ओरियन्टल होटल्सको नाफा २१ प्रतिशतले बढ्यो, गत वर्ष २९ करोड
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडको गत आर्थिक वर्ष ०७४/०७५ मा नाफा २१.२० प्रतिशत बढेको छ । गत वर्ष होटल्सले २९ करोड २ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा २३ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्ष होटल्सको आम्दानी ९.११ प्रतिशतले बढेर १ अर्ब ३ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९६ करोड २२ लाख रुपैयाँ थियो । पर्यटन क्षेत्रमा सुधार हुन थालेपछि आम्दानीमा वृद्धि भएको होटल्सले जानकारी दिएको छ । नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी पनि बढेर ३१ रुपैयाँ पुुगेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३० रुपैयाँ २५ पैसा थियो । होटलको पुँजी ९३ करोड ४२ लाख रुपैयाँ छ । यस्तै संचित कोषको आकार बढेर १ अर्ब ११ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
हामी कुराको आधारमै विकास भइहाल्छ भन्ने भ्रममा छौ : भीम उपाध्याय
भिम प्रसाद उपाध्याय सडक विकासको एउटा कथा यस्तो छ । ‘कुनै जमानामा एउटा बाच्छो थियो । एक साझ चरेर घना वन हुदै उ घर फर्कियो । चरनबाट घर सम्मको दुरी केवल एक कोश मात्र थियो, तर उ तीन कोश घुमेर आएको थियो । जस्तो सबै बाच्छाहरुले गर्ने गर्छन, उ पनि यताउता, दायावायाँ, माथि तल गर्दै बरालिदै आएकोले यस्तो भएको थियो । अर्को विहान, एउटा गोठाले कुकुर त्यही बाटो हिड्दै जादा बाच्छाको पदछाप देख्यो र उसले पनि बनभित्र बनेको पदचिन्हको त्यही बाटोलाई पछ्याउदै हिड्यो । केही बेरपछि, भेडाको एक हुलमध्येको अगाडिकोे एउटा भेडा गोठाले कुकुरले हिडेको बाटो पछ्याउदै गयोे । अघिअघि हिडेको भेडाको पछिपछि भेडाको अरु बथान पनि लाग्दै गए । बनभित्र यसरी एउटा पैदलबाटो बन्यो । मान्छेहरुले पनि त्यही बाच्छो, कुकुर, भेडा हिडेर बनेको थुप्रै घुम्ती र बांगाटिंगाहरु भएको बाटोेलाई सराप्तै उपयोग गर्न थाले, तर यसलाई सुधार्न तिनले केही भने गरेनन् । त्यही हिड्ने बाटो विस्तारै अलि चौडा पैदलयात्री हिड्ने मूल बाटोमा बदलिदै गयो । मूलबाटो विस्तारै सांघुरो सडक बन्यो र घोडा एवं बैलगाडाहरु पनि बाच्छो अल्लारिदै हिड्दैगर्दा बनेको त्यही सडकको अनुसरण गर्दै यात्रा गर्न थाले । एक दशकपछि, त्यही सडकको दायाँवायाँ बस्ती विकास भएर नगर निर्माण भयो र त्यो सडक नगरीय सडकमा परिणत भयो । त्यसपछि, त्यो नगर अझै विकसित भएर त्यही बन मार्गको दायाबाया हजारौ मानिसहरु बस्ने घना शहर विकसित हुदै गयो । घुमाउरो पैदल बाटो अब शहरी मूल सडक बन्न पुग्यो । तीन दशक बित्दा नबित्दै त्यो बाटो ठूलो महानगरीय मूख्य सडक बन्न पुग्यो । बाच्छो हिडेको बांगोटिंगो डोब पच्छ्याउदै बनेको शहरी मूलबाटोमा बस, ट्रक, कार कुद्न थाले । लामो, जिगज्याग, यात्रा गर्न बहुमूल्य समय एवं पैसा खेर जाने त्यस्तो सडक बनाएकोमा मान्छेहरु पूर्वअधिकारीहरुलाई सत्तोसराप गर्ने गर्थे । तर, ती सबैले त्यही बाच्छो हिडेको बाटो उपयोग गर्दै भने रहे ।’ बाच्छो बरालिदै हिडेको पदचिन्ह पछ्याउदै विकसित भएकोे महानगरीय मूल सडकको आजको अवस्थाका लागि को दोषी हो तरु यसका दोषी तिनै अकर्मण्य जनता हुन्, जो आफ्नो दिमागमा कुनै जोड नपरोस् भन्नमा मात्र तल्लिन रहन चाहन्छन् । त्यो सडक झै नेपालको बर्तमान दुर्दशामा हामी नेपालीहरुको चिन्तनहीनता नै मुख्य दोषी मान्नु पर्छ । लहडमै कसैले हिडेको पदचिन्हलाई आदर्श राजमार्ग हो भन्दै हामी आएका हौ । बिग्रेको नेपाललाई कस्तो नव नेपाल बनाउने भन्ने चिन्तन अहिलेसम्म पनि सुरु भएको नदेखिनु दुःखदायी परिस्थिति हो । नेपालीहरु सुदूर विगतमा निकै कर्मप्रिय थिए भनिन्छ । कथित शिक्षित हुदै गएपछि तर्कप्रिय मात्र बन्दै गयौ । कुरो र कुलो जता लगे पनि हुन्छ । हामीले कुराको आधारमै विकास भइहाल्छ भन्ने भ्रममा शताव्दीऔ समय खेर फाल्यौ, मौका गुमायौ चुक्यौं। सत्रौ शताव्दीतिर पश्चिमा महाद्धिपमा ज्ञान, विज्ञान र प्रविधिको तीव्र विकास सुरुभई औद्योगिकीकरण हुदै गर्दा हामी यहा पेटपाल्न पाए पुग्छ भन्ने मानसिकतामा बाच्दै थियौ । विश्वभरि राजतन्त्रात्मक शासन भएको बेला राजा पृथ्वीनारायण शाहले सयकडौ राजा रजौटाहरुमा विभाजित तात्कालिन नेपाली भूगोललाई एकिकरण गरेर बर्तमान बृहत् नेपाल बनाए । तर, सत्ताधारीहरुका निमित्त एकिकृत नेपाल सत्ताको साधन हुनुबाहेक जनताले यसबाट फाइदा लिनसक्ने परिस्थिति त्यसपछि कसैले सृजना गरेनन् । १०४ वर्षको राणाशासनले नेपाललाई अझै अध्यारोमा पार्दै लग्यो । भारतको स्वतन्त्रता आन्दोलन दबाउने कार्यमा नेपालका राणा शासकहरुले नेपाल राष्ट्रको स्रोतको दुरुपयोग गर्दै अंग्रेजको सेवा गर्दै आफ्नो सत्ता टिकाए ।त्यसकारणले नै त भारतमा अंग्रेजको शासन ढल्नासाथ नेपालमा अंग्रेजका अन्धसमर्थक राणाशासन ढलेको हो । त्यसपछिको करिब सबै दशकहरु विकासको नारामा नै सीमित रह्यो । नेपालमा प्रजातन्त्र आउदासंगसंगै स्वतन्त्र भएका भारत, पाकिस्तान, श्रीलंकाले औद्योगिकरण, प्रविधिकरणका लागि बैज्ञानिक, प्राविधिज्ञ र इन्जिनियरहरुलाई त्यहाको नेतृत्वले भरपूर प्रयोग गर्यो । विश्वमा अहिले भारत सार्वजनिक क्षेत्रमा बृहत् बैज्ञानिक अनुसंधान संस्थाहरुको सबैभन्दा ठूलो पूर्वाधार संजाल भएको शक्तिशाली मुलुक हुन पुगेको छ । अन्तरिक्ष विज्ञानमा भारत अग्रणी राष्ट्र बनिसकेको छ । दर्जनौ जति दुरसंचार, सूचना, हावापानी, शिक्षा क्षेत्रका भूउपग्रहहरु दिनहु पृथ्वीमाताको चक्कर काट्ने गर्छन् । रविन्द्रनाथ टैगोर, सीभी रमन, हरगोविन्द खुराना, सुब्रमन्यम चन्द्रसेखर, अर्मत्य सेन, भीएस नाइपाल, मदर टेरेसा कैलाश सत्यार्थी जस्ता भारतीयहरुले नोबेल पुरस्कार हात पारिसकेका छन् । ३७ वर्ष मात्रै अघि जन्मेको बंगलादेशमा नै अर्थशास्त्री युनुस महम्मदले लघुकर्जाको सुविधाबाट गरिबतम् जनताको आर्थिक समृद्धि कसरी संभव हुदो रहेछ भन्ने ३० सौ वर्षको सफल व्यवस्थापनको नवप्रवर्नतका निम्ति शान्ति नोबेल पुरस्कार पाएका छन् । युनुुस भन्छन्, ‘गरिबहरु विश्वासयोग्य हुन्छन्, तिनीहरुप्रति भरोसा गर्नु नै तिनको जमानी हो ।’ ठूलाऋृणी कतिका विश्वासीला हुदा रहेछन्, नेपालका ठूला ठालु ऋणीहरुले नेपालका बैक र वित्तीय संस्थाहरु डुवाउने गरेको घटनाले पनि पुष्टि गर्दै आएको छ । नयाँ नेपाल बनाउने कुरा सुन्दा जति ढाडस लिन खोजिए पनि बैज्ञानिक, प्राविधिक एवं संयन्त्रगत पूर्वाधार, भरपर्दा, प्रभावकारी एवं दक्ष जनशक्तिको नितान्त अभाव रहेको वर्तमान भ्रष्टतन्त्र व्याप्त नेपालमा त्यो कसरी कहिलेसम्म संभव हुने हो, चिन्तन गर्दा मन सिरिंग र समस्या देख्दा आंग जिरिंग हुन थाल्छ । प्रतिभावान, दक्ष, राष्ट्रप्रेमी नागरिकविना मुलुक बन्दैन । यस्ता सुयोग्य नागरिक तयार गर्न दशकौ लाग्छ, भएकाहरु सबैजसो मुग्लान पसिसकेका देखिन्छन् । तिनलाई देशभित्रै टिकाउन वा स्वदेश फिर्ता बोलाउन दह्रो नीति र स्वतन्त्र, स्वाभीमानी कार्यवातावरण सहितको संयन्त्र चाहिन्छ । यसका लागि राजनीतिमा मात्र हैन, प्रत्येक क्षेत्रमा नेताहरु जन्मनु पर्छ, जन्मेको र नेतृत्व लिन थालेको हुनपर्छ । निकै बिग्रेको उच्च रक्तचापसहितका मधुमेहको रोगीजस्तो भएको छ अहिलको नेपाल । शरिर जीर्ण एवं बूढो छ, दम पनि छ । रक्तचाप र चिनीको परिमाणले सीमा नाघेको बेला व्यक्तिलाई कुनै आकस्मिक शल्यक्रिया गर्नुपर्दाको अवस्थाजस्तो छ । चिनी र रक्तचाप स्थीर नभई शल्यक्रिया गर्न हुदैन । जुन पायो त्यही औषधी खान, दिन हुदैन । नेपाली कहिले पराधिन भएनौ तर स्वाधीन भएर बाच्न पनि सिकेनौ । प्रत्येक क्षेत्रमा विदेशी पैसा, विचार, संस्कार, चिन्तन, हैकम हावी छ । रोग प्रतिकार गर्न सक्ने राज्यको क्षमता नितान्त कमजोर छ । चतुर नेपालीहरु नेपालमा तिर्थाटनका लागिमात्र बसेजस्तो देखिन्छ । तिनले आफ्ना सन्तान र सम्पत्ति जति सबै सुरक्षित ढंगमा विदेशमा भण्डारण गरिसकेका छन् । शासन भन्ने कुनै कुरा रहलपहल छैन, भगवान भरोसामा छौ । तर, शान्तजस्ता पनि देखिन्छौ । त्यो किनभने, नेपालीले आफ्नो भविष्य यस भन्दा खराब हुने सोच्नै सक्दैन । भूईंमा लडेकाहरुलाई अरु लड्ने ठाउ नै कहा बाकी हुन्छ र । विगतको भताभुंगको जिम्मा कसैले लिदैन । पुरानै असफल कबाडी नेताहरुलाई अझै मानिदिनु पर्ने बाहेक कुनै विकल्प देखिएको छैन । आफैले बिगारेर यो अवस्थामा पुर्याउने अनि, त्यही बिग्रेको कुरालाई यथास्थानमा ल्याइयो भनेर महान उपलव्धीपूर्ण काम गरियो भन्ने ढ्वांग फुकिदै एवं स्वांग गरिदै छ । यसले जनतामा आशा जगाएको छैन । बाच्छो हिडेको बाटो राजमार्ग हुने अपेक्षा गर्नु मूर्खता हो । त्यस्तो राजमार्गलाई सत्तोसराप गरेर समय खेर फालेर फाइदा छैन । नेपालको समृद्धिको राजमार्ग सिधा, छिटो, सस्तो, सजिलो, सहज कसरी बनाउने यसमा बहस केन्द्रित गर्न पट्टि लाग्न अब ढिला गर्न हुन्न । समय अनन्त र निरन्तर त हुन्छ, तर मानव र राष्ट्रको लागि सीमित पनि छ । समय सबै वस्तुहरु भन्दा तीब्र नासवान बस्तु हो, प्रयोग गरेन कि नास भईहाल्छ । इतिहासमा नेपालको अमूल्य समय खेरमात्र फालिएको छ, फालिदै छ। अब खेर फाल्ने छुट पाइदैन । राष्ट्रको मेरुदण्ड भनेको विज्ञान, प्रविधि, इन्जिनियरिंग क्षमता हो । जलश्रोत, युवाशक्ति, पर्यटन र जैविक विविधता नेपालको बहुमूल्य एवं गुदीस्रोत हुन् । जे गुदीस्रोत हामीसंग छ, त्यसमा नेतृत्व लिन सक्नुपर्छ । बेरोजगार जन्माउने वर्तमान उदार प्रकृतिको बेकामे शिक्षा प्रणालीलाई जिल्लाजिल्लामा स्थान सुहाउदो प्राविधिक, बैज्ञानिक, इन्जिनियरिंग शिक्षाको विकासले तीब्र एवं व्यापक तवरमा प्रतिस्थापित गरिहाल्नु पर्छ । यसका लागि बैज्ञानिक एवं प्राविधिक शिक्षाको बृहत् संजाल विस्तार गर्न योग्य प्रतिभावान जनशक्तिलाई राज्यले सम्मानपूर्वक आह्वान गरी नेतृत्व लिन उत्साहित पारिहाल्नु पर्छ । नेपालका निम्ति समस्या भयावह छ, चुनौती पनि त्यस्तै छन् । राष्ट्रको औचित्य प्रमाणित गर्न धौधौ पर्दै गएको छ । आत्मनिर्भर बन्न सकेमा मात्र आत्मसम्मान पाइन्छ । आत्मसम्मानले मात्र नेपालीले शीर ठाडो पार्न सक्छ । गुमेको आत्मसम्मान र आशा पुर्नस्थापन गर्नु आजको टड्कारो खाँचो हो । समृद्धिको कठीन मार्गमा सबैलाई हिड्ने प्रेरणा आशावादीताले नै सृजना गर्नेछ । तर्कप्रेमी नेपालीलाई कर्मकर्तव्यप्रेमी बनाउने बुटी खुवाउने जिम्मेवारी आजको राजनीतिको होे । राजनीतिको नाकमा नत्थि लगाउने काम विद्वान र निस्वार्थ स्वतन्त्रताप्रेमी बस्तुवादी बुद्धिजिवी एवं प्राज्ञहरुको हो ।
अर्थमन्त्रीले भने – ३५ प्रतिशत राजश्व संकलन चुनौतिपुर्ण
काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आवको बजेट कार्यान्वयनका लागि ३५ प्रतिशत राजश्व संकलन गर्न सरकारलाई चुनौति भएको बताएका छन् । राजश्व संकलन चुनौतिपूर्ण भएपनि करको दरमा परिवर्तन नगरिएको जानकारी दिए। संघीय संसदअन्र्तगतको अर्थ समितिको आइतबारको बैठकमा उनले करका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको उल्लेख गर्दै करको दायरा बढाउन नीति अगाडि बढाइएको स्पष्टपारे । डा खतिवडाले भने, “बजेट र आयोजना कार्यान्वयको कार्यतालिका बनाइसकिएको छ, राजश्व अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी संकलन गर्ने कुरा आफैँमा चुनौतीपूर्ण रहेकाले करको दर होइन दायरा फराकिलो बनाइएको छ ।” विश्व बैंकले नेपाललाई उपलब्ध गराउँदै आएको सहायतामा उल्लेखनीय वृद्धि गर्ने आश्वासन दिएको जानकारी दिँदै उनले तीन तहको निर्वाचन सम्पन्न गरी नेपाल आर्थिक विकास र समृद्धिको मार्गचित्र कार्यान्वयनका क्रममा रहेको बताए। अर्थ सचिव डा राजन खनालले राजश्वबाट मात्रै पूर्वाधार विकास सम्भव नभएकाले लगानी वृद्धि गरेर अघि बढ्ने नीति र कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने , “पूँजीगत खर्च सोचेअनुरुप भएको छैन, राष्ट्रिय गौरवका आयोजनाको प्रारम्भिक काम नभई बजेट छुट्याउँदा लक्ष्य हासिल गर्न नसकिएको हो, पूर्वतयारी नभइकन बजेट विनियोजन मात्रै गरेर हुँदोरहेनछ, भन्ने कुरा तथ्य र तथ्यांकले देखाएको छ ।” सचिव खनालले छिमेकी मुलुकसँग आयात र निर्यातबीच सन्तुलन कायम गर्न नसक्दा अहिले वार्षिकरुपमा नेपालको ११ खर्ब रुपैयाँ व्यापार घाटा रहेको जानकारी दिइयो । समष्टिगतरुपमा नेपालको निर्यात र आयातको अनुपात ६.३ र ९३.६ भने बैंकिङ प्रणालीमार्फत वार्षिकरुपमा ७ खर्ब ३० अर्ब रुपैयाँ विप्रेषण आउने गरेको उनले जानकारी दिए । बैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्यालले प्रदेश र स्थानीय तहलाई अनुदान उपलब्ध गराउन प्रयोग गरिएको मापनबारे जानकारी दिए । जनसंख्या र भूगोललाई मुख्य आधार बनाएर अनुदान उपलब्ध गराउने व्यवस्था बनाइएको छ ।” सो अवसरमा समितिका सदस्य डा बाबुराम भट्टराईले आर्थिक दृष्टिले अत्यन्तै महत्वपूर्ण रहने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग शीघ्र गठन गर्न माग गरे । रासस
समाचारको खण्डन माग गर्दै झुटो पत्र लेखे किरणमान जोशीले
काठमाडौं । ‘बुहारी भगाएर गुरुप्रसाद न्यौपानेको सम्पत्ति हत्याउने प्रयास, डिभोर्ससँग आधा सम्पत्ति मागिन् पुजाले’ शिर्षकमा सामाजिक बेथितिका बारे लेखिएको समाचार विकासन्युजमा प्रकाशित भएपछि प्रधान सम्पादक रामकृष्ण पौडेलकाे ज्यान लिने धम्की दिएका किरणमान जोशीले उक्त समाचार खण्डन गर्न माग गर्दै आइतबार अष्ट्रेलियाबाट एउटा पत्र इमेल गरेका छन् । प्रेस काउन्सिल नेपाललाई बोधार्थ समेत जनाई विकासन्युज डटकमलाई लेखेको खण्डन पत्रमा झुटो दावी गरिएको छ । पुजा दाहालले अदालतमा हालेको मुद्दा, मुद्दाको पक्ष र विपक्षमा अदालतमा पेश गरिएको प्रमाणहरु र तथ्यहरुको आधारमा लेखिएको समाचारलाई उनले ‘तथ्यहिन र आधारहिन’ भनेका छन् । सुन्दरमणि दिक्षितका छोरी लज्जा दिक्षितसँग विवाह गरेर उनलाई विचल्लीमा पारेको, शतिस न्यौपानेकी श्रीमती पुजा दाहाल न्यौपालेसँग नयाँ सम्बन्ध राखेको, पुजा दाहाललाई शतिससँग डिभोर्स गर्न र आधा सम्पत्ति दावी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा हाल्न लगाएको विषयबारे उनले पत्रमा केही पनि उल्लेख गरेका छैनन्, जुन समाचारको प्रधान विषय हो । जोशीले अष्ट्रेलियाबाट ६१४११७४८८१० नम्बर प्रयोग गरी प्रधान सम्पादक पौडेलसँग कुरा भएकाे पुष्टी गरेका छन् तर धम्की नदिएको भनेर झुटो लेखेका छन् । जोशीले गत बुधबार प्रधान सम्पादक पौडेललाई फोन गरी विश्वको २०० देशमा जहाँ बसेपछि सिध्यादिने धम्की दिएका थिए । विकासन्युजमा प्रकाशित समाचारले आफ्नो जीवन र चरित्रमाथि दाग लागेको उनको भनाई छ । तर उनको आफ्नै व्यवहारले अरुको छोरी, बुहारी र परिवारको विचल्ली भएकोबारे केही पनि बोलेका छैनन् ।
बजाजकाे पल्सर १५० टिडि नेपाली बजारमा, मूल्य दुई लाख ५५ हजार रुपैयाँ
काठमाडौं । एचएच बजाजले अल न्यू बजाज पल्सर १५० टिडि(ट्वीन डिस्क)लाई नेपाली बजारमा भित्र्याएको छ । २ वटा डिस्क ब्रेक, सार्प डिजाइन रहेको यस बाइक बजारमा विभिन्न तीन कलर भेरिएन्टमा उपलब्ध रहेको छ । बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले बजाजको पल्सर १५० ट्वीन डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याएको छ । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन् । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । नयाँ बजाज पल्सर १५० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आकर्षित गर्न बायकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको कम्पनीले जनाएकाे छ । एचएच बजाजका अनुसार युवा पुस्ता लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस पूmटपेज राखिएको छ । स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ह्वील बेस समेत बढाइएको छ । यसमा दिइएको पछाडिको टायर मोटो रहेको छ । १२९ एमएमको रियर टायर दिइएको छ । बाइकमा मस्कुलर लूक दिइएको छ । कम्पनीका अनुसार पल्सर १५० ट्वीन डिस्कमा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । यसमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ । ५ गिएरमा उपलब्ध रहेको छ । पल्सर १५० ट्वीन डिस्कमा अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १५० ट्वीन डिस्कको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ‘बजाजको लिगेसीलाई यो पल्सर १५० टुइन डिस्कले क्यारी गरेको छ । साथै यो पल्सर परिवारमा नयाँ थपिएको मोडल हो । साथै, यो सेग्मेन्टमा नै अत्यन्त नयाँ उत्पादन हो । हामीलाई विश्वास छ पल्सर १५० टुइन डिस्कले चालकको एक्स्पेक्टेसन पुरा गर्ने छ ।’
एमभी दुगडद्धारा प्यासेन्जर भ्यानको प्रशिक्षण कार्यक्रम सम्पन्न, २०० बढि ग्राहकहरु लाभान्वित
काठमाडौं । महिन्द्रा कमर्शियल गाडीको नेपालका लागि आधिकारीक विक्रेता दुगड व्रदर्श एण्ड सन्स प्रा.लीले महिन्द्रा म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आइतबार(आज) वीरगञ्जको भिसुवा होटलमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रमबाट २०० भन्दा बढि ग्राहकहरु लाभान्वित भएका छन् । कार्यक्रममा गाडिको सहि रखरखाब र संचालनबाट उच्च प्रतिफल लिन गर्नुपर्ने कार्य तथा बिधिकाबारे प्रशिक्षण दिइएको थियो । उक्त कार्यक्रममा कलैया टेम्पो समिती र पखानीपुर टेम्पो समितीका अध्यक्षहरु र सदस्यहरु, महिन्द्रा कम्पनीका कन्ट्री म्यानेजर तपश पटनायक, दुगड व्रदर्श एण्ड सन्स प्रालीका हेड अफ अपरेशन शम्भु सुवेदी, विरगञ्ज शाखाका प्रमुख बेद प्रकाशशर्मा, काठमाडौंका सर्भिस हेड सुदिप सुवेदी लगायत अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो ।
गोदावरीदेखि फुलचोकी डाडाँसम्म सिद्धेश्वर पर्यटन सहकारीले केबलकार बनाउने, लागत १ अर्ब ४१ करोड
काठमाडौं । ललितपुरकाे गोदावरीदेखि फुलचोकी डाडाँसम्म केवलकार निर्माण हुने भएको छ । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले ‘हाम्रो गोदावरी–राम्रो गोदावरी’ निर्माण गर्ने क्रममा केवलकार सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए । उनले गोदावरी फुलचोकी केबलकार निर्माण तथा सञ्चालनका लागि नगरपालिकाले कुनै कसरी बाँकी नराख्ने पनि स्पष्ट पारे । गोदावरी नगरपालिकाका उप–प्रमुख मुना अधिकारीले फुलचोकी एकीकृत विकास कार्यक्रमले अगाडि सारेको कार्यक्रम आफ्नो निर्वाचनका बेलाको सपना समेत रहेकाले केबलकार निर्माण गरेरै छाड्ने बताइन् । गोदावरी नगरपालिकाका वडा नं ३ का वडा अध्यक्ष वालमुकुन्द घिमिरेले गोदावरी क्षेत्रमा केवलकार लगायतका कार्यक्रम सञ्चालन गर्नका लागि सरकारबाटै स्वीकृति लिएर गर्ने भएकाले कोही कसैको टाउको दुखाईको विषय नरहने दावी गरे । वातावरणविद रवि भट्टराईले गोदावरीमा केवलकार सञ्चालन सम्बन्धी वातावरणीय प्रभाव मुल्याङ्कनको प्रतिवेदन स्वीकृतीको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए । गोदावरी–फुल्चोकी केबलकार बनाउन सिद्धेश्वर पर्यटन सहकारी संस्थाले ५० प्रतिशत बैंक ऋण र ५० प्रतिशत आफ्नो लगानीमा २.९ किलोमिटरको मोनो केबलकार बनाउन लागेको हो । केबलकारको सुरु बिन्दु रहेको बोटानिकल गार्डेनमा मात्रै वार्षिक ३ लाख ६० हजार घुम्न जाने गरेका छन् । तीनै आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर गोदावरी फुलचोकी केबलकार निर्माण गर्न लागिएको हो । केबलकार समुद्री सतहबाट १ हजार ५३० मिटर उचाईबाट सुरु भएर फुल्चोकी डाँडाको २ हजार ६२० मिटरमा पुगेर टुंगीनेछ । केबलकारको निर्माण लागत १४१ करोड रुपैयाँ हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ ।
‘बक्स अफिस’ लागू , अनलाइनमार्फत चलचित्रको काराेबार सुरू
काठमाडौ । नयाँ प्रविधि र विकाससँगै सरकारले पहिलोपटक ‘बक्स अफिस’ प्रणाली शुरु गरेपछि नेपाली फिल्मी क्षेत्र उत्साही देखिएको छ । बक्स अफिस लागू नहुँदा विगत लामो समयदेखि निर्माताले आफ्नो फिल्मको आम्दानीबारे सही विवरण नपाइरहेको सन्दर्भमा सरकारले यही साउन १ गतेदेखि बक्स अफिस लागू गरेपछि फिल्मी क्षेत्र थप उत्साही देखिएको हो । नेपाली चलचित्र क्षेत्रमा विगत लामो समयदेखि बहसमा रहेको बक्स अफिसको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपत्यकाका फिल्म हलमा लागू गरेको हो । नेपाल चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले साउन १ गतेदेखि बक्स अफिस लागू भएपछि समग्रमा फिल्मि क्षेत्र अत्यन्त उत्साही भएको बताए । बक्स अफिस लागू भएपछि अनलाइन डाटामार्फत चलचित्रको आयको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ भने त्यसबाट राजश्व सङ्कलनमा राज्यलाई सहयोग पुग्नेछ । बक्स अफिस प्रणालीमा टिकट लिएको करीब आधा घण्टामा चलचित्र विकास बोर्ड, आन्तरिक राजश्व विभाग र हल सञ्चालकलाई जानकारी हुन्छ । बक्स अफिस लागू भएसँगै हलको वर्गीकरण हुने र विदेशी विज्ञापन बन्द हुने मन्त्रालयले जनाएको छ । बक्स अफिस कार्यान्वयन समितिको बैठकले २०७५ वैशाख १ देखि परीक्षण गर्ने र साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेको थियो । उपत्यका बाहिरका जिल्लामा भने माघ १ गतेदेखि लागू गर्ने सरकारको योजना छ । कुन फिल्मि हलमा कति टिकट बिक्री भयो भनेर अनलाइनबाटै आधारित तथ्याङ्क लिन सकिने ‘इ–टिकेटिङ’ प्रणाली हो बक्स अफिस । हलबाट सफ्टवेयरमार्फत सर्भरमा जोडेर तथ्याङ्क सङ्कलन गरेपछि हल सञ्चालकले लगानीकर्तालाई छल्न नपाउने नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । “बक्स अफिस लागू हुनु नै ठूलो कुरा हो, यसले हामीलाई उत्साही, खुशी नै बनाएको छ, तर राज्यले सक्रियरुपमा अनुगमन गर्नुपर्ने पनि देखिन्छ”, अध्यक्ष अधिकारीले भने। बक्स अफिसबारे सर्भरलाई चलचित्र विकास बोर्डमा राखिएको छ । बोर्डले फिल्म वितरण, निर्माता र कर कार्यालयलाई सर्भरको कोड दिएपछि मात्र अनलाइनमार्फत सम्बन्धित फिल्मको व्यापारबारे जानकारी लिन सकिन्छ । फरक फिल्मलाई फरक कोड दिइने र त्यो कोर्ड सम्बन्धित प्राधिकरणलाई मात्र थाहा हुने सदस्य सचिव साखीले जानकारी दिए। बोर्डका अनुसार अहिले उपत्यकाका २० वटा चलचित्र हलमा मात्र बक्स अफिस लागू भएको छ । उपत्यकाका अन्य हल र उपत्यका बाहिरका हलवालालाई बक्स अफिसका लागि पूर्वाधार तयार गर्न पत्र पठाइसकिएको छ । राष्ट्रिय चलचित्र नीति २०७१ मा चलचित्र वितरण तथा प्रदर्शनमा बक्स अफिस प्रणालीको व्यवस्था गरिने उल्लेख गरिएको छ । सरकारले बजेटमार्फत राजश्व सङ्कलनसँगै हेर्नेका लागि लिइने टिकट प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन साउन १ गतेदेखि बक्स अफिस प्रणाली लागू गर्ने घोषणा गरेको थियो । नेपाल चलचित्र संघले भने नेपालका कतिपय स्थानमा अहिलेसम्म पनि इन्टरनेटको सुविधा नभएको भन्दै बक्स अफिस अहिले नै पूर्ण हुन नसक्ने धारणा राख्दै आएको छ । रासस