काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाएका छन् । शनिबार पार्टीको कोसी प्रदेश समितिले आयोजना गरेको एक कार्यक्रममा उनले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ताकब्जा गरेको आरोप लगाएका हुन् ।
२०६२/६३ सालको परिवर्तनपछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकामा अहिले रास्वपा त्यस्तो शक्ति बनेर अघि आएको उनले टिप्पणी गरे । उनले कम्युनिस्ट पार्टीको मुख्य वर्गशत्रु नै अब रास्वपा रहेको बताए ।
वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको उनले आरोप लगाए । सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले आमजनता तथा तल्लो वर्गको हित नगरेको उनले जिकिर गरे ।
सरकारका आर्थिक नीति माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उनले बताए । उनले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजय सामान्य हार नभएको उल्लेख गरे ।
कम्युनिस्ट पार्टी नेतृत्वले विगतमा गरेका कमजोरीका कारण निर्वाचनमा सर्मनाक हार व्यहोर्नुपरेको उनले बताए । त्यसमा बाह्य शक्तिको प्रभाव भए पनि त्यसलाई गौण कारणका रूपमा हेरिनुपर्ने उनको भनाइ थियो ।
उनले विगतमा कम्युनिस्ट पार्टीसँग जोडिएका ठूलो संख्याका कार्यकर्ता तथा समर्थकमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि बढेको बताए । विदेशिएका श्रमिक र असन्तुष्ट जनतालाई विभिन्न शक्तिले आफ्नो पक्षमा परिचालन गरेको उनले आरोप लगाए ।
उनले वर्तमान सरकारले जनताको हितमा कुनै काम गर्न नसक्ने पनि बताए । वर्तमान सरकारका नीतिका कारण सुकुम्वासी, विद्यार्थी, मजदुर तथा पत्रकार समस्यामा परेको उनको भनाइ थियो ।