सनराइज बैंकको लम्जुङ्गको दुई शाखाहरु स्थानान्तरण
काठमाडौं । सनराइज बैंक लिमिटेडले लम्जुङ्ग जिल्लाको दुई शाखाहरु स्थानान्तरण गरेको छ । बैंकले उक्त जिल्लाको झ्याड्ड खोला स्थित वेसिशहर शाखा (साविकको स्थानबाट करिव १५० मि. को दुरी) तथा सोही जिल्लाकै तल्लोबजार स्थित सुन्दरबजार शाखा (साविकको स्थानबाट करिव २० मि. को दुरी) मा शाखा कार्यालय स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रमबीच उक्त जिल्लाको उद्योग वाणिञ्ज संघका प्रथम उपाध्यक्ष रामबाबु श्रेष्ठ, सुन्दरबजार सामुदायिक अस्पतालका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ र बैंकका सहायक महाप्रबन्ध सर्वेन्द्र मिश्रले संयुक्त रुपमा सुन्दरबजार शाखाको उद्घाटन गरेका छन् । साथै वेसिशहर शाखाको उद्घाटन सोही स्थानका नगरपालिकाका मेयर गोमानसिंह आर्यालले गरेका हुन् । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले उक्त स्थानमा शाखा स्थानान्तरण गरेको हो । हाल यस बैंकले ९१ वटा शाखा, १०६ वटा एटिएम, २३ वटा शाखारहित बैंकिङ्ख सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
सिटिजन्स बैंकद्धारा मालिका बालविद्यालयलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कंचनपुरको मालिका बालविद्यालयका आर्थिक सहयोग गरेको छ । बैंकले यस बालविद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायलाई ५१ हजार ६ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । उक्त रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई २६ हजार २ सय रुपैयाँ तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई २५ हजार ४ सय ५० रुपैयाँको छात्रवृति प्रदान गरिने कुरा विद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायले बताए । बैंकका महेन्द्रनगरका शाखाप्रबन्धक, नरेन्द्र चन्दले बैंकले प्रदान गरेको छात्रवृतिले मेहनती, जेहन्दार तथा आर्थिक रूपले कमजोर रहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास बताएका छन् । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ ।
चीनसँगको व्यापार युद्धमा पछि पर्दै अमेरिका, कर वृद्धि योजना प्रत्युत्पादक सावित हुँदै
साङ्घाई । रासस/एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि “अमेरिकी सामान खरिद गर्न” दबाब दिनु थियो, तर अमेरिकाबाट वर्षैपिच्छे करोडौं मूल्यको मासु आयात गर्ने चीनको रोजाईमा आजभोलि अरु नै देश पर्न थालेका छन् । पछिल्लो समय अमेरिकी करबृद्धिको प्रतिशोध स्वरुप चीनले अमेरिकाबाट आयात हुने सुँगुर र गाईको मासुमा करबृद्धि गरेको छ । त्यही कारण चिनीया बजारमा अमेरिकी मासुको मूल्य आकासिएको छ । चिनीया आयातकर्ताहरुले स्वाभाविक रुपमा अरु नै स्रोत खोजी गर्न थालेका छन्, र यो प्रवृत्ति अन्य अमेरिकी बस्तुमा पनि देखा पर्न थालेको छ । “चिनीया करबृद्धिका कारण अमेरिकी बस्तु ज्यादै महङ्गो भएको छ, र अहिले हामी अरु नै मुलुकबाट आयात गर्न थालेका छौं,” मासु कम्पनी पीएमआई फुड्सका व्यवस्थापक झाङ लिहुईले भने । “हामीले आजभोलि अस्ट्रेलिया, दक्षिण अमेरिका र क्यानडाबाट मासु आयात गर्न थालेका छौं ।” पीएमआई फुड्सले बेइजिङले करबृद्धि गर्न थालेसँगै अमेरिकाबाट सुँगुरको मासु आयात घटाएपछि अमेरिकी मासुको मूल्य एकाएक बढेको छ । करबृद्धिको लडाइँका कारण व्यापारको विश्वव्यापी परिदृश्यमै परिवर्तन ल्याउने सम्भावना देखिएको छ, र यसबाट अरु मुलुकलाई फाइदा पुग्नेछ, झाङले बताए । “चिनीया बजार निश्चित रुपमै प्रतिस्थापन हुनेछ ।” व्यापारिक युद्धको परिणाम फैलिदै गएमा त्यसको असर प्रक्षेपण गर्न मुश्किल हुनेछ । तर विश्लेषकहरुले अमेरिकी निर्यातकहरुले चिनीया व्यवसाय गुमाउने खतरा औंल्याएका छन् । अमेरिकाले जुन महिनामा मात्र करिब १४ करोड अमेरिकी डलर बराबरको मासुजन्य बस्तु आयात गरेको थियो जुन अमेरिकाबाट हुने कूल मासुजन्य बस्तुको निर्यातको करिब १० प्रतिशत हो । “चीनले मुख्य रुपमा मासु, सोयाबिन, गहुँ र पेट्रोकेमिकल जस्ता बस्तुको आयातमा करबृद्धि गरेको छ किनभने चीनको विश्वासमा यी बस्तु विश्व बजारबाट सहजै आपूर्ति गर्न सकिन्छ,” क्यापिटल इमोनोमिक्समा कार्यरत जुलियन इभान्स–प्रिटचार्डले भने ।
मनकामना केबलकारले थप तीन वटा डब्बा थप्दै, दैनिक ६ हजार यात्रुलाई सेवा दिने लक्ष्य
काठमाडौं । नेपालकै पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्न थप तीन वटा डब्बा थप्ने भएको छ । यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो । ‘बढ्दो यात्रु चापलाई सम्बोधन गर्न तीनवटा डब्बा थप्ने तयारीमा छौं,’ कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले भने, ‘क्षमता विस्तारपछि दैनिक थप एक हजार यात्रुलाई सेवा दिन सकिन्छ ।’ २० वर्षअघि सन् १९९८ मा सेवा शुरु गरेको मनकामना केबलकारले हाल ३१ वटा डब्बाबाट चितवनको चेरेसदेखि गोरखाको मनकामना मन्दिरसम्म यात्रु ओसार पसार गरिरहेको छ । यसमा सामान ओसार्ने ३० र यात्रु ओसार्ने एउटा डब्बा छ । क्षमता विस्तारपछि कुल डब्बा संख्या ३४ पुग्नेछ । थप गरिने तीनवटै डब्बा यात्रुका लागि हुन् । हालको क्षमतामा मनकामना केबलकारले प्रतिघन्टा ६ सय यात्रु ओसारपसार गर्न सक्छ । अहिले यसको दैनिक यात्रु क्षमता चार हजार आठ सय छ । डब्बा थप गरेपछि दैनिक पाँच हजार आठ सय यात्रुलाई सेवा दिन सकिने सञ्चालक श्रेष्ठले जानकारी दिए । चितवन को–ई समूह अन्तर्गतको मनकामना दर्शन प्रालिले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ । क्षमता विस्तारपछि १३ देखि १४ लाख यात्रुलाई सेवा दिन सकिने कम्पनीको भनाइ छ । कम्पनीले केबलकारमा थप्न लागेको डब्बा कुरिनटारस्थित बटम स्टेसनमा आइसकेको छ । कम्पनीले अस्ट्रियाको डोपलमेयर कम्पनीबाट डब्बा आयात गरेको हो । डोपलमेयर केबलकार प्रविधिमा विश्वकै प्रमुखमध्येको एक कम्पनी मानिन्छ । आगामी दसैंसम्ममा डब्बा जडान भइसक्ने श्रेष्ठले जानकारी दिए । ‘दसैंका बेला मनकामना दर्शन गर्न आउने यात्रुको चाप बढ्छ,’ श्रेष्ठ भन्छन्, ‘त्यस बेलासम्म क्षमता विस्तारको काम पनि सकिन्छ ।’ यसले दसैंमा मनकामना दर्शन गर्न जाने यात्रुलाई सहज हुने श्रेष्ठको भनाइ छ । क्षमता विस्तारका लागि कम्पनीले एक करोडभन्दा बढी लगानी गरेको श्रेष्ठले जानकारी दिए । चितवनको चेरेसस्थित केबलकार बटम स्टेसन र मनकामनास्थित टप स्टेसनबीचको दुरी ३.१३ किलोमिटर छ । केबलकारमा उक्त दुरी पार गर्न ८ देखि १० मिनेट लाग्छ । केबलकार सञ्चालनमा आउनु अघि हिँडेर पनि हजारौं यात्रु बर्सेनि प्रशिद्ध देवीमनकामनाको दर्शन गर्न पुग्थे । केबलकार सञ्चालनसँगै बृद्धबृद्धा, अशक्त र शारीरिक रुपमाकमजोर व्यक्तिहरु पनि सजिलै मनकामनापुग्नथालेको स्थानीय बताउँछन् ।
पुर्व प्रवासी नेपाली श्रमिकहरुको लागि रिटर्णी माईग्रेन्ट नेपाल
काठमाडौं। वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीहरुको सिपको कसरी नेपालमा उपयोग गर्ने भन्ने बिषयलाई लिएर रिटर्णी माईग्रेण्ट नेपालको नामको सस्थाले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेको छ। संख्यात्मक रुपमा पनि अोजिलो र विकास निर्माणमा प्रविधिक ज्ञान, सिप, ब्यब्सायिक अनुभव तथा धेरैथोर पुंजीहासिल गरेर स्वदेश फर्कीएका पुर्व प्रवसी नेपालीहरुको ठुलो समुह राज्यबाट चिनारी नहुँदा एकतर्फ राष्ट्र निर्माणको मुल प्रवाहबाट बाहिर रहने र अर्को तर्फ यो समुहको ब्यक्तिहरु अनुत्पादक हुन सक्ने, विदेशबाट फर्किएका नेपाली श्रमिकहरु बेरोजगार रहेको र बिभिन्न कारणले फेरी पनि विदेश फर्किनु बाध्य भएकोले यसलाई रोक्न आफ्नो संस्थाको स्थापना भएको संस्थाका अध्यक्ष उत्तम अधिकारिले बताए। नेपालभर रहेका बिदेशबाट फर्किनुभएका पुर्व प्रवासी श्रमिकहरुलाई आफुहरुले समेट्न चाहेको उनले बताए। पुर्व प्र्वासी नेपालीहरुको हकहितको निमित्त खोलिएको उक्त संस्था १७ जनाको पहलमा खोलिएको र हाल उनिहरुसँग २००० को हाराहारिमा पुर्व प्र्वासी नेपालीहरु सम्पर्क रहेको उनिहरुले जानकारी दिए।
हिमालय ड्रग कम्पनीले ल्यायो छालालार्इ जवान राख्ने नयाँ क्रिम, कसरी प्रयोग गर्ने ?
काठमाडौं । हिमालय ड्रग कम्पनीले “युथ इटर्निटी “ नामक छालाको हेरचाह गर्ने क्रिमहरु प्रस्तुत गरेका छन् । यस युथ इटर्निटी रेन्जका क्रिमहरु एडेलवाइस नामक एउटा दुर्लभ बिरुवालाइ स्टेमसेल प्रविधिबाट तयार पारिएको हो जसले छालालाई जवान राख्न मदत गर्छ । कार्यक्रममा काठमाडौंको प्रख्यात छाला विशेषज्ञ डा.अपर्णा शाहले बिरुवाको स्टेम सेल्सका महत्वबारे जानकारी दिएकी छिन् । समारोहमा हिमायल युथ इटर्निटीका ब्राण्ड एम्बास्डर माल्विका सुब्बा तथा हिमालय ड्रग कम्पनीका प्रमुख पदाधिकारीहरुको पनि उपस्थिति थियो । कार्यक्रममा प्रारम्भिक अवस्थादेखि छालाको हेरचाह गर्ने तथा युथइन्टर्निटीको महत्वपूर्ण सिद्धान्तको बारे जानकारी दिइएको छ । कम्पनीले अहिलेको समयमा, प्रदुषण, तनाव, युभीकिरण र खराब खानपिन जस्ता कारणले छालाको एजिंग प्रक्रिया तिब्र गतिमा हुने समस्यालाई हटाउन उक्त क्रिम नेपाली बजारमा ल्याएको हो । यस्ता विकृतिहरुले छालामा चाउरी, कालोपन र गाडा धब्बाहरु समेत निम्त्याउछन् । त्यसैले, समयमै आफ्नो छालाको हेरविचार गर्न आवश्यक हुन्छ । यस युथ इटर्निटी रेन्जले छालामा आउने यस्ता समस्याहरुलाई कम गरेर छालालाई पुन जीवित पार्न मदत गर्ने डा. शाहले बताएकी छिन् । स्विस एल्प्समा पाइने एडेल वाइस बिरुवा, अत्यन्तै निर्मम वातावरणमा फल्ने भएकाले यसले आफुलाई जोगाउनको निम्ति सक्रिय तत्वहरु उत्पादन गर्दछ । विस्तृत रुपमा भएको अनुसन्धानले यो प्रमाणित गरेको छ कि एडेलवाइस बिरुवाबाट झिकिएको तत्वमा पुनर्स्थापना गर्नसक्ने विशिष्ट गुणहरु पाइन्छन्, जसले छालाको कोमलतालाई जोगाउने काम गर्छ. युथइटर्निटी रेन्जका क्रिममा पाइने बिरुवाको स्टेमसेल्स, एउटा क्रान्तिकारी प्रविधि “प्लान्ट स्टेम सेल टेक्नोलोजीबाट” निकालिएको हो । युथ इटर्निटीमा तीनवटा उत्पादनहरु द हिमालय युथ इटर्निटी डे क्रिम, द हिमालय युथ इटर्निटी नाइट क्रिम र द हिमालय युथ इटर्निटी अण्डर आइक्रिम रहेका छन् । द हिमालय युथ इटर्निटी डे क्रिम बिरुवाको स्टेम सेलको अनुसन्धान र दुर्लभ जडिबुटिबाट तयार पारिएको एउटा आविस्कारी उत्पादन हो । यो डे क्रिम हलुका, चिप-चिपरहित, छालामा चाँडो सोशिनुका साथसाथै थुप्रै वनस्पतिको समिश्रणले तयार पारिएको हो । यसले मसिना घेरा तथा चाउरी हटाएर छालामा नयाँ जीवन भरेर छालालाई स्वस्थ, चमकदार र जवान बनाउँछ । द हिमालय युथ इटर्निटी नाइट क्रिम एडेल्वाइस बिरुवाको स्टेम सेल्स, उडफोरडीया, रोजमर्टल, किपाडेसार स्याउको विशेष मिश्रणले तयार पारिएको, एन्टी अक्सिडेण्टर पोलिफेनोल्सले भरपुर क्रिम हो । यो नाइट क्रिमले छालामा रातभर काम गरेर छालामा रहेका मसिनो घेरा र चाउरी हटाइ छालालाई इभन-टोनर जवान बनाउँछ । द हिमालय युथ इटर्निटी अण्डर आइ क्रिममा पर्याप्त मात्रामा एन्टी-इन्फ्लेमेटोरि तत्वहरु हुनुको साथै, एडेल्वाइस बिरुवाको स्टेमसेल्स, उडफोरडीया, रोजमर्टल, किपाडेसार अमलाको अचुक समिश्रणले तयार पारिएको हो । यस अण्डर आइक्रिमले छालाको रुखोपन हटाएर आँखा वरिपरीको छालालाई नरम बनाई त्यसलाई चमकदार, स्वस्थ र जवान बनाउँने कम्पनीले जनाएको छ ।
राष्ट्रसेवक कर्मचारीलाई वार्षिक ४८०० मा २ लाखको जीवन बीमा, साउनदेखि लागु
काठमाडौं । राष्ट्रसेवक कर्मचारीको मासिक ४०० रुपैयाँ प्रिमियममा जीवन बीमा भएको छ । यसमा सरकारले ४०० रुपैयाँ प्रिमियम थप गरेको छ । सरकार कर्मचारीको समेत गरी मासिक ८०० रुपैयाँमा २ लाख रुपैयाँमा बीमा गरेको अर्थ मन्त्रालयका प्रवत्ता चन्द्रकला पौडेलले जानकारी दिइन् । मन्त्रिपरिषदले साउन १८ गते नै नयाँ बीमा योजना स्वीकृत गरेको उनले बताइन् । अर्थमन्त्रालयले निजामति, सेना, प्रहरी, शिक्षकको सावधिक जीवन बीमा बीमाङक दोब्बर वृद्धि गरी २ लाख रुपैयाँ पुर्याएको छ । सरकार र कर्मचारीको गरी वार्षिक ९ हजार ६०० रुपैयाँ नागरिक लगानी कोषमा जम्मा हुने छ । गत वर्षसम्म सरकारले र कर्मचारीले २/२ सय रुपैयाँको योगदान हुदै आएको थियो । गत आर्थिक वर्षमा सरकारले १ लाख रुपैयाँको मात्र जीवन बीमा गरेको थियो । चालु आर्थिक वर्षदेखि बढाएर दोब्बर पुर्याएको हो । कर्मचारीको सुरक्षाका लागि केही वर्षयता सरकारले जीवन बीमा गर्दै आएको छ । याे याेजना साउनदेखि लागु भएकाे छ ।
प्रदेशलाई आन्तरिक ऋण: कानुन संसोधन गरेर ऋण लगानीकर्ता प्रष्ट पारिँदै
काठमाडौं । प्रदेश नम्बर २ र कर्णाली प्रदेशले चालु आर्थिक बर्षको बजेटमा एक एक अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् । यी दुई प्रदेशलाई आन्तरिक ऋण उठाउन बाटो खोलिदिने भन्दै ऐन संसोधनको प्रक्रिया अघि बढेको छ । अर्थमन्त्रालयले चालु आर्थिक बर्षभित्रै राष्ट्र ऋण ऐन २०५९ संसोधन गरेर प्रदेश सरकार र स्थानीय तहहरुलाई पनि आन्तरिक ऋण उठाउने मार्ग प्रशस्त गरिदिन लागेको हो । ऋण कसरी उठाउने भन्ने बिषयमा अन्यौलता कायमै रहेका बेला ऐन संसोधन गरेर औजार र ऋण लगानीकर्ता किटान गर्न लागिएको हो । प्राकृतिक श्रोत तथा वित्त हस्तान्तरण आयोगले प्रदेश सरकारले केन्द्र सरकारबाट रावश्व बाडफाँट मार्फत प्राप्त राजश्व र आन्तरिक राजश्वको योगफलको अधिकतम १० प्रतिशतसम्म आन्तरिक ऋण उठाउन पाउने व्यवस्था गरेको छ । अब सो ऋण कसरी उठाउने, कसले उठाउने, कसले त्यस्तो ऋणमा लगानी गर्न पाउने, ब्याज कति हुने लगायतका आधा दर्जन अन्यौलता चिर्न ऐन संसोधनको तयारी अघि बढेको हो । ‘केन्द्र सरकारले राष्ट्र ऋण ऐन २०५९ र प्रत्येक बर्ष संसदमा पेश हुने राष्ट्र ऋण उठाउने बिधेयकलाई टेकेर स्पष्ट कानुनी आधार र वित्तिय औजार प्रयोग गरेर ऋण उठाउँदै आएको छ तर प्रदेशका हकमा कानुनी आधार र मौद्रिक औजार, ऋण तिर्ने क्षमता र विश्वसनियताको खोजी गर्नै बाँकी छ’, प्राकृतिक श्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्यालले भने । उनले राष्ट्र ऋण ऐन २०५९ लाई संसोधन गरेर प्रदेश सरकारले पनि आन्तरिक ऋण उठाउन सक्ने व्यवस्था थप्नुपर्ने र त्यसका औजारहरु पनि स्पष्ट रुपमा किटान गर्न लागिएको पनि बताए । सो ऐन संसोधनका लागि अर्थमन्त्रालयसँग आवश्यक समन्वय पनि भैसकेको अर्यालले जानकारी दिए । आयोगले केन्द्र सरकारले कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत, प्रदेश र स्थानीय तहले कुल राजश्वको १० प्रतिशत नबढ्ने गरि आन्तरिक ऋण उठाउन सक्ने व्यवस्था सिफारिस गरेको छ । सोही आधारमा केन्द्र सरकारले चालु आर्थिक बर्षमा १ खर्ब ७२ अर्ब आन्तरिक ऋण उठाउन योजना बनाएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले केन्द्र सरकारलाई अनुरोध गरेर प्रदेश सरकारहरुले उठाउन पाउने बाटो सहज बनाउने प्रयास भैरहेको बताए । ‘हामीले एक अर्ब त बजेटमा राखेका मात्रै हौं, हामीलाई त्यो भन्दा धेरै श्रोतको आवश्यकता छ, कानुन संसोधन गरेर बाणिज्य बैंकका शाखाहरुलाई ऋण उठाउने औजारका रुपमा प्रयोग गर्न सकिने र ती संस्थाहरुले नै पनि ऋण लगानी गर्न सक्ने व्यवस्था गरिदिन भनेका छौं’, कर्णाली प्रदेशका अर्थमन्त्री ज्वालाले भने । उनले प्रदेश सरकारले प्रदेश भित्रै दर्ता भएका वित्तिय संस्था तथा उद्यमीहरुसँग मात्रै ऋण उठाउन पाउने व्यवस्था पनि संसाधेन हुनुपर्ने बताए । ‘प्रदेशले प्रदेशभित्रबाट मात्रै ऋण लिन पाउने व्यवस्थाले कर्णाली प्रदेशमा आन्तरिक ऋण उठाउन सकिन्न, त्यस्तो अवस्थाको अन्त्यका लागि पनि केन्द्र सरकारसँग आग्रह गरिसकेका छौं’, ज्वालाले भने । कर्णाली प्रदेशले चालु आर्थिक बर्षभित्रै आन्तरिक ऋण उठाउने पनि मन्त्री ज्वालाले जानकारी दिए । अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले पनि राष्ट्र ऋण ऐन २०५९ लाई संसोधन गरेर प्रदेश तथा स्थानीय तहले पनि आन्तरिक ऋण उठाउन सक्ने व्यवस्था गर्ने प्रक्रिया अघि बढिसकेको बताईन् ।