दूरसञ्चार प्राधिकरणले १ वर्षे मुद्दति निक्षेपमा लगानी गर्ने, कायम रहला ‘भद्र सहमति’ ?
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो कोषमा रहेको रकम १ वर्षे मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आइतबार सूचना जारी गरी निक्षेप लिन चाहने बैंकहरुका लागि निक्षेपमा लिन चाहेको रकम र तिर्न चाहने ब्याजदर समेत खुलाई यही कार्तिक मसान्तसम्म प्राधिकरणको आर्थिक प्रशासन शाखामा शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हाे । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गमा इजाजतप्राप्त वाणिज्य बैंकहरुले उक्त निक्षेपका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । बोलपत्रसँगै बैंकहरुले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणहरुअनुसार पँुजी पर्याप्तता अनुपात, निष्क्रिय कर्जा अनुपात, कर्जा निक्षेप अनुपात, तरलता अनुपात, नेटवर्थ लगायतका वित्तीय सूचकाङ्कहरुको अवस्था समेत पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ । न्यूनतम २० करोडका लागि बैंकहरुले निक्षेपको प्रस्ताव गर्न सक्नेछन् । बैंकहरुले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नु पर्नेछ । बजारमा लगानीयोग्य पुँजीको अभाव भएको समयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, बीमा समिति, एनसेल, नेपाल प्रहरी, नेपाली सेना जस्ता ठूला निक्षेपकर्ताहरुतिर बैंकहरुको ध्यान हुन्छ । ठूलो मात्रामा निक्षेप जम्मा गर्ने भएकोले बैंकहरुले बजारमा प्रचलित दरभन्दा धेरै प्रतिशत ब्याज दिन समेत यस्तो अवस्थामा तयार हुन्छन् । अघिल्लो बर्षको पुस महिनामा नेपाल टेलिकमको निक्षेपका लागि त्यसबेला कायम रहेको १२ प्रतिशत भन्दा बढी ब्याज नबढाउने नेपाल बैंकर्स संघको भद्र सहमतिलाई बैंकहरुले तोडेका थिए । त्यसबेला नबिल बैंकले १३.०२ प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गरेको थियो भने एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक लगायतले पनि १३ प्रतिशतकै हाराहारीमा ब्याजदर कबोल गरी निक्षेप उठाएका थिए । फेरि गत असार मसान्तमा बैंकर्स संघले ११ प्रतिशतको ब्याजसीमा कायम गर्ने भद्र गरेकोमा ठूलो निक्षेपकै लागि दुई वाणिज्य बैंकले उक्त सहमति तोडेका थिए । त्यसलगत्तै बैंकर्स संघको पूर्ण बैठकले वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा १० प्रतिशतभन्दा बढी ब्याज नदिने गरी नयाँ भद्र सहमति कायम गरेकाे छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकहरुमध्ये प्रभु बैंकबाहेक अन्य बैंकहरुको कर्जा निक्षेप अनुपातले ८० प्रतिशतको सीमा छुनै लागेको छ । यो अवस्था भनेको बजारमा थप कर्जा लगानी गर्नै नसक्ने अवस्था हो । यसको प्रत्यक्ष प्रभाव प्राधिकरणको निक्षेप बोलकबोलमा पर्न सक्ने सम्भावना छ । तर पनि ब्याजदरसम्बन्धी पछिल्लो भद्र सहमतिको मसी सुक्न नपाउँदै वाणिज्य बैंकहरु ठूलो निक्षेपको लागि उक्त सहमति तोड्छन् वा सहमतिमा कायम रहन्छन्, त्यो भने हेर्न बाँकी छ ।
आइतबार सार्वजनिक बिदा हुने, राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनकाे जयन्ती मनाइँदै
बनियानी । झापाको दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिए । “राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि नगरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हौँ”, उनले भने “इलामको चुलाचुली गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको छ ।” त्यस्तै, ताप्लेजुङको फत्तालुङ गाउँपालिकाले पनि फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने गरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिए । “फाल्गुनन्दको जन्मदिनमा किराँत धर्मालम्बीहरुले बिदा दिन माग गर्दै आएका छन्”, उनले भने, “धर्मगुरु र किराँत धर्मावलम्बीका सम्मान लागि पनि बिदा दिइएको हो ।” विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू र आमा हंसमती लिम्बूको कोखबाट साहिँला छोराका रूपमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत धर्मका महागुरु तथा समाज सुधार फाल्गुनन्द लिङ्देनको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत सङ्घसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन् । उनलाई सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनी नेपालका १६औँ राष्ट्रिय विभूति हुन् । उनको फोटो अङ्कित हुलाक टिकटसमेत प्रकाशन हुँदै आएको छ । रासस
महासंघको पूर्वअध्यक्ष चण्डिराज ढकालद्वारा विधान संशोधन दस्तावेज प्रस्तुत
काठमाडौं । सार्क उद्योग वाणिज्य संघको ७६ औं कार्यकारिणी समितिको बैठक शनिबार भारतको चेन्नाईमा शुरू भएको छ । उक्त बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले भाग लिइरहुने भएको छ । बैठकको अध्यक्षता संघका अध्यक्ष रूवान इडिरीसिंघेले गरेका छन् । उक्त बैठकमा सार्क उवासंघका उपाध्यक्ष एवं संघको विधान शंसोधन समितिका सभापति ढकालले संघको विधान संशोधनका लागि सुझावसहित धारणापत्र बैठक समक्ष राखेका थिए । संघको विधानलाई अझ बढी स्पष्ट र क्रियाशिल बनाउने उद्देश्यले बंगलादेशको ढाकामा गत वर्ष सम्पन्न संघको ७५ औं कार्यकारिणी समिति बैठकले ढकाललाई विधान संशोधन समितिको सभापतिमा चयन गरेको थियो । विधान संशोधन समितिका सदस्यहरूमा संघका वर्तमान उपाध्यक्ष विनोद जुनेजा, संघका पूर्व अध्यक्ष एवं वर्तमान उपाध्यक्ष दासो उगेन थेक्चुप दोर्जी, पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं संघका वर्तमान कार्य समिति सदस्य जुवेर अहमद मल्लिक र बंगलादेश उद्योग वाणिज्य महासंघका पूर्व महासचिव तथा संघका कार्य समिति सदस्य सफकात हैदर छन् । बैठकमा संघका उपाध्यक्ष रोहिथा सिल्भा, उपाध्यक्ष विनोद जुनेजा, हिना साइद र संघका कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ सार्क उवासंघको संस्थापक सदस्य हो ।
चन्द्रागिरि केबलकार भाइ टिकाको दिनमा समेत खुल्ला रहने
चन्द्रागिरि । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायका अन्य सेवाहरु तिहार विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने भएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय चन्द्रागिरि हिल्स व्यवस्थापनले लिएको छ । चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा संचालित सम्पूर्ण सेवाहरु विदाका दिनमा समेत साविक बमोजिम नै संचालनमा आउने कम्पनीले जनाएको छ । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य–चन्द्रप्रसाद ढकाल
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य भएको बताएका छन् । चाइना एडभेन्चर टुरिजम फोरमद्वारा राजधानीमा आयोजित ‘हिमालयन समीट’ मा मुख्य वक्ताको रुपमा आफ्नो अवधारणा प्रस्तुत गर्ने क्रममा अध्यक्ष ढकालले नेपाल र चीनबीच प्राचीन कालदेखि नै रहि आएको ऐतिहासिक र संस्कृतिक सम्बन्धको स्मरण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न नेपालमा दक्ष तालिम प्राप्त शिक्षित युवा जनशक्ति तयार हुँदै गएको बताए । काठमाडौंको दक्षिण पश्चिम पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष समेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको बताउदै माउन्ट एभेरेस्ट, उच्च हिमसृङ्खला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको बताए । यस्ता प्रचुर सम्भावना नेपालको अन्य क्षेत्रमा पनि विद्यमान रहेको भन्दै ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरे । नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न नेपालको नीजि क्षेत्र सवैसँग सदैव सहकार्य गर्न तयार रहेको कुरा दोहोर्याउँदै अध्यक्ष ढकालले प्रशस्त रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिए । नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकहरूको संख्यामा वृद्वि हुँदै गएकोमा प्रशन्नता ब्यक्त गर्दै दुई विशाल छिमेकी मित्रराष्ट्रहरूको सद्भाव र सहयोगको लाभ नेपालको आर्थिक रुपान्तरणमा सदुपयोग गर्न नेपाली नीजि क्षेत्र तयार रहेको जानकारी दिए । उक्त सत्रमा चिनीया र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका र प्रतिनिधि सहित करिव एक सय जनाको सहभागिता रहेको थियो ।
दुई अर्ब लगानीमा राजधानीमा मनोरञ्जन पार्क बनाउने तयारी, दुर्इ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । संसारका सबै ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । सिंगापुर, थाईल्याण्ड, लण्डन, फ्रान्स, दुबई जहाँ गयो त्यहाँ भव्य र मनमोहक मनोरञ्जनस्थल पाइन्छन् । कहिँ सरकारले बनाएको छ,कहिँ निजी क्षेत्रको लगानीमा बनेका छन् । नेपालको राजधानी र मुख्य शहर काठमाडौंमा एउटा पनि यस्तो मनोरञ्जन पार्क छैन, जहाँ परिवार लिएर ५/७ घण्टा रमाइलोसँग बिताउन सकियोस् । विदाको दिन परिवार लिएर घुम्न जाउँ न भन्यो भने कि सिनेमा हल कि रेष्टुरेन्ट । काठमाडौं फन भ्याली वर्षमा ६ महिना बन्द हुन्छ । हुप्पी ल्याण्डमा मनोरञ्जनको सीमित साधन छन् । केबुलकार चढ्न, उपत्यका र पहाडी क्षेत्रको दृष्यावलोकनको लागि चन्द्रागिरी नयाँ गन्तव्य बनेको छ । तर स्थायी, अस्थायी बसोबास गर्ने र विभिन्न कामले राजधानी आउने करिब ६५ लाख मानिसको चाहना पूर्ति गर्ने खालको मनोरञ्जनका साधनहरु सहितको पार्क छैन । यस्तो ठम्याई हो नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेस प्रालिका अध्यक्ष रमेशकुमार भट्टराईको । बैकिङ र बीमा क्षेत्रमा लामो समय काम गरेका भट्टराई पछिल्लो समय नयाँ व्यवसायमा केन्द्रीत भएका छन् । भन्छन्–‘काठमाडौंबासीको लागि सजिलै जानेआउने सुविधा भएको, परिवार, साथी सर्कलबीच रमाइलोसँग विदा मनाउन जाने भन्ने ठाउँ नै भएन । त्यसैले हामी आधुनिक सुविधायुक्त र सबै उमेर समूहले मनोरञ्जन लिन सक्ने पार्क बनाउने तयारीमा जुटेका छौं ।’ प्रस्ताविक पार्ककाे स्केज ‘तार्केश्वर नगरपालिकामा निजी स्वामित्वमा रहेको १०२ रोपनी जग्गा पाएका छौ । तर पाएसम्म सार्वजनिक जग्गा उपयुक्त हुन्छ भनेर खोजी गरिरहेका छौं’ उनी भन्छन्–‘राजधानीका विभिन्न नगरपालिकाका मेयरहरुसँग छलफल भईरहेको छ । मनोरञ्जन पार्क समाज विकासको महत्वपूर्ण सूचक पनि हो । रोजगारी पनि सिर्जना हुन्छ । नगरपालिकाको आम्दानी बढ्छ । त्यसैले जनप्रतिनिधिहरुबाट विभिन्न ठाउँमा जग्गाको प्रस्तावआएको छ । सर्वसाधारणलाई आउन जान सहज हुने क्षेत्रमा कम्तिमा १०० रोपनी जग्गा प्राप्ति पछि हामी काम थालि हाल्छौं ।’ कस्तो बनाउने पार्क ? प्रस्तावित याेजनामा फन पार्क, वाटर पार्क, चिल्ड्रेन पार्क, मिनि जु, अडल्ट इन्टरनेनमेन्ट पार्क हुनेछन् । त्यसभित्र रोलर कोस्टर, जम्पिङ सर्कल, ड्रागन कोस्टर, विग पेण्डुलम, डबल फ्लाइङ, विग वाटर फल, इलेक्ट्रिक ट्रेन, म्याजिककार, अक्टोपस राइड, कार्टुन ट्रेन, फ्लाइङ कार, स्नेइल अट्याकिङ, सेल्फ कन्ट्रोल प्लानेरट्रोरिङ, स्पाइरल जेट लगायतमनोरञ्जनका साधनपार्कमा राखिने उनले बताए । त्यस्तै, मिनिफिल्म हल, रिसोर्ट, मिटिङ हल, सेमिनार हल, रेष्टुरेन्ट राखिने छ । १२ वर्ष मुनीका, १३ देखि २५ वर्ष उमेरका, २६ देखि ३६ वर्ष उमेरका र ३६ देखि ५५ वर्ष उमेर समूहलाई लक्षित गरी फरक फरक कल्स्टरमा मनोरञ्जनका साधनहरु राखिने भट्टराईले बताए । मनोरञ्जनस्थलमा बालबालिका र युवायुवतीलाई बढी प्राथमिकता दिन्छौं । छोराछोरीलाई लैजादाबाबु आमालाई पनि मनोरञ्जन दिने साधनहरु हुने छन् । व्यवसायिक मिटिङ, सेमिनारका लागि विभिन्न साइजका हलहरु बनाइने छ । २ अर्ब लागत रमेशकुमार भट्टरार्इ[email protected] ‘जग्गा ३०/३५ वर्षको लागिलिजमा लिन्छौं । पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा काम गर्ने योजना छ’ भट्टराई भन्छन्–मनोरञ्जन पार्क निर्माणका लागि मलेसियन, चाइनिज र अमेरिकन ग्रुपले इच्छा राखेका छन् । उनीहरुले बाइ वा लिज अफर दिएका छन् । कुन मोडलमा जाने भनेर निर्णय भएको छैन’ उनले भने । परियोजनानिर्माण सम्पन्न गर्न करिव २ अर्ब लगानी हुने अनुमान गरिएको छ । ‘सेयर पुँजी १ अर्ब रुपैयाँ राख्छौं । ५० करोड रुपैयाँ लगानीको प्रतिवद्धता आईसकेको छ । थप एक अर्ब रुपैयाँ बैंकबाट ऋण लिन सकिन्छ’ पूर्व बैंकर्स भट्टराईले वित्तीय योजना सुनाए । ‘परियोजनाको प्रारम्भिक तयारी नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेसले गरेको छ । जमिनको टुङगो लागेपछि नयाँ कम्पनी दर्ता गरी निर्माण प्रक्रिया तत्काल थालिने छ’ भट्टराइ भन्छन्-‘दुर्इ वर्षमा याे परियाेजना निर्माण सम्पन्न गर्छाै ।
रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शैली पुनर्विचार गर्न निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्निविचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका प्रतिनिधिहरुको उपस्थितमा मंगलबार भएको बैठकले मन्दिरको शैलीमा पुनर्विचार गर्न निर्देशन दिएको हो । ‘रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्बन्धमा काठमाडौं महानगरपालिकाद्धारा गत मिति २०७४/०९/१३ मा गठन गरेको विशेषज्ञ समिति तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट मिति २०७५/७/१८ मा गठन गरिएको विज्ञ समितिबाट प्राप्त प्रतिवेदनहरुले उक्त मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न सुझाव दिएको हुँदा उल्लेखित प्रतिवेदनहरुलाई समेत आधार मानी पहिलेको गुम्बज शैलीमा पुनर्विचार गरी आवश्यक कार्य अघि बढाउन पुरातत्व विभागलाई निर्देशन दिने’- बैठकको निर्णयमा उल्लेख गरिएको छ । बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने कि ग्रन्थकुट शैलीमा बनाउने भन्ने विवाद थियो । पुरातत्व विभागले गुम्जब शैलीमा निर्माण थाले पनि विवादका कारण बीचमै रोकिएको थियो । बैठकले रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर र पोखरीको पुनर्निर्माण कार्यमा आवश्यक समन्वय, सहजीकरण र अनुगमनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयोजनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं, महानगरपालिका एवं सम्बन्धित विज्ञहरुको समेत प्रतिनिधित्व रहने गरी रानीपोखरी पुनर्निर्माण समन्वय तथा अनुगमन समिति गठन गर्ने र यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवं काठमाडौं महानगरपालिकाले आवश्यक बजेटको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । पुरातत्व विभागका पूर्व महानर्दिशक विष्णुराज कार्की, सम्पदाविद् डा। सुदर्शनराज तिवारी, स्ट्रक्चरल ईन्जिनियर एवं प्राध्यापक डा। प्रेमनाथ मास्के, सहरी योजनाविद् एवं पूर्व महानिर्देशक सूर्यभक्त साँगाछे रहनु भएको विज्ञहरुको टोलीले सोमबार मात्रै ग्रन्थकुट शैलीमा मन्दिर निर्माणका लागि आधार सहितको प्रतिवेदन दिएको थियो । विज्ञहरुले ग्रन्थकुट शैलीबाट गुम्बज शैलीमा निर्माण गर्दा ग्रन्थकुट शैलीकै मन्दिरको भूईतलाको मन्दिरको नाप नक्सामा निर्माण गरिएको, ग्रन्थकुट शैलीमा निर्माण भएको काठ बन्धन तथा शिलाको संगार लगायतका भागहरु दुई पटक पुनर्निर्माण (गुम्बज शैलीमा) गर्दा पनि प्रयोग भएको, दुई पटक पुनः (गुम्बज शैलीमा) निर्माण गर्दा पनि गर्भगृहको गाह्रोको पर्खालको नाप नक्सा मल्लकालीन मन्दिरको नाप नक्सा अनुसार नै निर्माण भएको प्रतिवेदन दिएका थिए । यस्तै तत्कालीन वास्तुशास्त्र सम्मत भएको र बाह्य नाप ४ह चौडाई पर्खालको चौडाई १३ु०ू हुनु र पर्खालको मोटाइ ३ फिटर३ इन्च हुनुलाई पनि ग्रन्थकुट शैलीको आधार मानिएको छ । उल्लेखित प्रमाण र गर्भगृहको नाप नक्साको आधारमा यस ग्रन्थकुट मन्दिरको उचाई गर्भ गृहको सतहबाट गजुरको अमालकसम्मको ३९ फिट हो र गजुरको उचाई १३ इन्च समेत गरी कुल उचाई ५२ फिट हुने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा मन्दिरको जिर्णोद्धार गर्दा हाल प्रयोग भएको सिमेन्ट कंक्रिटको संरचना हटाई मल्लकालीन स्वरुप तथा निर्माण सामाग्री प्रयोग गरी निर्माण गर्ने, ग्रन्थकुट शैलीमा निर्माण गरिने मन्दिरको जग पुरानै सामग्री र विधिमा भारवहन क्षमता रहने गरी निर्माण गर्ने र जगको किसिम तथा अवस्था एकीन गर्न गर्भगृहको उत्तर दक्षिण वा पूर्व पश्चीम क्रस उत्खनन् गर्ने पनि उल्लेख छ । यसअघि गठन भएको विज्ञहरुको समितिले पनि बालगोपालेश्वरको मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सुझाव दिएको थियो । त्यसमा पुरातत्व विभागको असहमति रहेकाले विवाद बल्झिएको थियो । विवादलाई अन्त्य गर्नका लागि प्राधिकरणले विज्ञ विष्णुराज कार्की नै संयोजक रहनु भएको अर्को टोली बनाएको थियो । रानीपोखरी पुनर्निर्माण अन्तर्गत पोखरीको पुनर्निर्माण सम्बन्धमा काठमाडौं महानगरपालिकाद्वारा प्रस्तावित डिजाइन तथा यस सम्बन्धमा हाइड्रोलोजिष्ट तथा जियोलोजिष्टहरुको टिमले दिएको सुझावअनुसार रानीपोखरीको पिँधमा कालो माटो र बालुवा जस्ता निर्माण सामग्रीहरुको प्रयोग गरी निर्माण कार्य अघि बढाउने, पोखरीको वरिपरीको सबैभन्दा तल्लो खण्डमा कालोमाटोको प्रयोग गर्ने र सबैभन्दा बाहिरी भागमा ईँट्टाको क्ललेडिङ गर्ने र पोखरीको वरिपरिको फुटपाथमा सुर्खी मोर्टारको सट्टामा ढुंगाको धुलो प्रयोग गरिने भएको छ ।
सेयर बजारमा अनावश्यक चलखेल भए चुप लागेर बस्दैनौंः अर्थमन्त्री डा. खतिवडा
डा. युवराज खतिवडा, अर्थमन्त्री काठमाडौं । सेयर लगानीकर्ता साथीहरु जसको आशमा मुलुक चलिरहेको छ । बधाई छ नेप्सेलाई अनलाईन ट्रेडिङ शुरु गराउनु भएकोमा । शुरु शुरुमा यस्तै हुन्छ । हामीले अनलाईन कर संकलन गर्दा पनि यस्तै हुन्छ । प्लेयरहरु पनि तयार भैसकेका हुन्नन् । कर्मचारी पनि तयार भैसकेका हुन्नन् । पूर्वाधार पनि पुरै चलाउन सक्ने अवस्थामा हुन्न फेरी पनि काम अघि बढाउनै पर्छ । त्यो भनेको असल सुरुवात हो । असल सुरुवातका लागि नेप्से र त्यसमा सहयोग गर्ने नियामक निकायहरुलाई धन्यवाद दिन चाहान्छु । हामी ई गर्भमेन्टको कुरा गर्दैछौं । ई गर्भमेन्टको कुरा गर्ने हामीले सरकारको मात्रै होइन, बिजनेश सेक्टरको र वित्तीय क्षेत्रको पनि ई गर्भमेन्टमा जोड दिएका छौं । त्यसको एउटा कडी हो यो अनलाईन सेयर कारोबार । कुनै बेला हामीले डिम्याट शुरु गर्दा त्यसको परिभाषा बुझ्न पनि धेरै साथीहरुलाई गाह्रो भयो । म्याट भनेको गुन्द्रि र डि भनेको के हो भनेर बुझ्ने अवस्था थियो डिम्याटलाई । हामीले वित्तिय साक्षरताको त्यो अवस्थाबाट आएर अनलाइन कारोबारसम्मको फड्को मारेका छौं । अब वित्तीय साक्षरता सृजना गर्न यसले सहयोग गर्न छ । सरकारले पुँजी बजारको वृद्धि र विकासका लागि गरेका कुराहरु मैले धेरै वटा फोरमहरुमा भनिसकेको छु । आज पनि म दुई चार वटा कुराहरु भन्न चाहान्छु । बजारका पूर्वाधारहरुको विकास गर्नुछ । पूर्वाधार भनेका धेरै कुराहरुका अतिरिक्त अनलाईन कारोबार पनि हो । बजारमा किनेबेच हुने वित्तिय उपकरणहरुको बिबिधिकरण पनि हो । किनबेच हुने ठाउँहरुको विविधिकरण हो र किनबेच प्रक्रियाको विविधिकरण पनि हो । अनलाईन कारोबार आरम्भ हुनु भनेको बजारको किनबेच प्रक्रियाको विविधिकरण हो । ठाउँको बिबिधिकरण र प्रडक्टहरुको विविधिकरणका बारेमा हामी थप छलफल गर्दै अघि बढ्नुपर्ने भएको छ । पुँजी बजार भन्नाले धितोपत्र बजार, धितोपत्र बजार भन्नाले सेयर बजार, सेयर बजार भन्नाले बैंक तथा वित्तीय संस्थाको बजार, त्यो भनेको इक्वीटीको बजार भएको छ । त्यसभित्र पनि बढी करोबार हुने निश्चित बैंक तथा वित्तिय संस्थाहरुको दैनिक कारोबार भएको छ । बण्डको कुरा छैन् । अरु प्रकारका वित्तिय औजारहरुको कुरा पनि छैन् । कमोडिटी मार्केटलाई व्यवस्थित गरिसकिएको छैन् । यस्ता धेरै कुराहरु सरकारले गर्नुपर्ने एजेण्डाका रुपमा रहेका छन् । एक्टरहरु थप्दै जाने कुरामा म्युचुअल फण्ड अघि बढाएका थियौं । तर त्यसले जति शसक्त रुप लिनुपर्ने हो त्यो लिन सकिरहेको छैन । भेञ्चर क्यापिटल र प्राइभेट ईक्वीटी, हेज फण्डका कुराहरु केहि अघि बढेका छन् । नियामावलीहरु बनिरहेका छन्, ती केहि समयभित्रै कार्यान्वयनमा आउँछन् । हामीले केहि संस्थागत सुधारका कामहरु पनि गर्नुपर्ने अवस्था छ । नेप्से एउटा स्वायत्त संस्थाका रुपमा अघि बढोस् । स्वायत्त ढंगले काम गरोस् । स्वार्थ बाझिने किसिमका कामहरु नहोउन् । यति गरिसकेपछि पनि हामीले अर्काे केहि कुराबारे सोच्नै पर्ने अवस्था छ । अघि यहाँ पनि कुरा उठ्यो । संस्थागत लगानीकर्ता आएनन् भनेर । केहि संस्थागत लगानीकर्ताहरुलाई मैले भनिसकेको छु, तपाईहरु सेयर बजारमा पनि लगानी गर्नुस् भनेर । अलिकति चासो देखाउनुस भनेर । अब अहिले सुरक्षित ११ प्रतिशतसम्म ब्याजमा निक्षेप पाएपछि दायाँ बायाँ हेर्ने उहाँहरुको त्यति मन छ जस्तो लाग्दैन । तर यो अवस्था अब लामो समयसम्म रहँदैन् । हामी कहाँ हरेक कुराको सिजनालीटी हुन्छ । तरलताको पनि सिजनालीटी भएको हो । पानी, दुधको पनि सिजनालीटी हुन्छ । तरकारीको भाउको पनि सिजनालीटी हुन्छ । धेरै सिजनालीटी हुन्छ जसमध्ये तरलताको पनि सिजनालीटी मात्रै भएको हो भन्ने अनुरोध गर्दछु । लगानीकर्तालाई आफ्नो पोर्टफोलियोमा सदुपयोग गर्नुस् भनेर संस्थागत लगानीकर्ता र वचत परिचालन गर्ने गैर बैंकिङ वित्तिय संस्थाहरुलाई अनुरोध गर्न चहान्छु । खास गरि ब्रोकर सर्भिसलाई हामीले व्यवस्थित गर्ने क्रममा बैंकिङ प्रणाली मार्फत नै सेटलमेन्ट हुने कुरालाई हामीले तत्कालै अघि बढाउनुपर्छ भन्ने महशुस गरेका छौं । त्यस्तो पूर्वाधारका बारेमा पनि हामीले थप छलफल गर्नुपर्ने महशुस गरेका छौं । बजेटबाट हामीले केहि कुरा गर्न खोजेका छौं । पुँजीगत लाभकरका सवालमा केहि दुबिधा थियो । त्यो पनि सिडिएस लागु हुनु भन्दा अघि लाभकर गणनाका सवालमा केहि असुबिधा थिए । रिफेरेन्स प्राईस नहुने, कारोबार रकम पनि निश्चित नहुने अवस्था थियो । सिडिएस अघिको अवधीलाई हामी गणना गरेर हामी छिट्टै निचोडमा पुग्दैछौं । हाम्रो तहमा मोटामोटी निर्णय भैसकेको छ । केहि दिनभित्रै कार्यान्वयन हुन्छ । पुँजीगत लाभकरका बिषयमा अब अन्यौल रहने छैन। अरु करका बिषयमा त हामीले बजेट मार्फत नै स्पष्ट पारिसकेका छौं, त्यसमा कुनै समस्या छैन। अब अहिलेको बजारको प्रवृत्ति र हाम्रो आर्थिक क्रियाकलापका सन्दर्भमा म केहि जोड्न चाहान्छु । केहि दिन अघि बिराटनगरमा एक जना व्यवसायीले मलाई सोध्नुभयो, आर्थिक वृद्धि राम्रो भैरहेको छ, सेयरको मूल्य किन नबढेको ? मैले यो प्रश्नको उत्तर लगानीकर्तालाई सोध्नुस् भनिरहेको छु । हाम्रो औद्योगीक उत्पादन बढ्दैछ । उद्योगहरु पूर्ण क्षमतामा चल्दैछन् । आर्थिक वृद्धि निरन्तर तेश्रो बर्ष उच्च दर कायम भैरहेको छ । हाम्रो अनुमान त ८ प्रतिशत हो तर दातृ निकायहरुकै अध्ययनले पनि ६ प्रतिशत कायम हुनेछ भनेका छन् । औद्योगीक उत्पादन राम्रो छ, बैंक तथा वित्तीय संस्थाहरुको मुनाफाहरुको स्थिति पनि राम्रो छ । रिनर्ट अन ईक्वीटीकै कुरा गर्ने हो भने त अलि फरक हो । अब हकप्रद सेयर पनि लिने, बोनस सेयर पनि लिने अनि रिटर्न अन ईक्वीटी पनि हिजो भन्दा राम्रो होस भन्ने हो भने त चाटर्डले भनिदिनु पर्यो । म अलि कुरा बुझ्दिन । सेयर लगानीकर्ताको वेल्थ क्रियसन(सम्पति बढेको) भएको छ । सम्पति बढेकै छ । त्यो म दावी नै गर्छु । सम्पति बढेको कुरालाई मैले सकारात्मक रुपमा लिएको छु । बैंकिङ सेवा व्यवसायहरु बढेका छन् । व्यवसायहरुको बिबिधिकरण बढेको छ । पर्यटन क्षेत्र विस्तारित हुँदै गएको छ । आर्थिक क्रियाकलापहरुमा भैरहेका विस्तारहरु सेयर बजारमा पनि प्रतिबिम्बित हुनुपर्दछ हाम्रो मान्यता यहि हो । धानकै मात्र उत्पादन बढेर सेयरको मूल्य किन बढेन भन्नु गलत होला । तर सेयरसँग सम्बन्धित व्यवसायहरुकै वृद्धि भैरहँदा पनि सेयर बजार नबढ्नु चाँही राम्रो होइन । सेयरसँग योगदान दिने कम्पनीको सुधार, मुनाफा वृद्धि हुँदा सेयर बजारसँग पनि सम्बन्ध हुनुपर्छ । त्यो सम्बन्ध तल माथी हुन थाल्यो भने अर्थमन्त्रालय र नियामक निकायहरुले हेर्छन् । बजारका प्लेयरहरु स्वस्थ भएनन् की ? बजारको संरचना स्वस्थ भएन की ? बजारको सूचना प्रणाली ठिक भएन की ? सूचना लिने र दिनेहरुका बीचमा पनि सम्वाद भएन की ? या कुनै एक किसिमले तत्कालिन सट्टेवाजीको प्रवृत्ति पो अघि बढ्यो की ? बजारलाई अलि अर्कै प्रकारले प्रभाव पार्ने बिषय पो हुन थाल्यो की ? भनेर हामी अलिकति कान ठाडो पार्छाै । त्यो बेला तपाईहरुले बीचबीचमा हामीलाई झकझक्याई दिनु होला । अघि एक जनाले साथीले भन्नुभयो, ओपन हाउस क्राईबाट हामी अनलाईन कारोबारमा पुग्यौं भनेर । त्यो ओपन हाउस क्राई चाँही स्क्रिन वा पर्दा तिर नहेरेर बोर्ड तिर हेरेर गरिन्थ्यो । अहिले ओपन आउट क्राई चाँही मूल्य तलमाथी भयो की अर्थमन्त्रालय तिर हेर्न थालियो । त्यसो नगरि दिनु होला, ओपन आउट क्राई पनि बोर्ड तिरै हेरेर गर्ने हो अर्थमन्त्रालय तिर होइन । सेयर बजारको समस्या नजिकबाट सुन्ने र बुझ्नेहरुमध्ये म पनि पर्छु । यी सबै समस्याहरुको समाधान हामी सँगै बसेर गर्ने हो । वित्तीय विश्लेषण गरेर लगानी गर्नु होला । तिहारको शुभकामना त छदैँ छ, साथमा लक्ष्मी पुजासँगै कम्पनीको बासलात हेरेर, नाफा नोक्सान हेरेर, प्रोफाइल हेरेर लगानी गरौं । लक्ष्मी पुजाले श्रद्धा त हुन्छ तर सेयरको मूल्य वृद्धि हुँदैन। लक्ष्मीले लगानीकर्तालाई साथ दिउन । लगानीकर्ताहरुको वेल्थ क्रियसन भयो भने मुलुकको वेल्थ क्रियसन हुन्छ । त्यसपछि पुँजीगत लाभकर लगाउन पाउँछौं पनि (अनलाईन सेयर कारोबार आरम्भ कार्यक्रममा व्यक्त गरेको विचार )