
काठमाडौं । धेरै आयोजनाको ठेक्का लिएर काम नगर्ने विवादस्पद पप्पु कन्ष्ट्रक्सन प्राइभेट लिमिटेडलाई आयोजना कार्यालयहरुले धमाधम ठेक्का रद्धको प्रक्रिया अघि बढाएका छन् ।
कन्ष्ट्रक्सनले पुल लगायत अर्बौको विभिन्न आयोजनाको ठेक्का लिएर लामो समयसम्म काम नगरेपछि सरकारी निकायले पत्राचार गरी उपस्थित हुन पप्पुलाई निर्देशन दिएका छन् । उपस्थित नभए कार्वाही अघि बढाउने आयोजनाका कार्यालयले पप्पुलाई चेतावनी दिएका छन् । पप्पुले काम अलपत्र पारेपछि आयोजनाका कार्यालयले धमाधम ताकेता गर्न थालेका हुन् ।
निर्धारित समयमा पुलको काम नसकेपछि विवादस्पद पप्पुलाई उपस्थित हुन पुष्पलाल मध्यपहाडी लोकमार्ग पुर्वीखण्डले पत्राचार गरेको छ । उसले नेपाल प्रगतिसंग जेभीमार्फत आयोजनाको ठेक्का लिएको हो ।
लोकमार्ग आयोजनाले कात्तिक ५ गतेभित्र उपस्थित हुन पप्पुलाई अल्टिमेटम दिएको छ । सिन्धुली जिल्ला अन्र्तगतको सोखुखोलामा पुल निर्माणका काम नगरेपछि मध्य पहाडी लोकमार्गले उपस्थित हुन पत्र काटेको हो ।
२०६९ पुस २८ गते सक्ने गरी ०६८ असार २९ गते पप्पुसंग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । समयमा सम्पन्न नगरेपछि मध्य पहाडी लोकमार्गले ०७० पुस २६ गतेसम्म म्याद थप गर्दा पनि पुलको काम नगरेको हो ।
पटक-पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि पप्पुलाई असोज २१ गते एडजक्सनका लागि जेभीबाट निवेदन पेश भएको थियो । तर लोकमार्ग आयोजनाले औचित्यहिन देखेर उसको प्रस्तावलाई अस्वीकार गरेको छ ।
यस्तै धरान,चतरा, गाइघाट, कटारी, हेटौडा आयोजनाको पुर्विखण्ड कार्यालयले कमला खोलामा लामो समयदेखि पुल निर्माण नगरी अलपत्र पारेको भन्दै ७ दिनभित्र उपस्थित हुन पप्पुलाई पत्राचार गरेको छ । यो आयोजना पप्पुले लुम्बिनीसंग जेभी गरेको छ । कमलामा पुल बनाउन पप्पु र लुम्बिनी जेभीबीच ०६८ असार २९ गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।
उसले ०७३ असार २८ गते पुलको काम सक्न आयोजनासंग सम्झौता गरेको थियो । आयोजनाले ०७४ साउन १५ गतेसम्म म्याद थप गर्दा ५० प्रतिशत मात्र भौतिक प्रगति भएपछि आयोजनाको कार्यालयले उपस्थित हुन पत्राचार गरेको हो ।
यस्तै हुलाकी राजमार्गमा पर्ने बलान खोलामा पनि पुलको काम नगरेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु र शर्मा जेभीलाई पत्राचार गरी काम नगर्नका कारण सहित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
पप्पुले ०६८ फागनु १५ गते पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । काम नगरेपछि उसैको अनुरोधमा गत भदौ १५ गतेसम्म समय थप गर्दा पनि पुलको ५० प्रतिशत मात्र भौतिक प्रगति भएपछि कार्वाही प्रक्रिया अघि बढाएको योजना कार्यालय जनकपुरले जनाएको छ । १५ दिनभित्र कार्यालयमा उपस्थित नभए कार्वाही अघि बढाउने चेतावनी दिइएको छ ।
योजना कार्यालय जनकपुरले हुलाकी राजमार्ग अन्र्तगतको कमला खोलामा पुलको काम सम्पन्न नगरेपछि पत्र काटेको छ । कमलामा पुल बनाउन पप्पुले लुम्बिनीसंग जेभी गरी ०६८ जेठ ३१ मा ठेक्का सम्झौता गरेको थियो ।
पटक-पटक म्याद थप गरेर आउदो मंसिर ३० गतेसम्म पुलको काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकोमा ५५ प्रतिशत मात्र काम गरेकोले उसलाई कार्वाही अघि बढाइएको कार्यालयले जानकारी दिएको छ । पप्पु कन्ष्ट्रक्सनका अध्यक्ष संघीय समाजवादी फोरमका साँसद हरिनारायण रौनियार हुन् ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै रौनियर सहित १२ जना विरुद्ध असोज १९ गते विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
पप्पुले ठेक्का लिएको कुनै पनि काम सम्पन्न नगरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । यता भौतिक पुर्वाधार, योजना तथा यातायात मन्त्रालयले समेत उसको कामको अध्ययन गरिरहेको छ । पप्पुले दुई दर्जनबढी पुल आयोजनाको काम अलपत्र पारेको छ ।
याे पनि हेर्नुहाेस्
पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार सहित १२ जना विरुद्ध भ्रष्ट्राचारको मुद्धा (नामवलीसहित)