतले बढेको छ । मंगलबार नेप्सेमा ठूलो उतारचढाव देखिएन । परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । दिनभर कुल ५२ हजार ३३ वटा कारोबार भएका छन् ।