विकासन्युज

अब अन्य चाडपर्वमा पनि नयाँ नोट सटही सुविधा, राष्ट्र बैंकको विभिन्न ८ कार्यालयबाट साट्न सकिने

काठमाडौं । नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको राष्ट्र बैंकले अब अन्य जातजाति तथा भाषाभाषीले मनाउने पर्वमा समेत नयाँ नोट सटही गर्ने भएको छ । मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीले मनाउने विभिन्न चाडपर्व तथा राष्ट्रिय दिवसमा पनि नयाँ नोट सटही सुविधा प्रदान गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार नववर्ष, उभौली पर्व, बुद्धजयन्ती, गाईजात्रा, गौरापर्व, हरितालिका, संविधान दिवस, गणतन्त्र दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ, फाल्गुनन्द जयन्ती, गुरु नानकजयन्ती, उधौली पर्व, योमरी पुन्हि(ज्यापु दिवस), क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्रि, फाल्गुपूर्णिमा, घोडेजात्रा, इद आदि राष्ट्रिय चाडपर्व तथा राष्ट्रिय दिवसमा नयाँ नोट सटही गर्न सकिने छ । नयाँ नोट काठमाडौँको थापाथलीस्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीलगायत कार्यालयबाट समेत नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । रासस

तनहुँको बन्दीपुरमा ‘बन्दीकापुर’ कृत्रिम ताल बन्ने, २ करोड ५० लाख खर्च गरिने

काठमाडौं । तनहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो । आपतकालीन पानीको भण्डारण, नौलो मौलिक ताल पार्क एवं बस्ती विस्तार गर्ने उद्देश्यसहित पार्क बनाउन लागिएको हो । बन्दीपुर गाउँपालिका–२ र ४, गैराबारीमा बन्ने ताल १५ रोपनी क्षेत्रफलमा फैलिनेछ । तालको नाम ‘बन्दीकापुर ताल’ राखिनेछ । ताल निर्माण गर्न बन्दीपुर गाउँपालिका–४ का अध्यक्ष हरेराम थापाको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिका अध्यक्ष थापाले ताल निर्माणका सम्बन्धमा बन्दीपुर घर भई हाल जिल्ला बाहिर रहेकासँग छलफल गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार लमजुङको बेँसीशहरमा कात्तिक ३० र चितवनमा मङ्सिर १ गते बन्दीपुरेसँग छलफल कार्यक्रम राखिएको छ । समितिले ताल निर्माणका लागि बन्दीपुरेसँग शेयर आह्वान गर्ने तयारीसमेत गरेको थापाले बताए । करीब रु दुई करोड ५० लाखको लागतमा बन्ने तालका लागि विभिन्न निकायबाट स्रोत जुटाइनेछ । ताल बनाउन शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको छ । तालको विसं २०६८ साउन ४ गते तत्कालीन उपराष्ट्रपति परमानन्द झाले शिलान्यास गर्नुभएको थियो । निर्माण शुरु भएको दुई वर्षभित्र ताल निर्माण सक्ने लक्ष्य लिइएको छ । सात रोपनी क्षेत्रफलको सार्वजनिक जग्गा र आठ रोपनी व्यक्तिको जग्गा अधिग्रहण गरी ताल निर्माण गर्न लागिएको समितिका पूर्वअध्यक्ष सुदर्शन प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा अधिग्रहण गर्ने कामसमेत शुरु भइसकेको छ । समितिले रु ११ लाखको लागतमा ५ आना जग्गा खरिद गरिसकेको छ । उक्त रकम पनि समितिका सदस्यहरुबाटै उठाइएको उनले बताए । उक्त ताल वरिपरि होटलसमेत खोल्ने योजना बनाइएको छ । साथै तालमा पौडी प्रशिक्षण, डुङ्गा व्यवसायलगायत सञ्चालन गरिनेछ । तालमा पानीको व्यवस्था गर्न रानीवन र गुरुङ्चे डाँडामा ठूला–ठूला ट्याङ्की बनाइनेछ । महोत्सव तयारी अन्तिम चरणमा यही कत्तिक ३० देखि दमौलीमा शुरु हुन गइरहेको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको तयारी अघि बढाइएको छ । महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिए । रमाइलो मेलाको सामग्री जडान, स्टलको छाना राख्ने काम तीव्रसाथ भइरहेको छ । ‘प्रचारप्रसारका व्यानर, पम्प्लेट टाँस्ने काम अन्तिम चरणमा पुगेको छ । उनले भने, “प्रवेशद्वार पूर्व मुग्लिन पुल र पश्चिम दुलेगौँडामा व्यानर टाँगिसकिएको छ । जिल्लाका भिन्न भागमा पनि व्यानर र गेट निर्माण भइसकेको छ ।” परिषद आयोजना तथा विभिन्न जातीय सङ्गठनको सहआयोजनामा हुने महोत्सवमा विभिन्न प्रतियोगिता हुने बताइएको छ । महोत्सवलाई पृथकता दिन महोत्सव अवधिमा दोहोरी गीत प्रतियोगिता, व्याडमिन्टन र कराँते प्रतियोगिता हुने भएको परिषद्का सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापामगरले बताए । महोत्सवबाट हुने मुनाफाले आदिवासी जनजातिको सङ्ग्राहलय बनाउने मुख्य उद्देश्यअनुरुप महोत्सवको आयोजना गरिएको हो । महोत्सवमार्फत् जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने आयोजकको लक्ष्य छ । महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूनाग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको मिलाइएको छ । महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, आदिवासी जानकारीका स्टल, आदिवासी जनजाति सम्बन्धी पुस्तक प्रदर्शनी, कृषि उत्पादन बिक्री तथा प्रर्दशनका कक्ष, विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी तथा बिक्री, कम्पयुटर, सञ्चार, शैक्षिक प्रदर्शनी र बिक्री कक्षलगायतका गरी २३० कक्ष रहनेछन् । रासस

२८ कात्तिकदेखि १६ औं हस्तकला व्यापार मेला, ४५ जिल्लाका २ सय उत्पादन एकैै ठाउँमा

काठमाडौं । कात्तिक २८ गतेदेखि राजधानीको भृकुटीमण्डपमा १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगीता आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघ र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आयोजना गर्ने मेला मंसिर २ गतेसम्म सञ्चालन हुनेछ भने हस्तकला प्रतियोगीतामा देशभरका व्यवसायीहरुको सहभागीता रहनेछ । मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा बिक्रिका लागि राखिेन हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए । मेलामा हस्तकला बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गर्न १४ औं हस्तकला प्रतियोगिता समेत आयोजना गरिएको छ र यस बर्ष मैनको मुर्ति बनाउने र धाकाको कपडा बुनाई विषयलाई समेटिएको छ । नेपालमा हस्तकलाको बजार करिब १० अर्बको रहेको छ भने सोही मात्रामा निर्यात हुने गरेको छ । अमेरिका, युरोपियन मुलुकहरु, चीन, भारत लगायत अन्य मुलुकहरुमा २५ भन्दा बढि बिभिन्न प्रकारका हस्तकला बस्तुहरुको निर्यात भैरहेको छ । हस्तकला क्षेत्रमा झण्डै ११ लाख व्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरी रहेका छन् । मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्वर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य संघ, स्वच्छ व्यवसायी समूह नेपालले सहयोग गरेका छन् । मेलामा ४५ जिल्लाका २०० वटा भन्दा बढी स्टलहरु सहभागी हुनेछन् । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० वटा स्टलहरु रहनेछन् ।

लालबाबु राउत र शेरधनबीच भएकाे विभेद, वामपन्थी सरकारकाे प्रतिगामी दिशा

लालबाबु राउतले अमेरिका भ्रमणमा जान औपचारिक रुपमा मागेको प्रस्तावलाई अस्वीकार गर्ने मेरो देशको सरकारले शेरधन राईलाई मौखिक रुपमा जान अनुमति दिएछ । पुरानो मितिमा शेरधनलाई अमेरिका भ्रमणमा जान अनुमति दिइएको नयाँ निर्णय माइन्युट हुदैछ । एक बरिष्ठ मन्त्रीका अनुसार आइतवार रातीसम्म शेरधनको अमेरिका भ्रमण अनुमति स्वीकृत भएको छैन । शेरधन राई प्रदेश-१ र लाल बाबु राउत प्रदेश-२ का मुख्यमन्त्री हुन । शेरधनले कानुनको पालना गर्नु नपर्ने र लालबाबुले पालना गर्नु पर्ने यस्तो कानुन हामीले खोजेको हाेइन । हिमाल,पहाड,तराई मधेश जहाँ रहेपनि हामी नेपाली हौ । न हामीलाई हिमाली क्षेत्रमा बिभेद गरेको मन पर्छ न तराई मधेशमा बस्नेलाई बिभेद गरेको मन पर्छ । हामी समान व्यवहार चाहन्छौ । हुकुमी शासन अन्त्य गर्न र गणतन्त्र प्राप्तिका लागि संघर्ष गरिएको हो । हामीले खोजेको कानुनी शासन हो, हुकुमी शासन होइन । बामपन्थी सरकारमा बस्नेहरुको दम्भ र घमण्ड बढदै जाँदा मुलुक फेरी प्रतिगमनको दिशामा जाने खतरा रहन्छ त्यसका लागि पछिल्लो उदाहरण ब्राजिललाई पढेपुग्छ । ज्ञानेन्द्रको शासनमा पेशाबाट विस्थापित गराउने प्रयास गरिएको मध्ये एक हुनुको नाताले गणतन्त्रलाई धराशाही बनाउने गरी दम्भ र घमण्ड प्रदर्शन नगर्न र कसैलाई पनि बिभेद नगर्न बिनम्र अनुरोध गर्दछु । (सापकाेटा पत्रकार हुन्)

अब महालक्ष्मी विकास बैंकबाटै सूर्य लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब महालक्ष्मी विकास बैंक लिमिटेड बाटै सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा पाइने भएको छ । बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने उद्देश्यले सूर्य लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको हो । उक्त सम्झौतामा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्य लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ रहको छ । बैंकले हालसम्म २६ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सौराहालाई केन्द्रविन्दु बनाउने पर्यटकीय गुरुयोजना अन्तिम चरणमा

काठमाडौं। पर्यटकीय नगरी सौराहालाई केन्द्रविन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्लाका पर्यटकीय गन्तव्यस्थलहरूको विकास कार्यलाई गुरुयोजनामा समावेश गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले दुई वर्षअघि थालिएको गुरुयोजना निर्माणको काम फागुन ७ गते सार्वजनिक गर्ने तयारी गरिएको बताए। उनका अनुसार सौराहा आउने पर्यटकको बसाई लम्ब्याउने गरी पर्यटकीय पूर्वाधारको विकास गर्ने विषयमा गुरुयोजना केन्द्रित भएको छ । आउँदो ५, १०, १५ र २० वर्षमा के–कस्ता काम गर्ने भन्ने विषय गुरुयोजनामा समावेश गरिएको छ । क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालका अनुसार पर्यटन बोर्ड र क्षेत्रीय होटल सङ्घको संयुक्त लगानीमा करीब रु २० लाख खर्च गरेर गुरुयोजना निर्माण गरिएको हो । सो क्रममा विभिन्न सरोकारवाला निकायसँग विस्तृत छलफल गरिएको छ । गुरुयोजनामा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरिने पर्यटकीय गतिविधिको विस्तार, पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, पानीसँग सम्बन्धित क्रियाकलापको विकास, स्वदेशी र विदेशी क्षेत्रमा यहाँको पर्यटकीय महत्वको प्रचारप्रसारलगायतका विषय समावेश गरिएका छन् । माउण्टेन हेरिटेज प्रालिले गुरुयोजना निर्माणको काम गरिरहेको छ । प्रालिका विज्ञ विश्व सुवेदीका अनुसार सौराहा क्षेत्र शहरीकरण हुँदै गएकाले पर्यापर्यटनतर्फ लैजानुपर्ने गुरुयोजनामा उल्लेख छ । सौराहाका होटलमा प्रकृतिसँग मिल्दाजुल्दा एकै खालका रङ्ग प्रयोग गर्ने, हरियाली बढाउने जस्ता विषय गुरुयोजनामा उल्लेख छ । गुरुयोजनामा चितवनको प्रवेशद्वार सौराहालाई मानेर उकालो पदयात्राका लागि उपरदाङगढी, सिराइचुलीजस्ता पहाडी क्षेत्र, धार्मिक पर्यटनका लागि देवघाट, मौलाकालिका, कृषि र पर्यापर्यटनका लागि माडी क्षेत्र, सूर्याेदय र दुर्लभ वन्यजन्तु अवलोकनका लागि सौराहासँगै पटिहानी, जगतपुर र मेघौली क्षेत्रको विकास गर्नुपर्ने उल्लेख छ । सुवेदीले गुरुयोजनाअनुसार काम गर्न सकेमा चितवनमा पर्यटकको बसाई लम्बिने र यहाँको पर्यटकीय क्षेत्रको विकास हुने बताउनुभयो । हाल वार्षिक दुई लाख हाराहारी पर्यटक चितवन आउने गर्दछन् । यो सङ्ख्यालाई पाँच लाख पु¥याउने गरी गुरुयोजना निर्माण गरिएको छ । जिल्लामा १५० भन्दा बढी पर्यटकीय होटल रहेका छन् । तीमध्ये सौराहामा ११० रहेका छन् । पछिल्लो समय जिल्लामा होटल थप्ने क्रम बढ्दै गएको छ। रासस

सफ्टवेयरदेखि ट्वाइलेट यात्रामा बिल गेट्स, ६ बिलियन डलरको चर्पी बेच्ने योजना

काठमाडौं । विल गेट्सका लागि पछिल्लो समय ट्वाईलेट(चर्पी) एउटा गम्भीर व्यापार सावित भैरहेको छ । बिल गेट्स फाउण्डेसनले चर्पीमा नयाँ क्रान्ति गरेको छ जसले पानी र केमिकल बिनै चर्पीको मलमुत्रलाई निर्मलीकरण गरिदिन्छ । गेट्सले बेइजिङमा आयोजित रिइन्भेन्टिड ट्वाइलेट एक्स्पोको उद्घाटन गर्दै संसारका आधा भन्दा बढी मानिसहरु सुरक्षित चर्पीको पहुँच बाहिरै रहनु दुःखद भएको टिप्पणी गरे । उनले चर्पीको पहुँच भन्दा बाहिर रहेको बहुसंख्यक मानव जातिको हिस्सालाई नयाँ बजारका रुपमा उपयोग गर्ने रणनीति पनि सार्वजनिक गरे । गेट्सले भनेका छन्–‘मान्छेको थोरै मलमुत्रमा २०० ट्रिलियन रोटाभाइरस, २० बिलियन शिगेल्ला ब्याक्टेरिया र १ लाख गड्यौलाका अण्डा हुन्छन, यिनले मानव स्वास्थ्यमा ठूलै प्रभाव पार्छ ।’ बर्षेनी पाँच बर्ष मुनीका पाँच लाख बालबालिकाहरु कमजोर सरसफाईका कारण मृत्युको शिकार भैरहेको र त्यसको मूल्य २२३ बिलियन डलर पर्ने तथ्य पनि बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनलाई उदृत गर्दै रोयटर्सले लेखेको छ । गेट्सले ढलमार्फत जम्मा हुने मानव मलमुत्र र अन्य फोहरहरु शहर छेउ तथा नदि आसपासमा डम्पिङ हुने गरेको तर त्यसको निर्मलीकरणमा खासै ध्यान नदिँदा धेरै रोग फैलने गरेकोमा पनि विश्व समुदाय सचेत हुनुपर्ने बताएका छन् । नयाँ चर्पीहरु दक्षिण अफ्रिकाको दर्बान शहरमा परिक्षण भैरहेको पनि उनले जानकारी दिएका छन् । उनले सन २०३० सम्ममा चर्पीको बजार ६ बिलियन डलर पुर्याउने लक्ष्य समेत रहेका छन् । चर्पीको पहुँच नपुगेका गरिब देशका ग्रामिण वस्तीका अलवा भारतको मध्यम वर्ग र चीनको ग्रामिण क्षेत्र नै आफुले निर्माण गरेका चर्पीहरुका लागि पहिलो चरणको बजार भएको स्पष्ट पारेका छन् । विश्व स्वास्थ्य संगठनले पनि २७ प्रतिशत मानिसमा मात्रै चर्पीको पहुँच विस्तार भएको दावी गरेको छ । संसारमा १० जना मानिसमध्ये ३ जनामा मात्रै चर्पीको पहुँच पुगेको छ । गेट्स फाउण्डेसनले सन २०११ देखि नयाँ प्रविधीको चर्पीको विकासका लागि २०० मिलियन डलर खर्च गरिसकेको छ र गेट्सले थप २०० मिलियन डलर खर्च गर्ने सोच बनाएका छन् । गेट्सले आगामी ४ बर्षभित्र घरमा प्रयोग हुने चर्पीको लागत प्रति व्यक्ति प्रतिदिन ४ सेन्ट कायम हुने दाबी गरेका छन् । विश्व बैंक, एसियाली विकास बैंक, अफ्रिकन डेभलपमेन्ट बैंकले चर्पीको विकास र विस्तारका लागि २.५ बिलियन डलर लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।-एजेन्सीहरुको सहयोगमा

“नेताजीको भरपर्दो बात छैन, यिनको पनि गतिलो छाँट छैन”

“नेताजीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन । पर्छ रात अवश्य दिन बितेसी जनताको के वास्ता चुनाव जितेसी ।” गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा धेरैले मन लगाएर सुने । २०४५ सालमा १६ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका दुई छोरी, एक छोरा र एक श्रीमती छन् । परिवारको हातमुख जोड्न सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटबासीले पैसा र चामल दिँदा गन्धर्वको अनुहार खुसीले भरियो । देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको बताउँदै शेरबहादुर गन्धर्वले खाने गाँस र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्वहरू आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भई वैकल्पिक पेशा अपनाएको जानकारी दिए । कुनै दिन मुम्बई, गोरखपुर र कोलकाताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासुले बुहारी मारेको अनि फोकल्याण्डको टापुमा लड्दा लड्दै वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज फाट्टफुट्ट देखिन थालेका छन् । देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मङ्गला, बार्हमासा, सन्देश, धनसिरी, मल्लार, सरुमैरानी, कलाखलेनी, असारे लगायतका भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरू अहिले गरीबीकै कारण पेशा परिवर्तन गर्न बाध्य भएको उनको भनाइ थियो । ‘सारङगीको धुनमा घटनाक्रमहरूलाई सिलसिलेवार कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा सबैको आँखा रसाउँथे’ बगरफाँटका ७४ वर्षीय टेकबहादुर कार्कीले भने, ‘गीत सङ्गीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गाइने दाइका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।’ सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रहरूमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वहरू हिजोआज विकास निर्माण, जनप्रतिनिधि प्रतिको निराशा र सामाजिक वेथितिका गीतहरू समेत गाउन थालेका छन् । बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुम्न थालेपछि हो वा पुख्र्यौली पेशाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गन्धर्वहरू क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वहरूले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरूपलाई पनि परिवर्तन गरेका छन् । धेरै समयपछि बेनपा-२ बगरफाँटमा भेटिएका शेरबहादुरले पनि अरु कुनै सीप नभएकाले पुख्र्यौली पेशालाई अपनाउनु आफ्नो बाध्यता भएको दुखेसो पोखेका छन् । उनले सारङ्गीको धुनमा जनतामा व्याप्त निराशा र जनप्रतिनिधिहरूप्रतिको अपेक्षाका बारेमा र्याइँर्याइँ सारङ्गी रेट्दै तीतो यथार्थ व्यक्त गरे। गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको बरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुराहरूदेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शब्दमा जनताले बुझ्नेगरी व्यक्त गरेका थिए । सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइल जस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँघरमा गाइने खबरमुलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेका छन् । रासस