नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औं संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार नै ३० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अनुसार पहिलो दिन नयाँ मोडलका कार, विद्युतीय सवारीसाधन, मोटरसाइकल, स्कुटर तथा बसबारे अवलोकनकर्ताको उल्लेख्य चासो देखिएको छ ।

प्रदर्शनीमा राखिएका नयाँ मोडलका सवारीसाधनसँगै रोबोट र नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटरले समेत दर्शकको ध्यान खिचेका छन् । 

विशेषगरी विद्युतीय सवारीसाधनमा उपलब्ध रेन्ज, मूल्य, पावर, चार्जिङ समय र वारेन्टीका विषयमा ग्राहकले कम्पनीका प्रतिनिधिसँग जानकारी लिएका थिए ।

यस वर्षको अटो शोमा कम्पनीहरूले सस्तो पारिवारिक सवारीसाधनदेखि २ करोड ३० लाख रुपैयाँसम्मका विलासी गाडी सार्वजनिक गरेका छन् । 

विभिन्न मूल्य वर्गका सवारीसाधनबीच मूल्य, प्रविधि, रेन्ज, पावर, चार्जिङ समय तथा वारेन्टीका आधारमा प्रतिस्पर्धा तीव्र देखिएको छ ।

अटो शोमा नेपालमै डिजाइन तथा निर्माण गरिएको यात्री पी-२ विद्युतीय स्कुटरको उपस्थितिले भने आयातित
ब्रान्डबीचको प्रतिस्पर्धासँगै स्वदेशी विद्युतीय सवारीसाधनको सम्भावनालाई समेत चर्चामा ल्याएको छ । पी-२ तीनवटा भेरियन्टमा उपलब्ध छ ।

अटो शोमा विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गरेका छन् । एमएडब्लू वृद्धि मोटर्सले चिनियाँ सवारी उत्पादक डोङफेङका प्रिमियम विद्युतीय सेडान ईपाइ ००७, एसयूभी एमहिरो १ र अवतार ०७ सार्वजनिक गरेको छ । 

त्यस्तै, सिप्रदी ट्रेडिङले टाटा सिएरा ईभी सार्वजनिक गरेको छ । एसपीजी अटोमोबाइल्सले जेको जे–५ प्रो सार्वजनिक गरेको छ भने एलआरआर मोटर्सले चिनियाँ ब्रान्ड स्काईवेलको बीई
११ विभिन्न मूल्य र ब्याट्री विकल्पसहित बजारमा ल्याएको छ । 

यसैगरी, सीजी मोटर्सले हिरो एक्स्ट्रीम २५० आरको बिक्री सुरु गरेको छ । अटो शोमा २०० भन्दा बढी स्टल रहेका छन् भने ५३ वटा सवारीसाधन ब्रान्ड सहभागी छन् । 

प्रदर्शनीमा नयाँ सवारीसाधनसँगै अटोमोबाइलसम्बन्धी प्रविधि, उपकरण तथा सेवासमेत राखिएका छन् ।

नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए । नाडाका अनुसार बुधबारदेखि अटोमोबाइल क्षेत्रसँग सम्बन्धित ज्ञान आदानप्रदान तथा नलेज सेयरिङका कार्यक्रमसमेत सञ्चालन हुनेछन्।

Share News