आज ११ सांसदले प्रश्न सोध्ने, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ सांसदले प्रश्न सोध्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समीक्षा बाँस्कोटा, अमरेशकुमार सिंह र कृष्णहरि बुढाथोकी, नेपाली कांग्रेसबाट वासना थापा र गीता गुरुङ तथा नेकपा (एमाले)बाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न गर्ने भएका छन् । 

त्यस्तै, नेकपाबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीबाट हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट खुश्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्ने भएका छन् । 

प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सरकारका कामकारबाही, नीतिगत निर्णय तथा समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने तयारी गरेका छन् । 

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१÷८२ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन् । 

यसैगरी, विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्नेछ । 

Share News