देउवा समूहको भेलामा बद्री पाण्डे नजाने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री बद्री पाण्डे साउन २९ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको संस्थापनइतर समूहको भेलामा सहभागी नहुने भएका छन् ।

वरिष्ठ नेता डा. शेखर कोइराला भने उक्त भेलामा सहभागी भएर सम्बोधन गर्ने निश्चित भइसके पनि कोइराला समूहकै नेता पाण्डेले भेलामा सहभागी नहुने स्पष्ट पारेका हुन् ।

पाण्डेले आफू विगतदेखि नै पार्टीभित्रका कुनै पनि समूह वा गुटले आयोजना गर्ने छुट्टाछुट्टै भेला तथा कार्यक्रममा सहभागी नभएको बताए । त्यसैअनुसार साउन २९ गतेदेखि आयोजना हुने भेलामा पनि आफू सहभागी नहुने उनको भनाइ छ ।

विकास न्यूजसँग कुरा गर्दै पाण्डेले भने, ‘म कुनै समूहको भेला र कार्यक्रममा जाने गरेको छैन । त्यसैले २९ गते हुने भेलामा पनि जाँदिनँ ।’

वरिष्ठ नेता डा. कोइराला भने आफ्नो राजनीतिक धारणा राख्नका लागि उक्त फोरममा सहभागी हुनु उपयुक्त हुने पाण्डेको धारणा छ । पार्टीभित्र फरक विचार र दृष्टिकोण राख्ने नेताहरूले आफ्ना कुरा राख्ने अवसरलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ ।

तर, आफू भने कांग्रेसलाई समूहगत विभाजनबाट बाहिर निकालेर एकीकृत र सग्लो पार्टी निर्माण गर्ने अभियानमा रहेको पाण्डेले बताए । पार्टीभित्र अहिले देखिएको गुटगत गतिविधिले कांग्रेसलाई थप कमजोर बनाउने भन्दै उनले सबै पक्षलाई एकताको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पाण्डे कुनै समूह विशेषको गतिविधिमा सहभागी हुनुभन्दा पार्टीको समग्र एकता र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने पक्षमा छन् । त्यसैले पार्टीभित्रको पूर्ण एकतापछि आयोजना हुने भेलामा मात्र आफू सहभागी हुने उनले बताए ।

‘मेरो प्राथमिकता कांग्रेसलाई एकीकृत र सग्लो बनाउने हो । पूर्ण एकतापछिको भेलामा मात्रै म सहभागी हुन्छु,’ पाण्डेले भने ।

नेपाली कांग्रेसको संस्थापनइतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजना हुने भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, विशेष महाधिवेशनसँग जोडिएका विषय तथा आगामी रणनीतिबारे छलफल गर्ने तयारी छ । भेलामा संस्थापनइतर पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहने नेताहरूले बताएका छन् ।

उक्त भेलालाई पूर्वसभापति देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पाण्डे भने आफू कुनै गुट वा समूहको भेलामा सहभागी नहुने पुरानै अडानमा कायम रहेको बताएका छन् । उनले पार्टीभित्र देखिएका मतभेदको समाधान समूहगत शक्ति प्रदर्शनबाट नभई संवाद र एकताबाट खोजिनुपर्ने धारणा राखेका छन् ।

Share News