विकासन्युज

सूर्यविनायक-धुलिखेल सडकले यात्रु सास्ती, जनप्रतिनिधि आक्रोशित

काठमाडौं । ६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक निर्माणमा भएको ढिलासुस्तीबारे यहाँका जनप्रतिनिधिले चासो राखेका छन् । आइतबार बनेपा नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा आयोजना एवं निर्माण व्यवसायीसँग सो विषयमा छलफल भएको थियो । छलफलमा काम छिटो सम्पन्न गरी वर्षामा यात्रुलाई सहजता दिलाउनुपर्नेमा जोड दिइएको थियो । बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको छलफलमा सूर्यविनायक-धुलिखेल सडक आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा बागमती प्रदेश सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नगर उपप्रमुख विमला दाहाल, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, आयोजना प्रमुख, ठेकेदार कम्पनी लगायतको उपस्थिति थियो ।  छलफलमा धुलिखेल-सूर्यविनायक सडक आयोजनाअन्तर्गत बनेपा नगर क्षेत्रभित्रका सर्भिस लेन तथा सहायक सडकहरू बिनाअवरोध निर्वाध रूपमा सञ्चालन तथा निर्माण हुने व्यवस्था मिलाउने सम्बन्धमा सडक आयोजना र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । त्यसैगरी बनेपास्थित पुण्यमाता खोला पुल तथा भैँसीपाटी खोला पुल निर्माणका क्रममा अवरुद्ध सर्भिस लेन र सहायक मार्ग पुनः सञ्चालन हुनेगरी आवश्यक निर्माण तत्काल गरिनेछ । पुल बजार क्षेत्रमा पुण्यमाता खोलाबाट हुने डुबान रोक्न खोला गहिर्याउने, खोला सफा गर्ने तथा संरक्षणसम्बन्धी कार्य तुरुन्त अघि बढाइनेछ । त्यस्तै पुण्यमाता खोलामा रहेको पुलको सुरक्षा सुनिश्चित गर्न आवश्यक सम्पूर्ण कार्य सम्पन्न गरिने जनाइएको छ । ‘कुनै पनि हालतमा यात्रुलाई असहजता हुनुभएन, तत्काल सबै क्षेत्रमा मेन–लेनमा पक्की बनाउने नसक्ने भए सर्भिस ट्रयाकमा कुनै अवरोध हुनुभएन,’ मन्त्री वादेले भने ।  उनले चरणबद्ध रूपमा गरिने निर्माणबारे विभिन्न बहाना देखाएर निर्माण व्यवसायी पन्छिन खोजेकामा भने रोष प्रकट गरे । सडक अव्यवस्थित हुँदा भएका दुर्घटनामा दुई जनाको ज्यान जाँदा पनि आयोजना गम्भीर नभएको प्रति उहाँले असन्तोष व्यक्त गरे ।  आयोजनाप्रमुख विजय महतोले समग्र भौतिक प्रगति ७० प्रतिशत भएको जनाउँदै आगामी असार मसान्तसम्म मुख्य लेन पक्की गरिसक्ने बताए । उनका अनुसार ‘कालोपत्र गर्ने तयारी गरिए पनि बिटुमिनको अभाव’ले केही महिना ढिला भएको छ, तर पनि बिटुमिन ल्याउन विभिन्न तहमा पहल भइरहेको छ । भक्तपुर–धुलिखेल सडकखण्डअन्तर्गत निर्माण हुने तीनवटा पुल निर्माणका लागि निर्माण कम्पनीसँग थप पहल भइरहेको महतोले बताए ।  करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१५.०८ किलोमिटर)को हाल विस्तार २ महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण निर्माण कम्पनीहरूले कामको गति कम गरेको जनाएका छन् । उक्त आयोजना अहिले ‘सामग्री अभाव’ देखाउँदै प्रभावित बनाइएको छ । यसअघि चालु आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत काम सक्ने लक्ष्यसहित तीव्र गतिमा निर्माण भइरहेको जनाइएको छ । ठेक्काको जिम्मा पाएको लामा कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दै आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएकाले कामको गति सुस्त भएको बताए । उनका अनुसार आवश्यक सामग्रीको अभावमा काम पूर्ण रूपमा बन्द भने नभएको तर पहिलेको जस्तो तीव्रता कायम राख्न कठिन भएको छ । यस्तै भक्तपुरको सूर्यविनायक काभ्रेपलाञ्चोकको साँगा खण्डमा भने कामको प्रगति अझै कमजोर देखिएको छ । उक्त खण्डमा हालसम्म ४८ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ । ८ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २०७९ साल मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशतमात्र काम सम्पन्न भएको जनाइएको छ । सूर्यविनायक-धुलिखेल सडक बिस्तारकार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक-साँगा ७.५ किलोमिटर विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि एक बर्ष म्याद थपिएको हो । हाल साँगामा ‘अन्डरपास’ निर्माण अन्तिम चरण पुगेको छ ।

नेपालको सबैभन्दा होचो ठाउँमा पुग्यो कालोपत्रे सडक, बढ्यो पर्यटकीय चहलपहल

काठमाडौं । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका-२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका-४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकडभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । ‘काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ,’ सचिव कोइराला भन्छन्, ‘पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।’ कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्व विभागको पटक पटकको उत्खननका क्रममा फेला परेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेला परेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम-किचकको प्रतिमा, पोखरी र रमणीय वनभोज स्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । ‘विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो,’ उपाध्यक्ष भट्टराई भन्छन्, ‘बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।’ उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले बताए ।  भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने, तराईमा आंशिक बदली

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू-भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ । देशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भू- भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

क्यानद्वारा ४५ वटै जिल्लालाई बजेट विनियोजन, अब हरेक वर्ष एनुअल अवार्ड हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) बाट भएको आम्दानीको हिस्सा जिल्ला क्रिकेट संघहरूलाई वितरण गर्ने निर्णय गरेको छ ।  विराटनगरमा आइतबार सम्पन्न संघको वार्षिक साधारण सभाले ४५ वटै जिल्ला क्रिकेट संघहरूलाई २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।  क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार साधारण सभाले एनपीएलको पहिलो र दोस्रो संस्करणको आय-व्यय विवरण पारित गर्दै उक्त नाफाबाट जिल्लाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय लिएको हो । यसका साथै, जिल्लाहरूले सञ्चालन गर्ने कार्यक्रमहरूको प्रभावकारिता र सक्रियताका आधारमा ’स्कोर कार्ड ग्रान्ट’ समेत उपलब्ध गराइने भएको छ । साधारण सभाले संघको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन र सन् २०२६ का लागि तय गरिएको वार्षिक कार्यक्रम, कार्ययोजना तथा बजेटलाई समेत अनुमोदन गरेको छ ।  एसीसी र आईसीसीबाट थप कार्यक्रमहरू आएको खण्डमा बजेट समायोजन गर्ने अख्तियारी केन्द्रीय कार्यसमितिलाई दिइएको छ ।  क्रिकेटरहरूको मनोबल उच्च राख्न क्यानले यसै वर्षदेखि प्रत्येक डिसेम्बरमा क्यान एनुअल अवार्ड घोषणा गर्ने निर्णय पनि गरेको छ ।  जसअन्तर्गत उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी (पुरुष र महिला) र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । 

कोहलपुरमा १ सय ८ घरटहरा हटाइयो

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ ।  कोहलपुर नगरपालिका-११ स्थित कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी निर्माण गरिएका १०८ घरटहरा हटाइएको नगरपालिकाले जनाएको छ ।  नगरपालिकाले शनिबारदेखि नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत पर्ने करिब ३६ बिघा क्षेत्रफलमा रहेको अतिक्रमित बस्ती हटाउने अभियान सुरु गरेको हो ।  विशेषगरी क्रिकेट मैदान आसपासको क्षेत्रमा वर्षौंदेखि निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाइएको हो । शनिबार ४० घरटहरा हटाइएको थियो । कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले नगरपालिकाले पूर्वसूचना तथा समयसीमा दिएरै अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको बताए ।  उनले भने, ‘वैशाख १६ गते नै १० दिने अल्टिमेटम जारी गरेर अतिक्रमित क्षेत्र खाली गर्न अनुरोध गरिएको थियो । अधिकांश नागरिकले आफैँ सरसामान सार्ने काम गरिरहनुभएको छ । हामीले पूर्ण रूपमा खाली गरिएका संरचना मात्र हटाएका हौं ।’ नगर प्रहरी प्रमुख थापाका अनुसार स्थानीय प्रशासन, जनप्रतिनिधि, नगर प्रहरी र सुरक्षाकर्मीको उपस्थितिमा उक्त अभियान सञ्चालन गरिएको हो । नगरपालिकाले विस्थापित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्दै ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ ।  नगरपालिकाका अनुसार शनिबार ७३ घरधुरीले होल्डिङ सेन्टरमा बस्नका लागि फाराम भरेका थिए । हाल ५४ परिवारका २०८ जना होल्डिङ सेन्टरमा बसिरहेका नगरपालिकाले जनाएको छ । नगर प्रहरी प्रमुख थापाले वास्तविक भूमिहीन र सुकुमवासीको पहिचान प्रक्रिया पनि सँगसँगै अगाडि बढाइएको जानकारी दिए । उनले भने, ‘सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सबै नागरिक सुकुमवासी होइनन् । त्यसैले नगरपालिकाले वास्तविक भूमिहीन दलित र भूमिहीन सुकुमवासीको पहिचान गर्न प्रक्रिया अघि बढाएको छ ।’ नगरपालिकाका अनुसार गत वर्ष सो क्षेत्रमा बसोबास गर्ने ७५१ परिवारले आफूलाई भूमिहीन तथा सुकुमवासी भन्दै फाराम भरेका थिए ।   

रास्वपाले दियो मिलन पाण्डेलाई शिक्षा र डा. प्रभातलाई स्टार्टअपको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठन विस्तार र सुदृढीकरणका लागि आफ्ना विभागहरूमा नयाँ नेतृत्व मनोनयन गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले शिक्षा, स्टार्टअप र र्‍यापिड एक्सन टीम (आरएटी) मा जिम्मेवारी बाँडफाँट गरेको हो । बैठकको निर्णयअनुसार वैकल्पिक राजनीतिको मुद्दामा सक्रिय मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । शिक्षा क्षेत्रको सुधार र नीतिगत बहसका लागि पाण्डेलाई उपयुक्त पात्रका रूपमा रास्वपाले अघि सारेको हो । यस्तै, उद्यमशीलता र प्रविधिलाई प्राथमिकता दिँदै रास्वपाले डा. प्रभात अधिकारीलाई स्टार्टअप विभागको प्रमुखमा मनोनयन गरेको छ । पछिल्लो समय स्टार्टअप र नवीन व्यवसायीहरूका समस्या सम्बोधन गर्न रास्वपाले यो विभागलाई विशेष महत्व दिँदै आएको छ । बैठकले पार्टीको प्रभावकारी उपस्थिति र परिचालनका लागि गठन गरिएको र्‍यापिड एक्सन टीम (आरएटी) को नेतृत्व पनि टुङ्ग्याएको छ ।  केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप-प्रमुखमा एपीएफका पूर्वडीआईजी विदुर खड्कालाई मनोनयन गरेको छ ।  सुरक्षा निकायको लामो अनुभव भएका पूर्व डीआईजी खड्का र सांगठनिक कार्यमा सक्रिय थापाको नेतृत्वले आरएटीलाई थप अनुशासित र प्रभावकारी बनाउने विश्वास पार्टीले लिएको छ ।

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा २२ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, रौतहट, पर्सा, झापा, मोरङलगायत जिल्लाबाट अवैध लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका-५ बाट एक, कैलालीको भजनी नगरपालिका(३ कुसुमघाटबाट एक, जानकी गाउँपालिका-१ गुजरूवा चौराहबाट एक, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट एक जना पक्राउ परेका छन् । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ बडैपुरबाट एक, पुनर्वास नगरपालिका-४ घगाउँबाट दुई जना पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । रौतहटको चन्द्रपुर नगरपालिका-५ बाट एक, पर्साको वीरगञ्ज महानगरपालिका-१६ बाट पाँच, झापाको भद्रपुर नगरपालिका-८ बाट दुई, कनकाई नगरपालिका-३ सुरूङगा बजारबाट एक, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट एक जना अवैध लागुऔषसहित पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका-६ नमूनाटोलबाट एक, महोत्तरीको बर्दिवास नगरपालिका-१ बाट एक, सुनसरीको धरान उपमहानगरपालिका-१६ गणेशमान चोकबाट दुई र बर्दियाको बाँसगढी नगरपालिका-५ बाँसगढीबाट एक जना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

संविधान संशोधनमा जुटेन सहमति: विज्ञ र दलका नेताहरूको फरक-फरक मत

काठमाडौं । संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ । ‘फेडरालिजम एण्ड लोकलाइजेशन सेन्टर’ले आज (आइतबार) आयोजना गरेको ‘संविधान संशोधनमा संघीयता र प्रदेश संरचनाको सवाल’ विषयक छलफल कार्यक्रममा सरकारले बनाएको संविधान संसोधन कार्यदलसँग राजनीतिक दलका नेता तथा विज्ञहरुबीच अन्तरक्रिया गरिएको हो ।  कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा संविधान संसोधन कार्यदलका सदस्य मोहनलाल आचार्यले सबै विषयमा तल्लो तहसम्म खुला रुपमा छलफल गरेर संसोधनको मस्यौदा तयार पारिने बताए ।  प्रदेशसभा सदस्यको सङ्ख्या र मन्त्रालयको सङ्ख्या घटाउन तथा निर्वाचन प्रणालीबारे सोच्न एवं सच्याउन सकिने उनको भनाइ थियो । केही संवैधानिक आयोगलाई जोडेर छाता आयोग बनाउन सकिने उनले उल्लेख गरे ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कार्यदल सदस्य देवप्रसाद गुरुङले समय अनुसार सुधार गर्नु राम्रो कुरा भएको उल्लेख गर्दै के संसोधन गर्ने भन्ने विषयमा राष्ट्रिय सहमति आवश्यक भएकामा जोड दिए । राष्ट्रिय सहमति बिना संविधान संशोधन गर्ने कुरा सजिलो नभएको उनको भनाइ थियो ।  नेपाली कांग्रेसका नेता तथा संविधानविद् राधेश्याम अधिकारीले संघीयता विकेन्द्रीकरण मात्रै नभएर शक्ति बाँडफाँट पनि हो भन्दै लामो समयदेखि अधिकांश समय देशको शासकीय स्वरुप केन्द्रीकृत भएकाले हाम्रो मानसिकता पनि मूलरुपमा केन्द्रीकृत भएको बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी नेपाल जस्तो देशमा जोखीमपूर्ण हुनसक्ने बताए ।  नेकपा (एमाले) का नेता तथा संविधान संशोधन कार्यदलका सदस्य डा भीष्मराज अधिकारीले सरकार के के विषयमा संविधान संशोधन गर्न चाहन्छ भन्ने कुरा स्पष्ट नभएको बताए । सङ्घीयता बलियो बनाउँदा देश बलियो हुने उनको भनाइ थियो ।  मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता मधेस प्रदेशको दबाबमा आएको भन्दै यसलाई सुरुआतदेखि नै कमजोर र अधिकारबिहीन बनाइएको आरोप लगाए ।  बागमती प्रदेशका पूर्वमन्त्री तथा आदिवासी जनजाति महासङ्घका अध्यक्ष नीमा ह्योल्मो लामाले आदिवासी जनजातिका मुद्दा संबोधन हुनुपर्ने र सङ्घीयताको मूल मर्म नै प्रदेश संरचना भएको बताए ।  कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, लुम्बिनी प्रदेशसभा सदस्य नीमा गिरी, बागमती प्रदेश नीति योजना आयोगका पूर्वउपाध्यक्ष तथा भूमि विज्ञ डा. जगत बस्नेत, वरिष्ठ अधिवक्ता तथा मधेस प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता सुरेन्द्र महतो, कर्णाली प्रदेश नीति योजना आयोगका पूर्वसदस्य डा. दीपेन्द्र रोकाया, लेखक ईन्दु थारुलगायतले आ-आफ्नो धारणा राखेका थिए ।