काठमाडौं । भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटान सुरु गरिएको छ ।
बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन् ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको छ । सडक मर्मत तथा पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीसमेत कार्यस्थलमा खटाइएको छ ।
नेपाल जियोटेक सोसाइटीले उक्त क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको छ । सोसाइटीले आज बेलुकीसम्म बाटो खुलाउने प्रक्रियासम्बन्धी नक्साङ्कन (ड्रइङ) सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सोसाइटीको प्राविधिक प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने काम औपचारिक रूपमा सुरु गरिने योजना प्रमुख अधिकारीले जानकारी दिइन् ।
हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउन आवश्यक पूर्वतयारीलाई तीव्रता दिएका छन् ।