एसईई उत्तीर्ण १०० विद्यार्थीलाई एनसेलले छात्रवृत्ति दिने
काठमाडौं । शिक्षा र युवा सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै एनसेल अन्तर्गतको एनसेल फाउन्डेसनले यस वर्ष पनि देशभरका एसईई उत्तीर्ण विद्यार्थीका लागि ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा गरेको छ । प्रोजेक्ट शिक्षा सँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत १०० जना विद्यार्थीले कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्तिका लागि सातै प्रदेशमा लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत विद्यार्थी छनोट गरिनेछ । आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई प्राथमिकता दिइने यस योजनाले देशका दूरदराजका विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने लक्ष्य राखेको छ । छात्रवृत्तिसँगै छनोट भएका विद्यार्थीले १२ महिनासम्म निःशुल्क डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि प्राप्त गर्नेछन् । यसले उनीहरूलाई अध्ययन, सूचना र अवसरसँग निरन्तर जोडिरहन सहयोग पुग्ने विश्वास गरिएको छ । शिक्षा देशको भविष्य निर्माण गर्ने आधार भएको भन्दै एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा दिगोपन निर्देशक विशाखा लक्ष्मी खड्काले भौगोलिक अवस्था र आर्थिक कठिनाइका कारण कुनै पनि युवाको सपना अधुरो रहन नहुने बताइन् । उनका अनुसार पारदर्शी छनोट प्रक्रियामार्फत अवसरको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुर्याइनेछ । यसैबीच, हन्ड्रेड ग्रुप द्वारा सञ्चालित प्रोजेक्ट शिक्षाले थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । सन् २०१७ देखि सञ्चालनमा रहेको यो कार्यक्रमले नेपालभरका हजारौं विद्यार्थीलाई शैक्षिक अवसर प्रदान गर्दै आएको छ । गत वर्ष पनि यस कार्यक्रमअन्तर्गत ५० जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए । उनीहरू हाल विभिन्न शैक्षिक संस्थामा अध्ययनरत छन् ।
‘एजेन्सी करियर बबाल छ’ नारासहित सन नेपाल लाइफको एडीएम ३६०° ग्रोथ समिट सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) हरूलाई सहभागी गराउँदै ‘एडीएम ३६०° ग्रोथ समिट १.०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दुई दिने अर्थात् जेठ २ र ३ गते आयोजना गरेको उक्त शिखर सम्मेलन ‘एजेन्सी करियर बबाल छ’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको थियो । एजेन्सीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, व्यवसाय विस्तार गर्ने, आधुनिक बजार व्यवस्थापन तथा बीमा क्षेत्रमा करियर निर्माणका अवसरबारे सहभागीहरूलाई थप उत्प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । सम्मेलनमा देशभरबाट एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली बजारका प्रख्यात प्रशिक्षकद्वय किशु झा र अजय रेग्मीले विशेष प्रशिक्षण दिएका थिए । उनीहरूले नेतृत्व विकास, व्यक्तिगत दक्षता, टोली व्यवस्थापन, व्यवसाय विस्तार रणनीति तथा आधुनिक बीमा बजारका चुनौती र अवसरका विषयमा सहभागीहरूलाई महत्त्वपूर्ण जानकारीहरू प्रदान गरेका थिए। यस्तै, कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कबी फुयालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत फुयाल तथा प्रमुख बजार अधिकृत चौलागाईले एजेन्सी व्यवसायको वर्तमान अवस्था, भविष्यका सम्भावना, लक्ष्य प्राप्ति तथा व्यवसाय वृद्धिसम्बन्धी विशेष प्रस्तुति दिएका थिए । उनीहरूले सहभागीहरूलाई एजेन्सी पेशालाई सम्मानित, सम्भावनायुक्त र दीर्घकालीन करियरका रूपमा विकास गर्न प्रेरित गरेका थिए । यसैगरी कार्यक्रममा कम्पनीका अन्य उच्च अधिकारीहरूले पनि प्रशिक्षण तथा अनुभव आदानप्रदान गरेका थिए । प्रमुख ग्राहक अनुभव तथा संरक्षण अधिकृत सचेत श्रेष्ठ, लिड रिक्रुटमेन्ट अफिसर सुनिल अधिकारी, लिड ट्रेनिङ अफिसर भुवन सिंह मगर तथा ब्रान्ड एण्ड कम्युनिकेसन प्रमुख सोमेश लाल जोशीले ग्राहक सम्बन्ध व्यवस्थापन, नेतृत्व विकास, ब्रान्ड निर्माण, भर्ती रणनीति तथा व्यवसाय प्रवर्द्धनका विविध विषयमा आफ्ना भनाइहरू राखेका थिए । कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख तथा क्षेत्रीय प्रबन्धकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । जसमा कोशी प्रदेश प्रमुख तुल्सीनाथ पौड्याल, मधेश प्रदेश प्रमुख नवराज चौधरी, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, गण्डकी प्रदेश प्रमुख ईश्वर विकल सापकोटा, लुम्बिनी क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्री, राप्तीरभेरी क्षेत्रीय प्रबन्धक दिपेन्द्र रावत, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल तथा सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसी सहभागी थिए । कार्यक्रमका सहभागीहरूले ‘एजेन्सी करियर बबाल छ’ भन्ने नाराले आफूहरूमा नयाँ ऊर्जा, आत्मविश्वास तथा व्यवसायप्रतिको दृष्टिकोण अझ सशक्त बनाएको प्रतिक्रिया दिएका छन् । यस्तो प्रकारको प्रशिक्षणले नेतृत्व क्षमता अभिवृद्धिसँगै व्यवसाय विस्तारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरे । सन नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि एजेन्सी संरचनालाई अझ सुदृढ, व्यवसायमुखी तथा प्रतिस्पर्धी बनाउन यस्ता उत्प्रेरणात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ । हाल कम्पनीले देशभर आफ्ना १४८ शाखा तथा उपशाखाहरू मार्फत ग्राहकहरूलाई बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
वीरगन्जबाट दुर्गा प्रसाईं पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । सोमबार उनी वीरगन्जबाट पक्राउ परेका हुन् । गलत अफवाह फैल्याएकाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख नरेशराज सुवेदीले विकासन्युलाई बताए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं आफ्नो अभियानअन्तर्गत तय गरिएको कार्यक्रमका लागि वीरगन्ज पुगेका थिए । उक्त कार्यक्रम भोलिका लागि तय गरिएको थियो । यसअघि पनि प्रसाईंले पर्सामा पटक/पटक कार्यक्रम गर्न खोजे पनि स्थानीय प्रशासन र प्रहरीको हस्तक्षेपका कारण कार्यक्रम प्रभावित हुँदै आएको बताइएको छ ।
कीर्तिमानी स्रष्टा उपाध्यायको नयाँ कविता संग्रह ‘अन्तस्करण’ लोकार्पण
काठमाडौं । कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको संयुक्त आयोजनामा आइतबार काठमाडौंमा एक कार्यक्रमगरी कृतिको लोकार्पण गरिएको हो । लोकार्पणमा वक्ताहरूले ‘अन्तस्करण’ लाई समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजको रूपमा व्याख्या गरे । डा. उपाध्यायले कृतिमार्फत् समयको बेचैनी, मानवीय सम्बन्धको जटिलता र सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरेको उनीहरूको भनाइ थियो । कार्यक्रममा सांसद राजिव खत्रीले डा. उपाध्यायका सिर्जनामा समाजप्रतिको जिम्मेवारीबोध र मानवीय चेतनाको गहिरो अभिव्यक्ति पाइने बताए । वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले यो कृति नेपाली कविताको समकालीन यात्रामा एउटा अर्थपूर्ण कोसेढुंगा हुने विश्वास व्यक्त गरे । सो अवसरमा कविद्वय सुमन थापा संगम र शोभा अधिकारीले संग्रहबाट एक/एक कविता वाचन गरे । स्रष्टा उपाध्यायले साहित्यलाई आत्माको आवाज भन्दै ‘अन्तस्करण’ आफ्ना अनुभूति र समाजप्रतिको संवेदनशील दृष्टिको अभिव्यक्ति भएको बताए । कार्यक्रममा लेकालीसहित सांसद खत्री, पूर्वसांसद तथा कवि रेखा यादव, वरिष्ठ इतिहासविद् सुरेन्द्र केसी र वरिष्ठ साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, मिलापका अध्यक्ष कृष्ण भुसाल तथा नरेश भट्टराईलगायत सहभागी थिए । मिलाप पब्लिकेशनले प्रकाशित गरेको २९९ पृष्ठको कवितासंग्रहमा ७९ वटा कविता समावेश छन् । डा. उपाध्यायका यसअघि १७ उपन्यास, तीन गीति पुस्तक, २५० जति गीत र १५० जति म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।
शिक्षा क्षेत्रको बजेट र प्रगति समीक्षा सुरु, आगामी वर्षका प्राथमिकतामाथि छलफल
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना ‘स्कुल एजुकेशन सेक्टर प्लान’(एसइएसपी) योजनाको समीक्षा बैठक सुरु गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया चलिरहेको सन्दर्भमा मन्त्रालयले दातृनिकायहरुसँग सञ्चालित एसइएसपी कार्यक्रमको प्रगित तथा बजेट समीक्षा गर्दै आगामी दिनमा शिक्षा क्षेत्रमा लिनुपर्ने पहलकदमीहरूको बारेमा छलफल गरेको हो । ५ दिनसम्म चल्ने बजेट समीक्षा बैठकमा शिक्षा मन्त्रालय, मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र लगायत विभिन्न निकाय तथा एसइएसपीमा सहयोग गर्ने विकास साझेदारहरूको सहभागिता रहेको छ । मन्त्रालयका सचिव चूडामणि पौडेलको अध्यक्षता सुरु भएको पहिलो दिनको बैठकमा विकास साझेदारको संयोजक युरोपेली संघ (इयू) को नेतृत्वमा ८ वटा संयुक्त साझेदार र अन्य विकास साझेदारहरू संयुक्त अधिराज्य बेलायत, इयू, फिनल्यान्ड, नर्वे, संयुक्त राष्ट्रसङ्घीय नियोग (युनिसेफ), एसियाली विकास बैंक, विश्व बैंक लगायतको उपस्थिति थियो । उद्घाटन सत्रमा विभिन्न देशका राजदूत र एजेन्सी प्रमुखहरूले आ-आफ्नोतर्फबाट शिक्षा क्षेत्रमा रहेका कार्यक्रमबारे प्रकाश पारेका छन् । एइएसपीमा लगानी साझेदारी गर्ने विकास साझेदार निकायका प्रमुखहरूले सोबार नै मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरी दुइपक्षीय हितका साथै विभिन्न निकायहरुले नेपालको शिक्षा क्षेत्रमा पुर्याउदै आएको सहयोगको विषयमा छलफल भएको थियो । सो भेटमा विकास साझेदार निकायले नेपालको शिक्षा क्षेत्रमा गरिरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए । बैठकको उद्घाटन सत्रमा सचिव पौडेलले शिक्षा क्षेत्रमा सरकार र विकास साझेदारको संयुक्त प्रयासबाट धेरै उपलब्धि हासिल गर्न सफल भएको बताए । तथापि विद्यालयमा आधारभूत तहमा विद्यार्थीहरूको सिकाई तथा शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई अझै प्राथमिकता दिनुपर्ने आवश्यक उनले औंल्याए । साथै उनले तीन तहको सरकार बिच प्रभावकारी समन्वय र सहकार्यका लागि स्रोत साधन तथा जनशक्तिको व्यवस्थापन गरेर शिक्षालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए। मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालय र सम्बद्ध निकाय तथा विकास साझेदार निकायबाट भइरहेको समन्वय र साझेदारिताबारे उल्लेख गरेका थिए भने विकास सहायता समन्वय शाखाका प्रमुख रमेश प्रसाद घिमिरेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारे। बैठकको प्राविधिक सत्रमा शिक्षा मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०८३/८४ को लागि अर्थ मन्त्रालयबाट प्राप्त भएको बजेट सिलिङका आधारमा शिक्षा मन्त्रालयबाट प्रस्ताव गरिएका विभिन्न कार्यक्रमहरूको विषयमा समीक्षा भएको छ । त्यसैगरी बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सूचकहरूका विषयमा शिक्षा मन्त्रालय र सम्बद्ध निकायबाट भएको प्रगतिको पनि समीक्षा गरेको छ । विशेष गरी शिक्षा क्षेत्रमा आगामी आर्थिक वर्षमा तय गरिएका प्राथमिकताका क्षेत्रहरू, कस्ता-कस्ता कार्यक्रम राखिएका छन् के-कस्ता बजेट तर्जुमा भए तथा तीन तहको सरकारले खर्च गर्ने बजेट तथा कार्यक्रमबारे समीक्षा गरिएको छ । शिक्षाको अधिकांश बजेट स्थानीय तहबाट कार्यान्वयन हुने गरेको छ । समूहगत छलफलमा एसइएसपीको कार्यान्वयनमा रहेका मुख्य चुनौतीहरू, सङ्घ, प्रदेश र स्थानीय तहका शिक्षासँग सम्बद्ध पदाधिकारीहरूको सहभागिता रहेको थियो । उक्त छलफलमा मुख्य गरी एसइएसपी कार्यान्वयनका सन्दर्भमा प्रदेश र स्थानीय तहले भोगिरहेका समस्या र ती समस्याहरूको समाधानका लागि आगामी दिनमा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारबाट अवलम्बन गर्ने कार्यनीति र रणनीतिहरूबारे छलफल भएको छ । भोलिको बैठकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा प्राविधिक सत्रहरूमा अन्य विषयमा छलफल हुनेछ । यही जेठ आठ गते समीक्षा बैठक सकेर अर्थ मन्त्रालयमा समापन गरिनेछ । छलफलमा आएका विषयलाई समेटेर आगामी छ महिनामा गर्नुपर्ने समझदारीका कार्यहरू अघि बढाइनेछ । एसइएसपी योजना नेपालको शिक्षा क्षेत्रको विकास र सुधारका लागि लागु गरिएको १० वर्षे (विसं २०७९/२०८८) दीर्घकालीन रणनीतिक योजनाको बालबालिकाका लागि समतामूलक, समावेशी र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्य रहेको छ ।
प्रहरीलाई परम्परागत 'पुलिसिङ' बदलेर नागरिकमैत्री बन्न आईजीपी कार्कीको आग्रह
काठमाडौं । नेपाल प्रहरीले परम्परागत शैलीबाट माथि उठेर नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्नेमा जोड दिएको छ । प्रहरी प्रधान कार्यालमया सोमबार (आज) सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकारीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले परम्परागत शैली (पुलिसिङ) भन्दा नवीनतम सोच र कार्यशैली अपनाइ नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी एवं प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गर्नुतर्फ ध्यान दिन आग्रह गरे । उनले नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर सबै प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिए । प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवं इमानदार हुनुपर्ने, उत्कृष्ट व्यवहार, बोलीबचनलाई आत्मसात् गरी सङ्गठनको छवि वृद्धि हुने गरी आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले बहन गर्न निर्देशन दिए । सङ्गठनले अख्तियार गरेका नीतिनियम तथा मापदण्ड अनुरूप कार्य गर्दै व्यक्तिगत स्वार्थभन्दा भातृत्वभाव एवं साङ्गठनिक हितलाई केन्द्रविन्दुमा राखेर कसैप्रति पूर्वाग्रह नराखी विभेदरहित एवं कानुनसम्मत कार्य गर्न सरूवा भई कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई उनले आग्रह गरे । प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रको सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी आवश्यकता अनुरूप सुरक्षा योजना एवं रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए ।
पर्यटक भिसामा आएर अवैध कफी सप चलाउने जापानी नागरिक नियन्त्रणमा
काठमाडौं । भिसाको उद्देश्यविपरीत नेपालमा बसी शङ्कास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । उनी सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । नेपालमा अनुमति नलिई छ वर्षसम्म गैरकानुनी रुपमा व्यवसाय सञ्चालन गरेको र स्थानीय तहमा व्यवसाय दर्ता गरे पनि सरकारलाई बुझाउनुपर्ने कर तिरेको नदेखिएको विभागले जनाएको छ । नेपाली महिलासँग विवाह गरेका नेपाली भाषा प्रष्टसँग बोल्न सक्ने जापानी नागरिक, निजले पोखरा लेखनाथ महानगरपालिकामा व्यवसाय दर्ता गरी पुम्दी पभुम्दीमा पिस अफ माइन्ड रेष्टुरेण्ट क्याफे सञ्चालन गरेका थिए । सम्बन्धित सरकारी कार्यालयमा व्यवसाय स्थानान्तरणसम्बन्धी प्रक्रिया पूरा नगरी विगत चार वर्षदेख ललितपुरको झम्सिखेलमासमेत कफी सप सञ्चालन गरिरहेका थिए । उक्त कफी सप दर्ताविना सञ्चालन गरिरहेको विभागले जनाएको छ । नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले विदेशी लगानी स्वीकृत गरी व्यवसाय सञ्चालन गर्न व्यावसायिक भिसा लिएको हुनुपर्ने वा काम गर्ने भएमा ‘वर्किङ’ भिसा लिएको हुनुपर्छ । भिसाको उद्देश्यविपरीत क्रियाकलापमा संलग्न बसेका विदेशीलाई महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानुनी व्यवस्था छ । नेपालमा भिसाको उद्देश्य विपरित बसेका वा शंकास्पद गतिविधिमा संलग्न निज विदेशी नागरिकलाई अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । विभागले उक्त नागरिकको नाम भने खुलाएको छैन ।
मधेस प्रदेश सभा सदस्य पदमा राप्रपाकी ठाकुरले लिइन् सपथ
काठमाडौं । निर्वाचन आयोगको गत वैशाख ३० गतेको निर्णयअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको समावेशी समूहअन्तर्गत मधेसी समूहको रिक्त प्रदेशसभा सदस्य पदमा महोत्तरीको गौशाला नगरपालिका-१२ की सरिता कुमारी ठाकुर निर्वाचित भएकी छन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ९१० बमोजिम मधेस प्रदेशसभा सदस्यमा निर्वाचित ठाकुरलाई सोमबार (आज) मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको सपथ गराए । जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य ठाकुरले संविधान र कानुनप्रति प्रतिबद्ध रहँदै जनताको सेवा तथा प्रदेशको समृद्धिका लागि इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नवनिर्वाचित प्रदेशसभा सदस्य ठाकुरले मधेस प्रदेशको विकास, सुशासन तथा जनताको हकहित संरक्षणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।