विकासन्युज

नेपाल बैंकको एफपीओ र सेञ्चुरीको बोनस सेयर सूचिकृत

काठमाडौं । आइतबार नेपाल बैंक लिमिटेडको एफपीओ र सेञ्चुरी कमर्शियल बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेपाल बैंकको एकैदिन एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ सूचिकृत भएको छ । त्यस्तै, सेञ्चुरी बैंकको ३८ लाख ३९ हजार ७३० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

मकवानपुरको पान्द्रागदेखि सिमभञ्ज्याङसम्म साँढे ३ किलोमिटरको केबुलकार बन्ने, थाहा नगरपालिकाले लगानी गर्ने

मकवानपुर ।  मकवानपुरकाे भीमफेदीदेखि सिमभञ्ज्याङसम्म केबुलकार बनाउने याेजना बनेकाे छ ।  भीमफेदी गाँउपालिकाको वडा नम्बर ४ को पान्द्रागदेखि वडा नम्बर ९ को सिमभञ्ज्याङसम्म ३.५ किलोमिटर लामो केबुलकार बनाउने तयारी भएकाे हाे । थाहा नगरपालिकाका मेयर लवशेर विष्टका अनुसार केबुलकार निर्माणका लागि थाहा नगरपालिका, फीमफेदी गाँउपालीका, प्रदेश सरकार र निजी लगानीमा केबुलकार निर्माण गर्न लागिएकाे हाे । केबुलकारको निर्माणले सो क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने उनकाे भनार्इ छ । भरतीय पर्यटकहरुका लागि यो केबुलकार बढी उपयोग हुने फीमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाकाे भनार्इ छ । ४५ डिगी तापक्रमकाे गर्मी क्षेत्र पटना, युपी र विहारका पर्यटकहरु  ५/६ घन्टाको यात्रापछि १५ डिगीको वातावारणमा आएर आनन्द लिन सक्ने उनकाे भनार्इ छ । सिमभञ्ज्याङसम्म वर्षभरी नै  चिसाे माैसम हुने क्षेत्र हाे । जाडाे माैसमकाे बेला यस क्षेत्रमा बारम्मार हिँउ वर्षा हुने गरेकाे छ ।

ओम डेभलपमेन्ट बैंक प्राप्ति गर्न प्राइम बैंकले पायो राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं । प्राइम कमर्शियल बैंकले ओम डेभलपमेन्ट बैंक एक्विजिशन(प्राप्ति)को लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । यो सहमतिसंगै अब यो प्रकृयाले तिव्रता पाउने कम्पनीले जनाएको छ । अब सैद्धान्तिक सहमति पाएको ३ महिनाभित्रै आवश्यक प्रक्रिया सम्पन्न गरेर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा फेरि संयुक्त निवेदन पेश गर्नुपर्ने छ । प्राप्तिको अन्तिम स्वीकृतिका लागि दुवै संस्थाको एकीकृत पुँजीकोष राष्ट्र बैंकको निर्देशन बमोजिम पर्याप्त हुनुपर्ने छ । त्यस्तै, प्राइमले ओमलाई प्राप्ति पश्चात क वर्गको प्राइम कमसिर्यल बैंक कायम भई एकीकृत कारोबार सञ्चालन गर्ने प्रक्रिया अगाडी बढ्ने कम्पनीले जनाएको छ ।

राधी विद्युत कम्पनीको अध्यक्षमा ध्रुवराज मिश्र

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको अध्यक्ष पदमा ध्रुवराज मिश्र नियुक्त भएका छन् । हालै सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गरेको हो ।

उपत्यकाबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २१ संस्थाका ७१० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो । छठ पर्वलाई ध्यान दिएर गुह्येश्वरी नजिकको वाग्मती किनारमा सफाइ गरिएको हो । सफाइसँगै अमेरिकाको ग्रीन हर्ट ब्याण्डले पानी जीवन हो भन्ने भावको साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए। सफाइमा नायिका करिष्मा मानन्धर पनि सहभागी भएका थिए । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४८ औँ हप्ताको सफाइ पनि गुह्यश्वरी क्षेत्रमै गर्यो। तिलगङ्गा महिला समूहले १८९औँ हप्ता र आलोकनगर सफाइ अभियानले ८३औँ हप्ताको सफाइसमेत गुह्येश्वरीमै गरेका थिए । रुद्रमती सफाइको २४२औँ हप्तामा रातोपुल–सेतोपुल हुँदै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर क्षेत्रसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । नदी किनारमा रोपिएका बिरुवामा पानी हाली गोडमेल र स्याहार गर्न नजिकका घरधनीलाई अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले बताए । सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की लगायत स्थानीयवासीको सहभागिता थियो । मनोहरा सफाइको ८७औँ हप्तामा महानगरपालिकाको ३२ नं वडास्थित बिपी नेत्र अस्पतालअघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहालसहित ११० भन्दाबढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिए । चक्रपथ सफाइको ८३ औँ हप्तामा नयाँ बसपार्क क्षेत्रमा सफाइ गरियो । तिहारको भोलिपल्ट भए पनि कार्यक्रमलाई निरन्तरता दिइयो । चक्रपथ बाफल खण्डको ६५औँ हप्तामा स्युचाटारबाट सोल्टीदोबाटोसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । रासस

छठ पर्वको आज पहिलो दिन, नहाय खाय विधि गरिँदै

काठमाडौं। आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ । छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्ने बित्तिकै व्रतीहरूले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाँदैनन् । यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (धानको एक प्रकार, कालो रङ्गको गर्भमै पाक्ने पवित्र अन्न)को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई साठी पनि भनिन्छ । छठ पर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास रहेको छ । गम्हरीलाई कुटेर त्यसको चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ । आरोग्य लाभ मुख्य उद्देश्य भएको छठ पर्व उत्सवको रूपमा मात्र नभइ कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ । चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको पाइन्छ । छठ पर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ । छठ पर्व विशुद्ध रूपमा प्रकति र पुरूषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैँठौ अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो । देवी भागवत्मा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ । रासस

बैंक स्थापनाले ग्रामीण क्षेत्रको आर्थिक गतिविधिमा वृद्धि

काठमाडौं। स्थानीय तहमा बैंक स्थापना भएपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको छ । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा बैंक पु¥याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको हो। सङ्घीय राजधानी काठमाडौंको चार वटा नगरपालिकासँग सीमा जोडिए पनि दुर्गम गाउँपालिकाको पहिचान बनाएका नुवाकोटको शिवपुरी गाउँपालिकामा सानिमा बैंकले आफ्नो वित्तीय सेवा सञ्चालन गरेपछि किसानहरु आर्थिक कारोबार गर्न सहज भएको हो । सो बैंकको शाखा स्थापनाको चार महीनामा नै गाउँपालिकाभित्रका ९०० भन्दा बढीले खाता खोलेर बैंङ्किङ कारोवार शुरु गरेको बैंकका शाखा प्रबन्धक रमेश पण्डितले जानकारी दिए। गत असार १७ देखि शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरमा सो बैंकले शाखा सञ्चालनमा ल्याएको हो । आर्थिक कारोवार बैंकमार्फत गर्दा कुनै घाटा नभई फाइदा मात्र हुने जानकारी नहुँदा वित्तीय सचेतना जगाएर सर्वसाधारणलाई बैंकको पहुँचमा ल्याउने प्रयासमा बैंक जुटेको छ । “ग्रामीण क्षेत्रको विकास गर्ने लक्ष्य लिएर किसानलाई आर्थिकरुपमा मजबुद बनाउन सडक नपुगेको स्थानको जग्गालाई समेत बैंक आफैँले मूल्याङ्कन गरी रु चार लाखसम्म लगानी गरेको छ”, उनले भने, “फार्म सञ्चालन गर्दै आएका किसानलाई धितो मूल्याङ्कन गरी रु १० लाखसम्म कर्जा दिएका छौँ ।” किसानलाई उपलब्ध गराउने कृषि कर्जामा हाल १३ प्रतिशत ब्याज दर छ । सरकारले बजेट सार्वजनिक गर्ने क्रममा ‘एक घर, एक बैंक खाता’को लक्ष्य लिए अनुरुप नै सो बैंकले यस गाउँपालिकाभित्रका २२ हजार भन्दा बढी जनसङ्ख्यालाई बैंङ्किङ कारोवारमा समावेश गर्ने उद्देश्य लिएको छ । चेतनाको अभावका कारण सर्वसाधारणले बैंकिङ प्रणालीलाई झन्झटिलो मान्ने भएकाले त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन बैंकले सहजीकरण गर्दै आएको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए। उहाँका अनुसार गाउँपालिकाले आफूले विनियोजन गरेको बजेट तथा राजश्व एवं कर सङ्कलन सबै बैंकमार्फत अघि बढाइएको छ । गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता बैंकमार्फत अनिवार्य बनाएपछि वृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर बैंकले सेवा पु¥याउँदै आएको छ भने वित्तीय सुशासनमा समेत सहयोग पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेको भनाइ छ । नुवाकोटको अधिकांश स्थानीय तहमा बैंकको शाखा स्थापनाले स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्थालगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ । स्थानीय तहमा खुलेका बैंकले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लगानी वृद्धि र व्यावसायिक कृषिको वातावरण बनाएको बताइएको छ । रासस

सञ्चारको सहज पहुँचमा पुगे पहाडी क्षेत्रका बासिन्दा

काठमाडौं। पश्चिम नवलपरासीको विकट पहाडी क्षेत्रका बासिन्दा सञ्चार सेवाको सहज पहुँचमा पुगेका छन् । पश्चिम नवलपरासी तराई भए पनि यहाँ विकट पहाडी क्षेत्र पनि छ । पाल्पाको सीमासँग जोडिएका केही पहाडी बस्ती सुनवल र बर्दघाट नगरपालिका अन्तर्गत पर्दछन् । नगरपालिकाभित्र परे पनि पहाडी क्षेत्रका बस्ती विकट छन् । त्यहाँका नागरिक यातायात, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतको असहजतामा बाँच्दै आएका छन् । त्यही विकट पहाडी क्षेत्रका नागरिकलाई लक्षित गरी बर्दघाट नगरपालिकाको पहाडी क्षेत्र संसारकोटमा नगरपालिकाको पहलमा नेपाल टेलिकमले जीएसएम मोबाइल बीटीएस टावर सञ्चालनमा ल्याएको छ । टावर सञ्चालन भएपछि अहिले त्यस क्षेत्रका नागरिक सञ्चारको सहज पहुँचमा पुगेका छन् । नगरपालिकाको वडा नं २ मा पर्ने सो क्षेत्र बर्दघाट बजारबाट करीब दुई घण्टा उकालो पैदलयात्रापछि पुग्न सकिन्छ । सडकको ट्र्याक खुले पनि यातायातको साधन सञ्चालनमा नआएकाले सो क्षेत्र नगर भए पनि विकट छ । त्यहाँ टावर सञ्चालन भएपछि बर्दघाट–२ को आमबास, बाँसखोला, सुखौरा, पटुके, तिल्केनी, संसारकोटलगायतका पहाडी बस्तीका गाउँलेलाई सहज भएको छ । मोबाइल टावर नहुँदा यसअघि सो क्षेत्रका नागरिकलाई सञ्चारमा निकै असहजता थियो । नेपाल टेलिकमको टावर स्थापना भएपछि खुशी हुँदै संसारकोटका स्थानीय प्रेम सोमइ मगरले भन्नुभयो– “हाम्रो गाउँसहित पहाडी क्षेत्रका धेरै युवाहरु वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा छन्, तर मोबाइलको नेटवर्क सहज नहुँदा घरपरिवारसँग कुराकानी गर्न निकै असहज थियो, कतै फोन गर्न परे तत्काल फोन नलाग्ने, लागिहाले पनि आवाज नबुझिनेजस्ता समस्या हामीले भोग्दै आएका थियौँ, अव निकै सहज भएको छ ।” टावर सञ्चालन भएसँगै सो क्षेत्रमा इन्टरनेट प्रयोगमा पनि सहजता आउने नेपाल टेलिकमले जनाएको छ । सहज रूपमा मोबाइल प्रयोग गर्न पाएपछि बर्दघाटका उच्च पहाडी भेगका नागरिकमा खुशीयाली छाएको छ । केही दिनअघि सो सेवाको शुभारम्भ गर्दै बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले अब नागरिकले सहज रूपमा सञ्चार सेवा प्रयोग गर्न पाउने भन्दै बर्दघाट नगरपालिकाको पहाडी भेगलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजनामा सञ्चारको सहज पहुँचले एउटा इँट्टा थपेको बताए। रासस