भोटेकोशी बाढीपीडितका लागि नाडाको १० लाख सहयोग, अटो शो भने निरन्तर सञ्चालन हुने
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बिहीबार जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । नाडाले विपद्को यस घडीमा राज्यसँग काँधमा काँध मिलाएर उभिनु सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै देशभरका अटोमोबाइल व्यवसायीलाई एकजुट भएर उद्धार र राहत अभियानमा सहयोग गर्न आह्वान गरेको छ । विज्ञप्तिमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले उद्धार तथा राहतमा देखाएको सक्रियताको प्रशंसा गरिएको छ । साथै प्रधानमन्त्री र गृहमन्त्रीले विपद् व्यवस्थापनका लागि गरेको समन्वय र निजी क्षेत्रलाई सहयोगका लागि गरेको आह्वानको स्वागत गर्दै नाडा सरकारसँग सहकार्य गर्न सधैं तयार रहेको जनाएको छ । नाडाले विपद्पछिको राहत तथा पुनरुत्थान अभियानलाई सहयोग पुर्याउन तत्काल प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । यसैबीच, महाविपद् नाडा अटो शो २०२६ सञ्चालन भइरहेकै बेला आएको उल्लेख गर्दै आर्थिक गतिविधिलाई निरन्तर चलायमान राख्न भृकुटीमण्डपमा जारी अटो शो पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालनमा रहने नाडाले स्पष्ट पारेको छ । नाडाले विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, व्यवसायी र आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्नुपर्नेमा जोड दिएको छ ।
रसुवा बाढी : एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवामा आएको बाढीपछि एनएमबि बैंकाको टिमुरे शाखामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन भएका छन् । बैंकका अनुसार भदौ १० गते बिहान करिब ८:४५ बजे टिमुरे आसपासमा आएको बाढीपछि शाखामा कार्यरत कर्मचारीहरू सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित रहेका छन् । उनीहरू सबै टिमुरे शाखामा कार्यरत कर्मचारी हुन् । बैंकले उनीहरूलाई कसैले देखेको, भेटेको वा अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल बैंकलाई जानकारी गराइदिन आग्रह गरेको छ ।
रसुवाको बाढीमा ५१७ विदेशी पर्यटक सम्पर्कविहीन
काठमाडौं । रसुवाको बाढीमा परेर ५१७ जना विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अष्ट्रेलियाका ३५, जापानका ५, रसियाका ८, क्यानडाका २५, भारतका १७८, युक्रेनका ३५, बेलायतका ३३ र अमेरिकाका ६५ जना पर्यटकहरू रहेका छन् । त्यसैगरी, १२७ आन्तरिक पर्यटक सम्पर्कविहीन भएका छन् । बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् ।
चितवनबाट ७० शव संकलन, खोजी कार्य जारी
काठमाडौं । नारायणी नदीमा ७० वटा शव फेला परेको छ । रसुवाबाट बगेर गएको ७० वटा शव नारायणी नदीमा फेला परेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार संकलन गरिएका शवलाई विभिन्न अस्पतालमा सुरक्षित राखिएको छ । शवको पहिचान गर्ने तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम समेत अघि बढाइएको शर्माले जानकारी दिए । बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् ।
शेखर गोल्छाले बाढीपीडितका लागि १ करोड ५० लाख सहयोग गर्ने
काठमाडौं । उद्योगी शेखर गोल्छाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । गोल्छाले बिहीबार फेसबुकमार्फत बाढी प्रभावित क्षेत्रबाट आइरहेका तस्बिर र भिडियोले सबैलाई स्तब्ध र दुःखी बनाएको उल्लेख गर्दै विपद्मा ज्यान गुमाउनेका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । उनले अझै पनि आफ्ना आफन्तको खोजीमा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको बताएका छन् । उनले अहिलेको अवस्थामा सबैभन्दा ठूलो प्राथमिकता उद्धार, राहत र प्रभावित परिवार तथा समुदायसम्म आवश्यक सहयोग पुर्याउनु रहेको उल्लेख गरेका छन् । गोल्छाले विपद्को समयमा निजी क्षेत्र पनि सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनामा सक्दो योगदान दिनुपर्ने साझा जिम्मेवारी रहेको बताएका छन् । सोही प्रतिबद्धताअनुसार गोल्छा ग्रुपले बाढी प्रभावितहरूको उद्धार, राहत तथा मानवीय सहायता कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो । गोल्छाले विपद्बाट प्रभावित सबै परिवार र समुदायप्रति गोल्छा ग्रुपको साथ र ऐक्यबद्धता रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि एनसेल फाउन्डेसनले दियो १ करोड
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसेल फाउन्डेसनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एनसेलले बुधबार जारी गरेको विज्ञप्तिअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित समुदायलाई तत्काल राहत तथा पुनर्स्थापनाको आवश्यकता रहेकाले सरकारको आह्वानमा उक्त सहयोग गर्ने निर्णय गरिएको हो । कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना जनाएको छ । साथै बेपत्ता भएका तथा प्रभावित नागरिकको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाको कामना गरेको छ । आर्थिक सहयोगसँगै एनसेलले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना ग्राहकका लागि सञ्चार सेवामा पनि विशेष सहुलियत उपलब्ध गराएको छ । हिजोदेखि लागू हुने गरी प्रभावित क्षेत्रमा रहेका ग्राहकलाई तीन दिनका लागि निःशुल्क भ्वाइस सेवा, डेटा सेवा र १०० वटा एसएमएस उपलब्ध गराइएको कम्पनीले जनाएको छ । एनसेलका अनुसार यस सुविधाले प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्नेछ । एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को कठिन घडीमा प्रभावित समुदायको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन् । उनले सरकार र सम्बन्धित निकायको उद्धार, राहत तथा पुनर्स्थापनाको प्रयासमा साथ दिन १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको भन्दै प्रभावित परिवार र समुदायसँग एनसेल सधैं साथमा रहेको उल्लेख गरिन् । एनसेलले विगतदेखि नै प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका अभियानमा सहयोग गर्दै आएको जनाउँदै आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता अनुसार सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
नाटाले भन्योः मानवीय र सवारीसाधन क्षति भए जानकारी दिनू
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)ले रसुवामा आएको बाढीले बेपत्ता भएका मानिस र क्षति भएका सवारीसाधनको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । बुधबार बिहान रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति भएको थियो । नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न ट्राभल एजेन्सीहरूमार्फत यात्रामा रहेका कुल ३८४ जना यात्रुहरू ( २९१ विदेशी र ९३ नेपाली) सम्पर्कविहीन रहेका छन् । 'कुनै पनि नाट्टा सदस्य कम्पनीहरूमार्फत गएका पर्यटकहरू वा कर्मचारीहरू सम्पर्कविहीन, कुनै मानवीय क्षति र सवारी साधनलगायत कुनै पनि प्रकारको भौतिक नोक्सानी भएमा नाट्टाको सचिवालयमा वा गुगल फारम भरी जानकारी गराउनु पर्नेछ,'नाटाले जारी विज्ञप्तिमा बताइएको छ । त्यसैगरी नाट्टाले विभिन्न टुर एण्ड ट्राभल्सबाट गएका पर्यटकको संख्या सार्वजनिक गरेको छ । स्मार्ट टुर एण्ड ट्राभल्स ७१, ट्रेकर्स सोसाइटी ९२, काठमाडौं होलिडे टुर एण्ड ट्राभल्स १७, रिचा टुर एण्ड ट्राभल्स १२, लिफ ट्राभल्स ५५, फिस्टेल एण्ड ट्राभल्स २७, कैलाश जोर्नी ३१, हिमालयन ग्लासियर ५२, एक्सपोल्र भ्याकेसन ७ र अल्पाइन इको ट्रेकबाट २० जना गएका थिए । यस्तै रोशा ट्राभल्स एण्ड टुर्सको ६३७३ नम्बर बसको चालक टिमुरेबाट भरत लामा सम्पर्कविहिन भएका छन् । हालसम्म लामा कसैको सम्पर्कमा नआएका नाटाका अध्यक्ष भरतजंग पाण्डेले जानकारी दिए । नाटाको टिमले सम्पर्क नभएका व्यक्तिहरूको खोजी गरिरहेको उनले बताए । बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् ।
यी हुन् सर्वदलीय बैठकका १० निर्णय
काठमाडौं । सर्वदलीय बैठकले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्नेमा जोड दिँदै १० बुँदे साझा संकल्प गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार (आज) सर्वदलीय बैठक बसेको हो । बैठकले विपद्को कठिन परिस्थितिमा राजनीतिक मतभेदभन्दा माथि उठेर उद्धार, राहत र पुनःस्थापनाका काममा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । बैठकले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन दलका नेता तथा कार्यकर्तालाई मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, विपद् प्रभावितका लागि आर्थिक सहयोग संकलन गर्दा एकद्वार प्रणाली लागू गर्ने सहमति भएको छ । बैठकले हिमतालहरूको जोखिम र अवस्थाबारे वैज्ञानिक अध्ययन गर्न पहल गर्ने तथा भविष्यमा यस्ता विपद्का कारण हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । त्यसैगरी, विपद्बाट क्षतिग्रस्त संरचना तथा क्षेत्रको पुनःनिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण अभियान सञ्चालन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । आवश्यक स्रोत जुटाउन अन्तर्राष्ट्रिय संघसंस्था तथा सहयोगी निकायलाई सहयोगका लागि अपिल गर्ने निर्णयसमेत भएको छ । बैठकले विपद्पछिको उद्धार, राहत, उपचार र पुनःस्थापनामा राज्यका सबै संयन्त्रलाई समन्वयात्मक रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएको छ । सर्वदलीय बैठकले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्दै प्रभावित नागरिकको जीवनरक्षा र पुनःस्थापनालाई प्राथमिकतामा राखेर अघि बढ्ने साझा प्रतिबद्धतासमेत व्यक्त गरेको छ । हेर्नूहोस् १० निर्णयहरू :