काठमाडौं । नेपाल राष्ट्र बैंकबाट गत आर्थिक वर्ष २०८२/८३ मा ३० जना कर्मचारीले अवकाश पाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षभरी उमेरहद र सेवा अवधिका कारण २ जना डेपुटी गभर्नर र ६ जना कार्यकारी निर्देशक (ईडी) सहित ३० जनाले अनिवार्य रुपमा अवकाश पाएका हुन् ।
राष्ट्र बैंकबाट गत फागुन २४ गते डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले पाँच वर्षे कार्यकाल पूरा गरी बिदा भए । उनीहरू वि.सं. २०७७ फागुन २५ गते डेपुटी गभर्नर पदमा नियुक्त भएका थिए । डा. तिम्सिना २०५४ सालमा सहायक निर्देशक पदबाट राष्ट्र बैंक सेवामा प्रवेश गरेकी थिइन् भने बमबहादुर मिश्रले २०५९ सालमा सहायक निर्देशक पदबाट बैंक सेवामा प्रवेश गरेका थिए ।
राष्ट्र बैंकका अनुसार २०५४ मङ्सिर २२ गते बैंक सेवामा प्रवेश गरेका वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीप राज पौड्यालले २०८२ साउन १७ गतेदेखि ५८ वर्षे उमेरहदका आधारमा अवकाश पाएका हुन् । पौड्यालले वित्त व्यवस्थापन विभागसँगै मुद्रा व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग र गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागको नेतृत्व सम्हालेका थिए ।
यसैगरी, २०५९ चैत २० गते बैंक सेवामा प्रवेश गरेका वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले २०८२ भदौ १२ गतेदेखि अवकाश पाएका छन् । भट्टले वित्त व्यवस्थापन विभागसँगै तत्कालीन वित्तीय संस्था सुपरिवेक्षण विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको नेतृत्व सम्हालेका थिए ।
२०५७ असार १ गते बैंक सेवामा प्रवेश गरेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले २०८२ कात्तिक ६ गतेदेखि अवकाश पाएका हुन् । उनले गभर्नरको कार्यालयसँगै तत्कालीन राष्ट्र ऋण व्यवस्थापन विभाग, आर्थिक अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग र भुक्तानी प्रणाली विभागको नेतृत्व सम्हालेका थिए । उनले सात वर्षे पदावधिका आधारमा अवकाश पाएका हुन् ।
त्यसैगरी, २०५४ मङ्सिर २२ गते बैंक सेवामा प्रवेश गरेका कार्यकारी निर्देशक विमलराज खनालले २०८२ पुस ७ गतेदेखि अवकाश पाएका छन् । खनालले वित्त व्यवस्थापन विभागसँगै गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, आन्तरिक लेखापरीक्षण विभाग र लघुवित्त संस्था सुपरिवेक्षण विभागको नेतृत्व सम्हालेका थिए । उनले ५८ वर्षे उमेरहदका आधारमा अवकाश पाएका हुन्।
यस्तै, कार्यकारी निर्देशक रोशनकुमार सिग्देलले २०८२ चैत १८ गतेदेखि बैंक सेवाबाट अवकाश पाएका छन् । २०५४ मङ्सिर २२ गते बैंक सेवामा प्रवेश गरेका सिग्देलले बैंकिङ विभागसँगै सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको नेतृत्व सम्हालेका थिए । उनले ५८ वर्षे उमेरहदका आधारमा अवकाश पाएका हुन् ।
यस्तै, २०५४ मङ्सिर २२ गते बैंक सेवामा प्रवेश गरेका कार्यकारी निर्देशक नरेश शाक्यले २०८३ जेठ ३० गतेदेखि अवकाश पाएका छन् । शाक्यले लघुवित्त संस्था सुपरिवेक्षण विभागसँगै बैंकिङ, मौद्रिक व्यवस्थापन, मुद्रा व्यवस्थापन, सूचना प्रविधि, मानव संसाधन व्यवस्थापन र आन्तरिक लेखापरीक्षण विभागको नेतृत्व सम्हालेका थिए । उनले सात वर्षे पदावधिका आधारमा अवकाश पाएको मानव संसाधन व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ३० वर्षे सेवा अवधिका आधारमा बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागका कार्यालय सहयोगी प्रथम क्रमशः हिरा लक्ष्मी नेपाली र साउचा पोडेले २०८२ साउन १ गते अवकाश पाएका छन् ।
५८ वर्षे उमेरहदका आधारमा विराटनगर कार्यालयका प्रधान चालक सत्रुघ्न सिङ दनुवारले साउन ५ गते तथा सिद्धार्थनगर कार्यालयका कार्यालय सहयोगी तृतीय अशोककुमार बर्माले साउन ६ गतेदेखि अवकाश पाएका छन् ।
विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिम्सिनाले २०८२ असोज २२ गतेदेखि अवकाश पाएका छन् । यसैगरी, गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यालय सहयोगी प्रथम गायत्री सापकोटा र वित्तीय जानकारी इकाइका कार्यालय सहयोगी प्रथम निर्मला अधिकारीले क्रमशः असोज १० र १६ गतेदेखि अवकाश पाएका छन् ।
टक्सार महाशाखाका निर्देशक लोकेन्द्रप्रसाद अर्यालले २०८२ कात्तिक २५ गतेदेखि तथा विराटनगर कार्यालयका कार्यालय सहयोगी तृतीय सुनेच्रीदेवी डोमले मङ्सिर ७ गतेदेखि अवकाश पाएका छन् । उनीहरूले ५८ वर्षे उमेरहदका आधारमा अवकाश पाएका हुन् ।
सिद्धार्थनगर कार्यालयका उपनिर्देशक माधवराज ढकालले २०८२ माघ ३ गते तथा लघुवित्त संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक नरेशकुमार अधिकारीले माघ २१ गतेदेखि अवकाश पाएका छन् ।
सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका वरिष्ठ प्लम्बर रामकृष्ण खड्की र गभर्नरको कार्यालयका कार्यालय सहयोगी प्रथम शान्ति नेपालले २०८२ फागुन ७ गतेदेखि अवकाश पाएका छन् ।
यसैगरी, कानुन महाशाखाका निर्देशक टेकराज भण्डारीले चैत २९ गते तथा जनकपुर कार्यालयका कार्यालय सहयोगी प्रथम बाबुलाल वाइबाले चैत ३० गतेदेखि बैंक सेवाबाट अवकाश पाएका छन् ।
२०८३ जेठमा कानुन महाशाखाका उपनिर्देशक प्रह्लाद खड्का, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका उपनिर्देशक धीरेन्द्रकुमार आरसी, प्रधान सहायक पार्वती खरेल र गभर्नरको कार्यालयका कार्यालय सहयोगी तृतीय खिनबहादुर मगरले अवकाश पाएका छन् । उनीहरूले क्रमशः जेठ १०, २४, ११ र २ गतेदेखि अवकाश पाएका हुन्।
त्यसैगरी, लघुवित्त संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक गोविन्दप्रसाद भण्डारीले असार १ गतेदेखि, बैंक तथा वित्तीय संस्था नियमन विभागका सहायक मञ्जु माया अधिकारीले असार १० गतेदेखि र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका उपनिर्देशक रेवतीराज पौडेलले असार २२ गतेदेखि अवकाश पाएका छन् । उनीहरूले ५८ वर्षे उमेरहदका आधारमा अवकाश पाएको मानव संसाधन व्यवस्थापन विभागले जनाएको छ ।
यसैबीच, टक्सार महाशाखाका उपनिर्देशक विष्णुबहादुर श्रेष्ठको गत असार १३ गते उपचारका क्रममा असामयिक निधन भएको छ । विगत केही महिनादेखि अस्वस्थ रहेका श्रेष्ठको ५५ वर्षको उमेरमा निधन भएको हो ।