काठमाडौंमा डेङ्गी नियन्त्रणका लागि रेडक्रसको ‘खोज र नष्ट गर’ अभियान

काठमाडौं । काठमाडौंमा डेङ्गी ज्वरोको संक्रमण बढ्न थालेसँगै नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले जोखिमयुक्त क्षेत्रहरूमा ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान आरम्भ गरेको छ ।

यसै अभियानअन्तर्गत मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं. १६ र १७ तथा गोकर्णेश्वर नगरपालिकाको वडा नं. ८ मा रहेका गाडी वर्कसप, फलफूल पसल र कवाडी गोदाम क्षेत्रमा जनचेतना फैलाउने उद्देश्यले सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । 

उक्त अभियानमा रेडक्रस उपशाखाका स्वयंसेवक, युवा रेडक्रस सर्कल, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो ।

नेपालमा साउनदेखि असोजसम्मको समयलाई डेङ्गी सार्ने लामखुट्टे वृद्धि हुने मुख्य यामका रूपमा लिने गरिन्छ । 

डेङ्गी लामखुट्टेको टोकाइबाट हुने संक्रमणले महामारीको रूप लिन नपाओस् भन्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटीले यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ ।

Share News