प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमा छलफल हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ । उक्त प्रस्तावमा सोमबारदेखि छलफल सुरु भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा अर्थमन्त्री वाग्लेले उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको जनाइएको छ । यसैगरी राष्ट्रिय सभा को बैठक पनि आज अपरान्ह १:१५ बजे बस्ने भएको छ ।
नुन पनि गुणस्तरहीन ! बिक्री-वितरण तत्काल रोक्न माग
काठमाडौं । चिकित्सक तथा जनस्वास्थ्यकर्मीहरूले नेपालमा आयोडिनको कमीका कारण जनस्वास्थ्य समस्या बढ्ने जोखिम रहेको भन्दै तत्काल आयोडिनविहीन नुन बिक्री-वितरणमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । उनीहरूले नेपाल-भारत खुला सीमाका कारण झापालगायतका व्यापारिक सुपरमार्केट तथा खाद्यान्न पसलमा आयोडिनविहीन भारतीय नुन खुलेआम बिक्री भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता नुन बजार अनुगमन गरेर जफत गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् । अर्कोतर्फ सरकारले नुनको बिक्री-वितरणमा निजी क्षेत्रलाई प्रवेश दिएपछि मापदण्डअनुसार आयोडिनको मात्रा नभएको नुन बिक्री भइरहेको र यसले भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने जोखिम बढेको उनीहरूको तर्क छ । बालरोग विशेषज्ञ डा. टङ्क बह्राराकोटीले आयोडिनविहीन नुनको प्रयोग बढेमा विशेषगरी बालबालिका तथा गर्भवतीको स्वास्थ्य जोखिममा पर्न सक्ने औंल्याएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चद्वारा सोमबार आयोजित ‘बजारमा उपलब्ध नुनको गुणस्तर र यसको उपभोगबाट हुनसक्ने स्वास्थ्यसम्बन्धी’ कार्यक्रममा उनले तत्काल आयोडिनविहीन नुन बिक्री-वितरण रोक्नुपर्ने बताए। उनले श्रीलङ्काले हाल आयोडिनविहीन नुनका कारण जनस्वास्थ्य समस्या भोगिरहेको उदाहरण दिँदै नेपालमा पनि त्यस्तो अवस्था आउन नदिनुपर्ने बताए । सरकारले २०८२ साल साउन १ गतेदेखि निजी क्षेत्रलाई आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री-वितरण गर्न बाटो खुलाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंमा गत वैशाख ४ गते ‘हिमालयन पिङ्क रक साल्ट’को गुणस्तर परीक्षण गर्दा आयोडिनको मात्रा नभेटिएको रिपोर्ट सार्वजनिक गरेको जनाइएको छ । बजारमा ‘ब्ल्याक साल्ट’ नामका भारतीय गुणस्तरहीन तथा मापदण्ड विपरीतका नुन पनि खुलेआम बिक्री भइरहेको उल्लेख गरिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपाल सरकारले २०५७ साल माघ २३ गतेदेखि लागू गरेको व्यवस्था अनुसार आयोडिनयुक्त नुनमा उत्पादन तहमा ५० पीपीएम, बिक्री तहमा ३० पीपीएम र उपभोक्ता स्तरमा १५ पीपीएम अनिवार्य हुनुपर्ने व्यवस्था छ । चिकित्सकका अनुसार आयोडिनयुक्त नुनमा जलांश अधिकतम ६ प्रतिशत, सोडियम क्लोराइड न्यूनतम ९६ प्रतिशत र पानीमा नघुल्ने पदार्थ अधिकतम १ प्रतिशत हुनुपर्छ। यदि ९६ प्रतिशत सोडियम क्लोराइड नभएको अवस्थामा रक्तचापसम्बन्धी समस्या हुने चिकित्सकहरूको भनाइ छ। साधारण नुनका हकमा पनि जलांश, सोडियम क्लोराइड र अन्य घुलनशील पदार्थको सीमा सरकारले निर्धारण गरेको छ । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वअतिरिक्त सचिवसमेत रहेका डा. बह्राराकोटीका अनुसार आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्व हो । नुनले थाइरोइड ग्रन्थीबाट थाइरोइड हर्मोनहरू उत्पादन गर्न मद्दत गर्छ, जसले शरीरका कोशिकाहरूको कार्य, दिमागको वृद्धि र विकास तथा शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । उनले बालबालिका तथा गर्भवतीलाई आयोडिनयुक्त नुन अत्यावश्यक हुने बताए । 'यस्तो अवस्थामा दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन सही मात्रामा प्रयोग गर्नुपर्छ,' उनले भने । सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन प्रयोग गर्न आग्रह गर्दै आएको छ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वृजकुमार दासले बालबालिकामा आयोडिनको कमी हुँदा मानसिक विकास कमजोर हुने, पढाइमा समस्या आउने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने र शारीरिक विकासमा बाधा पुग्ने बताए । उनका अनुसार वयस्कमा आयोडिनको कमी भएमा गलगाँड, थाइराइड, मानसिक तथा शारीरिक क्षमतामा कमी जस्ता समस्या देखिन्छन्। बालबालिकामा हुने न्यूरोलोजिकल क्रेटिनिज्मको मुख्य कारण पनि आयोडिनको कमी नै हो । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले बजार अनुगमन गरेर स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने आयोडिनविहीन नुन बिक्री-वितरण रोक्ने प्रतिबद्धता व्यक्त गरिन् । सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले सीमाना नाकाबाट नुन आयातमा कडाइ र बजार अनुगमनमार्फत आयोडिनविहीन नुन बिक्री-वितरण रोक्ने जानकारी दिए। उनले उपभोक्ता स्वयं सचेत हुनुपर्ने पनि बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग झापाका प्रमुख सुवासचन्द्र ओस्तीले नुन आयातमा अनुमति नदिइए पनि बजारमा आयोडिनविहीन नुन देखिनु चिन्ताजनक रहेको भन्दै यसलाई निरुत्साहित गर्नुपर्ने बताए । साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रबन्धक ब्रजेश झाका अनुसार देशमा नुनको आपूर्ति नियमित भइरहेको छ। गत आर्थिक वर्षमा करिब २ लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्री-वितरण गरिएको र आपूर्ति अवरुद्ध नहोस् भनेर छ महिनासम्म पुग्ने मौज्दात राखिएको उनले बताए । मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले आयोडिनयुक्त नुनको विकल्प नभएको भन्दै तत्काल बजार अनुगमन गरेर आयोडिनविहीन नुन जफत गर्नुपर्ने माग गरे । नेपालमा विगतका दशकमा आयोडिनयुक्त नुन अभियानका कारण गलगाँड (गोइटर) रोग लगभग शून्यमा झरेको स्वास्थ्य अध्ययनहरूले देखाएका छन् ।
१७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै प्राधिकरण
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक कम्पनीको अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । वित्तीय विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता नतिर्ने १७ इन्टरनेट (इमेलसहित) सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज प्रक्रिया अघि बढाइएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले पटक–पटक पत्राचार, इमेल तथा सूचना गर्दा पनि अटेर गरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम अनुमति पत्र किन खारेज नगर्ने भन्दै १५ दिनभित्र सफाइको मौका दिएको हो । ऐनको दफा २८ को ४ बमोजिम चित्त बुझ्दो सफाइ पेश नगरेमा लाइसेन्स खारेजी अगाडि बढाइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बेनी कम्युनिकेशन प्रालि, ब्रोडब्याण्ड सोलुसन्स प्रालि, बिग मस्र्याङ्गदी नेट प्रालि, डिभाइन स्ट्रिम नेटवर्क प्रालि, क्लिन नेटवर्क प्रालि, जीआर एस् लिङ्क इन्टरनेट सर्भिस प्रालि, कालिका नेट प्रालि, कस्मिक नेट प्रालि, डाइरेक्ट मिडिया प्रालि, क्षिरेश्वर नेटवर्क प्रालि, मेट्रोलिङ्क बिजनेस प्रालि, नेपाल नेट सञ्चार, प्राइम नेटवर्क प्रालि, साङ्ग्रीला इन्फोम्याटिक्स प्रालि, अल्ट्रानेट कम्युनिकेसन प्रालि, युनिफाइड कम्युनिकेसन प्रालि र यूनाईट नेटवर्कस् प्रालि रहेका छन् । प्राधिकरणका अनुसार ती कम्पनीहरूले विभिन्न आर्थिक वर्षदेखि लेखापरीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता नबुझाएको, साथै सेवा सञ्चालन क्षेत्र तथा ग्राहक विवरणसमेत नियमित रूपमा पेश नगरेको पाइएको छ ।
सानिगाड हाइड्रोले जेठ १४ गतेदेखि आईपीओ बिक्री खुला गर्ने
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र विदेशमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका ८५ लाख ५० हजार कित्ता सेयर बिक्री जारी गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता विदेशमा रहेका नेपाली, ३ प्रतिशत अर्थात् १ लाख ७१ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ २८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
देशका विभिन्न क्षेत्रमा वर्षा हुने, तराईमा तापक्रम बढ्ने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसको असरका कारण कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ । मधेस प्रदेशसहित अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । महाशाखाले कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
नगर प्रमुखले जग्गा दान गरेपछि निर्माण भयो प्रशासनिक भवन
काठमाडौं । रौतहटको माधवनारायण नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । नगर प्रमुख वैजनाथप्रसाद यादव ले भवन निर्माणका लागि जग्गा दान दिएपछि नगरपालिकाले आफ्नै भवन पाएको हो । विगत ९ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको नगरपालिकाको कार्यालय यस वर्षदेखि आफ्नै भवनमा सरेको छ । भवन निर्माणका लागि नगर प्रमुख यादवले माधवनारायण नगरपालिका-६, माधोपुर बजारस्थित आफ्नो नाममा रहेको ५ कठ्ठा तथा आफूले सञ्चालन गरेको मठको नाममा रहेको थप ५ कठ्ठा गरी १० कठ्ठा जमिन नगरपालिकालाई दान गरेका थिए । नगर प्रमुख यादवका अनुसार उक्त जग्गा नगरपालिकाको नाममा दर्ता गरी प्रशासनिक भवन निर्माण गरिएको हो । हाल सोही भवनबाट नगरपालिकाका सबै शाखा, प्राविधिक सेवा, कार्यसमिति तथा अन्य प्रशासनिक सेवा सञ्चालन भइरहेका छन् । नगर प्रमुख यादवले नगरको दीर्घकालीन विकास र सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले जग्गा दान गरिएको बताए । नगरपालिकाका इन्जिनियर नागेन्द्र यादव का अनुसार भवन निर्माणमा नगरपालिकाको करिब ६ करोड रुपैयाँ तथा स्थानीय पूर्वाधार विभाग मार्फत थप ६ करोड रुपैयाँ अनुदान गरी कुल १२ करोड रुपैयाँ लागत लागेको छ । प्रमुख प्रशासकीय अधिकृत ऋषिकेश रेग्मी ले जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सहकार्य रहेकाले प्रशासनिक कामकाज प्रभावकारी बनेको बताए। आफ्नै भवन भएपछि सेवा प्रवाह थप सहज भएको उनको भनाइ छ । यसैबीच चन्द्रपुर नगरपालिका मा प्रशासनिक भवन अभावका कारण कामकाजमा समस्या भइरहेको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा नगरपालिकाको भवनमा आगजनी भएपछि हाल कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको नगर प्रमुख सञ्जयकुमार काफ्ले ले जानकारी दिए । उनका अनुसार भवन पुनः निर्माणका लागि प्राविधिक तयारीको काम अघि बढिरहेको छ।
पटक-पटक बन्द गर्न निर्देशन दिए पनि अटेर, अब कारबाही गर्ने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय जुम्लाले नदी क्षेत्रमा अवैध रूपमा गिट्टी, बालुवा तथा ढुङ्गा उत्खनन गर्नेहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। प्रशासनद्वारा सोमबार आयोजित मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेषगरी तिला र हिमा नदीमा अवैध रूपमा नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन भइरहेको जानकारी दिए। उनले जिल्लामा सञ्चालनमा रहेका अवैध क्रसर उद्योगलाई पटक-पटक बन्द गर्न निर्देशन दिइए पनि अटेर भइरहेको बताए। विना दर्ता तथा अनुमतिबिना सञ्चालन भएका क्रसर उद्योग तत्काल बन्द गरिने र अटेर गरे कानुनबमोजिम कारबाही गरिने उनले स्पष्ट पारे। नागरिक समाज जुम्लाका संयोजक रामबहादुर महतका अनुसार केही विकास निर्माण आयोजनाले काम सम्पन्न भएपछि पनि क्रसर उद्योग सञ्चालन गरी गिट्टी-बालुवा बिक्री गर्दै आएका छन् । जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोमबहादुर महतले नदी तथा खोलानालाबाट जथाभावी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरिँदा भविष्यमा ठूलो विपद् निम्तिन सक्ने चेतावनी दिए। चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले स्थानीय तहको आन्तरिक राजस्व बढाउने नाममा भइरहेको अव्यवस्थित उत्खननलाई कानुनी दायरामा ल्याइने बताए । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले विपद्का समयमा प्रभावकारी व्यवस्थापनका लागि समयमै प्रतिकार्य योजना तयार गर्न आवश्यक रहेको उल्लेख गरे । कार्यक्रमका सहभागीहरूले क्रसर उद्योगको मापदण्ड कडाइका साथ लागू गर्दै नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार नदी किनार क्षेत्रमा अधिकांश उद्योग अवैध रूपमा सञ्चालन भइरहेको भन्दै व्यापक जनगुनासो आउने गरेको छ ।
काँकडभिट्टाबाट सुन र विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
काठमाडौं । झापाको पूर्वी नाका काँकडभिट्टाबाट सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले सुन र विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका-६ स्थित सीमा इलाकाबाट जेठ ४ गते उनी पक्राउ परेका हुन् । भारतबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गरेका भारतका अन्दाजी ३९ वर्षीय परम पाठकलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले शंका लागेर जाँच गर्दा पाठकको साथबाट ५ सय ७० ग्राम सुन बरामद भएको हो । यसका साथै उनको साथबाट २० हजार अमेरिकी डलर, ८५ हजार ४ सय १० भारतीय रुपैयाँ, एक थान भारतीय आधार कार्ड, विभिन्न ब्रान्डका दुई थान मोबाइल, एउटा हार्ड डिस्क, एउटा बैंक चेक र ७ वटा सिमकार्ड समेत बरामद गरिएको छ । पक्राउ परेका भारतीय नागरिक पाठक कुन प्रयोजनका लागि उक्त सुन र विदेशी मुद्रासहित नेपाल प्रवेश गरेका हुन् भन्ने कुरा अझै खुलिसकेको छैन । नियन्त्रणमा लिइएका पाठकलाई बरामद गरिएको सुन, विदेशी मुद्रा र अन्य सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा, झापामा बुझाइएको छ । भन्सार र सुरक्षा निकायले यस विषयमा थप अनुसन्धान अघि बढाएका छन् ।