डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
काठमाडौं । टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो । विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो । बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन् । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो । विमानलाई रनवेमै रोकेर आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो । विमानमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य रहेको उनको भनाइ छ ।
सिताके च्याउ केजीको १००० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो लाम्चो प्रतिकिलो रु २८, आलु रातो (गोलो) प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली तराई प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ९५, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ११०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १६५, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ५५, झिगुनी प्रतिकिलो रु ९०, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो प्रतिकेजी रु १००, तोरीसाग प्रतिकिलो रु ३५, चमसुरको साग प्रतिकेजी रु १००, मेथीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १४०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, ब्रोकाउली प्रतिकिलो रु १४०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २६०, सेलरी प्रतिकिलो रु ११०, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा प्रतिदर्जन २००, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, रुख कटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १४०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ५५०, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्यापी (सुकेको) प्रतिकेजी रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।
बोटलर्स नेपालको नाफामा उछाल, तराईको २४३ र बालाजुको १ हजार २७६ प्रतिशत बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा बोटलर्स नेपाल समूहका दुवै कम्पनी– बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले उल्लेख्य नाफा आर्जन गरेका छन् । बोटलर्स नेपाल (तराई) को चालु आवको तेस्रो त्रैमासमा खुद नाफा २४३ प्रतिशत बढेर २७ करोड ७० लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ५५ करोड ८० लाख ८७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ३६ लाख ६० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब ५५ करोड ४७ लाख ७९ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ७ करोड २ लाख ३५ हजार रुपैयाँ, सञ्चालन नाफा ३९ करोड ९९ लाख ६६ हजार रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब २२ करोड २३ लाख ७७ हजार रुपैयाँ कुल नाफा, ५ करोड ३६ लाख ८१ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी र २४ करोठ ७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । चालु आवको चैतमा कम्पनीको कस्ट अफ सेल्स ४ अर्ब ३३ लाख ८ हजार रुपैयाँ, बिक्री तथा वितरण खर्च ९७ करोड ७४ लाख ९८ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च २४ करोड ७५ लाख ५० हजार रुपैयाँ र वित्त लागत १० करोड ९६ लाख ६९ हजार रुपैयाँ रहेको छ । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ३ अर्ब ६७ करोड ५८ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ३०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार १३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९ गुणा रहेको छ । बोटलर्स नेपाल (बालाजु) को चालु आवको तेस्रो त्रैमासमा खुद नाफा १ हजार २७६ प्रतिशत बढेर २१ करोड ९९ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ६५ करोड ४१ लाख २२ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७ करोड ४४ लाख ३४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २ अर्ब १३ करोड ६५ लाख ९३ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ६ करोड ६३ लाख ८२ हजार रुपैयाँ र सञ्चालन नाफा ३९ करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ८२ करोड ३२ लाख ४० हजार रुपैयाँ कुल नाफा, २ करोड ५० लाख ८३ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी र २३ करोड २१ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । चालु आवको चैतमा कम्पनीको कस्ट अफ सेल्स ५ अर्ब ५१ करोड ७५ लाख २९ हजार रुपैयाँ, बिक्री तथा वितरण खर्च १ अर्ब ३१ करोड ३२ लाख ४७ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च ४९ करोड ३१ लाख ५८ हजार रुपैयाँ र वित्त लागत १२ करोड २१ लाख ८२ हजा रुपैयाँ रहेको छ । १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ५ अर्ब ८७ करोड ६७ लाख ८४ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११७ गुणा रहेको छ ।
आजदेखि सरकारी कार्यालयमा सरसफाइ, शौचालयदेखि सेवा कक्षसम्म मापदण्ड कडा
काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु हुँदैछ । सरकारले आजदेखि जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ । यस राष्ट्रिय अभियानको औपचारिक शुभारम्भ आज बिहान ८:३० बजे वीर अस्पतालबाट भएकाे छ । अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ मा उल्लेख छ । सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो । 'सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ,' मार्गदर्शनको पृष्ठभूमिमा उल्लेख गरिएको छ । मार्गदर्शनअनुसार सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिन्हहरू स्पष्ट र व्यवस्थित हुनुपर्नेछ । चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरिनेछ । मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिनेछ । यस्तै, सबै शौचालयलाई दुर्गन्धरहित बनाइनेछ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ । हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ र दैनिक सफाइको अभिलेख राख्नुपर्नेछ । शौचालयहरू महिलामैत्री, ‘स्यानिटरी डिस्पोजल’ सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्नेछ । सरकारी कार्यालयहरूले कम्तीमा दुई प्रकारका ‘डस्टबिन’ राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ । पुराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिनुका साथै खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ । कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्नेछ । ‘पार्किङ’ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ । कार्यालयमा ‘हेल्प डेस्क’को व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाइनेछ । सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ । दिगोपन र अनुगमनको संयन्त्र अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्नेछ । प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व-मूल्याङ्कन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छ, जसले यसको नियमित अभिलेख राख्नुपर्नेछ । अभियानले सबै सङ्घीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्नेछ ।
प्रभु महालक्ष्मीको नाफा साढे २७ करोड रुपैयाँ, १६.९० अर्ब पुग्यो जीवन बीमा कोष
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा १.६० प्रतिशत बढेर २७ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आवको ९ महिनामा कम्पनीले ४ अर्ब १५ करोड रुपैयाँ खुद बीमा शुल्क र ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क र ३ अर्ब ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९० करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चालु आवको ९ महिनामा कम्पनीले ५ अर्ब १६ करोड रुपैयाँ कुल आम्दानी गरी ४ अर्ब ८९ करोड रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ कुल आम्दानी गरी ४ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १३ करोड ९४ लाख रुपैयाँ, सञ्चित नाफा ३३ करोड २१ लाख रुपैयाँ र अन्य इक्विटी ३३ करोड ८१ लाख रुपैयाँ र जीवन बीमा कोष १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.७६ गुणा रहेको छ ।
ओरिएन्टल इन्स्योरेन्सको नाफा ३०.६६ करोड रुपैयाँ, २८.१३ प्रतिशत बढ्यो बीमा शुल्क
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको थियो । चालु आवको ९ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २८.१३ प्रतिशत बढेर १ अर्ब ६ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड १९ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्म १ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कुल बीमाशुल्क आर्जन १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.०३ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९६ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चालु आवको ९ महिनामा कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ कुल आम्दानी गरी ९० करोड ४३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ कुल आम्दानी गरी १ अर्ब २० करोड रुपैयाँ कुल खर्च गरेको थियो । कम्पनीको स्पेसल रिजर्भ १ अर्ब ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यस्तै, महाविपत्ति कोषमा ७ करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १२ लाख १५ हजार रुपैयाँ तथा अन्य इक्विटीमा ८७ करोड ४९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको बीमा कोष ८ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ ।
बुद्धभुमी नेपाल हाइड्रोको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ । चैत २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरूले आवसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ४० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै कम्पनीको पानी पोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान थप्रेक नुवाकोट, एनआईसी एशिया बैंकको विराटनगर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगलागी
काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो । ‘आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ,’ उनले भने, ‘अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।’ उनका अनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । सबै यात्रुहरूलाई सकुशल बाहिर निकालिएको थियो । अहिले प्राविधिक जाँच भइरहेको सिलवालले जानकारी दिए ।