कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि बैंकले उक्त सहयोग गरेको हो । सहयोग रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा र उपकरण व्यवस्थापनमा प्रयोग गरिने छ ।

नेपाल सरकारअन्तर्गत सञ्चालित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो । केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले सहयोग गरेको जनाएको छ । यस सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचार सेवा थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गको स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

बैंकका अनुसार सहयोगले बालबालिकाको उपचार गुणस्तर अभिवृद्धि गर्नुका साथै जीवनरक्षा दर बढाउन र स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।

‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनासहित बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकका देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइ रहेका छन् । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Share News