विकासन्युज

विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइँदै, आइतबार चन्द्रागिरिकाे प्रर्दशनीमा राखिने

काठमाडौं । इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पुर्याइनेछ । पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो । त्यस्तै, आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिए । आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो । विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ । ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ । रासस

पप्पु कन्ष्ट्रक्सनले पुल आयोजना अलपत्र पारेपछि अर्बौको ठेक्का रद्ध हुँदै (आयोजना सूचिसहित )

काठमाडौं । धेरै आयोजनाको ठेक्का लिएर काम नगर्ने विवादस्पद पप्पु कन्ष्ट्रक्सन प्राइभेट लिमिटेडलाई आयोजना कार्यालयहरुले धमाधम ठेक्का रद्धको प्रक्रिया अघि बढाएका छन् । कन्ष्ट्रक्सनले पुल लगायत अर्बौको विभिन्न आयोजनाको ठेक्का लिएर लामो समयसम्म काम नगरेपछि सरकारी निकायले पत्राचार गरी उपस्थित हुन पप्पुलाई निर्देशन दिएका छन् । उपस्थित नभए कार्वाही अघि बढाउने आयोजनाका कार्यालयले पप्पुलाई चेतावनी दिएका छन् । पप्पुले काम अलपत्र पारेपछि आयोजनाका कार्यालयले धमाधम ताकेता गर्न थालेका हुन् । निर्धारित समयमा पुलको काम नसकेपछि विवादस्पद पप्पुलाई उपस्थित हुन पुष्पलाल मध्यपहाडी लोकमार्ग पुर्वीखण्डले पत्राचार गरेको छ । उसले नेपाल प्रगतिसंग जेभीमार्फत आयोजनाको ठेक्का लिएको हो । लोकमार्ग आयोजनाले कात्तिक ५ गतेभित्र उपस्थित हुन पप्पुलाई अल्टिमेटम दिएको छ । सिन्धुली जिल्ला अन्र्तगतको सोखुखोलामा पुल निर्माणका काम नगरेपछि मध्य पहाडी लोकमार्गले उपस्थित हुन पत्र काटेको हो । २०६९ पुस २८ गते सक्ने गरी ०६८ असार २९ गते पप्पुसंग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । समयमा सम्पन्न नगरेपछि मध्य पहाडी लोकमार्गले ०७० पुस २६ गतेसम्म म्याद थप गर्दा पनि पुलको काम नगरेको हो । पटक-पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि पप्पुलाई असोज २१ गते एडजक्सनका लागि जेभीबाट निवेदन पेश भएको थियो । तर लोकमार्ग आयोजनाले औचित्यहिन देखेर उसको प्रस्तावलाई अस्वीकार गरेको छ । यस्तै धरान,चतरा, गाइघाट, कटारी, हेटौडा आयोजनाको पुर्विखण्ड कार्यालयले कमला खोलामा लामो समयदेखि पुल निर्माण नगरी अलपत्र पारेको भन्दै ७ दिनभित्र उपस्थित हुन पप्पुलाई पत्राचार गरेको छ । यो आयोजना पप्पुले लुम्बिनीसंग जेभी गरेको छ । कमलामा पुल बनाउन पप्पु र लुम्बिनी जेभीबीच ०६८ असार २९ गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । उसले ०७३ असार २८ गते पुलको काम सक्न आयोजनासंग सम्झौता गरेको थियो । आयोजनाले ०७४ साउन १५ गतेसम्म म्याद थप गर्दा ५० प्रतिशत मात्र भौतिक प्रगति भएपछि आयोजनाको कार्यालयले उपस्थित हुन पत्राचार गरेको हो । यस्तै हुलाकी राजमार्गमा पर्ने बलान खोलामा पनि पुलको काम नगरेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु र शर्मा जेभीलाई पत्राचार गरी काम नगर्नका कारण सहित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । पप्पुले ०६८ फागनु १५ गते पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । काम नगरेपछि उसैको अनुरोधमा गत भदौ १५ गतेसम्म समय थप गर्दा पनि पुलको ५० प्रतिशत मात्र भौतिक प्रगति भएपछि कार्वाही प्रक्रिया अघि बढाएको योजना कार्यालय जनकपुरले जनाएको छ । १५ दिनभित्र कार्यालयमा उपस्थित नभए कार्वाही अघि बढाउने चेतावनी दिइएको छ । योजना कार्यालय जनकपुरले हुलाकी राजमार्ग अन्र्तगतको कमला खोलामा पुलको काम सम्पन्न नगरेपछि पत्र काटेको छ । कमलामा पुल बनाउन पप्पुले लुम्बिनीसंग जेभी गरी ०६८ जेठ ३१ मा ठेक्का सम्झौता गरेको थियो । पटक-पटक म्याद थप गरेर आउदो मंसिर ३० गतेसम्म पुलको काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकोमा ५५ प्रतिशत मात्र काम गरेकोले उसलाई कार्वाही अघि बढाइएको कार्यालयले जानकारी दिएको छ । पप्पु कन्ष्ट्रक्सनका अध्यक्ष संघीय समाजवादी फोरमका साँसद हरिनारायण रौनियार हुन् । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै रौनियर सहित १२ जना विरुद्ध असोज १९ गते विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । पप्पुले ठेक्का लिएको कुनै पनि काम सम्पन्न नगरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । यता भौतिक पुर्वाधार, योजना तथा यातायात मन्त्रालयले समेत उसको कामको अध्ययन गरिरहेको छ । पप्पुले दुई दर्जनबढी पुल आयोजनाको काम अलपत्र पारेको छ । याे पनि हेर्नुहाेस् पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार सहित १२ जना विरुद्ध भ्रष्ट्राचारको मुद्धा (नामवलीसहित)

निकुञ्ज प्रवेश शुल्क बढ्यो, ५ हजारसम्म तिर्नुपर्ने

चितवन । सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकले तिर्ने शुल्कमा वृद्धि भएसँगै यहाँको राजश्व बढ्ने भएको छ ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्ज प्रवेश गर्दा नेपालीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित १५०, सार्क देशकाले १ हजार र विदेशीले २ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि निकुञ्ज प्रवेश गर्दा नेपालीले ११३, सार्कले ८४७ र विदेशीले १ हजार ६९५ रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो । त्यसैगरी व्यावसायिक जङ्गल यात्रामा कारले ३ हजार र जिपले ५ हजार रुपैयाँ तिर्नुपर्ने छ । यसअघि जङ्गल यात्रामा सबै सवारीले ४ हजार ५२० रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो । यसैगरी हात्ती यात्रामा व्यक्तिको मात्रै नेपालीलाई ५०० सार्कलाई १ हजार ५०० र विदेशीलाई २ हजार ५०० निर्धारण भएको ढकालले बताए। यसअघि हात्ती यात्रामा बच्चाका लागि ५० प्रतिशत छुट भए पनि अहिले छुट दिइएको छैन । हात्ती चढ्दा पर्यटकले निकुञ्ज प्रवेश शुल्क र हात्ती शुल्क तिर्नुपर्ने हुन्छ । हाल हात्तीमा घुम्ने नेपालीले १ हजार १००, सार्क मुलुककाले १ हजार ६०० र विदेशी २ हजार १०० रुपैयाँ हात्तीका लागि तिर्नुपर्ने हुन्छ । त्यसैगरी जिप सफारीका लागि पर्यटकले प्रवेश शुल्कबाहेक जिपका लागि रु एक हजार २५० व्यवसायीलाई बुझाउनुपर्ने हुन्छ । सरकारले राजपत्रमा नयाँ शुल्क प्रकाशन गरेसँगै असोज २९ गतेबाट लागू गरिएको ढकालले जानकारी दिए । होटल व्यवसायीले शुल्क वृद्धिको पूर्व जानकारी नहुँदा मर्कामा परेको जनाएका छन् । ढकालले भने पूर्व जानकारी भएमा घटाउन लबिङ हुने हुँदा एकै पटक शुल्क सार्वजनिक गर्ने गरिएको बताए । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा प्रवेश शुल्कवापत १६ करोड ७८ लाख ५४ हजार ६५० र सवारी शुल्कवापत ३ करोड २५ लाख ६० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । निकुञ्जले कूल राजश्व २४ करोड ८१ लाख ९९ हजार ९९८ रुपैयाँ सङ्कलन गरेको थियो । गत वर्ष १ लाख ५२ हजार ६७१ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । रासस

नेशनल लाईफको हकप्रद सेयर लिलामीमा, कात्तिक २८ गते अन्तिम दिन

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिक्री नभएको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको २ लाख ७८ हजार ११९ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । हकप्रद सेयर लिलामीका लागि बोलपत्र पेश कात्तिक १५ देखि सुरु भई २८ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । बोलपत्रदाताले न्युनतम १०० कित्ता हकप्रदका लागि प्रस्ताव पेश गर्नुपर्ने छ ।

कम तेल बेच्ने भद्रकाली पेट्रोल स्टोर्सलाई २ लाख जरिवाना

काठमाडौं । कम परिणाममा तेल बिक्री गर्ने भद्रकाली आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ । तोकिएको परिमाण भन्दा कम परिमाणमा तेल बिक्री गरेको पाएपछि वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो । विभागले नोजलबाट तोकिएको परिमाणमा तेल नबेचेसम्म स्टोर्सलाई तेल बिक्री वितरणमा समेत प्रतिबन्ध लगाएको छ ।

ग्लोबल आइएमई लघुवित्तको कात्तिक १६ गते बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको आगामी कात्तिक १६ गते बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । संस्थाको आगामी छैटौँ वार्षिक साधारणसभा कात्तिक २९ गते बस्दै छ । संस्थाले पुँजी वृद्धि गर्ने उद्देश्यले प्रस्तावित बोनस सेयर पछि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

कान्लाको केराखेती मनग्य आम्दानी

काठमाडौं । पश्चिम दाङको पुरन्धरा गाउँपालिकाको सिमगौैराका कान्लाभरी केराखेती देख्न पाइन्छ । अहिले त्यहाँका ५० भन्दा बढी किसानले खेर जाने गरेको कान्लामा केराखेती गरेर आफूलाई आर्थिक रुपमा सक्षम बनाउँदै गएका छन् । दैनिकजसो आर्थिक उपार्जनका लागि विदेशिने युवाको सङ्ख्यामा वृद्धि भइरहेका बेला सिमगौराका किसानले भने त्यसै खेर गएको कान्लामा केराखेती गरेर उदाहरण देखाएका छन् । उनीहरु केराखेती गरेर आफ्नो घर खर्च चलाउन मात्र नभई छोराछोरीलाई विद्यालयमा पठनपाठन गराउन पनि सफल भएका छन् । यस्तैमध्येक एक स्थानीयवासी भीमबहादुर खड्काले १० वर्षदेखि केराखेती गरेका छन् । शुरु शुरुमा त त्यति धेरै आम्दानी लिन नसके पनि विस्तारै खेती गर्दै जाँदा वार्षिक रु ७० देखि ८० हजारसम्मको केरा बिक्री गर्ने गरेको उनी बताउँछन् । “पहिले पहिले त घर खर्च चलाउन र छोराछोरीलाई पढाउन समस्या हुने गरेको थियो अहिले सो खेतीकै आम्दानीबाट घर चलाउन र छोराछोरी पढाउन सजिलो भएको छ”, उनले भने । आफ्नो बारीमा उत्पादन भएको केरा बेच्नका लागि कुनै समस्या छैन भन्दै खड्काले बोटमा पाकेको केरा स्थानीय हापुरे बजारसम्म लगेर बेच्ने र काँचो केरा लिन त घरमा नै गाडी लिएर व्यापारी आउने गरेको बताए। उनले बारीको कान्लामा केराका करीब २०० बोट रोप्नुभएको छ । “शुरुमा केराखेती गर्दा व्यावसायिक रुपमा नगरी छिमेकीले कान्लामा रोपेको देखेपछि देखासिकीले केराखेती शुरु गरेको हुँ तर अहिले त विस्तारै राम्रो आम्दानी सजिलै लिन सकिने भएपछि अरु केराका बोट रोपेको छु”, उनले भने । अहिले त्यहाँका ५० भन्दा बढी घरपरिवारले आफ्नो बारीको कान्लामा केराखेती गर्नुभएको छ । केराखेती गरेर जीवन निर्वाह गर्न सफल अर्का किसान अम्मर वलीले केराका २५० भन्दा बढी बोट रोप्नुभएको छ । केटाबाट आम्दानी गरी घरखर्च र छोराछोरीलाई आवासीय विद्यालयमा पढाउने ओलीले भने, “केराखेतीबाट सोचेभन्दा राम्रो आम्दानी सजिलै लिन सकिने भएको छु, मेहनत पनि त्यति धेरै नलाग्ने भएका कारण म यो खेतीतर्फ आकर्षित भएको हुँ ”, उनले बताए। उनले अब उन्नत जातको केराखेती गर्ने सोच रहेको बताए। सोही ठाउँकी देउरुपा खड्काले पनि अहिले केराखेती गरेर वार्षिक रुपमा रु ६० हजार आम्दानी लिन सफल भएका छन् । केराखेतीबाट राम्रो आम्दानी छिटो लिन सकिने हुँदा अब उन्नत जातको केराखेती गर्न बबई गाउँपालिकाले सहयोग गर्नुपर्ने उनीहरुको माग छ । सरकारी तथ्याङ्कानुसार जिल्लाको घोराही उपमहानगरपालिकाका नारायणपुर र हापुर, तुलसीपुर उपमहानगरपालिकाका पवन नगर र हरेवास, शान्ति नगरगाउँपालिकाको पातेटाकुरा र राप्ती गाउँपालिकाको लालमटियामा मुख्य खेतीका रुपमा केराखेती हुने गरेको छ जिल्लामा उत्पादन हुने केरा नपुग्दा भारतीय बजार रुपैडिया र बढनीबाट समेत दाङमा ठूलो परिमाणमा केरा भित्रिने गर्छ ।

माछापुच्छ्रे बैंकको ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा, संख्या ३७ पुग्यो

काठमाडौं । माछापुच्छ्रेबैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाँउपालिका(हातीवाङ्ग), गोरखाको गण्डकी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका (छेपेटार) र गोरखाकै पालुङटार नगरपालिकामा थप ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ३७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आइसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।