विकासन्युज

दाजले महामारी रुप लिँदै, सस्तो मल्हमको प्रयोगले थप समस्या

काठमाडौं। छालासम्बन्धी रोग दाज (छालामा रातो देखिने) ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने विशेषता रहेको दाज महामारीको रुपमा फैलिएको हो । छाला, यौन तथा कुष्ट रोग विशेषज्ञ डा योगेश पौड्यालले दाजको ‘स्टेर वाइड’ औषधिका कारण यसले महामारीको रुप लिन थालेको जानकारी दिए। उनले रोगबाट पीडितलाई यस्तो प्रकारको औषधि प्रयोग नगर्न सुझाव दिए। “मैले जाँच गरेका छालाका बिरामीमध्ये ७० प्रतिशतमा दाजको समस्या देखिएको छ”, डा पौड्यालले भने। उनले यस्ता सस्तो प्रकारको मल्हमले दाजको दाग हटाए पनि पूर्णरुपमा निको नहुने जानकारी दिँदै नङमा हुने सङ्क्रमणले पनि दाज फैलाउनमा सहयोग गरेको बताए। दाज, काछ, स्तनमुनि, काखी, नङलगायतका शरीरका विभिन्न स्थानमा आउने सरुवा रोग हो । डा पौड्यालले सो रोग लाग्न नदिन विशेष गरेर सरसफाइमा ध्यान दिन आग्रह गर्दै यो रोग छालामा लाग्ने ढुसीका कारण हुन्छ भने। उनले सोनाडर्म, क्वाडीडर्म, रिङगार्डलगायतका औषधिले दाजको रातोपना घटाउने काम मात्रै गरेको जानकारी दिँदै यस्तो खालको औषधिले शरीरको ढुसीसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर बनाउने तर्क गरे। डा पौड्याल भन्छन्, “यसले बिरामीलाई निको भयो भन्ने भान हुन्छ र पूर्णरुपमा निको नभएकाले पुनःछाला चिलाउन शुरु हुन्छ तर पुनःराम्रो औषधिले पनि काम नगर्न सक्छ ।” ‘स्टेर वाइड’ औषधि प्रयोगमा नल्याउन दाजका बिरामीलाई आग्रह गर्दै उनले यसको उपचार महङ्गो भएकालेसमेत महामारीको रुप लिएको बताए। दाज छालाको माथिल्लो तहमा च्याउ जस्तै भएर बसेको एक प्रकारको जीवाणु हो । यो तलसम्म जाँदैन माथिमाथि बसेको हुन्छ । छालामा एक प्रकारको प्रोटिन हुन्छ त्यो खाएर बसेको हुन्छ । छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा पौड्यालले सरसफाइको चेतना र ‘स्टेर वाइड’ औषधिको प्रयोग नगरेर दाज पूर्णरुपमा निको हुने उल्लेख गर्दै ‘स्टेर वाइड’ औषधि नभएको भए महामारीको रुप आउँदैनथ्यो भन्छन्। तापक्रम बढी भएको ठाउँमा ढुसी लाग्ने र त्यसबाट दाजले आफ्नो आकार लिने र गर्मी महीनामा पसिना आउने कारणले पनि फोहर भएर दाज आएको बताइएको छ । दाजका लागि माछा वा मासु खान कुनै समस्या रहने छैन । डा पौड्यालले दाजको विरामीलाई ‘एन्टिफङ्गल’ औषधि कम्तीमा १५ दिनदेखि तीन महीनासम्म खान वा लगाउन आवश्यक हुने बताए। रासस

भारतको आन्तरिक समस्याका कारण छ महिनादेखि देशमा टिटी खोपको अभाव

काठमाडौं। दुर्घटना, फलाम या खिया लागेको सामानले चोट पुर्याउँदा तथा जनावरले टोकेमा टिटानस ब्याक्टेरिया मार्न २४ घण्टाभित्रै लगाउनुपर्ने टिटानसविरुद्धको भ्याक्सिन हाल देशभरि नै अभाव भएको छ । करीब छ महीना बित्दा पनि भ्याक्सिनको सहज आपूर्ति हुन सकेको छैन । भारतको आन्तरिक समस्याका कारण यसको आयात हुन नसकेको औषधि व्यवस्था विभागले जनाएको छ । टिटानस रोगविरुद्धको भ्याक्सिन (टिटी खोप)को वैकल्पिक व्यवस्था नहुँदा सयौैँ बिरामी प्रभावित हुन पुगेका छन् । सरकारी तवरबाट अन्य धेरै खोपको निःशुल्क व्यवस्था भए पनि टिटीको भने भ्याक्सिन आपूर्तिको व्यवस्था छैन । अहिले नेपालमा मागको १० प्रतिशत पनि भ्याक्सिन आयात हुन सकेको छैन । औषधि व्यवस्था विभागसँग खपतको यकिन तथ्याङ्क नरहेपछि निजी वितरकका अनुसार मासिक करीब दुई लाख ४० हजार एम्पुल भ्याक्सिन खपत हुने अनुमान छ । काठमाडाैं विभिन्न औषधि पसलमा स्थलगत रिपाेर्टिङका क्रममा पुग्दा केही पसलमा पुरानो मौज्दात भ्याक्सिन भए पनि अधिकांश औषधि पसल तथा फार्मेसीमा भ्याक्सिन थिएन । काठमाडौँको त्रिपुरेश्वर, थापाथली, मैतीदेवी, पुतलीसडकका सात औषधि पसलमा पुग्दा पाँच पसलमा खोप नआएको महीनौँ भएको पाइयो । तिहारअघि नर्भिक अस्पतालमा भ्याक्सिन नआएको महीना नाघेको थियो । देशका अन्य जिल्लामा समेत समस्या कायमै छ । काठमाडौँ पोलिक्लिनिक थापाथलीका सञ्चालक पङ्कज मेहता टिटी जस्तो महत्वपूर्ण भ्याक्सिन नहुनु दुर्भाग्य हो भन्छन्। लामो समयदेखि थोक बजारमै भ्याक्सिन नभएको मेहताले बताए। निम्स फार्मेसी, थापाथलीका राजु श्रेष्ठ तीन महीनादेखि भ्याक्सिन सकिएको बताउँछन्। औषधि व्यवस्था विभागका अनुसार करीब छ महीनादेखि नै टिटी खोपको अभाव छ । भारतबाट नेपालमा भ्याक्सिन निर्यात गर्ने कम्पनी र भारत सरकारसँगको मूल्य निर्धारणमा भएको समस्याले नेपालमा भ्याक्सिन अभाव भएको हो । “अभाव भएको छ महीना भयो, हामीलाई खबर आएको भने एक महीना भयो, त्यसपछि हामीले अहिले छिटो आयात गर्न पहल गरिरहेका छौँ ।” विभागका सूचना अधिकारी सन्तोष केसी भन्छन्, “विभागले बजारमा औषधि र औषधिजन्य पदार्थको नियमन गर्ने काम गर्दछ । उनका अनुसार केही अत्यावश्यक भनिएका ठाउँमा आएको भ्याक्सिन पठाउने गरिएको छ ।” बजारमा भ्याक्सिन अभाव भएको छ महीना हुँदासमेत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी भने बजारमा भ्याक्सिन अभाव भएको भन्नेबारेमा जानकारी नभएको प्रतिक्रिया दिन्छन्। भारतको सेरम इन्स्टिच्युट र बायोलोजिकल इन्भान्स कम्पनीले नेपालमा टिटी भ्याक्सिनको आपूर्ति गर्दै आएको छ । इन्भान्स कम्पनीबाट आयात गरेर मेडी सेल्सले र सेरमबाट आयात गरेर श्रीओम ब्रदर्शले नेपालमा भ्याक्सिन वितरण गर्दै आएको छ । मेडी सेल्सका प्रोप्राइटर श्रीबिन्दु राजभण्डारी भारतको कम्पनी पुनःनिर्माणमा रहेकाले भ्याक्सिन आपूर्ति गर्न नसकेको भन्दै मागको १० प्रतिशत पनि आपूर्ति हुन नसकेको बताउँछन्। केही आपूर्ति हुन थालेकाले अब भने वितरण सहज हुने आशा वितरकको छ । “हामीले ५०० प्याकेट (प्रतिप्याकेट दुई हजार ४०० एम्पुल) मगाउँछौँ, कम्पनीले जम्मा ५० प्याकेट पठाउँछ, अनि कसरी नेपालमा भ्याक्सिन सहज हुने”, राजभण्डारीले भने। यता सेरम इन्स्टिच्युटको नेपालस्थित आधिकारिक बिक्रेता श्रीओम ब्रदर्सका व्यवस्थापक सुवास अधिकारी भारत सरकारले मूल्य निर्धारण गरेपछि उक्त मूल्यमा घाटा लाग्ने भएकाले सेरमले उत्पादन नै नगरेको जानकारी आएको बताउँछन्। भारतको आन्तरिक समस्याले गर्दा अहिले शून्य दशमलव पाँच एमएलको भ्याक्सिन भने आएको छैन । अन्य ५०० एमएलको भने आइरहेको अधिकारी बताउँछन्। उनले यसको विकल्पका रुपमा टिडी (टिटानस डिप्थेरिया) भ्याक्सिन विकल्पका रुपमा प्रयोग गर्न सकिने बताए। नेपाल सरकार स्वास्थ्य सेवा विभागले अहिले गर्भवती आमा र बच्चाका लागि भनेर टिडी भ्याक्सिन दिन थालेको करीब चार वर्ष भयो । त्यसयता सरकारी तवरमा टिटी खोपको आपूर्ति भएको छैन । आमा र बच्चा दुवैका लागि भनेर टिडी वितरण भइरहेको विभागको आपूर्ति व्यवस्थापन शाखाअन्तर्गतको फार्मेसी अधिकृत बडेबाबु थापा बताउँछन्। यो धनुष्टङ्कार र भ्यागुते रोगविरुद्धको भ्याक्सिन हो । थापाका अनुसार सरकारी तवरबाट अहिले टिटी भ्याक्सिनको आपूर्ति बन्द छ । शाखाले अहिले बिसिजी, डिपिटी, ओपिभी, दादुरा, रुवेलाविरुद्धको भ्याक्सिन, टिडी, जेइ, पिसिभी, आइपिभी खोप आपूर्ति गर्दै आएको छ । तर अत्यावश्यक मानिने टिटानसविरुद्धको भ्याक्सिन भने निजी कम्पनीको भरपर्नुपर्ने बाध्यता छ । सो विषयमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा लोहनी आमा सुरक्षा कार्यक्रमअन्तर्गत टिटीको कुनै कार्यक्रम नभएकाले सरकारी तवरबाट वितरण नभएको बताउँछन्। यसको सट्टामा टिटी भ्याक्सिन सरकारले उपलब्ध गराएको उनको भनाइ छ। रासस

सिनर्जी फाइनान्सलाई आफुमा गाभ्दा वेष्ट फाइनान्सको यस्तो देखियो वित्तीय विवरण

काठमाडौं । सिनर्जी फाइनान्सलाई आफुमा गाभेपछि वेष्ट फाइनान्स कम्पनीको वित्तीय परिसूचकहरुमा भारी सुधार देखिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि वेष्टले सिनर्जीलाई आफूमा गाभेको थियो । ३ महिनाको अवधिमा बैंकको निक्षेप २ अर्ब ७ करोड बढाउँदा कुल निक्षेपमा करिब १० गुणाको सुधार देखिएको छ । गत असार मसान्तमा सिनर्जी फाइनान्सको कुल निक्षेप २ अर्ब २ करोड थियो । उक्त समयमा फाइनान्सले १ अर्ब ७१ करोडले कर्जा प्रवाह गरेको देखिँदा त्यसमा सिनर्जी फाइनान्सको हिस्सा करिब शत प्रतिशत रहेको देखिन्छ । समस्याग्रस्त अवस्थाबाट माथि उठेको फाइनान्सले एक वर्षको अवधिमा आफ्नो निष्क्रिय कर्जा अनुपातलाई ८३.८८ प्रतिशतबाट झारेर २०.५० प्रतिशत कायम गरेको छ । बैंकको कुल कोष लागत १०.२७ प्रतिशत, सीसीडी अनुपात ७१.७८ प्रतिशत छ ।

प्राइममा विलय हुन लागेको ओम डेभलपमेन्ट बैंकको बढायो १३२ प्रतिशत नाफा

काठमाडौं । प्राइम कमर्शियल बैंकमा विलयका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा १३२ प्रतिशतले बढाएर ८ करोड ६८ लाख पुर्याएको छ । बैंकले अघिल्लो वर्षको सोही समयमा ३ करोड ७४ लाखमात्र खुद नाफा कमाएको थियो । बैंकले यस आवको पहिलो त्रैमासमा गरेको नाफा प्रतिशेयर १३.८१ रुपैंया हो । अघिल्लो वर्ष ९.११ रुपैंया प्रतिशेयर आम्दानी रहेको बैंकले नाफामा भारी वृद्धि गरे पनि पुँजी वृद्धिका कारण सोही अनुपातमा प्रतिशेयर आम्दानी नबढेको हो । एक वर्षको अवधिमा बैंकले चुक्ता पुँजी १ अर्ब ६४ करोडबाट बढाएर २ अर्ब ५१ करोड पुर्याएको छ । उक्त अवधिमा बैंकले निक्षेप संकलनतर्फ ४ अर्ब ७६ करोड वृद्धि गर्दा कर्जा प्रवाह ४ अर्ब ७७ करोडले बढाएको छ । यसो गर्दा बैंकको कर्जा निक्षेप अनुपात ७५.२७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष ब्याज स्प्रेडदर ४.८९ प्रतिशत रहेको बैंकले यो दर ५.९१ प्रतिशत पुर्याउँदा खुद ब्याज आम्दानीमा ९ करोड २५ लाख बढाएको छ । आम्दानीसँगै बैंकको सञ्चालन खर्चमा समेत ५७ प्रतिशतले बढाउँदै २ करोड ९५ करोड पुर्याएको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १६.२७ प्रतिशत, निष्क्रिय कर्जा अनुपात, लगानी कोषको लागत ८.६९ प्रतिशत, आधार ब्याजदर ११.९८ प्रतिशत, मूल्य आम्दानी अनुपात १४.२७ गुणा र प्रारम्भिक पुँजीको प्रतिफल १०.६३ प्रतिशत छ ।

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लविङ, बुद्ध एयरकाे नयाँदिल्ली उडानमा समस्या

राँझा । नेपालगञ्जस्थित राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्न स्थानीयस्तरबाट पहल शुरु भएको छ । विमानस्थललाई आवश्यक पूर्वाधारसहितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल स्वीकृत गराउन र यहाँबाट भारतको नयाँदिल्ली हवाई उडान अनुमतिका लागि पहल गर्न आइतबार स्थानीयस्तरमा छलफल भएको हो । छलफलमा विमानस्थल विस्तार र दिल्ली उडान अनुमतिका लागि प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्ने निर्णय भएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले जानकारी दिइन् । उक्त विमानस्थललाई विस्तार गर्दै भारतको दिल्लीसम्म उडान गर्नसके नेपालगञ्जको विकास हुने भएकाले यसमा जिल्लास्थित राजनीतिक दल, उद्योगी व्यापारीसमेत एकताबद्ध भएको छलफल आयोजक नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताए । क्षेत्रीय अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन उक्त विमानस्थललाई अन्तर्राष्ट्रिय उडानयोग्य विमानस्थलका रुपमा विस्तार गर्नुपर्ने नेकपाका जिल्ला नेता अकलबहादुर बमले बताए । उक्त विमानस्थलबाट भारतको नयाँदिल्ली उडान भर्नका लागि बुद्धएयरले अनुमति पाइसके पनि भारतीय पक्षबाट ‘स्लट’ व्यवस्थापनमा समस्या भएको जनाएकाले त्यसलाई हटाउन सङ्घीय सरकारसमक्ष स्थानीयस्तरबाट पहल गरिएको उनले जानकारी दिए । रासस

कंगारु एजुकेशन फेयर (अल नेपाल रोड शो पाँच शहरमा हुने

काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै कंगारु एजुकेशन फाउण्डेशनले देशका मुख्य ५ शहरमा बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । कंगारु एजुकेशन फेयर: अल नेपाल रोड शो नाम दिईएको उक्त मेला आगामी कात्तिक २९ गते बिहीबार पुर्व झापाको मुख्य शहर विर्तामोडबाट शुरु हुनेछ । कात्तिक ३० र मंसिर १ गते हुने दोश्रो मेला काठमाडौंको पुतली सडक स्थित कंगारु एजुकेशन फाउण्डेशनकै कार्यालय परिसरमा हुनेछ । यस्तै मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेला गरेर उक्त शो समापन हुनेछ । सबै स्थानका मेला संस्थाको आफ्नै कार्यालय परिसरमा हुनेछन् । मेलामा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २४ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु उपस्थित हुने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए । हामी सही सूचना र जानकारीको अभावका कारण नेपाली विद्यार्थीले भोग्नु पर्ने हैरानीको अन्त्य गर्न चाहन्छौं । यसका लागि जहाँ विद्यार्थी त्यहीँ जानकारी लिएर हामीले देशका मुख्य शहर केन्द्रित मेला आयोजना गर्न लागेका हौ प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले भने । विद्यार्थी अभिभावकलाई सही जानकारी दिन भन्दै काठमाडौंमा हुने शैक्षिक मेलाले देशका अन्य भागका ईच्छुक विद्यार्थीलाई समेट्न नसक्ने यथार्थताकै बीचमा हामीले काठमाडौं बाहिरका ती स्थानमा शाखा कार्यालय खोलेर सेवा प्रवाह गरिरहेका छौं । यसपटक हाम्रा ति विद्यार्थी र अभिभावकलाई चाहिने आवश्यक जानकारी लिएर उनीहरुकै सामु पुग्ने हाम्रो प्रयास हो । शैक्षिक मेलामा भाग लिन काठमाडौं सम्म आउँदा हुने समय र पैसाको लगानी र विद्यार्थी अभिभावकले बेहुर्ने पर्ने अन्य ब्यवस्थापकीय हैरानीबाट मुक्ति दिन यस पटक हरेक शहरमा विदेशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिलाई प्रत्यक्ष सहभागी गराउन लागिएको कंगारु एजुकेशन फाउण्डेशनका अध्यक्ष सुष्मिता पराजुलीले बताइन । मेलामा विद्यार्थीले आफू जान चाहेका देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, अधययनका बिषय, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी चासोका कुरा सम्बन्धित देशका कलेज प्रतिनिधिहरुबाटै जान्न सक्नेछन् । मेलामा सहभागी हुनेलाई पुरस्कार र पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था पनि गरिएको बताइएको छ । सही सूचना र जानकारी नपाएर कुनै एक जना नेपाली विद्यार्थी पनि ठगिन नपरोस्, शैक्षिक परामर्श क्षेत्रमा असल नियत राखेर कार्य गर्ने संस्थाहरु पनि छन् भन्ने मान्यता विस्तार गर्नु नै कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो को मुख्य ध्येय रहेको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू गाेप्य, सूचना सार्वजनिक गर्न नयाँ प्रबन्ध गरिने

काठमाडौ । दुर्इ सातापछि बसेकाे  मन्त्रिपरिषद्को बैठकले दीर्घकालिन महत्वकाे निर्णयहरू गरेकाे छ तर ती सबै निर्णयहरू गाेप्य राखिएका छन् । अाइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा धेरै विषयमा छलफल भई महत्वपूर्ण निर्णयहरु गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताएका छन् । ती निर्णय उनले सार्वजनिक गर्न चाहेनन् । ‘अाजकाे बैठकमा केही महत्वपूर्ण निर्णयहरू भएका छन्, केही नयाँ प्रबन्धसहित उचित समयमा सार्वजनिक गरिन्छ’ उनले भने-‘तपाईंहरुले समयक्रममा विस्तृतमा थाहा पाउनु हुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ ।’ मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकामा आज विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्धको तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ्य भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।

फेसबुकका मार्क जुकरवर्गलाई कार्यकारी प्रमुखबाट हटाउने प्रयास, अमेरिकी निर्वाचनको चलखेलकाे अाशंका

एजेन्सी । बेलायतको संसदीय निर्वाचनमा आफ्नो डाटा दुरुपयोग गरेर चुनावी परिणाम प्रभाव पार्न सघाएको आरोपमा अमेरिकी संसदको कठघरामा उभ्याइएका सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई कार्यकारी प्रमुखबाट हटाउने सम्बन्धमा फेरि चर्चा सुरु भएको छ । अमेरिकी संसदीय निर्वाचनको क्रममा उनको बहिर्गमनको चर्चा उत्कर्षमा पुगेको हो । फेसबुकमा जुकवर्गको ६० प्रतिशत शेयर स्वामित्व छ भने बाँकी ४० प्रतिशत शेयर अन्य विभिन्न संस्थाहरुको नाममा छ । ४० प्रतिशत शेयर स्वामित्व भएका ती शेयरधनीहरु जुकरवर्गलाई हटाउन एकजुट भए पनि जुकरवर्ग भने उक्त पद छाड्न तयार छैनन् । गत अप्रिलमा अमेरिकी सिनेटमा उनले आफ्नो कम्पनी प्रयोगकर्ताको डाटा सुरक्षित गर्ने विषयमा केही चुके पनि सो भुल सुधार अक्ष्यम्य नभएके र सो भूल सुधार गर्न आफू अग्रसर भएको बताएका थिए । तर अमेरिकी सिनेटको तल्लो सदनको निर्वाचनको समयमा उनको राजीनामाको विषयलाई चर्चामा ल्याइएको छ । विश्लेषकहरुले भने यो विषय चर्चामा आउँदा अमेरिकी निर्वाचनमा फेसबुकको दुरुपयोग रोक्न सकिने भन्दै सम्बन्धित पक्षले त्यसलाई चर्चामा ल्याएको दाबी गरेका छन् । उनीहरुका अनुसार जसरी सिनेटका नयाँ सदस्यहरु संसदमा प्रवेश गर्नेछन्, यो विषय सुस्ताउनेछ । त्यसो त पुँजीवादी अर्थव्यवस्थालाई अँगालेको अमेरिकी भूमिमा बहुमत शेयर स्वामित्व रहेको जुकरवर्गलाई हटाउन सजिलो भने छैन ।