एनआईसी एसिया बैंकका ३ शाखाका लकर स्थानान्तरण हुँदै
काठमाडौं । एनआईसी एसिया बैंकले डिल्लीबजार, लाजिम्पाट र क्षेत्रपाटी शाखामा रहेका सेफ डिपोजिट लकर अन्य शाखामा स्थानान्तरण गर्ने भएको छ । बैंकका अनुसार यी तीन शाखा आगामी मंसिर ७ गतेदेखि अन्य शाखामा गाभिएर एकीकृत रूपमा कारोबार सञ्चालन गर्नेछन् । शाखा समायोजनपछि बन्द हुने भएकाले त्यहाँ रहेका सेफ डिपोजिट लकरसमेत स्थानान्तरण गर्न लागिएको हो । डिल्लीबजार शाखामा रहेका लकर कमलादी शाखामा र लाजिम्पाट शाखाका लकर पनि कमलादी शाखामै स्थानान्तरण हुनेछन् । त्यस्तै, क्षेत्रपाटी शाखाका लकर त्रिपुरेश्वर शाखामा स्थानान्तरण गरिने बैंकले जनाएको छ । बैंकका अनुसार डिल्लीबजारबाट कमलादी शाखाको दूरी करिब १.४ किलोमिटर, लाजिम्पाटबाट कमलादी २.५ किलोमिटर र क्षेत्रपाटीबाट त्रिपुरेश्वर शाखाको दूरी २.९ किलोमिटर रहेको छ। बैंकले लकरमा टुटफुट हुन सक्ने सामान राखेका ग्राहकलाई आफ्नो लकर रहेको हालको शाखामा सम्पर्क गरी सामान सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरेको छ । बैंकले लकर स्थानान्तरणका क्रममा लकरभित्र रहेका सामग्रीमा सम्भावित हानि, नोक्सानी वा क्षति भएमा बैंक जिम्मेवार नहुने जनाएको छ ।
बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायीद्वारा १ करोड ५० लाख सहयोग हस्तान्तरण
काठमाडौं । रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेको सहयोग अभियानबाट १ करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ । संघका अनुसार अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी संस्थासमेत गरी हालसम्म ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको छ। सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको संघले जनाएको छ । संकलित रकम संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्य र सल्लाहकारहरूको उपस्थितिमा युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारसँगै विभिन्न घटक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त रकम सरकारी राहत कोषमा जम्मा भई विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा संघले गरेको छ । संघले अभियानअन्तर्गत संकलित सहयोग रकमको प्रयोग तथा आगामी राहतसम्बन्धी गतिविधिमा पारदर्शिता, जवाफदेहिता र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिने जनाएको छ । अभियानमा सहभागी व्यवसायी, संस्था, शाखा तथा विदेशी साझेदार संस्थाको योगदानको उचित अभिलेख राखी सम्बन्धित विवरण व्यवसायीलाई समेत जानकारी गराइने संघले जनाएको छ । मानवीय सेवासँगै व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको संघले जनाएको छ । विपद्को घडीमा व्यवसायी समुदायले देखाएको एकता, सद्भाव र उदार सहयोगले व्यवसायी क्षेत्रको सामाजिक भूमिकालाई थप उचाइ दिएको संघको भनाइ छ । संघले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी, संस्था, शाखा, विदेशी साझेदार संस्था तथा सहयोगीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
कुटनीतिक संवादमार्फत अमेरिका–इरानबीचको तनाव समाधान हुन्छ : पाकिस्तान
काठमाडौं । पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय बढ्दै गएको तनावका बावजुद कुटनीतिक माध्यमबाट समस्याको समाधान हुनेमा आशा व्यक्त गरेको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्ड्राबीले बुधवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै दुई देशबीचको विवाद समाधानका लागि पाकिस्तानले संवाद र कुटनीतिलाई निरन्तरता दिने बताएका हुन् । ‘पाकिस्तान अझै पनि आशावादी छ र वार्ता एवं कूटनीतिका लागि आफ्नो प्रयास जारी राख्नेछ,’ प्रवक्ता अन्ड्राबीले भने । उनले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ को विषयमा पाकिस्तानले आफ्नो सक्रियता कायम राख्ने बताउँदै दुवै पक्ष पुनः वार्ताको टेबुलमा फर्कने विश्वास व्यक्त गरे । प्रवक्ता अन्ड्राबीका अनुसार यदि दुवै पक्ष संवादका लागि तयार भएमा शान्ति पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न इस्लामावादमा एउटा कार्यढाँचा समेत तयार अवस्थामा रहेको छ । उनले क्षेत्रीय शान्ति र स्थिरताका लागि वार्ता नै उत्तम विकल्प भएकोमा जोड दिए ।
५ निर्माण कम्पनी सरकारी ठेक्काबाट आउट, १ देखि ३ वर्षसम्म कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले भदौ १७ गते गरेको निर्णयअनुसार पाँच कम्पनीलाई कालोसूचीमा राखिएको हो । कार्यालयका अनुसार शिक्षा विकास निर्देशनालय दिपायल, डोटीको सिफारिसमा काठमाडौं महानगरपालिका–१० स्थित इन्द्रायणी बिल्डर्स एन्ड सप्लायर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्ति सुमित्रा भण्डारी हुन् । त्यस्तै, इटहरी उपमहानगरपालिकाको सिफारिसमा दुहबी–५, सुनसरीस्थित बस्नेत निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण सेवाका मुख्य व्यक्ति प्रेम बस्नेत र निश्चल राज शाक्य रहेका छन् । गढवा गाउँपालिका, दाङको सिफारिसमा घोराही–४, दाङस्थित सी. ब्रोदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्ति मनोज चौधरी हुन् । यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, पालुङटार, गोरखाको सिफारिसमा तिनकुने, काठमाडौंस्थित गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। कम्पनीका मुख्य व्यक्ति तुलसीराम भण्डारी रहेका छन् । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, बबरमहल, काठमाडौंको सिफारिसमा धनुषास्थित अभिनाश निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण सेवाका मुख्य व्यक्ति दीपक कुमार साह हुन् । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद कार्यालयले जनाएको छ । कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले स्पष्ट पारेको छ ।
प्रभु इन्स्योरेन्सले रसुवा बाढीपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले भदौ १० गते आएको बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ । बाढीमा ज्यान गुमाएकाहरूप्रति कम्पनीले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । प्राकृतिक विपद्का कारण प्रभावित परिवार र स्थानीय समुदायले ठूलो पीडा तथा चुनौती सामना गर्नुपरेको कम्पनीले जनाएको छ । यस्तो कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु सबै जिम्मेवार संस्था र नागरिकको साझा दायित्व रहेको प्रभु इन्स्योरेन्सको भनाइ छ । कम्पनीका अनुसार २५ लाख रुपैयाँको सहयोगले पीडितले भोगेको क्षतिको पूर्ण क्षतिपूर्ति गर्न नसके पनि संकटको समयमा प्रभावित परिवार तथा समुदायसँगै रहेको सन्देश दिन सहयोग पुग्नेछ । प्रभु इन्स्योरेन्सले विपत्तिबाट प्रभावित नागरिक एक्ला नरहेको बताउँदै राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्य गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले बीमा व्यवसायको मूल उद्देश्य जोखिम र विपत्तिको समयमा बीमितको संरक्षण गर्नु रहेको बताए। कठिन परिस्थितिमा बीमितलाई भरोसायोग्य साथ दिनुपर्ने उनको भनाइ छ । उनले बाढीबाट प्रभावित बीमितको दाबीसम्बन्धी प्रक्रियालाई आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी सकेसम्म छिटो, सरल, पारदर्शी र प्रभावकारी रूपमा टुंग्याउने प्रतिबद्धता व्यक्त गरे । प्रभावित बीमितले थप असहजता र झन्झट व्यहोर्नु नपरोस् भन्ने विषयलाई कम्पनीले प्राथमिकतामा राखेको जनाएको छ । आवश्यक सहजीकरण, समन्वय र सेवा प्रवाहमार्फत प्रभावित बीमितलाई सहयोग गरिने कम्पनीले जनाएको छ । प्रभु इन्स्योरेन्सले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय समुदाय, स्वयंसेवक तथा सहयोगी संघसंस्थाप्रति आभार व्यक्त गरेको छ । सबै पक्षको साझा प्रयास, सहकार्य र ऐक्यबद्धताबाट प्रभावित क्षेत्रको पुनःनिर्माण तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढ्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
माया खोला हाइड्रोलाई १ करोड कित्ता हकप्रद सेयर निष्कासनको अनुमति
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १ करोड कित्ता हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डलाई जानकारी दिँदै हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा १ करोड कित्ता हकप्रद सेयर जारी गर्न आयोगबाट अनुमति प्राप्त भएको जनाएको हो । कम्पनीको नवौं वार्षिक साधारणसभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिएको थियो । विद्युत नियमन आयोगले भदौ १७ गतेको पत्रमार्फत १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको कम्पनीले जनाएको छ । कम्पनीले उक्त जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र अन्य सम्बन्धित निकायलाई पठाएको छ ।
विवाह समारोहमै अमेरिकाले मिसाइल छोड्दा इरानमा १८ जनाको मृत्यु
काठमाडौं । इरानको स्वास्थ्य मन्त्रालयका जनसम्पर्क निर्देशक हुसेन करमानपुरले मंगलबार भएका अमेरिकी हवाई हमलामा मृत्यु हुने र घाइते हुनेको नयाँ तथ्यांक सार्वजनिक गरेका छन् । बीबीसीको फारसी सेवाका अनुसार करमानपुरले ती हमलामा मृत्यु हुनेको संख्या १८ पुगेको र १४२ जना घाइते भएको बताएका छन् । मृत्यु हुनेमा एक बालक र दुई महिला छन् । घाइतेमध्ये ६१ जना महिला र १८ वर्षमुनिका ४४ जना रहेका छन् । अमेरिकाले केही हप्तापछि पुनः इरानमाथि आक्रमण सुरु गरेको हो । बुधबार इरानको सिरिकमा एक विवाह समारोहलाई लक्षित गरी भएको हमलामा सुरुमा चार जनाको मृत्यु भएको खबर आएको थियो । इरानी रेड क्रिसेन्टका अनुसार सिरिकमा विवाह समारोह भइरहेका बेला एउटा घरमा अमेरिकी मिसाइलका टुक्रा खसेपछि चार जनाको मृत्यु भएको थियो । अमेरिकी सेनाको हमलाको जवाफमा इरानले जोर्डन, कुवेत, इराक र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन प्रहार गरेको छ ।
रास्वपा सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा बिहान १० बजे सचिवालय बैठक बोलाइएको हो । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा रसुवा बाढी, पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय तथा पार्टीका आगामी गतिविधिका विषयमा छलफल हुने बताइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, त्यसले पार्टीमाथि पारेको प्रभाव तथा रास्वपाले आगामी दिनमा लिनुपर्ने राजनीतिक रणनीतिका विषयमा समेत छलफल हुन सक्ने जनाइएको छ । त्यस्तै, पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक मुद्दामा पार्टीको धारणा र आगामी कार्यक्रमका विषयमा पनि सचिवालय सदस्यबीच छलफल हुने बताइएको छ ।