काठमाडौं । बाढीका कारण हालसम्म ३८९ जनाको शव फेला परिसकेको छ भने शव भेटिने क्रम अझै जारी छ । गृह मन्त्रालय स्रोतका अनुसार टाढासम्म शवहरू बगेर पुगेकाले खोजी कार्य जटिल बनिरहेका बेला चिस्यान गृह (कोल्ड स्टोरेज) को चरम अभावले शव व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ ।
मृतकहरूको पहिचानका लागि विस्तृत विवरण, तस्वीर तथा अन्य कानुनी प्रमाणहरू सुरक्षित गरेर मात्रै शव व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले तत्काल शव राख्ने ठाउँको समस्या जटिल बनेको हो ।
यस विषम परिस्थितिलाई सम्बोधन गर्न गृह मन्त्रालयले भन्सार विभाग र व्यवसायीहरुसँग रहेका कन्टेनरहरू शव राख्नका लागि (पछि फिर्ता गर्ने गरी) प्रयोग गर्ने विषयमा आवश्यक छलफल र तयारी अगाडि बढाएको स्रोतले जानकारी दिएको छ ।