विकासन्युज

विपद् प्रतिकार्यमा सरकारलाई सहयोग गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकमा आएको प्राकृतिक विपद्पछिको खोज, उद्धार र राहत वितरणमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उद्धार र राहतका साथै दीर्घकालीन पुनःस्थापनाका कार्यमा सरकारको हात बलियो बनाउने गरी पार्टी अघि बढ्ने बताए । बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रमुख सचेतक बुर्लाकोटीले राहत वितरणलाई प्रभावकारी र द्रुत बनाउन ७२ घण्टाको समयसीमाभित्र काम सक्नुपर्नेमा जोड दिए । उनका अनुसार संकलन भएका राहत सामग्रीहरू ढिला नगरी कम्तीमा ७२ घण्टाभित्र पीडितसमक्ष पुर्‍याउनुपर्ने पार्टीको निष्कर्ष रहेको छ । हाल राहत वितरणमा सरकारले ‘एकद्वार प्रणाली’ अनिवार्य नगरेको सन्दर्भमा बोल्दै बुर्लाकोटीले भने, ‘सरकारी क्षमताले मात्र सबै ठाउँमा पुग्न कठिन हुनसक्ने भएकाले धेरै संघसंस्थाहरूले सिधै राहत वितरण गरिरहनुभएको छ । वितरणको क्षमता नभएका संघसंस्थाहरूले भने सरकारी संकलन केन्द्रमा सामग्री हस्तान्तरण गर्नुपर्छ र सरकारले त्यसको समुचित वितरण गर्नेछ ।’ सरकार र पार्टीबीचको समन्वयका बारेमा स्पष्ट पार्दै उनले प्रधानमन्त्रीको सल्लाहकार समेत पार्टीको सचिवालयमा रहेकाले राहत र पुनस्र्थापनाको सन्दर्भमा आवश्यक तयारी र समन्वय भइरहेको जानकारी दिए ।  रास्वपाले विपद्को यस घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर मानवीय सहायतामा केन्द्रित हुन सबै पक्षलाई आह्वान समेत गरेको छ ।–न्युज एजेन्सी नेपाल

प्रभु बैंकका ग्राहकलाई भारतको मेदान्ता अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र भारतको हरियाणा, गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ । यो सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवार, साथै बैंकका डेबिट र क्रेडिट कार्डबाहकले मेदान्ता अस्पतालमा उपचार गर्दा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बहिरंग (ओपीडी) सेवाअन्तर्गत सबै चिकित्सकको परामर्श, प्रयोगशाला परीक्षण र रेडियोलोजी जाँचमा अस्पतालको प्रचलित शुल्कमा १५ प्रतिशत छुट हुनेछ । यस्तै, अन्तरंग (आईपीडी) सेवामा कोठा भाडा, प्रयोगशाला परीक्षण र रेडियोलोजी जाँचमा पनि १५ प्रतिशत छुट दिइने बैंकले जनाएको छ । सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी अस्पतालका प्रमुख (कर्पोरेट साझेदारी) सत्य चतुर्वेदी र प्रभु बैंकका कन्ट्री हेड–भारत सुनिल मिश्राले हस्ताक्षर गरेका हुन् । यो सम्झौता १५ अगस्ट २०२६ देखि लागू भई १४ अगस्ट २०२८ सम्म कायम रहनेछ । प्रभु बैंकले देशभर ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।

सीआईटीको अधिकृत पुँजी १० अर्ब पुर्याउने प्रस्ताव, पोर्टफोलियो म्यानेज्मेन्टको सेवा पनि दिने

काठमाडौं । सरकारले नागरिक लगानी कोषलाई आधुनिक, सबल र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक, २०८३’ संघीय संसद्मा पेस गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेको उक्त विधेयकले कोषको पुँजी संरचना सुदृढ बनाउने, लगानीका क्षेत्रहरू फराकिलो पार्ने र सञ्चालक समितिसहित कार्यकारी प्रमुखको भूमिका र दायित्वलाई थप स्पष्ट पार्ने लक्ष्य राखेको छ ।  विद्यमान कानूनी संरचनाभित्रै रहेर संशोधन प्रस्ताव गरिएकाले यसबाट सरकारलाई अतिरिक्त आर्थिक दायित्व नपर्ने र नयाँ प्रत्यायोजित अधिकार सिर्जना नहुने विधेयकमा उल्लेख छ ।   विधेयकमा कोषको वित्तीय क्षमता अभिवृद्धि गर्न अधिकृत पुँजी रु. ८ अर्ब (८ करोड कित्ता शेयर) बाट बढाएर रु. १० अर्ब (१० करोड कित्ता शेयर) पु¥याउने प्रस्ताव गरिएको छ । त्यसैगरी, हाल रु. ३ अर्ब रहेको चुक्ता पुँजीलाई रु. ६ अर्ब ८० करोड पु¥याउने कानूनी व्यवस्था मिलाइएको छ ।  अब सञ्चालक समितिले मन्त्रिपरिषद्को पूर्वस्वीकृति लिई शेयर पुँजी तथा सोको बनावटमा थपघट गर्न सक्नेछ भने अर्थ मन्त्रालयको स्वीकृतिमा जारी पुँजीको सीमाभित्र रही चुक्ता पुँजी बढाउन सक्ने सहज प्रक्रिया लागू गरिने भएको छ ।   नागरिक लगानी कोषको लगानी तथा कर्जा प्रवाहको दायरालाई समयसापेक्ष विस्तार गर्न विधेयकमा विभिन्न नयाँ क्षेत्रहरू थपिएका छन् ।  अब कोषको आफ्नै स्रोत तथा लगानीकर्ता हिसाब योजनाको रकम पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा समेत राख्न पाइनेछ ।  यसका साथै, धितोपत्र बोर्डमा दर्ता भएका म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका एकाइहरूमा लगानी गर्ने कानूनी बाटो खुला गरिएको छ । विधेयकमा कोषले सेयर बजारमा पोर्टफोलियो व्यवस्थापन सेवा पनि दिन सक्ने प्रस्ताव गरिएको छ ।  ऊर्जा, यातायात, पर्यटन, सूचना प्रविधि, कृषि, स्वास्थ्य र शिक्षा जस्ता राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा कर्जा दिनुका साथै कोषको साझेदारीमा निर्माण हुने आवास परियोजना र सहभागीहरूलाई किस्ताबन्दीमा घर–घडेरी खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवस्था समेत विधेयकमा समेटिएको छ ।  कोषको संस्थागत संरचना र सञ्चालक समिति गठनमा पनि परिमार्जन गरिएको छ । साविकको राष्ट्रिय बीमा संस्थान परिमार्जन भई स्थापित ‘राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड’ का प्रमुख कार्यकारी अधिकृतलाई सञ्चालक समितिमा राखिएको छ भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रतिनिधित्व हटाइएको छ ।  बैंक तथा वित्तीय संस्थाका साथै बीमा कम्पनीहरू मध्येबाट समेत सञ्चालक चुनिन सक्ने व्यवस्था गरिएको छ । मनोनित वा निर्वाचित सञ्चालकको पदावधि ३ वर्षको हुनेछ र निज पुनः एक पटकका लागि मात्र निरन्तर रहन सक्नेछन् ।    विधेयकले कोषको कार्यकारी निर्देशकको पदावधि ४ वर्ष तोक्दै एक पटक पुनः नियुक्त हुन सक्ने प्रावधान राखेको छ । तर, कार्य सन्तोषजनक नभएमा वा तोकिएको जिम्मेवारी पूरा नगरेमा नेपाल सरकारले जुनसुकै बखत पदबाट हटाउन सक्ने अधिकार आफूमा निहित राखेको छ ।  कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार ऐनमै स्पष्ट पार्दै दैनिक प्रशासन, बजेट तथा कार्ययोजना निर्माण, जनशक्ति व्यवस्थापन र मुद्दाको प्रतिरक्षा जस्ता कार्यहरू अधिकृतस्तरका कर्मचारीलाई प्रत्यायोजन गर्न सकिने व्यवस्था गरिएको छ ।   लेखापरीक्षण र सञ्चालन प्रणालीमा परिमार्जन गर्दै दोहोरो लेखाप्रणालीमा आधारित भई नेपाली वा अङ्ग्रेजी जुनसुकै भाषामा र विद्युतीय प्रणालीमा समेत लेखा राख्न सकिने प्रावधान ल्याइएको छ ।  कोषमा ‘मुख्य लेखापाल’ पद नरहेकाले वासलात र नाफा–नोक्सान हिसाबमा ’लेखा प्रमुख भई काम गर्ने कर्मचारी’ ले सहीछाप गर्नेछन् । प्रचलित कानूनसँग एकरुपता ल्याउन मूल ऐनका ’शेयरवाला’ शब्दलाई ‘शेयरधनी’ र ‘एकाङ्कवाला’ शब्दलाई ‘एकाइधनी’ मा रूपान्तरण गरिएको छ ।   

सेयर बजारमा ३ अर्ब ४६ करोडको कारोबार

काठमाडौं ।  बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेप्से ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुगेको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको बजारले बिहीबार पनि वृद्धि कायम राखेको हो । बजारसँगै कारोबार रकम पनि बढेको छ । बुधबार २ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भयो । यस दिन ३४६ कम्पनीका १ करोड २१ लाख ६३ हजार कित्ता सेयर ४० हजार ६९२ पटक कारोबार भए । बिहीबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ८.७६ प्रतिशत बढ्यो । चिरख्वा हाइड्रोपावर र आशा लघुवित्तको सेयर मूल्य पनि साढे ८ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । यता पियोर इनर्जीको सेयर मूल्य भने सबैभन्दा धेरै १३.३३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स पहिलो स्थानमा रह्यो । यस कम्पनीको ४० करोड ९० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब १३ करोड ५० लाख रुपैयाँ र सोलु हाइड्रोपावरको १२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये ९ उपसमूह बढेका छन् भने ४ उपसमूह घटेका छन् । सबैभन्दा धेरै लगानी उपसमूह १.२६ प्रतिशतले बढ्यो । व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूह भने सामान्य घटेका छन् ।

बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि एनएमबि क्यापिटलको १५ लाख सहयोग

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले बाढीबाट प्रभावित परिवारलाई राहत पुग्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ । यसका साथै, एनएमबि क्यापिटलका कर्मचारीहरूले पनि छुट्टै रकम संकलन गरेका छन् । कर्मचारीबाट संकलित रकमबाट खरिद गरिएका विभिन्न राहत सामग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा, टेकुमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । एनएमबि क्यापिटलले बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, बेपत्ता भएका व्यक्तिको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

काम नगरी ८ लाख भुक्तानी, औरही गाउँपालिकाका कर्मचारी विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकामा माछा पकेट कार्यक्रमको रकममा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकासका लागि औरही गाउँपालिका र प्रगतिशील कृषक समूहबीच १५ लाख रुपैयाँको सम्झौता भएको थियो ।  सम्झौताअनुसार किसानलाई माछाका भुरा, दाना, चुना र अन्य सामग्री वितरण गर्नुपर्ने थियो। तर किसानलाई कम सामग्री दिएर सबै सामग्री वितरण गरेको देखाउने झुट्टा बिल र भरपाई बनाइ ८ लाख २ हजार ८७८ रुपैयाँ बढी भुक्तानी गरिएको अख्तियारको आरोप छ ।  यस घटनामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष रामभजन यादवलाई प्रतिवादी बनाइएको छ ।  अख्तियारले चारै जनाबाट ८ लाख २ हजार ८७८ रुपैयाँ बिगो असुल गर्न, जरिवाना र कैद सजाय गर्न माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

लाङटाङको सुरुङमा दुई कामदारको शव फेला, ३९ जना अझै सम्पर्कविहीन

काठमाडौं । लाङटाङ हाइड्रोपावरको सुरुङ (टनेल) भित्र फसेका कामदारहरूमध्ये दुई जनाको शव फेला परेको छ । सुरुङभित्र चुनौतीपूर्ण अवस्थाका बीच उद्धार टोलीले वैकल्पिक मार्ग प्रयोग गरी प्रवेश गरेपछि दुई जनाको शव फेला पारेको हो । लाङटाङ हाइड्रोपावरका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार सुरुमा १०० मिटरभन्दा अगाडि जान नसकिएपछि उद्धार टोलीले नयाँ जुक्ति निकालेको थियो ।  ‘हामी बाइफरकेसनको पाइपलाइनबाट पेनस्टक पाइपमा पस्यौं र त्यहाँ म्यानहोल (प्वाल) काटेर मान्छे पस्ने ठाउँ बनायौं,’ भट्टराईले विकासन्युजसँग भने, ‘हामीलाई मान्छेहरू कहाँ निर ट्रयापमा परेका छन् भन्ने पहिले नै अन्दाज थियो, त्यही ठाउँमा प्वाल बनाएर भित्र पस्दा दुई जनाको शव फेला परेको छ ।’ उनका अनुसार सुरुङभित्रको अवस्था पूर्ण रूपमा लेदोले भरिएको छैन । पेनस्टक पाइपभित्र पानी भए पनि टनेलमा केही ठूला ढुङ्गा (बोल्डर) हरू रहेका छन् । हाल सुरुङभित्र जमेको पानी घटाउन मोटरहरूको प्रयोग भइरहेको छ । इन्जिनियर र प्राविधिक टोलीले हिजोदेखि नै आवश्यक उपकरणहरू प्रयोग गरेर पानी निकाल्ने र उद्धार गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । प्रबन्ध निर्देशक भट्टराईले बेपत्ता रहेका ४१ जनामध्ये अब ३९ जनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए । ‘४१ जनामध्ये २ जनाको शव भेटिएको छ, अब ३९ जनाको खोजी भइरहेको छ,’ उनले विकासन्युजसँग भने ।   भावुक हुँदै भट्टराईले थपे, ‘उनीहरू हाम्रा कामदार मात्र होइनन्, हाम्रै परिवारका सदस्य हुन् । प्रोजेक्ट बनाउँछु र देशका लागि केही गर्छु भन्ने हाम्रा परिवारका मान्छेहरू गुमाउनु पर्दा धेरै दुःख लागेको छ ।’ सुरुङभित्रको पानी घटेपछि मात्रउ अन्य बेपत्ताहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुने बताइएको छ । उद्धार टोलीले बेलुकासम्म वास्तविक अवस्था र थप विवरणहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

शवगृहमा दुर्गन्ध फैलिएपछि पशुपतिमा शव राख्न थालियो

काठमाडौं । काठमाडौंमा शव राख्ने ठाउँ अभाव भएपछि अस्पताल परिसरमा दुर्गन्ध फैलन थालेको छ ।  गत बुधबार रसुवामा आएको बाढीले गर्दा रसुवा र नुवाकोटमा धेरै मानिसले ज्यान गुमाएपछि शव राख्ने ठाउँ अभाव हुँदा दुर्गन्धसमेत फैलन थालेको हो । नदी किनारामा भेटिएका शव काठमाडौं ल्याउँदै डिएनए परीक्षण गर्दै  र पहिचान गरी शवको व्यवस्थापन गर्न थालिएको छ ।  त्रिवि शिक्षण अस्पतालमा शव राख्ने ठाउँ अभाव हुँदा पशुपतिको शव गृहमा २१ वटा शव राखिएको छ ।  त्रिवि शिक्षण अस्पतालमा शव राख्ने ठाउँ अभाव हुँदा पशुपतिको मर्चरीमा शव राखिएको त्रिवि अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए । उनका अनुसार अस्पतालको शव गृहमा शव राख्ने ठाउँ अभाव भएको छ । काठमाडौंमा नुवाकोट र रसुवाबाट शव ल्याइएको छ।  ‘शव राख्ने ठाउँ अभाव भएपछि शवको दुर्गन्ध फैलन थालेको छ,’ उनले भने, ‘यहाँ बस्न नसक्ने गरेर शवको दुर्गन्ध फैलन थालेको छ ।’ सिंहले मध्यान्हसम्ममा १६ वटा शव नुवाकोटबाट ल्याइएको जानकारी दिए । अस्पतालको शव गृहबाट १ सय २० वटा शव व्यवस्थापन गर्न लगिएको बताए । उनले अस्पतालमा हाल सयभन्दा बढी शव राख्न नसकिने अवस्था रहेको पनि जानकारी दिए ।  उनका अनुसार अस्पताल परिसरमा ल्याइएको २१  शवको पहिचान गरिएको छ । जसमध्ये १३ पुरुष र ८ महिलाको शव पहिचान भइसकेको हो । प्रहरीका अनुसार हालसम्म १२ सय ५० भन्दा बढीको शव फेला परिसकेको छ । विभिन्न स्थानबाट ८९७ को शव व्यवस्थापन भइसकेको छ ।