नेपाल बङ्गलादेश बैंक र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौता
काठमाडौं । नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धीसम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डेपुटी सीईओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।
राप्तीबाट ४ लाख स्मार्ट लाइसेन्स वितरण
लमही । यातायात व्यवस्था कार्यालय राप्ती दाङले करीब चार लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण गरेको छ । कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको प्रमुख मित्रलाल ढकालले बताए । यातायात विभागबाट एक पटकमा राप्तीमा दुई हजारका दरले स्मार्ट लाइसेन्स आउने गरेको उनले बताए । सवारी चालकमा स्मार्ट लाइसेन्सको माग तीव्र रहेको उनले बताए । नयाँ लाइसेन्स प्राप्त गरेकाले, हराएको, नयाँ नवीकरण गरेको, थप गर्नुपर्ने, लाइसेन्सको विवरण थपघट गर्नुपर्ने भएकाले मात्रै स्मार्ट लाइसेन्स पाउने कार्यालयका नायब शुब्बा शान्तराज गौतमले बताएका छन्। राप्तीबाट गएको माघ २७ गतेदेखि स्मार्ट लाइसेन्स वितरण शुरु भएको उनको भनाइ छ । राप्तीबाट विभिन्न सवारीसाधनका गरी जम्मा पाँच लाख ३८ हजार ८९९ लाइसेन्स वितरण भएका छन् । रासस
बुधबार विभिन्न तीन कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । बुधबार विभिन्न ३ कम्पनीको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सुचिकृत भएको छ । सो दिन दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद गरी कुल ५० लाख २ हजार ३६० कित्ता सेयर नेप्सेमा थपिएको हो । सो मध्ये सूर्या लाईफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत भएका छन् भने प्रभु इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । सूर्या लाईफ इन्स्योरेन्सको १२ लाख १२ हजार ७५० कित्ता र पोखरा फाइनान्सको ६ लाख २२ हजार ९३३ कित्ता बोनस सेयर थपिएका छन् । त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीको ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
सार्वजनिक यातायातमा मनपरी भाडा असुली, ६५ किमी यात्राको ६०० रुपैंया
काठमाडौं । चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् । चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएका हुन् । धरानबाट तेह्रथुमको म्याङलुङसम्म चल्ने साना जिप, बोलेरो, ट्याक्सीलगायत सवारीले निर्धारितभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् । व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिएका यात्रुले बताएका छन् । धरान–तेह्रथुम खण्डमा यसअघि प्रतिव्यक्ति रु ५०० भाडा लिने गाडीले अहिले रु एक हजारसम्म भाडा लिएर सवारी चलाइरहेका छन् । दशैँ बित्न लाग्दा चल्न थालेका बसले समेत म्याङलुङ–संक्रान्तिबजार ९करीब ६५ किमी० सडक खण्डमा प्रतिव्यक्ति रु ६०० भाडा असुलिरहेको छ । आठराइ–फिदिम–इलाम–झापा सडक खण्डमा गुड्ने गाडीले समेत जथाभावी भाडा असुलेका छन् । यस्तै धरान–धनकुटा खण्डमा समेत निर्धारितदरभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् । दुर्गम गाउँसम्म सडकको पुहँच त पुगेको छ । तर, चाडपर्वका बेला मौका छोपेर व्यवसायीले यात्रुसँग ठगीधन्दा चलाइरहेका छन् । रिजर्भका नाममा तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ । सवारी साधनको कमी भएको भन्दै व्यवसायीले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका छन् । दशैँमा बजार क्षेत्रमा व्यवसाय, काम र पढाइले बसेका घर फर्किएपछि बजार सुनसान बनेका थिए । दशैँमा सुनसान बनेका तेह्रथुमका म्याङलुङसहित जिरीखिम्ती, बसन्तपुर, सक्रान्तिबजारलगायत बजारमा मानिस र सवारीको चाप बढेको छ । विपद् पूर्वतयारी योजना निर्माण तेह्रथुममा यस वर्षका लागि जिल्लास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी लागू गरिएको हो । जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्ला समन्वय समिति, जिल्ला प्रहरीलगायत सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीसहित विभिन्न सङ्घ संस्थाको सक्रियतामा विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि योजना निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी तेह्रथुमका सभापति श्रीकृष्ण दाहालले बताए । योजनामा विगतमा भएका विपद्का घटना र तिनको सुक्ष्म विश्लेषण गरी आगामी दिनमा समेत हुनसक्ने विपद्का घटना र पूर्वतयारीका लागि योजना समावेश गरिएको छ । विपद् पूर्वतयारी योजनामा आगलागीको जोखिम भएका क्षेत्रका रुपमा बाक्लो बस्ती भएका बजार र गाउँ, सुख्खा क्षेत्र तथा फुसको छानो भएका घर र चेतनाको कमी रहेको क्षेत्रलाई पहिचान गरिएको छ । यस्तै म्याङलुङ नगरपालिका–७ र ८ लाई पहिरोको जोखिमको क्षेत्रका रुपमा पहिचान गरिएको छ । छथर गाउँपालिकाको आङिदम, लालीगुराँस नगरपालिकाको वडा नं १, २, ४ र ७, फेदाप गाउँपालिकाको वडा नं ५ र २ तथा आठराई गाउँपालिकाको वडा नं २ लाई समेत पहिरोको जोखिम भएको क्षेत्रका रुपमा पहिचान गरिएको छ । हाल तेह्रथुमका विभिन्न ११ वटा गाउँमा मात्रै विपद् पूर्वतयारी योजना निर्माण गरी पूर्वतयारीका गतिविधि भइरहेका छन् । नेपाल रेडक्रस सोसाइटीले आम्बुङ, मोराहाङ, इसिवु, सुङनाम, आङिदम, फुलेक, वसन्तपुर, श्रीजुङ, सम्दु, खाम्लालुङ र पञ्चकन्यामा मात्रै विपद् पूर्वतयारी प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा रहेको जनाएको छ । रासस
एनआईसी एशिया बैैंकको ११ प्रतिशत ऋणपत्र निष्कासनमा एसबिआई मर्चेन्ट नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले “११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८५/८६” निष्कासन गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ताले हुन आउने ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको निमित्त उक्त मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । यस अगाडि बैंकले जारी गरेको १ अर्ब ८३ करोड रुपैंयाको “११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२/८३”सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ । प्रस्तावित ११ प्रतिशत ब्याज भएको यस ऋणपत्र लगानीकर्ताकाे लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने अवसर हुने बंैकको विश्वास छ । उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङकातर्फबाट प्रबन्ध निर्देशक छपि राजपन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (रु ३अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (रु ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकले प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागेको हो ।
४४ मध्ये २९ वडा सचिवबिहीन, सामाजिक सुरुक्षा भत्ता वितरण गर्न समस्या
हुम्ला । हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यलय सचिवबिहीन भएका हुन् । आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा नं ४, ५ र ६ वडाको जिम्मेवारी लिएका वडासचिव धर्मराज रोकायाले बताए । मन्त्रालयबाट सचिवको व्यवस्था नहुँदा काम गर्न निकै कठिन भइरहेको उनको गुनासो थियो । यसरी सचिव नभएका वडामा कतिपयमा करारका कर्मचारीले र कतिमा त वडाध्यक्षबाटै कार्य सम्पादन भइरहेको सचिव रोकायाले बताए । ठूलो नाम्खा गाउँपालिकाको ८ वटा वडामा तीन मात्र सचिव कार्यरत रहेको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । गाउँपालिका केन्द्र पुग्न तीन दिनसम्म पैदलयात्रा लाग्ने उक्त गाउँपालिकामा सचिव अभावले गर्दा काम गर्न गाह्रो भएको छ । त्यस्तै खार्पुनाथ गाउँपालिकामा पाँच वटा वडामध्ये एक वडामा मात्र सचिव भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए । सचिव अभावले हालसम्म प्रथम चौमासिक सामाजिक सुरुक्षा भत्ता वितरण गर्न नसकिएको उनको भनाइ थियो । गाउँ पालिकाको अन्य दैनिक प्रशासनिक काम पनि सचिव अभावले प्रभावित भएको अधिकृत शाहीले बताए । आठ वटा वडा भएको सर्केगाड गाउँपालिकामा पनि हाल चार जना मात्र सचिव कार्यरत रहेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेश पाण्डेले बताए । त्यस्तै चङ्खेली गाउँपालिकामा छ वडामध्ये दुई मात्र सचिव कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत धु्रव फुँयालको भनाइ थियो । जिल्लाको दक्षिण क्षेत्रको अदानचुली गाउँपालिकाका छ वडामध्ये दुई वडामा मात्र सचिव छन् । सचिवका लागि पटक-पटक मन्त्रालयसँग समन्वय गर्दा केही नलागेको र हाल ती भएका दुई सचिवबाट जेनतेन काम चलाइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए। दक्षिण क्षेत्रमा पर्ने अर्को ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार ५ वडामध्ये दुई वडामा मात्र सचिव छन् । जिल्लाका ४४ वडामध्ये २९ वडा कार्यलय सचिवबिहीन हुँदा नागरिकता, जन्म, मृत्यु दर्ता, चौमासिक वृद्धाभत्ता वितरणमा समस्या भएको छ । रासस
प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गर्नुभएको हो । यसअघि प्रवक्ता हुनुभएका शैलेश थापा क्षेत्री प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका थिए ।
८ जना यात्रु बोकेर १७ महीनापछि निगमको विमान चौरहजारी पुग्यो, हप्ताको २ दिन नियमित उडान भर्ने
काठमाडौं । रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । सत्र महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुई दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए । उनका अनुसार बुधबार काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान हुने बताइएको छ । उडान शुरु भएको आज पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित आठ जनाले नेपालगञ्जसम्मको हवाईयात्रा गरेका छन् । झण्डै डेढ वर्षपछि यहाँको हवाईसेवा सञ्चालनमा आउँदा सर्वसाधारणमा खुशी छाएको छ । हवाई सेवाले रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई छिटो यात्राका लागि सहज गराएको छ । आजदेखि निगमको जहाजले पुनः उडान शुरु गरेसँगै यहाँको नयाँ भाडादरसमेत कायम गरिएको छ । अबदेखि चौरजहारीबाट काठमाडौँका लागि रु आठ हजार र नेपालगञ्जलाई रु तीन हजार भाडादर निर्धारण गरिएको स्टेशन प्रमुख नेपालीले जानकारी दिए । यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै गत वर्षको जेठ अन्तिम साताबाट यहाँको उडान बन्द गरिएको थियो । बन्द हवाईसेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल गर्दै आएका थिए । विसं २०२८ बाट सञ्चालनमा आएको उक्त विमानस्थलको थप स्तरोन्नतिका लागि पाँच वर्षअघि धावनमार्गमा कालोपत्रे गरिएको थियो । रासस