विकासन्युज

एमबैंक र एनएमसी कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को–अपरेटिभ लिमिटेड (एनएमसी कोअप) बीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी भएको छ । एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच साझेदारी भएको हो । सम्झौतामा जेठ २९ गते हस्ताक्षर भएको थियो । सेवा भने साउन ७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । देशभर ५७ सेवा केन्द्रमार्फत १ लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा दिँदै आएको एनएमसी कोअपले अब आफ्ना सदस्यलाई एमबैंकको डिजिटल प्लेटफर्ममार्फत थप वित्तीय सेवा उपलब्ध गराउने भएको छ । साझेदारीपछि एनएमसी कोअपका सदस्यले एउटै मोबाइल एपमार्फत मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, फन्ड ट्रान्सफर, युटिलिटी पेमेन्ट, डिजिटल पेमेन्ट र केवाईएम अपडेटलगायतका सेवा लिन सक्नेछन् । साझेदारीमा डिजिटल ऋण सेवालाई समेत प्राथमिकता दिइएको छ । चरणबद्ध रूपमा सदस्यले फिक्स्ड डिपोजिट तथा पिरियडिक खाताविरुद्ध ऋण, ऋण भुक्तानी, ऋण विवरण तथा नयाँ ऋण आवेदनजस्ता सेवा मोबाइल प्लेटफर्मबाटै लिन सक्नेछन् । डिजिटल प्रक्रियाबाट आवश्यक कागजात बुझाउन र ऋण आवेदनको अवस्था हेर्न सकिने भएकाले ऋणका लागि शाखामा प्रत्यक्ष उपस्थित हुनुपर्ने बाध्यता समेत कम हुने अपेक्षा गरिएको छ । एनएमसी मल्टिपर्पज को–अपरेटिभका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार आवश्यक रहेको बताए । उनले साझेदारीले सदस्यलाई सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । एमबैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले साझेदारी मोबाइल बैंकिङ सेवाको विस्तारमा मात्र सीमित नभएको बताए । सहकारी क्षेत्रलाई डिजिटल प्रविधिमार्फत रूपान्तरण गर्ने साझा पहलका रूपमा यसलाई अघि बढाइएको उनको भनाइ छ । उनका अनुसार बैंकिङ, भुक्तानी र ऋण सेवालाई एउटै डिजिटल प्रणालीमा एकीकृत गरी सदस्यलाई सरल, सुरक्षित र आधुनिक वित्तीय अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ । कम्पनीका अनुसार साझेदारीले एमबैंकको ‘वन प्लेटफर्म फर बैंकिङ, पेमेन्ट्स एन्ड लेन्डिङ’ र ‘वन एप, मल्टिपल सर्भिसेज’ अवधारणालाई थप बलियो बनाएको छ । यसले सहकारी, लघुवित्त तथा वित्तीय क्षेत्रमा डिजिटल वित्तीय पहुँच विस्तार गर्ने प्रतिबद्धतालाई समेत थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

२९ गतेको राष्ट्रिय भेलामा शेखर कोइराला सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन् । विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूको समूहले आगामी २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको हो । उक्त भेलामा नेता कोइरालाले समेत सम्बोधन गर्ने तयारी रहेको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । थपलियाका अनुसार २९ गतेको भेला एकताको आह्वान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । उनले भने, ‘यो भेला विभाजनको भेला होइन, एकताको भेला हो ।’ पार्टीभित्रको आन्तरिक विवाद चर्किँदै गएपछि इतर समूहले विभिन्न गतिविधि गर्दै आए पनि कोइराला भने समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित बैठकहरूमा सहभागी भएका थिएनन् । तर, कोइरालाले राष्ट्रिय भेलामा भने सहभागी हुने निर्णय गरेका छन् । पार्टीभित्र देखिएको विवादमा कोइरालाले पछिल्लो समय आफूलाई मध्यमार्गी भूमिकामा प्रस्तुत गर्दै आएका छन् । देउवा पक्ष र थापा पक्षबीच बढ्दो टकरावका बीच कोइरालाको भेलामा सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ । डा. कोइराला विगतदेखि नै पार्टीभित्र मेलमिलापको पक्षमा देखिँदै आएका नेता हुन् । देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गर्न लागेको छ । उक्त भेलालाई पूर्वसभापति देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि निस्सा प्राप्त भएपछि इतर समूह थप उत्साहित बनेको छ । अदालतले फैसला पुनरावलोकनका लागि आदेश दिएसँगै तत्कालका लागि पार्टी विभाजनको सम्भावना टरेको निष्कर्ष उक्त समूहको छ ।

सरकारले कम्तीमा १० वर्षसम्म परिवर्तन नहुने गरी स्थिर नीति ल्याउनुपर्छ : सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले अटोमोबाइल र यातायात क्षेत्रको दिगो विकासका लागि सरकारले कम्तीमा १० वर्षसम्म परिवर्तन नहुने गरी स्थिर नीति ल्याउनुपर्ने माग गरेका छन् ।  नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नीतिगत अस्थिरताले लगानीकर्ता र व्यवसायीहरूमा त्रास पैदा गरेको बताए । अध्यक्ष सिटौलाले पछिल्लो समय विद्युतीय सवारी साधनमा व्यवसायीहरूको आकर्षण बढेको भए पनि ब्याट्रीको उच्च मूल्य र पार्टपूर्जाको अभाव मुख्य चुनौती रहेको उल्लेख गरे । ‘सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने भनेको छ, तर यसका लागि ५ देखि १० वर्षसम्म चल्ने स्थिर नीति र देशभरि चार्जिङ पूर्वाधारको विस्तार हुनुपर्छ,’ उनले भने ।  उनले प्रत्येक पेट्रोल पम्पहरूमा चार्जिङ स्टेसन राख्नका लागि सरकारले व्यवसायीहरूलाई विशेष अनुदान र सहुलियत दिनुपर्नेमा जोड दिए । सिटौलाले यातायात क्षेत्रको व्यवस्थापनमा वैज्ञानिक पद्धतिको आवश्यकता औंल्याए ।  उनले भने, ‘भाडा दर कुनै राजनीतिक दबाबमा होइन, लागत र प्रतिफलको आधारमा वैज्ञानिक ढङ्गले निर्धारण हुनुपर्छ । साथै रुट इजाजत दिनुअघि उक्त रुटमा यात्रुको संख्या र सवारीको आवश्यकताको वैज्ञानिक सर्वेक्षण गरिनुपर्छ ।’ उनले संघ र प्रदेश सरकारबीच यातायात नीतिमा देखिएको अन्योल अन्त्य गर्न ‘वान डोर’ प्रणाली लागू गर्नुपर्ने मागसमेत गरे । सडक दुर्घटनाको विषयमा बोल्दै अध्यक्ष सिटौलाले खुल्ला सिमानाबाट भित्रिने कमसल पार्टपूर्जाहरू दुर्घटनाको प्रमुख कारण बनेको दाबी गरे । ‘प्रहरीको तथ्याङ्कले दुर्घटनामा सार्वजनिक सवारीको हिस्सा २० प्रतिशत देखाएको छ, तर हामी यसलाई अझै कम गर्न चाहन्छौं,’ उनले भने । दुर्घटना न्यूनीकरणका लागि काठमाडौं, पोखरा, बुटवल जस्ता ठूला सहरहरूमा ठूला बसका लागि छुट्टै डेडिकेटेड लेनको व्यवस्था गर्न उनले सरकारलाई सुझाव दिए । नजिकिँदै गरेका चाडपर्वहरूमा यात्को चाप बढ्ने भए पनि नयाँ बसहरूको दर्ता प्रक्रिया रोकिएकोमा उनले चिन्ता व्यक्त गरे । यात्रुहरूलाई सहज सेवा दिनका लागि रोकिएका सवारी दर्ता प्रक्रिया तत्काल सुचारु गर्न उनले यातायात व्यवस्था विभाग र मन्त्रालयको ध्यानाकर्षण गराए । अध्यक्ष सिटौलाले देशभरका साढे ४ लाख सार्वजनिक सवारी साधनको नेतृत्व गर्दै व्यवसायीहरूलाई एक्सपोमा आएर नयाँ प्रविधि र सवारी साधनहरूबारे जानकारी लिन आह्वान गरे । उनले नाइमाले आयोजना गरेको यस एक्सपोले व्यवसायी, सरकार र उपभोक्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले चालकहरूलाई विद्युतीय सवारी चलाउन अभ्यस्त बनाउनका लागि नाइमा र महासंघ मिलेर विशेष तालिमका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने प्रस्ताव समेत राखे । यातायात क्षेत्रलाई प्रविधिमैत्री र सुरक्षित बनाउन नयाँ नीति र मापदण्ड ल्याइँदै  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले नेपालको यातायात क्षेत्रलाई पूर्ण रूपमा डिजिटलाइज र सुरक्षित बनाउन सरकारले नयाँ नीति तथा कानुनहरू परिमार्जन गरिरहेको बताएका छन् ।  नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रविधिमैत्री यातायात प्रणाली नै अबको आवश्यकता भएकोमा जोड दिए । राष्ट्रिय यातायात नीति र डिजिटल मोबिलिटी महानिर्देशक पोखरेलले विभागले हालै राष्ट्रिय यातायात नीति २०८३ ल्याएको जानकारी दिँदै यसले एकीकृत यातायात प्रणाली र सेवाको डिजिटलाइजेसनलाई मुख्य प्राथमिकता दिएको बताए ।  ‘हामी अब डिजिटल मोबिलिटीको युगमा प्रवेश गर्दैछौं, जसले गर्दा यात्रु र व्यवसायी दुवैलाई सेवा लिन र दिन सहज हुनेछ,’ उनले भने । सडक सुरक्षालाई सुदृढ बनाउन सवारी साधनहरूमा अनिवार्य रूपमा जीपीएस ट्र्याकिङ, सिटबेल्ट सुरक्षा र आकस्मिक घण्टीजस्ता प्रविधिहरू जडान गर्न विभागले कानुनी व्यवस्था र मापदण्डहरू तयार गरिरहेको उनले जानकारी दिए ।  यसले दुर्घटना न्यूनीकरण र सवारीको अनुगमनमा ठूलो सहयोग पुग्ने उनको विश्वास छ । सवारी रूपान्तरण र प्रदूषण नियन्त्रण वातावरण संरक्षणका लागि विभागले पुराना र बढी प्रदूषण फैलाउने सवारी साधनहरूलाई विद्युतीय  वा हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्न आवश्यक निर्देशिका र मापदण्ड निर्माण गरिरहेको पोखरेलले बताए । साथै सवारी साधन आयातका लागि राष्ट्रिय मापदण्ड तय गर्ने काम पनि अन्तिम चरणमा पुगेको उनले उल्लेख गरे। महानिर्देशक पोखरेलले विगतमा विभागको कार्यालयमा क्षति पुग्दा नाइमाले गरेको सहयोगको स्मरण गर्दै धन्यवाद समेत ज्ञापन गरे । महानिर्देशक पोखरेलले मोबिलिटी एक्सपो केवल सवारी साधनको प्रदर्शनी मात्र नभई यसले देशको अर्थतन्त्रलाई चलायमान बनाउन, नयाँ रोजगारी सिर्जना गर्न र प्रविधि हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले उपभोक्ताहरूले यस एक्सपोमार्फत सवारीका विशेषता र मूल्यबारे एकै ठाउँबाट सही जानकारी पाउने र लाभान्वित हुने विश्वास व्यक्त गरे ।

मधेसका चार नगरपालिकाको बजेट समस्या समाधान गर्न सरकारी टोली खटिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ । सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधिको संयुक्त टोली सम्बन्धित नगरपालिकामा स्थलगत रूपमा जाने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न पहल, प्रयास तथा समन्वयमार्फत बजेट पेश गर्ने वातावरण बनाउन खोजिए पनि हालसम्म नगरसभामा बजेट पेश हुन नसकेका स्थानीय तहमा उक्त टोली जान लागेको हो । टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा नगरपालिका, फतुवा विजयपुर नगरपालिका र मौलापुर नगरपालिका पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नेछ । बजेट निर्माण तथा नगरसभा सञ्चालनमा देखिएका समस्या पहिचान गर्दै आवश्यक सहजीकरण र समन्वय गर्ने मन्त्रालयले जनाएको छ । स्थानीय तहको बजेट प्रक्रिया लामो समयसम्म अवरुद्ध हुँदा सेवा प्रवाह तथा विकास निर्माणका काम प्रभावित हुन सक्ने भएकाले समस्या समाधानका लागि मन्त्रालयले स्थलगत रूपमा नै सहजीकरण गर्न लागेको हो । मन्त्रालयले स्थानीय तहमा देखिएका बजेट तथा सभा सञ्चालनसम्बन्धी समस्या समाधानका लागि आवश्यक समन्वय र सहजीकरणलाई निरन्तरता दिइरहेको छ ।

एआईको युगमा विद्यार्थीलाई भविष्यका लागि तयार गर्न क्याम्ब्रिज लिडरशिप सम्मेलन

काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टले काठमाडौंमा क्याम्ब्रिज इङ्लिस लिडरशिप कन्फरेन्स २०२६ आयोजना गरेको छ । सम्मेलनमा विद्यालयका प्रधानाध्यापक, विद्यालय नेतृत्वकर्ता तथा अंग्रेजी भाषा शिक्षकहरूको सहभागिता रहेको थियो । सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई भविष्यका लागि कसरी तयार गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । विद्यार्थी केन्द्रित कक्षाकोठा, प्रभावकारी मूल्यांकन, तथ्यमा आधारित प्रतिक्रिया तथा सञ्चार सीपको विकासमा सम्मेलनले जोड दिएको थियो । सम्मेलनमा प्रस्तुत क्याम्ब्रिजको सर्वेक्षणअनुसार करिब १ हजार ९ सय कलेज विद्यार्थीमध्ये करिब १०० प्रतिशतले राम्रो रोजगारीका लागि अंग्रेजी महत्वपूर्ण रहेको बताएका छन् । त्यस्तै, ३० प्रतिशत विद्यार्थीले अंग्रेजी भाषा सीप र आत्मविश्वासलाई रोजगारी प्राप्तिको प्रमुख चुनौतीका रूपमा लिएका छन् भने ५७ प्रतिशत विद्यार्थीले आफू रोजगारीका लागि पूर्ण रूपमा तयार नभएको बताएका छन् । सम्मेलनमा बहुभाषिक शिक्षण पद्धतिले अंग्रेजी सिकाइलाई थप प्रभावकारी बनाउन सक्ने विषयमा समेत चर्चा गरिएको थियो । मातृभाषा तथा क्षेत्रीय भाषालाई अंग्रेजीसँग रणनीतिक रूपमा प्रयोग गर्दा विद्यार्थीको पढ्ने क्षमता, कक्षाकोठामा सहभागिता र आत्मविश्वास बढ्ने अध्ययनले देखाएको जानकारी दिइएको थियो । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टका दक्षिण एसियाका प्रबन्ध निर्देशक अरुण राजामणिले एआई सिकाइको हिस्सा बन्दै जाँदा सञ्चार, विश्लेषण र आलोचनात्मक सोचको क्षमता झनै महत्वपूर्ण हुने बताए । उनले विद्यालयले अंग्रेजीलाई विषयका रूपमा मात्र नभई व्यावहारिक भाषा दक्षताका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । सम्मेलनमा सहभागी शिक्षक तथा विद्यालय नेतृत्वकर्ताले सञ्चार सीप विद्यार्थीको शैक्षिक सफलता, आत्मविश्वास, आलोचनात्मक सोच तथा सहकार्यका लागि महत्वपूर्ण रहेको बताए । कक्षाकोठामा छलफल, परियोजना, प्रस्तुति तथा अतिरिक्त क्रियाकलापमार्फत अंग्रेजी प्रयोगका अवसर बढाउनुपर्नेमा उनीहरूले जोड दिए । एआईको प्रयोग बढ्दै जाँदा विद्यार्थीलाई सूचना प्राप्त गर्ने क्षमतामात्र पर्याप्त नहुने विषयमा पनि छलफल गरिएको थियो । विचारको मूल्यांकन गर्ने, सही प्रश्न सोध्ने, सहकार्य गर्ने र आत्मविश्वासका साथ सञ्चार गर्ने क्षमता विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।   

एकैदिन साढे ६ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनचाँदीको मूल्यमा उच्चवृद्धि भएको छ । सुनको मूल्य आज तोलामा ६ हजार ४ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ९ सय पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर ३ लाख १ हजार ५ सयमा झरेको थियो।  त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ११० रुपैयाँ बढेर चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ३७१ डलर रहेको छ ।

गरिमा सुवर्ण योजनाको अनलाइन प्रणाली सुरु, लगानीकर्तालाई सहज हुने

काठमाडौं । गरिमा विकास बैंकको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ का लगानीकर्तालाई अनलाइनमार्फत विभिन्न सेवा उपलब्ध हुने भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भई सञ्चालनमा रहेको योजनामा सहभागी लगानीकर्तालाई सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले गरिमा क्यापिटलले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार लगानीकर्ताले अनलाइनमार्फत इकाइ खरिदका लागि आवेदन दिन तथा रकम भुक्तानी गर्न सक्नेछन् । यस्तै, व्यवस्थित लगानी योजना (एसआईपी) दर्ता तथा किस्ता भुक्तानी, लाभांश पुनःलगानी योजना (डीआरआईपी) दर्ता, लगानीकर्ता दर्ता, लगइन तथा प्रोफाइल व्यवस्थापनको सुविधा पनि उपलब्ध हुनेछ । यसैगरी, लगानीकर्ताले इकाइ पुनर्खरिद, एसआईपी संशोधन तथा एसआईपी रद्द गर्नेसम्मका सेवा अनलाइनबाटै लिन सक्नेछन् । कम्पनीले आगामी दिनमा अनलाइनमार्फत उपलब्ध हुने अन्य सेवासमेत क्रमशः थप गर्दै लैजाने जनाएको छ । योजनासँग सम्बन्धित सम्पूर्ण सेवाका लागि लगानीकर्ताले काठमाडौंमा रहेको योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको कार्यालय तथा गरिमा विकास बैंकका देशभरका शाखा कार्यालयबाट समेत सेवा लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । अनलाइन प्रणालीबाट सेवा उपलब्ध हुन थालेसँगै गरिमा सुवर्ण योजनाका लगानीकर्ताले इकाइ खरिद, एसआईपी तथा अन्य लगानीसम्बन्धी कामका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता कम हुने भएको छ । कम्पनीले यसबाट लगानीकर्तालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री सेवा उपलब्ध हुने विश्वास लिएको छ ।

रिलायबल नेपाल लाइफले उत्कृष्ट अभिकर्तालाई गर्‍यो सम्मान

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीले व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अभिकर्तालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । बुढानीलकण्ठस्थित होटल शीतल हाइटमा शुक्रबारदेखि आइतबारसम्म आयोजित कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) हासिल गर्न सफल अभिकर्ता, मेगा स्टार उपाधि प्राप्त अभिकर्ता तथा सिनियर एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो । उत्कृष्ट कार्यसम्पादन, समर्पण तथा कम्पनीको व्यावसायिक वृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित अभिकर्तालाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा प्रा.डा. भगवान कोइराला तथा डा. विष्णु प्रसाद रेग्मीले स्वास्थ्य, जीवन तथा पेशागत विकासमा टेवा पुग्ने उत्प्रेरणामूलक प्रस्तुति दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीको सफलताको प्रमुख आधार अभिकर्ता नै भएको बताए । उनले अभिकर्ताको निरन्तर मेहनत, व्यावसायिक प्रतिबद्धता तथा ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गरे । आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । कार्यक्रममा व्यवसाय विस्तारका सम्भावना, आगामी व्यावसायिक रणनीति तथा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा छलफल गरिएको थियो । सहभागी अभिकर्ताबीच अनुभव आदान–प्रदान तथा सफलताको प्रेरणादायी यात्राबारे अन्तरक्रियात्मक सत्रसमेत सञ्चालन गरिएको थियो । रिलायबल नेपाल लाइफले अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा तथा व्यावसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै आएको जनाएको छ । कम्पनीले यसबाट बीमा क्षेत्रको समग्र विकासमा योगदान पुग्ने विश्वास लिएको छ ।