विकासन्युज

मेगा बैंक र आइएमई डिजिटलबीच मोबाइलबाटै वित्तीय सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्धारा प्रवद्र्धित आइएमई डिजिटलबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले उक्त दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । साथै, मेगा बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

कुखुराको मासुको मूल्यमा गिरावट, किसान मर्कामा

काठमाडौं। ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएपछि साना किसान मर्कामा परेका छन् । बजारमा ब्वायलर कुखुराको तयारी मासु प्रतिकिलो रु २६० मा बिक्री हुँदै आएको छ । किसानको फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ । नेपाल कुखुरापालक किसान सङ्घका अध्यक्ष झलक पौडेलका अनुसार एउटा कुखुरा बिक्री गर्दा किसानले रु ५० भन्दा बढी नोक्सान व्यहोरिरहेका छन् । किसानले एउटा चल्ला रु ९० मा खरीद गर्ने गरेका छन् । किसानले कुखुरा बिक्री गर्ने बेलासम्म चार किलो दाना, औषधि, श्रम, भाडालगायत खर्च गर्दा प्रति कुखराको मूल्य रु ४२५ भन्दा बढी पर्छ । किसानले एउटा कुखुरा रु ३७५ मा बिक्री गर्ने गरेको पौडेलले बताए। “साना किसानले निरन्तर घाटा व्यहोर्नु परिरहेको छ,” उनले भने। देशभर २६ हजारभन्दा बढी साना किसानले ब्वायलर कुखुरापालन गरिरहेका छन् । मासु बिक्री गर्ने ठूला व्यापारीले चिस्यान केन्द्रमा मासु थुपार्ने गरेका छन् । मासु सकिँदा मूल्य घटाइदिने र सस्तोमा कुखुरा खरीद गर्ने गरेका छन् भने मासु थुपिँ्रदा मूल्य बढाइदिने गरेका कारण समस्या भएको पौडेलले बताए। कुखुरापालन व्यवसायी मञ्चका अध्यक्ष डा होमबहादुर बस्नेतले मासुको मूल्य प्रतिकिलो रु ३०० भन्दा बढी नभएसम्म किसानलाई फाइदा नहुने बताए। दशैँको समयमा खसी र राँगा धेरै काटिँदा त्यसको सुकुटी बनाएर राख्ने गरेका कारण कुखुराको मूल्यमा कमी आएको उहाँले बताउनुभयो । नेपाल कुखुरापालन महासङ्घका अध्यक्ष गुणचन्द्र बिष्टले उच्चस्तरको प्रविधिमा कुखुरा पाल्न सकेमा यही दरभाउले नाफा हुने भए पनि अहिलेको प्रविधिमा नोक्सान हुने बताए। अवैध रुपमा भित्रिने भारतीय मासुका कारण पनि मूल्यमा कमी आएको उनको भनाइ छ । नेपालमा अन्य पेशा व्यवसाय गर्न नसक्ने किसानले आफ्नै बारीमा वा खोर भाडामा लिएर ब्वायलर कुखुरा पाल्ने गर्दछन् । समय समयमा दरभाउ तलमाथि हुँदा ऋणमा व्यवसाय गर्ने मर्कामा पर्ने गरेका छन् । रासस

विश्व बैंकलाई अर्थमन्त्रीको प्रश्नः व्यापार युद्धबाट बच्ने उपाय के हो ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व अर्थ व्यवस्थामा देखा परेको व्यापार युद्धबाट कसरी बच्ने भनि प्रश्न गरेका छन् । विश्व बैंक समुहले राजधानीमा नेपाल डेभलपमेन्ट अपडेट रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. खवितडाले भने–‘विश्वमा संरक्षण वाद पुनः उदाउन खोजेको देखिन्छ, व्यापार युद्धबाट कसरी बच्ने भन्ने उपायबारे विश्व बैंकको प्रतिवेदन बोल्नु पर्ने थियो ।’ मन्त्री खतिवडाले विश्व बैंकको बाली सम्मेलनमा इण्डोनसियाका राष्ट्रपतिले संरक्षण वादको वकालत गरेको पनि बताए । विश्वमा संरक्षणवाद हावी भएमा त्यसको सामना गर्न क्षेत्रिय एकता आवश्यक पर्नेमा उनले जोड दिएका थिए । संसारभर संरक्षणवादको हावा चलिरहेको भए पनि नेपालमा भने उड्डयन, पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना तथा प्रबिधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताका लागि ढोका खुल्ला राखिएको पनि उनको भनाई छ । मन्त्री खतिवडाले व्यापार घाटालाई कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत भन्दा तलै राख्ने उपायको खोजि भैरहेको र त्यसका लागि उत्पादन वृद्धि, सूचना प्रबिधीको अधिक उपयोग, तरलता अभावको समस्या समाधान, लगानीका लागि दिर्घकालिन श्रोतको व्यवस्थापनमा जोड दिएको बताए । छोटो अवधीको निक्षेप संकलन गरेर लामो अवधीका लागि ऋण प्रवाह गर्नुपर्ने बाध्यतामा बैंक तथा वित्तिय संस्थाहरु रहेको अब बण्ड र भेञ्चर क्यापिटलको अवधारणा मार्फत अघि बढ्ने स्पष्ट पारे । विश्व बैंकले प्रक्षेपण गरेको मध्यम तहका लागि प्रक्षेपण गरेको औषत ६ प्रतिशतको आर्थिक वृद्धिदरले नेपाललाई नपुग्ने भन्दै त्यो भन्दा ठुलो आकारको वृद्धिका लागि सरकार लागिपरेको दावी पनि गरे ।

साझा यातायात स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य गर्दै

काठमाडौं। साझा यातायातले स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने भएको छ । दुई वर्षपहिले काठमाडौँ महानगरपालिकाले साझा यातायातको शेयर खरीद गरेकामा अहिले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले शेयर खरीद गरिसकेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए। नगरवासीलाई सुविधा दिनका लागि नगरपालिकाले साझासँगको सहकार्यमा बस खरीद गर्ने र सञ्चालन गर्न चाहेको उनले बताए। प्रदेश सरकारले पनि साझासँग सहकार्य गर्न इच्छा देखाएको छ । अरू धेरै नगरपालिकाले साझाको शेयर खरीद गर्न चाहेका छन् । उनले भने, “हामीले नगरपालिकालाई शेयर दिने र त्यहीँबाट बस किनेर सञ्चालन गरिरहेका छौँ ।” ललितपुर महानगरपालिकाले रु १५ करोड, ललितपुर महानगरपालिकाले रु एक करोड, गोदावरी नगरपालिकाले रु १० लाख र महालक्ष्मी नगरपालिकाले रु १५ लाख शेयर खरीद गरिसकेका छन् । काठमाडौँ उपत्यकाका नगरपालिकासँग सहकार्य बढाएसँगै साझाले सेवा ग्रामीण क्षेत्रसम्म विस्तार गरिरहेको छ । पहिले साझाले नगरका भित्री भागमा मात्रै सेवा सञ्चालन गरेकामा अहिले भक्तपुर, लामाटार, गोदावरी र बूढानीलकण्ठसम्म सेवा विस्तार गरेको छ । पाण्डेयले भन्नुभयो, “अरू स्थानीय तहसँग पनि सम्बन्ध बढाएर सेवा विस्तार गर्दै लैजाने योजना छ ।” एशियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई प्रदान गरेको विद्युतीय बस पनि साझाको व्यवस्थापनमा केही समयका लागि काठमाडौँ उपत्यकामा नै गुड्दैछ । रासस

१२औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु, ३६ हजार भन्दा बढिले अवलोकन गर्ने

काठमाडौं । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । जावलाखेलको खेल मैदान, ललितपुरमा शुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका छन् । पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो । नजिकै आइरहेको तिहार तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो । मेलाको उद्घाटन गर्दै ३ नम्बर प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले व्यवसायिक फूल खेतीको अहिलेका अवस्था अझै बिस्तार हुनु पर्नेमा जोड दिएका थिए । यसका लागि आफुहरुले पुष्पमेलामा सहकार्य गरेको बताएका उनले आयातित फूलको प्रतिस्थापन गर्ने बाटोमा लाग्न व्यवसायीलाई आग्रह गरे । प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले १२औं सस्करणको रुपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गरेको हो । मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । मेलामा ३६ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने र ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

आइएमई ग्रुपका ग्राहकलार्इ बुढानिलकण्ठकाे भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत छुट

काठमाडौं । आइएमई ग्रुप र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–०८, सुन्दरबस्तीमा अवस्थित नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता भएको छ । सम्झौताअनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष छुट पाउनेछन् । ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स/मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधा लिन सक्नेछन् । यसका साथसाथै कर्मचारीका बालबालिकाहरूलाई सप्तान्तमा विशेष सहुलियत समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यो सुविधा लिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुपअन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचय पत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई ग्रुपकातर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरेका छन् । यो सम्झौता आगामी मंसिर १ गतेबाट दुई वर्षसम्म कायम हुनेछ ।

रसुवागढी र साञ्जेनले सेयर बिक्री गर्दै, स्थानीयलाई भन्दा सर्वसाधारणलाई पहिले

काठमाडौं । रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्रीको प्रक्रिया शुरु गरेको छ । स्थानीयवासीलाई सेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेका हुन् । रसुवावासीले भूकम्पका कारण आफूहरु घर तथा आवास निर्माणमा लागेको र तत्काल एक अर्ब रुपैयाँभन्दा बढीको लगानी गर्न नसक्ने बताउँदै आएका छन् । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले एक अर्ब २६ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् । उनले भने, “स्थानीयवासीले आफूहरुलाई सेयर बिक्रीको समय पछाडि सारिदिन गरेको आग्रह नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएका छाैँ । बोर्ड अनुमति दिने प्रक्रियामा छ ।” सो कम्पनीले रसुवावासीलाई ६८ करोड ४२ लाख रूपैयाँ बराबरको साधारण सेयर बिक्री गर्नेछ । कूल ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले आगामी आवमा आयोजना निर्माण सक्ने जनाएको छ । यस्तै साञ्जेन जलविद्युत् कम्पनीले पनि सर्वसाधारणलाई शेयर बिक्री गर्ने भएको छ । स्थानीयवासीको मागका आधारमा आफ्नो कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको आयोजना प्रमुख किरण श्रेष्ठले जानकारी दिए । सो कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । कम्पनीले सर्वसाधारणलाई ५४ करोड ७५ लाख रुपैयाँ तथा रसुवावासीलाई ३६ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । दुवै आयोजना आगामी आवभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रासस

३ महिनामै थपिए साढे ८ हजार कम्पनी: १५ विदेशी, यातायातका धेरै

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलाे ३ महिनामा करिब साढे ८ हजार नयाँ कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्ट्रारकाे कार्यालयकाे तथ्याङ्क अनुसार उक्त अवधिमा ८ हजार ४२१ नयाँ कम्पनी दर्ता भएका हुन् । दर्ता भएका कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर ३ का छन् ।  साे प्रदेशमा साे अवधिमा ५ हजार ३७८ वटा दर्ता भएका छन् । त्यस्तै प्रदेश नम्बर १ मा ७०८, प्रदेश नम्बर २ मा ६५१, गण्डकी प्रदेशमा ५४४, प्रदेश नम्बर ५ मा ७३९, कर्णाली प्रदेशमा १८२ र सुदुरपश्चिम प्रदेशमामा २१९ वटा कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्ट्राकाे कार्यालयमा उक्त अवधिमा दर्ता भएका कम्पनीहरुमध्ये अधिकांश कम्पनी निजी छन् भने केही सामुदायिक, गैरनाफामूलक र  विदेशी कम्पनी समेत छन् । उक्त अवधिमा ८ हजार १७७ वटा  निजी कम्पनी दर्ता भएकाेमा प्रदेश नम्बर १ मा ६९४, प्रदेश नम्बर २ मा ६२७, प्रदेश नम्बर ३ मा ५२०५, गण्डकी प्रदेशमा ५३७, प्रदेश नम्बर ५ मा ७२३, कर्णाली प्रदेशमा १४७, सुदुर पश्चिम प्रदेशमा २१७ वटा छन् । सामुदायिक कम्पनी भने सातैवटा प्रदेशमा गरी जम्मा २९ वटा मात्र दर्ता भएका छन् । जसमा प्रदेश नम्बर १ मा १ वटा, प्रदेश नम्बर २, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा ५/५ वटा, प्रदेश नम्बर ३ मा ११ र कर्णाली प्रदेशमा २ अाेटा छन् भने सुदुरपश्चिम प्रदेशमा कुनै पनि कम्पनी दर्ता भएका छैनन् । गैरनाफामुलक कम्पनी  भने उक्त समयमा कुल २ सय वटा दर्ता भएका छन् । जसमा प्रदेश नम्बर १ मा १३, प्रदेश नम्बर २ मा १९, प्रदेश नम्बर ३ मा १४७ वटा, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा २/२ वटा, प्रदेश नम्बर ५ मा ११ वटा, कर्णाली प्रदेशमा ६ वटा छन् । चालु अावकाे पहिलाे तीन महिनाको १५ वटा विदेशी कम्पनी पनि दर्ता भएका छन् । दर्ता भएका सबै विदेशी कम्पनी प्रदेश नम्बर ३ मा सञ्चालन हुनेछन् । कम्पनी रजिष्ट्रार कार्यलयका कम्पनी रजिष्ट्रार भुवनहरि अाचार्यका अनुसार विदेशी कम्पनीबाहेक दर्ता भएका अन्य अधिका‌ंश कम्पनीहरु यातायात व्यवसाय सम्वद्ध छन् । सरकारले यातायात व्यवसायीहरु समितिमार्फत् दर्ता हुने प्रावधान हटार्इ कम्पनीमा दर्ता हुने समयावधि मंसिरसम्म ताेकेपछि नयाँ कम्पनी दर्तामा चाप देखिएकाे उनकाे भनार्इ छ।