काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या र उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारले चाल्नुपर्ने कदमबारे सुझाव दिएका छन् ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा घिसिङ नेतृत्वको टोलीले विपद्पछिको तत्कालीन उद्धारदेखि प्रभावितको पुनस्र्थापनासम्मका विषयमा प्रधानमन्त्री शाहसँग छलफल गरेको हो ।
बाढी प्रभावित विभिन्न क्षेत्रमा स्थलगत निरीक्षण गरेर फर्किएको टोलीले त्यहाँको वास्तविक अवस्था, देखिएका चुनौती र तत्काल सम्बोधन गर्नुपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेको घिसिङले बताए ।
प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा उनले भने, ‘विपद्को अवस्थामा हामीले फिल्डमा भिजिट गरेर धेरै ठाउँमा देखेका, बुझेका र गर्नुपर्ने विषयमा उहाँहरूलाई दिने सुझावका लागि भेटघाट गरेका हौं ।’
घिसिङका अनुसार तत्कालीन उद्धारसँगै प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने र विस्थापितलाई सुरक्षित रूपमा पुनस्र्थापना गर्ने विषयमा सरकारले समग्र योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिइएको छ ।
‘हामीले लिखित र मौखिक सुझाव दिएका छौं,’ घिसिङले भने, ‘अहिलेको विपद्को अवस्थामा विशेष गरेर रेस्क्यु, रिलिफ र रिसेटलमेन्ट विषयमा हामीले समग्र रूपमा सरकारलाई सुझाव दिने काम भएको छ ।’
भेटका क्रममा प्रधानमन्त्री शाहले बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका कामदार तथा अन्य नागरिकको उद्धारबारे विशेष चासो राखेका थिए ।
सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अपनाउनुपर्ने उपाय तथा त्यसका लागि आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारीबारे पनि घिसिङ नेतृत्वको टोलीले आफ्ना धारणा राखेको थियो ।
‘मुख्य गरेर सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँहरूको जिज्ञासा थियो,’ घिसिङले भने, ‘त्यससम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौं ।’
घिसिङका अनुसार सुरुङभित्र फसेका नागरिकको उद्धारलाई कुनै पनि अवस्थामा रोक्न नहुने र उपलब्ध सबै स्रोतसाधन परिचालन गरेर प्रयास जारी राख्नुपर्ने विषयमा छलफल भएको थियो ।
टोलीले सुरुङमा फसेका नागरिकको उद्धारका लागि गर्नुपर्ने काम र सम्भावित उपायबारे जानकारी गराएपछि प्रधानमन्त्री शाहले सरकारले उपलब्ध सबै साधनस्रोत प्रयोग गरेर उद्धार अभियान अघि बढाउने प्रतिबद्धता जनाएको घिसिङले बताए ।
‘उहाँले पनि यो विषयमा हामी सकेको जुनसुकै काम गर्नुपरे पनि गर्छौं भन्नुभएको छ,’ घिसिङले भने, ‘जुनसुकै अवस्थामा पनि जस्तोसुकै परिचालन गर्नुपरे पनि परिचालन गरेर अगाडि बढ्ने भन्नुभएको छ ।’