चार तारे हेरिटेज होटल २ बैंकको लिलामीमा
काठमाडौं । पोखराको लेकसाइडमा सञ्चालित चारतारे बुटिक होटल ‘हेरिटेज होटल सुइट्स एन्ड स्पा’ बैंकको कर्जा चुक्ता नभएपछि लिलामी प्रक्रियामा परेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंकको सहवित्तीयकरणअन्तर्गत लिएको कर्जा चुक्ता नभएपछि दुवै बैंकले होटलको धितोमा रहेको घरजग्गा लिलाम बिक्री गर्न लागेका हुन् । बैंकले होटल सञ्चालकलाई कर्जाको सम्पूर्ण साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुर चुक्ता गर्न सात दिनको समय दिएको छ । तोकिएको अवधिभित्र कर्जा चुक्ता नभए धितोमा राखिएको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्ने बैंकले जनाएको छ । हेरिटेज होटल एन्ड स्वीट्स प्रालिको नाममा कास्कीको पोखरा महानगरपालिका–६ मा दर्ता रहेको कित्ता नम्बर १२६ को १ हजार १०८.८५ वर्गमिटर र कित्ता नम्बर २८ को १ हजार १०४.४० वर्गमिटर क्षेत्रफलको घरजग्गा बैंकमा धितो राखिएको छ । लिलामीका लागि भदौ २४ गतेसम्म बोलपत्र पेश गर्न सकिने र प्राप्त बोलपत्र भदौ २६ गते दिउँसो २ बजे हिमालयन बैंकको न्युरोड शाखा, काठमाडौंमा खोलिने जनाएको छ । होटल सञ्चालक रविचन्द्र हमाल ठकुरी र संगीता हमाल ठकुरी हुन् । बैंकको करिब १ अर्ब रुपैयाँ कर्जासहित होटलमा २ अर्ब रुपैयाँ बढी लगानी भइसकेको छ । तर, कोभिड–१९ महामारीका कारण पर्यटन व्यवसाय प्रभावित भएपछि होटलको आम्दानीमा असर परेको र कर्जा तथा ब्याजको भार बढ्दै गएपछि आर्थिक समस्या देखिएको हो । पोखराको लेकसाइडमा पाँच रोपनी क्षेत्रफलमा फैलिएको हेरिटेज होटललाई सञ्चालक पक्षले नेपाली मौलिक कला, वास्तुकला र आतिथ्यको संयोजन भएको बुटिक होटलका रूपमा अघि सारेको छ । होटलमा भक्तपुरको इँटा तथा बुङमती र पाटनका करिब १५० जना कालिगढको सीप प्रयोग गरिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका केही पुराना घरका काष्ठकला, झ्याल तथा ढोकासमेत संकलन गरेर होटलमा प्रयोग गरिएको सञ्चालक पक्षले जनाएको छ । नेपालका मौलिक कला, संस्कृति, परम्परा तथा वास्तुकलालाई पर्यटनमार्फत संरक्षण र जीवन्त राख्ने उद्देश्यले होटल निर्माण गरिएको बताइएको छ । होटल परिसरमा पुराना कलाकृति, हस्तकला तथा वास्तुकलाका सामग्रीलाई आधुनिक आतिथ्य सेवासँग जोडेर प्रस्तुत गरिएको छ । होटलमा अन्नपूर्ण, लाङटाङ र एभरेस्ट नामका तीन भवन छन् । कुल ६० कोठा रहेको होटलमा १८ वटा सुइट तथा सेमी–सुइट र ४२ वटा स्ट्यान्डर्ड रुम छन् । हेल्थ क्लब, स्टिम, साउना, ज्याकुजी, स्पा, स्विमिङ पुल, रेस्टुरेन्ट तथा बारलगायतका सुविधा पनि होटलमा छन् । होटलको निर्माण २०६७ सालमा सुरु भएको थियो । करिब आठ वर्ष लगाएर निर्माण सम्पन्न भएको होटल २०७५ असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । पूर्णरूपमा सञ्चालनमा आएर व्यवसायले गति लिन नपाउँदै कोरोना महामारीका कारण होटलको व्यवसाय प्रभावित भएको थियो । फेवातालबाट करिब १२३ मिटरको दूरीमा रहेको होटलले नेपाली आतिथ्य संस्कार ‘अतिथि देवो भवः’लाई आफ्नो सेवा दर्शनका रूपमा अघि सारेको जनाएको छ । पोखराको प्राकृतिक सौन्दर्य, हिमाल, ताल तथा साहसिक पर्यटनसँग होटलको पहिचान जोड्दै नेपाली कला र संस्कृतिको अनुभव दिने उद्देश्य राखिएको होटलको भनाइ छ ।
सिटिजन्स बैंकका कर्मचारीका लागि मुटु रोगसम्बन्धी सचेतना कार्यक्रम
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै मुटु तथा रक्तनलीसम्बन्धी रोगको रोकथामबारे सचेतना कार्यक्रम आयोजना गरेको छ । बैंकले भारतको गुडगाउँस्थित मेदान्ता–द मेडिसिटी अस्पतालसँगको सहकार्यमा ‘प्रिभेन्टिङ कार्डियोभास्कुलर डिजिजेज’ विषयमा अनलाइन सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । सेप्टेम्बर १ मा आयोजित कार्यक्रममा ३५ वर्ष वा सोभन्दा माथिका बैंकका कर्मचारीलाई लक्षित गरिएको थियो । कार्यक्रममा मेदान्ता–द मेडिसिटी अस्पताल, भारतको कार्डियाक केयरअन्तर्गत क्लिनिकल एन्ड प्रिभेन्टिभ कार्डियोलोजीका भाइस चेयरम्यान डा. मनीष बन्सलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए । कार्यक्रममा मुटु तथा रक्तनलीसम्बन्धी रोगका प्रमुख जोखिम, रोगबाट बच्ने उपाय, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता तथा दैनिक जीवनमा स्वस्थ बानी र जीवनशैली अपनाउने महत्त्वबारे जानकारी दिइएको थियो । नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीमार्फत मुटुको स्वास्थ्य सुरक्षित राख्न सकिने विषयमा समेत सहभागीलाई सचेत गराइएको बैंकले जनाएको छ । अनलाइन कार्यक्रममा बैंकका ३५ वर्ष वा सोभन्दा माथिका कुल ४४६ जना कर्मचारीले सक्रिय सहभागिता जनाएका थिए । कर्मचारीमा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले आफ्ना कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ । यसैगरी, बैंकका कार्डवाहक ग्राहकले उपचारका क्रममा मेदान्ता अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको जनाएको छ ।
बालेनले कुलमानलाई सोधे : सुरुङमा फसेकाहरुको उद्वार कसरी गर्ने ?
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या र उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारले चाल्नुपर्ने कदमबारे सुझाव दिएका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा घिसिङ नेतृत्वको टोलीले विपद्पछिको तत्कालीन उद्धारदेखि प्रभावितको पुनस्र्थापनासम्मका विषयमा प्रधानमन्त्री शाहसँग छलफल गरेको हो । बाढी प्रभावित विभिन्न क्षेत्रमा स्थलगत निरीक्षण गरेर फर्किएको टोलीले त्यहाँको वास्तविक अवस्था, देखिएका चुनौती र तत्काल सम्बोधन गर्नुपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेको घिसिङले बताए । प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा उनले भने, ‘विपद्को अवस्थामा हामीले फिल्डमा भिजिट गरेर धेरै ठाउँमा देखेका, बुझेका र गर्नुपर्ने विषयमा उहाँहरूलाई दिने सुझावका लागि भेटघाट गरेका हौं ।’ घिसिङका अनुसार तत्कालीन उद्धारसँगै प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने र विस्थापितलाई सुरक्षित रूपमा पुनस्र्थापना गर्ने विषयमा सरकारले समग्र योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिइएको छ । ‘हामीले लिखित र मौखिक सुझाव दिएका छौं,’ घिसिङले भने, ‘अहिलेको विपद्को अवस्थामा विशेष गरेर रेस्क्यु, रिलिफ र रिसेटलमेन्ट विषयमा हामीले समग्र रूपमा सरकारलाई सुझाव दिने काम भएको छ ।’ भेटका क्रममा प्रधानमन्त्री शाहले बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका कामदार तथा अन्य नागरिकको उद्धारबारे विशेष चासो राखेका थिए । सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अपनाउनुपर्ने उपाय तथा त्यसका लागि आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारीबारे पनि घिसिङ नेतृत्वको टोलीले आफ्ना धारणा राखेको थियो । ‘मुख्य गरेर सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँहरूको जिज्ञासा थियो,’ घिसिङले भने, ‘त्यससम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौं ।’ घिसिङका अनुसार सुरुङभित्र फसेका नागरिकको उद्धारलाई कुनै पनि अवस्थामा रोक्न नहुने र उपलब्ध सबै स्रोतसाधन परिचालन गरेर प्रयास जारी राख्नुपर्ने विषयमा छलफल भएको थियो । टोलीले सुरुङमा फसेका नागरिकको उद्धारका लागि गर्नुपर्ने काम र सम्भावित उपायबारे जानकारी गराएपछि प्रधानमन्त्री शाहले सरकारले उपलब्ध सबै साधनस्रोत प्रयोग गरेर उद्धार अभियान अघि बढाउने प्रतिबद्धता जनाएको घिसिङले बताए । ‘उहाँले पनि यो विषयमा हामी सकेको जुनसुकै काम गर्नुपरे पनि गर्छौं भन्नुभएको छ,’ घिसिङले भने, ‘जुनसुकै अवस्थामा पनि जस्तोसुकै परिचालन गर्नुपरे पनि परिचालन गरेर अगाडि बढ्ने भन्नुभएको छ ।’
बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघको ३ करोड ४७ लाख सहयोग
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि निर्जीवन बीमा क्षेत्रले ३ करोड ७३ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । नेपाल निर्जीवन बीमा व्यवसायी संघ र संघमा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका हुन् । त्यसैगरी विभिन्न बीमा कम्पनीका कर्मचारीले समेत २६ लाख २३ हजार १८ रुपैयाँ सहयोग गरेका छन् । संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरणका क्रममा सम्बन्धित बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको समेत उपस्थिति थियो । संघका अनुसार योगदान गर्ने संस्थामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्समा कार्यरत कर्मचारीबाट संकलित २६ लाख २३ हजार १८ रुपैयाँसमेत हस्तान्तरण गरिएको संघले जनाएको छ । एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले भने यसअघि नै बाढीपीडितका लागि सहयोग रकम हस्तान्तरण गरिसकेका छन् । बाँकी बीमा कम्पनीहरू पनि सहयोग गर्ने प्रक्रियामा रहेको संघले जनाएको छ । यसैबीच, संघको बैठकले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बैठकले दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको थियो । बाढीपछि बेपत्ता भएका व्यक्तिको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै संघले उद्धार कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धारकर्ताप्रति आभार व्यक्त गरेको छ । संघले बाढी तथा पहिरोका कारण क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त भएपछि बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि जनाएको छ । प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा बीमा कम्पनीहरूले योगदान गर्नुपर्ने विषयलाई गम्भीरतापूर्वक लिँदै सहयोग रकम हस्तान्तरण गरिएको संघले जनाएको छ । सहयोग रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेको समयमा बीमा कम्पनीहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।
बाढीपीडितको राहत र उद्धारका लागि प्रिमियर सेक्युरिटिजको २० लाख सहयोग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ जम्मा गरेको हो । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । प्रिमियर सेक्युरिटिजले प्राकृतिक विपत्तिका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । कम्पनीले बाढी तथा पहिरोमा परी ज्यान गुमाउने सबै नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउन सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ जम्मा गरिएको कम्पनीले जनाएको छ । प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सदस्य रहेको धितोपत्र कारोबार गर्ने संस्था हो ।
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान सुरु, प्राविधिक प्रतिवेदनको प्रतीक्षा
काठमाडौं । भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटान सुरु गरिएको छ । बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन् । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको छ । सडक मर्मत तथा पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीसमेत कार्यस्थलमा खटाइएको छ । नेपाल जियोटेक सोसाइटीले उक्त क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको छ । सोसाइटीले आज बेलुकीसम्म बाटो खुलाउने प्रक्रियासम्बन्धी नक्साङ्कन (ड्रइङ) सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । सोसाइटीको प्राविधिक प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने काम औपचारिक रूपमा सुरु गरिने योजना प्रमुख अधिकारीले जानकारी दिइन् । हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउन आवश्यक पूर्वतयारीलाई तीव्रता दिएका छन् ।
अन्तर्राष्ट्रिय मिडियामा नेपालको बाढी : सचेतनाको बिगुलदेखि खतराको चेतावनीसम्म
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि यसको प्रभाव नेपालको सीमाभित्र मात्र सीमित रहेन । रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा बाढीले पु¥याएको क्षति, ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता, जलविद्युत् आयोजनामा फसेका कामदारको उद्धार र भौतिक पूर्वाधारमा भएको विनाशलाई विश्वका प्रमुख सञ्चारमाध्यमले प्राथमिकताका साथ कभर गरिरहेका छन् । घटना भएको केही दिनसम्म अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको मुख्य ध्यान मृत्यु, बेपत्ता तथा उद्धारमा केन्द्रित देखिए पनि पछिल्ला रिपोर्टहरूमा यसको दायरा फराकिलो हुँदै गएको छ । अहिले नेपालको बाढीलाई अन्तर्राष्ट्रिय मिडियाले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, हिमनदीको अस्थिरता, पूर्वसूचना प्रणालीको कमजोरी र विपद् व्यवस्थापनको चुनौतीसँग जोडेर विश्लेषण गर्न थालेका छन् । अमेरिकी समाचार संस्था रोयटर्सले नेपालको बाढीसम्बन्धी पछिल्लो रिपोर्टमा उद्धार कार्यसँगै भविष्यमा यस्ता विपत्तिबाट कसरी जोगिने भन्ने विषयलाई प्राथमिकता दिएको छ । रोयटर्सका अनुसार नेपालले चीनसँगको सीमाक्षेत्रमा बाढीको पूर्वसूचना प्रणाली पुनर्निर्माण गर्ने तयारी गरिरहेको छ । रसुवाको टिमुरे क्षेत्रमा स्थापना गरिएको पुरानो पूर्वसूचना प्रणाली बाढीका कारण नष्ट भएपछि नयाँ प्रणाली निर्माणको तयारी भइरहेको रोयटर्सले जनाएको छ । प्रस्तावित प्रणालीमा भूकम्पीय सेन्सर, क्यामेरा र मोबाइल नेटवर्क अवरुद्ध भएको अवस्थामा समेत सूचना सम्प्रेषण गर्न सक्ने भीएसएटी स्याटेलाइट लिंक राखिने तयारी छ । रोयटर्सको यो कभरेजले नेपालको बाढीसम्बन्धी अन्तर्राष्ट्रिय समाचारको प्राथमिकता विस्तार भएको संकेत गर्छ । घटना भएको तत्कालीन समयमा मृत्यु र उद्धार मुख्य विषय भए पनि अहिले प्रश्न ‘यस्तो विपत्ति फेरि आयो भने त्यसअघि नै मानिसलाई कसरी सचेत गराउने ?’ भन्नेतर्फ केन्द्रित भएको छ । रोयटर्सले अर्को रिपोर्टमा विपत्तिको एक सातापछि पनि जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको खोजी जारी रहेको र उद्धारकर्ताहरू कठिन परिस्थितिमा काम गरिरहेको उल्लेख गरेको छ । समय बित्दै जाँदा जीवित व्यक्ति भेटिने सम्भावना कमजोर बन्दै गए पनि खोज तथा उद्धार अभियानलाई अन्तिम आशाका रूपमा निरन्तरता दिइएको रिपोर्टमा उल्लेख छ । बेलायती सञ्चार माध्यम बीबीसीले नेपाल-तिब्बत सीमामा रहेको दुर्गम व्यापारिक नाका र त्यस वरपरको विनाशलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरेको छ । बाढीले सडक, पुल, बस्ती तथा व्यापारिक पूर्वाधारमा पु¥याएको क्षतिसँगै ठूलो संख्यामा मानिस बेपत्ता भएको अवस्थालाई बीबीसीले घटनाको गम्भीर पक्षका रूपमा उठाएको छ । पछिल्लो रिपोर्टिङमा हजारौँ मानिस अझै सम्पर्कविहीन रहेको र उद्धार तथा खोजी अभियान जारी रहेको उल्लेख छ । बीबीसीको भिडियो सामग्रीले घटनाको दृश्य प्रभाव र जमिनमा देखिएको विनाशलाई प्राथमिकता दिएको छ भने उसका समाचार सामग्रीले विपद्को मानवीय र भौगोलिक पाटोलाई थप व्यापक सन्दर्भमा राखेको देखिन्छ । यसले नेपालमा भएको घटनालाई एउटा स्थानीय विपद् मात्र नभई हिमाली क्षेत्रमा बढ्दो जोखिमको उदाहरणका रूपमा अन्तर्राष्ट्रिय बहसमा ल्याएको छ । यस्तै, बेलायती सञ्चारमाध्यम गार्जियनले नेपालको बाढीलाई मुख्यतः मानवीय त्रासदीको कोणबाट प्रस्तुत गरेको छ । उसका रिपोर्टहरूमा मृत्यु तथा बेपत्ताको संख्या मात्र होइन, बाढीबाट घरबार गुमाएका परिवार, आफन्तको खोजीमा रहेका मानिस र ध्वस्त भएका बस्तीको अवस्थालाई समाचारको केन्द्रमा राखिएको छ । गार्जिएनको स्थलगत रिपोर्टिङमा बाढीले सडक, पुल, घर तथा अन्य पूर्वाधार बगाएपछि प्रभावित क्षेत्रका मानिसको दैनिकी कसरी अस्तव्यस्त भएको छ भन्ने चित्रण गरिएको छ । कतिपय स्थानमा उद्धार तथा राहत सामग्री पु¥याउनसमेत कठिन भएको रिपोर्टमा उल्लेख छ । गार्जिएनले रसुवाको जलविद्युत् आयोजनाहरुमा फसेका कामदारको खोजीलाई पनि प्रमुखताका साथ उठाएको छ । सुरुङभित्र रहेका मानिससम्म पुग्न उद्धार टोलीले गरिरहेको प्रयासलाई उसले मानवीय आशा र निराशाबीचको संघर्षका रूपमा प्रस्तुत गरेको छ । यसअघि प्रकाशित गार्जियनको अर्को स्थलगत सामग्रीले बाढीमा घर र आफन्त गुमाएका मानिसको व्यक्तिगत प्रोफाइल समेटेको थियो । त्यसमा बाढीबाट बचेका मानिसहरूको पीडालाई प्रत्यक्ष अनुभव र स्थानीयका भनाइमार्फत प्रस्तुत गरिएको छ । यसले ठूलो प्राकृतिक विपत्तिलाई अन्तर्राष्ट्रिय पाठकसम्म पु¥याउन व्यक्तिगत पीडा र मानवीय कथालाई शक्तिशाली पत्रकारिताको माध्यम बनाएको देखिन्छ । कतारस्थित अल्जजिराले नेपालको बाढीलाई निरन्तर फलोअप गरिरहेको छ । यसको रिपोर्टिङमा पनि मृत्युको तथ्यांकसँगै प्रभावित परिवारका व्यक्तिगत कथाहरु प्राथमिकतामा छन् । अल्जजिराले आफ्नो एक रिपोर्टमा बेपत्ता छोराको खोजीमा बाबुले दिनौंसम्म यात्रा गरेको कथा प्रस्तुत गरेको छ । छोराको अवस्था पत्ता लगाउन पैसा सापटी लिएरसमेत प्रभावित क्षेत्रमा पुगेका बाबुको कथामार्फत उसले बाढीको वास्तविक मानवीय मूल्य देखाउने प्रयास गरेको छ । यो रिपोर्टिङ शैलीले विपत्तिको आकारलाई फरक ढंगले प्रस्तुत गर्छ । हजारौं मानिस बेपत्ता भएको तथ्यांक आफैंमा ठूलो समाचार हो, तर एउटा परिवारले आफ्नो सदस्यको खोजीमा भोगेको पीडालाई केन्द्रमा राख्दा अन्तर्राष्ट्रिय पाठकका लागि त्यो संकट अझ जीवन्त बन्न पुग्छ । अल्जजिराले बाढीपछि घर फर्किएका मानिसहरूको अवस्थालाई पनि भिडियो रिपोर्टमार्फत देखाएको छ । हिलो र भग्नावशेषले भरिएका घरभित्र मानिसहरू बाँकी रहेका सामान खोजिरहेको दृश्यलाई उसले समाचारको विषय बनाएको छ । जर्मनीको सञ्चार माध्यम डीडब्लूले नेपालको बाढीलाई अझ फराकिलो जलवायु परिवर्तनको सन्दर्भमा प्रस्तुत गरेको छ । डीडब्लूको रिपोर्टिङमा मुख्य प्रश्न तत्कालीन बाढीको क्षतिभन्दा पनि हिमनदी पग्लिँदै जाँदा हिमाली समुदायलाई कसरी सुरक्षित राख्ने ? भन्नेमा केन्द्रीत छ । तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा हिमनदी अस्थिर बन्ने र त्यसबाट अचानक ठूलो मात्रामा पानी, बरफ, माटो तथा चट्टान बग्ने जोखिम बढिरहेको विषयलाई यसले उठाएको छ । यस्तो अवस्थामा नेपालजस्ता हिमाली मुलुकमा परम्परागत बाढी पूर्वानुमान प्रणाली मात्र पर्याप्त नहुन सक्ने संकेत रिपोर्टले गरेको छ । अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले पनि नेपालको बाढीलाई जलवायु परिवर्तनसँग जोडेर रिपोर्टहरु सम्प्रेषण गरिरहेको छ । यसको रिपोर्टको केन्द्रमा नै जलवायु परिवर्तनका कारण हिमनदीसँग सम्बन्धित विपत्तिको जोखिम बढिरहेको चिन्ता राखिएको छ । रिपोर्टमा विज्ञहरूलाई उद्धृत गर्दै हिमाली क्षेत्रमा हिमनदी तथा पहाडी भूभाग अस्थिर बन्दै जाँदा पहिरो, आकस्मिक बाढी र अन्य विपद्को जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ । एबीसी न्युजले नेपालको बाढीलाई केवल नेपालको आन्तरिक समस्या मानेको छैन । हिमालय क्षेत्रमा देखिएको यो जोखिम भविष्यमा विश्वका अन्य हिमाली समुदायका लागि समेत चेतावनी हुन सक्ने सन्देश उसको रिपोर्टिङमा देखिन्छ । दी न्यू ह्युम्यानिट्रेनले नेपालको बाढीके घटनालाई आलोचनात्मक दृष्टिकोणबाट हेरेको छ । उसको विश्लेषणको शीर्षक नै दि हिमालयन डिजास्टर नेपाल कुड नट सी कमिङ अर्थात् ‘नेपालले आउँदै गरेको देख्न नसकेको हिमाली विपत्ति’ भन्ने छ । रिपोर्टले अचानक आएको बाढीले स्थानीय समुदायलाई प्रतिक्रिया जनाउने पर्याप्त समय नदिएको अवस्थालाई जोड दिएको छ । यो रिपोर्टिङको महत्वपूर्ण पक्ष विपत्ति आफैंभन्दा विपद् आउनुअघि राज्य र समुदाय कति तयार थिए ? भन्ने प्रश्न हो । विशेषगरी दुर्गम हिमाली क्षेत्रमा पूर्वसूचना, सञ्चार संयन्त्र, उद्धार पहुँच र जोखिमबारे स्थानीय समुदायलाई जानकारी दिने प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न यसले उठाएको छ । अन्तर्राष्ट्रिय मिडियाको पछिल्लो कभरेजलाई क्रमिक रूपमा हेर्दा एउटा स्पष्ट परिवर्तन देखिन्छ । बाढी आएको सुरुवाती समयमा समाचारको केन्द्रमा मृत्यु, बेपत्ता, उद्धार र तत्कालीन क्षति थिए । तर, समय बित्दै जाँदा रिपोर्टिङको विषयवस्तु परिवर्तन भएको छ । जलविद्युत् सुरुङमा फसेका कामदार, परिवारका सदस्यको खोजी, ध्वस्त पूर्वाधार, विदेशी नागरिकको अवस्था र राहतसँगै अहिले पूर्वसूचना प्रणाली, हिमनदीको अस्थिरता, जलवायु परिवर्तन र दीर्घकालीन जोखिमले बढी स्थान पाउन थालेका छन् । यसले नेपालको बाढीलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एउटा स्थानीय विपत्तिका रूपमा मात्र नभई हिमालयमा विकसित भइरहेको सम्भावित दीर्घकालीन संकटको उदाहरणका रूपमा हेर्न थालेको देखाउँछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको कभरेज तुलना गर्दा एउटै घटनालाई उनीहरूले फरक पत्रकारिताको ‘फ्रेम’बाट प्रस्तुत गरेको देखिन्छ । रोयटर्सले उद्धार र पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिएको छ भने गार्जियनले मानवीय पीडा र प्रभावित परिवारको कथालाई पस्केको छ । अल्जजिराले व्यक्तिगत कथा र बेपत्ता आफन्तको खोजीलाई केन्द्रमा राखेको छ । त्यसैगरी एबीसी न्युजले जलवायु परिवर्तन तथा हिमनदीसँग जोडिएको जोखिमलाई मुख्य विषय बनाएको छ भने दि न्यू ह्युम्यानिटारियनले विपद् पूर्वतयारी र मानवीय संकटको संरचनात्मक पक्षमाथि प्रश्न उठाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उठाएका प्रश्न नेपालका लागि पनि उत्तिकै महत्वपूर्ण छन् । जलवायु परिवर्तनमा नेपालको योगदान तुलनात्मक रूपमा न्यून भए पनि हिमाली भूगोलका कारण जलवायुजन्य जोखिमको असर भने नेपालले गम्भीर रूपमा भोगिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जोखिमयुक्त बस्तीको पहिचान, नदी तथा हिमनदीको निरन्तर निगरानी, प्रभावकारी पूर्वसूचना प्रणाली, स्थानीय तहसम्म तत्काल सूचना पु¥याउने संयन्त्र, सुरक्षित पूर्वाधार तथा नेपाल–चीनलगायत सीमापार सूचना आदानप्रदानलाई थप बलियो बनाउनुपर्ने उल्लेख गरेका छन् । हिमालमा बदलिँदो जलवायु, अस्थिर हिमनदी, आकस्मिक विपद् र त्यससँग जुध्नुपर्ने नेपालको तयारीका विषयमा पनि अन्तर्राष्ट्रिय मिडियाहरुले महत्वका साथ उल्लेख गरेका छन् ।
रसुवा बाढी : मृतकको संख्या १,२५२ पुग्यो, ११ हजार ९९३ जनाको जीवितै उद्धार
काठमाडौं । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी बाढी र त्यसपछिको प्राकृतिक विपद्मा परी हालसम्म १ हजार २५२ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मानवीय क्षतिको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो । प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३५५ जनाको मृत्यु भएको छ, जसमा कतिपय मानव अङ्गहरू मात्र फेला परेका छन् । यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । विपदमा परेका ११ हजार ९९३ जनालाई सुरक्षाकर्मीले जीवितै उद्धार गरेका छन् । नेपाली सेनाले मात्रै हवाई उडानमार्फत ४ हजार ९१ नेपाली र २७३ विदेशी गरी कुल ४ हजार ३६४ जनाको उद्धार गरेको छ । उद्धारका लागि सेनाले ७१५ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान भरेका छन् । बाढीमा परी घाइते भएका ५ हजार १३५ जनाको उपचार गरिएको छ । जसमध्ये विभिन्न अस्पतालमा ३०१ जनाको उपचार भइरहेको छ भने नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका होल्डिङ सेन्टरहरूमा ३ हजार ९४८ जना आश्रित छन् । बाढीका कारण हालसम्म ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ जना स्थानीय बासिन्दा रहेका छन् । यस्तै, ५८३ विदेशी पर्यटक, जलविद्युत आयोजनाका करिब ९०० कर्मचारी, ४५ सैनिक, २५ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी सहित अन्य कर्मचारी र जनप्रतिनिधिहरू समेत बेपत्ता रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ । खोज तथा उद्धार कार्यका लागि देशभर २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् । विपद्का कारण अवरुद्ध भएका सञ्चार सेवाहरू क्रमशः सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावरले काम गर्न थालेका छन् । प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ । सरकारले प्रभावित जिल्ला र स्थानीय तहहरूका लागि तत्काल नगद राहतको घोषणा गरेको छ । रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ निकासा गरिएको छ । यस्तै, प्रभावित १५ वटा पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । काठमाडौंबाट ४५ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । हवाई मार्गबाट समेत राहत सामग्री ढुवानी भइरहेको छ । सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १३० पटक हवाई उडान गरी राहत सामग्री पुर्याएको छ । प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, उद्धार गरिएका व्यक्ति र उपचाररतहरूको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेको जानकारी दिएको छ । –न्युज एजेन्सी नेपाल