बाढीपीडितका लागि सिद्धार्थ प्रिमियर कर्मचारीको १९ लाख सहयोग
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १९ लाख ६ हजार ३३५ रुपैयाँ सहयोग गरेका छन् । कम्पनीका ४९९ कर्मचारीको पारिश्रमिकबाट उक्त रकम संकलन गरिएको हो । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । सहयोग रकमको चेक सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवार क्षेत्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कर्मचारीहरूले प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेका हुन् । कम्पनीले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले कर्मचारीको पारिश्रमिकबाट रकम संकलन गरी सरकारको उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ । सहयोग रकम बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा प्रयोग हुने अपेक्षा गरिएको छ ।
बाढीपीडितका लागि राष्ट्रिय कर्मचारी संगठनद्वारा १ लाख ५५ हजार सहयोग
काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। संगठनका अध्यक्ष कृष्ण केसी र सचिव हरि प्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्दै भदौ १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै संगठनले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, सम्पर्कविहीन भएका नागरिकहरू छिट्टै आफन्तको सम्पर्कमा आऊन् भन्ने कामना गरेको छ । बाढीका कारण सर्वसाधारण, बैंक तथा वित्तीय संस्था, बीमा क्षेत्रमा कार्यरत कर्मचारी, सुरक्षा निकाय, विद्यार्थी तथा उनीहरूका परिवारसमेत प्रभावित भएको संगठनले जनाएको छ । विभिन्न वित्तीय संस्थाका कार्यालय, जलविद्युत् आयोजना, भौतिक संरचना तथा सम्पत्तिमा समेत क्षति पुगेको भन्दै संगठनले विपद्को यस कठिन घडीमा प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय र सहयोगमा ऐक्यबद्धता जनाएको छ । बाढी प्रभावित नागरिक तथा जनधनको यथाशीघ्र लगत संकलन गरी तत्काल राहत वितरण गर्न, घाइतेको निःशुल्क उपचार तथा आवास व्यवस्थापन गर्न र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा तदारुकता देखाउन संगठनले सरकारसँग आग्रह गरेको छ । साथै, विपद्पछि उत्पन्न हुन सक्ने महँगी, खाद्य संकट तथा सम्भावित महामारीप्रति सचेत रहन नागरिक तथा तीनै तहका सरकारलाई संगठनले आग्रह गरेको छ ।
बाढीका कारण परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको वार्षिकोत्सव कार्यक्रम स्थगित
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति शोक व्यक्त गर्दै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । अस्पतालले जारी गरेको सूचनाअनुसार भदौ १९ गते कृष्ण जन्माष्टमीका दिन आयोजना गर्ने तय भएको ६७औँ वार्षिकोत्सव कार्यक्रम राष्ट्रिय संकटको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै नगर्ने निर्णय गरिएको हो । अस्पतालले वार्षिकोत्सवका अवसरमा कार्यक्रमका लागि खर्च हुने रकममध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय समेत गरेको जनाएको छ । साथै, राष्ट्रिय विपद्को संवेदनशील घडीमा अस्पतालका सम्पूर्ण कर्मचारी तथा सरोकारवालालाई एकजुट भई सम्भावित विपद्का लागि तयार रहन र आ–आफ्नो तर्फबाट राज्यलाई सक्दो सहयोग गर्न अस्पतालले आह्वान गरेको छ । अस्पतालले बाढीबाट प्रभावित तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को समयमा मानवीय संवेदना र सहयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
बाढी प्रभावितका लागि बीएलसी ग्लोबल होल्डिङ्सको ३ करोड ३६ लाख सहयोग
काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन् । होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक र नेपाल डिस्टिलरीजलगायत संस्थाको तर्फबाट उक्त रकम सहयोग गरिएको हो । बुधबार होल्डिङ्सका सहअध्यक्ष तथा नर्भिकका निर्देशक मेघा चौधरी, नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, सीईओ अजयकुमार मिश्र तथा नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै मेघा चौधरीले विपद्को अवस्थामा सरकारले सञ्चालन गर्ने राहत तथा पुनर्निर्माणका काममा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोडभन्दा बढी रकम सहयोग गरिएको बताइन् । उनले सहयोग रकम ठूलो नभए पनि बाढी प्रभावित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास व्यक्त गरिन् । उनले अहिलेको विषम परिस्थितिमा होल्डिङ्ससँग आबद्ध सबै संस्था सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका संघसंस्था तथा व्यक्तिप्रति उनले सम्मानसमेत व्यक्त गरिन् । बीएलसी ग्लोबल होल्डिङ्सले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । होल्डिङ्सका संस्थापक बसन्त चौधरीले गत शनिबार नै बाढी प्रभावितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार होल्डिङ्ससँग आबद्ध विभिन्न संस्थामार्फत कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।
जीवन विकास लघुवित्तले बाढीपीडितका लागि दियो २५ लाख ५ हजार
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । जीवन विकास लघुवित्तमा कार्यरत कर्मचारीको एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजयकुमार मण्डलले जानकारी दिए । ‘विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले सहयोग गरेका हौं,’ सीईओ मण्डलले भने, ‘हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित तथा प्रभावित दाजुभाइ–दिदीबहिनीको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं ।’ संस्थाले गत भदौ १० गते आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्तले कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा वित्तीय सेवा दिँदै आएको छ । संस्थाले ग्रामीण क्षेत्रका नागरिकको घरदैलोमै पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको जनाएको छ ।
सुनको मूल्य एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढ्दा चाँदी १४५ रुपैयाँले महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । एकैदिन सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको हो । त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो । यससँगै बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
एनआईसी एसिया बैंकका ३ शाखाका लकर स्थानान्तरण हुँदै
काठमाडौं । एनआईसी एसिया बैंकले डिल्लीबजार, लाजिम्पाट र क्षेत्रपाटी शाखामा रहेका सेफ डिपोजिट लकर अन्य शाखामा स्थानान्तरण गर्ने भएको छ । बैंकका अनुसार यी तीन शाखा आगामी मंसिर ७ गतेदेखि अन्य शाखामा गाभिएर एकीकृत रूपमा कारोबार सञ्चालन गर्नेछन् । शाखा समायोजनपछि बन्द हुने भएकाले त्यहाँ रहेका सेफ डिपोजिट लकरसमेत स्थानान्तरण गर्न लागिएको हो । डिल्लीबजार शाखामा रहेका लकर कमलादी शाखामा र लाजिम्पाट शाखाका लकर पनि कमलादी शाखामै स्थानान्तरण हुनेछन् । त्यस्तै, क्षेत्रपाटी शाखाका लकर त्रिपुरेश्वर शाखामा स्थानान्तरण गरिने बैंकले जनाएको छ । बैंकका अनुसार डिल्लीबजारबाट कमलादी शाखाको दूरी करिब १.४ किलोमिटर, लाजिम्पाटबाट कमलादी २.५ किलोमिटर र क्षेत्रपाटीबाट त्रिपुरेश्वर शाखाको दूरी २.९ किलोमिटर रहेको छ। बैंकले लकरमा टुटफुट हुन सक्ने सामान राखेका ग्राहकलाई आफ्नो लकर रहेको हालको शाखामा सम्पर्क गरी सामान सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरेको छ । बैंकले लकर स्थानान्तरणका क्रममा लकरभित्र रहेका सामग्रीमा सम्भावित हानि, नोक्सानी वा क्षति भएमा बैंक जिम्मेवार नहुने जनाएको छ ।
बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायीद्वारा १ करोड ५० लाख सहयोग हस्तान्तरण
काठमाडौं । रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेको सहयोग अभियानबाट १ करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ । संघका अनुसार अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी संस्थासमेत गरी हालसम्म ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको छ। सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको संघले जनाएको छ । संकलित रकम संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्य र सल्लाहकारहरूको उपस्थितिमा युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारसँगै विभिन्न घटक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त रकम सरकारी राहत कोषमा जम्मा भई विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा संघले गरेको छ । संघले अभियानअन्तर्गत संकलित सहयोग रकमको प्रयोग तथा आगामी राहतसम्बन्धी गतिविधिमा पारदर्शिता, जवाफदेहिता र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिने जनाएको छ । अभियानमा सहभागी व्यवसायी, संस्था, शाखा तथा विदेशी साझेदार संस्थाको योगदानको उचित अभिलेख राखी सम्बन्धित विवरण व्यवसायीलाई समेत जानकारी गराइने संघले जनाएको छ । मानवीय सेवासँगै व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको संघले जनाएको छ । विपद्को घडीमा व्यवसायी समुदायले देखाएको एकता, सद्भाव र उदार सहयोगले व्यवसायी क्षेत्रको सामाजिक भूमिकालाई थप उचाइ दिएको संघको भनाइ छ । संघले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी, संस्था, शाखा, विदेशी साझेदार संस्था तथा सहयोगीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ ।