विकासन्युज

प्रदेशसभा र स्थानीय तहका ३२ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं । प्रदेश र स्थानीय तहकासमेत गरी अहिले ३२ जना जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यसहित १८ जनाको मृत्यु तथा केहीको राजीनामा, प्रदेशसभा र जिल्ला समन्वय समितिमा निर्वाचित र फौज्दारी अभियोगमा कारागार चलान भएकाले ती पद रिक्त भएका हुन् । भक्तपुर प्रदेशसभा सदस्य हरिशरण लामिछाने, धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्षको निधनपछि प्रदेशसभा सदस्य, नगरप्रमुख र गाउँपालिका अध्यक्षको एक/एक पद रिक्त हुन पुगेको हो । स्थानीय तहको निर्वाचनपछि मुलुकका विभिन्न नगरपालिका र गाउँपालिकासमेत गरी हालसम्म १३ वडाध्यक्षको मृत्यु भएको छ । महोत्तरीको मटिहानी नगरपालिका–६ का वडाध्यक्षको राजीनामा, नुवाकोट दुप्चेश्वर नगरपालिका–१ का वडाध्यक्ष मानव बेचबिखन मुद्दामा कारागार परेका कारण तथा प्यूठान ऐरावती गाउँपालिका–२ का वडाध्यक्ष र कञ्चनपुर पुनर्वास नगरपालिका–३ का वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचितपछि ती वडाध्यक्ष नेतृत्वविहीन भएका हुन् । सोलुखुम्बु सोलु–दूधकुण्ड नगरपालिका–११ मा भने निर्वाचनमा उम्मेदवारी नै नपरेका कारण उक्त वडाबाट जनप्रतिनिधिको चयन हुन सकेको थिएन । यो अवधिमा विभिन्न कारणबाट स्थानीय तहमा एक महिलासहित सात वडा सदस्यको पद रिक्त भएको निर्वाचन आयोगबाट थाहा भएको छ । रासस

नुवाकोटको नाटेश्वरी रोडाढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाउन आदेश

काठमाडौं । उच्च अदालत पाटनले नुवाकोटको नाटेश्वरी रोडा ढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मोहम्मद साविर हुसैन र विष्णुप्रसाद कोइरालाको संयुुक्त इजलासले अाइतबार भूकम्पपीडितको आवास पुनःनिर्माणमा समेत असर पर्ने हुनाले सो उद्योग सञ्चालनमा रोक नलगाउन जिल्ला प्रशासन कार्यालय, नुवाकोटको नाममा अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “खानी सञ्चालन तत्काल रोक लगाउँदा भूकम्पपीडित समेतलाई नकारात्मक असर पर्नसक्ने देखिएकाले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म सो उद्योग सञ्चालनमा रोक नलगाउनु ।” अधिवक्ता हुतराज कोइरालाले सो उद्योग सञ्चालनमा रोक लगाउँदा भूकम्पपीडितको आवास निर्माणमा कठिनाइ हुने उल्लेख गर्दै उद्योग सञ्चालनमा रोक लगाउने जिल्ला प्रशासनको निर्णय रोक्न अन्तरिम आदेशको माग गरिएको थियो । आदेशमा इजाजत लिएर सञ्चालनमा आएको सो उद्योगले खासगरी नुवाकोटको लिखु, पद्मकन्या र शिवपुरी गाउँपालिकाका भूकम्पपीडितलाई आवास निर्माणका लागि सहुलियत दरमा रोडा, ढुङ्गा र बालुवा दिने उद्देश्य भएकाले पनि रोक लगाउनुपर्ने नदेखिएको उल्लेख छ । रासस

अल्बानी मधेशी समाजद्वारा न्युयोर्कमा छठपर्व

काठमाडौं। लोक आस्थाको महापर्व छठको हिन्दूधर्ममा छुटै महत्व छ। यो पर्वलाइ परदेशमा पनि रही आफ्नो धर्म, कला, संस्कृतिलाइ जोगाई राख्न र महापर्व छठ लगायत मधेशी संस्कृतिलाइ विश्व सामू चिनाउन अल्बानी मधेशी समाज, न्युयोर्क अमेरिकाका मधेशी मूलका युवाहरु न्युयोर्क अमेरिकाको राजधानी अल्बानीको हिन्दूमन्दिरको पोखरीमा यो पर्वको आयोजना गर्न अग्रसर भएका छन। यसैक्रममा ११ नोवेम्बेरको नहायखायबाट शुरुहुने पर्व ४ दिनसम्म चल्ने र १३ नोवेम्बेरको साँझको अस्ताउदो सुर्यलाई र १४ नोवेम्बेरको बिहान उदाउदो सुर्यलाई अर्घ्यदिएर सम्पन्न गर्ने कार्यक्रम रहेको छ। न्यूयोर्क महानगर, बोस्टन, कनेटिकट र रेड़ेअइलैण्डका मधेशी समुदाय लगायत विश्वभारीका छठपर्वमा आस्था राख्ने सम्पूर्ण दाजुभाई दिदीबहिनीको बाक्लो उपस्तिथी रहने अल्बानी मधेशी समाज, न्युयोर्क तथा छठपर्वका संजोयक प्रशान्त ९ प्रिन्स ० साहले जानकारी गराएका छन। तीन दशकदेखि अल्बानीमा बसोबास गर्दै आउनुभएका समाजसेवी साह विभिन्न कार्यक्रममार्फत मधेशी सँस्कृतिलाई विश्वसामु चिनाउन अग्रसर छन्।  

नेपाल पुनर्बीमा कम्पनी पाँच वर्षमा प्रवेश, एक अर्ब १३ करोड नाफा कमाउन सफल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड पाँच वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पाँचौ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा बीमा व्यवसायको विस्तार र विकासमा पनि कम्पनीले महत्वपूर्ण योगदान गरेको बताएका छन् । साथै, अर्थमन्त्री डा. खतिवडाले भविष्यमा कम्पनीको क्षमता समेत बढ्दै जाने अपेक्षा राखेका छन् । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले विदेशी बिमकले गर्ने पुनर्बीमाको उल्लेख्य हिस्सा स्वीकार गरी सेवा दिन सफल भएकोमा कम्पनीलाई बधाई दिएका छन् । कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईंले नेपालको एकमात्र पुनर्बीमा कम्पनीको उद्देश्य नेपाली बीमा बजारको सुदृढीकरण गर्न बिमकहरुलाई सहयोग गर्नु रहेको बताएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बीमा व्यवसायलाई समयसापेक्ष बनाउन आफ्नो दक्षता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रियस्तरको पुनर्बीमा सेवा दिने प्रतिबद्धता जनाउँदै तेस्रो मुलुकबाट बढी भन्दा बढी व्यवसाय गर्ने योजना रहेको बताए । केही महिनाभित्रै सर्वसाधारणलाई कम्पनीको सेयर जारी गर्ने पनि उनले जानकारी दिए । उक्त अवसरमा कम्पनीका उत्कृष्ट कर्मचारी श्रीमती बिनिता खनाल र सूश्री अनिता गौतमलाई नगद पुरस्कारका साथ सम्मान गरिएको थियो । नेपाल सरकारको प्रमुख लगानी रहेको यस कम्पनीको ८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी छ । सर्वसाधारणलाई १ अर्ब ६० करोड सेयर बाडफाँड पश्चात चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्ने छ । कम्पनीले गत आर्थिक वर्षमा करिब चार अर्ब प्रिमियम संकलन गरी एक अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको मापदण्ड संशाेधन, दुईवटा विषयको परीक्षा हुने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको मापदण्ड संशाेधन गरेको छ । नयाँ मापदण्ड अनुसार अब सी ग्रेड ल्याउने बिद्यार्थीले पनि उक्त परीक्षामा सामेल हुन पाउने छन् । त्यस्तै यहि असोज २० गते प्रकाशित नतिजामा कुनै बिषयमा सी, डी प्लस, डी वा इ ग्रेड ल्याउनेले बिद्यार्थी पनि कुनै दुई बिषयको ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउने छन् । परीक्षा दिन चाहने परीक्षार्थीले यही मङ्सिर १६ गते भित्रमा सम्बन्धित कार्यालयमा नियम अनुसारको शुल्क सहित आवेदन फारम बुझाउनु पर्नेछ । परीक्षा मिति र परीक्षा केन्द्र पछी तोकिने राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ । यसअघि सी ग्रेड ल्याउने परीक्षार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था थिएन । तर सम्बन्धित विषयमा साे ग्रेडमात्र प्राप्त गर्नेले अर्काे तहमा पढ्न नपाउने भएपछि बाेर्डले साे बाटाे खुला गरेकाे हाे ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन राष्ट्र बैंककाे आग्रह, कसरी लिने कर्जा ?

काठमाडौं । व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५/७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकले गत असोज ११ गते नै सबै वाणिज्य बैँक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो । सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएसँगै शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाइने भएको हो । कसरी लिने कर्जा अर्थ मन्त्रालयले उक्त कार्यविधि ल्याएकाले शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइने भएको छ तर लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । स्नातक तह उत्तीर्ण विद्यार्थीले गत शुक्रबारदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । सरकारको योजनानुसार माध्यमिक वा सो सरह उत्तीर्ण गरी २५ वर्ष ननाघेका नेपाली युवाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिन पाउने छन् । कार्यविधिअनुसार उच्च शिक्षा हासिल गर्न सहुलियत बैंकको आधार दरको दुई प्रतिशत नबढ्ने गरी ब्याजदरमा पाँच लाख रुपैयाँसम्म ऋण पाउनसक्ने व्यवस्था छ । उच्च शिक्षाका लागि विदेश पढ्न जाने युवाले यो कर्जा प्राप्त गर्न आर्थिक रुपमा विपन्न सिमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस अध्ययन गर्ने शैक्षिक संस्था प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि समावेश गनुपर्ने छ । उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा ऋणीले सक्कल शैक्षिक प्रमाणपत्र धितोस्वरुप राख्नुपर्छ । यसका लागि आफूले गर्ने कामको विवरणसहित राष्ट्र बैंकका मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थासहित राष्ट्र बैंकको मान्यताप्राप्त बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्ने, प्यान नम्बर लिनुपर्ने र कालो सूचीमा नपरेको हुनुपर्नेछ । यो कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उच्च शिक्षा अध्ययन गर्न चाहनेसँगै व्यवसाय गर्न चाहने युवा, महिला तथा दलित समुदायले सरकारबाट सहलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने तथा सीप प्रमाणीकरण गरी बिनाधितो ऋण पाउने भएका छन् । रासस

सेयर बजार १७ अंकले घट्यो, अपी पावरका लगानीकर्ताले गुमाए सबैभन्दा बढी

काठमाडौं । तिहार पछि खुलेको आइतबारको सेयर बजार पनि दोहोरो अंकले ओरालो लागेको छ । सो दिन कारोबार शुरु भएदेखि घटिरहेको बजार बन्द हुँदा १७.३१ अंकले घटेर १२०५ अंकमा झरेको छ । सो दिन कुल १२५ कम्पनीको ९ करोड ९४ लाख कित्ता सेयर कारोबार भएको छ । सो मध्ये प्रभु बैंकको ८४ लाख ८८ हजार कित्ता सेयर बिक्री भएका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी अपी पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले घटेर प्रतिकित्ता १६३ रुपैयाँ पुगेको छ । सो दिन सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.५२ प्रतिशतले बढेको छ । बजारमा फाइनान्स र अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ४३ अंकले ओरालो लागेको छ ।

माइतीघर र चाबहिलमा आकाशे पुल बन्ने, कामपाले छुट्टायो १२ करोड बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले पैदल यात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा १२ करोड रुपैयाँ नयाँ आकाशे पुल निर्माण गर्न छुट्याएको छ । यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लागिएको कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले बताए । यी दुई बाहेक अरु कुन स्थानमा आकाशे पुलको खाँचो छ भन्ने अध्ययन भइरहेको छ । उनले भने, “माइतीघर र चाबहिलपछि अरु स्थानमा पनि त्यस्तो पुल निर्माण गरिनेछ ।” पहिलो चरणमा यी दुई स्थानमा आकाशे पुल निर्माण गरिने छ । अन्य स्थानमा आवश्यकता हेरी निर्णयको तयारी भइरहेको छ । दुबै स्थानमा निर्माण गर्न लागिएको पुलको लागि नमूना तयार भइसकेको छ । छठ लगत्तै निर्माणको लागि बोलपत्र आह्वान गरिने इञ्जिनीयर थापाले बताए । चालु आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने कामपाले योजना बनाएको थियो । उपत्यकाकै सबैभन्दा बढी यात्रुले बाटो काट्ने सडकका रुपमा रहेको नयाँ बानेश्वर चोकमा भने तत्काल आकाशे पुल बनाउने योजना महानगरको छैन । प्रतिनिधिसभा भवन चोकमा नै भएकाले सुरक्षा खतरा हुनसक्ने भन्दै यस स्थानमा विकल्पको खोजी भइरहेको इञ्जिनीयर थापाले बताए । उनले भने, “सव–वे निर्माण गर्न सकिन्छ कि भन्ने हामीले छलफल गरिरहेका छौं ।” दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि कामपाले एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने पुल निर्माण गर्न लागेको हो । ट्राफिक प्रहरी र सडक विभागसँग समेत सहकार्य गरी पुल निर्माणको काम अघि बढ्ने कामपाले जनाएको छ । आकाशे पुल बनाउने अन्य सम्भावित स्थानका रुपमा टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल (काठमाडौँ जिल्ला अदालत), पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोक रहेको छ । सवारीसाधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी चापको अवस्था देखिँदै आएको छ । इञ्जिनीयर थापाले भने, “एकातिर पैदलयात्रुलाई बाटो काट्न सजिलो हुन्छ, भने अर्कोतिर ट्राफिक व्यवस्थापन सहज हुनेमा शङ्का छैन ।” अब बन्ने सबै पुलमा विज्ञापन राख्न पाइने छैन । विज्ञापन राख्न नमिल्ने गरी नै आकाशे पुलको ढाँचा तयार भएको र अन्यको तयारी चरणमा छ । महानगरले यसअघि निर्माण गरेको आकाशे पुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो । सहरको सुन्दरतालाई ध्यान दिँदै कामपाले केही समयदेखि जथाभावी विज्ञापन, पर्चा पम्पलेट, पोस्टर टाँस्न रोक लगाएको छ । यसअघि स्थानान्तरण गर्न सकिने पुल पहिलो पटक परीक्षणका रुपमा पुरानो बसपार्क अगाडि बनेको थियो । अहिले कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क-भोटाहिटी, जमल, रत्नपार्क-बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन् । रत्नपार्कमा एउटा सव-वे छ । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताइएको छ । वीरअस्पताल अगाडिको पुल अत्यन्त जीर्ण छ । कामपाभित्रका यसअघिका पुल निजी क्षेत्रले बनाएकोले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने उनले बताए । सबै पुराना पुल मर्मतको लागि पनि महानगरले समन्वय गरिरहेको छ । कामपाले चालु आव २०७५/७६ को लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा ४ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । रासस