विकासन्युज

मन्त्री रबिन्द्र अधिकारीले ६३ लाख सम्पति लुकाएको खुलासा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले ६३ लाखको सम्पति लुकाएको खुलासा भएको छ । उनले पुष्पज्योति ढुंगानालार्इ व्यवसायिक साझेदार बनाएर विभिन्न व्यवसायमा सेयर लगानी गरेकाे खुलेकाे छ । नेकपाका युवा नेता तथा केन्द्रिय सदस्य समेत रहेका मन्त्री अधिकारीले सम्पति विवरण नखुलाएको ६३ लाख रुपैंयाँको सेयर फेला परेको हो । मन्त्रि अधिकारीले सार्वजनिक गरेको सम्पति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् मन्त्री अधिकारीले २०७४ चैत २५ गते सार्वजनिक गरेको सम्पति विवरणमा उनले सिक्लेस हाइड्रोपावर प्रालिमा रहेको ६३ हजार कित्ता संस्थापक सेयरको विवरण उल्लेख गरेका छैनन् । मन्त्री अधिकारीले गण्डकी विकास बैंकमा जग्गा बेचेको आम्दानी भनेर १५ लाख ७५ हजार नगद मौज्दात रहेको उल्लेख गरेका छन् । त्यस्तै, पारिश्रमिकबाट प्राप्त गरेको भन्दै ९ लाख ५० हजार रुपैंयाँ निक्षेप रहेको उल्लेख गरेका छन् । तर सिक्लेस हाइड्रोपावर प्रालीमा रहेको ६३ लाख रुपैंयाँ मूल्य पर्ने ६३ हजार कित्ता संस्थापक सेयर भने उल्लेख गरिएको छैन् । विकासन्युजलाई प्राप्त डकुमेन्टमा अधिकारीसँगै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी, व्यवसायी आनन्दराज बतास, पुष्पज्योति ढुंगाना लगायतसँग मिलेर सिक्लेसमा संस्थापक लगानी गरेको देखिन्छ । नेकपाका एक नेताले दिएको जानकारी अनुसार मन्त्री अधिकारी र पुष्पज्योति ढुंगाना व्यवासयिक साँझेदार हुन् । उनले ढुंगाना मार्फत नै विभिन्न परियोजनाहरुमा लगानी गर्दै आएका छन् । सुशासन र समृद्धिको नारा दिएका प्रधानमन्त्री केपी ओलीकै मन्त्रिपरिषदका एक चर्चित सदस्यले आफ्नो सम्पति विवरण लुकाएको देखिएपछि अब प्रधानमन्त्रीले के गर्छन् ? भन्ने प्रश्न उब्जिएको छ ।

लक्ष्मी लघुवित्तले २६ प्रतिशत नगद लाभांश दिने, मंसिर १९ गतेदेखि बुक क्लाेज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले सेयरधनीलाई असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको कर समेत सो मात्रा अर्थात ६ करोड ३६ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको वार्षिक साधारणसभा आगामी पुस १ गते बस्दै छ । सो प्रयोजनको लागि मंसिर १९ गतेदेखि पुस १ गतेसम्म संस्थाको बुक क्लोज रहने छ । हाल संस्थाको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ ।

 ओखलढुङ्गाको सामुदायिक अस्पताललाई मेगा बैंकले प्रदान गर्याे एइडि मेशिन 

काठमाडौं । मेगा बैंकले ओखलढुङ्गा सामदुायिक अस्पतालको लागि एइडि मेशिन हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरणनगरपालिका वडा नंं. ११ मा रहेको युनाइटेड मिशन टु नेपाललाई हस्तारन्तरण गरेको छ । मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, डिपोजिट प्रमुखजेनु थापा तथा ओखलढुङ्गा शाखाका कर्मचारीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सो अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई सो उपकरण हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा बोल्दै श्रेष्ठले ओखलढुङ्गा क्षेत्रमा मेगा बैंकिङ्ग कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्घिको लागि पनि निरन्तर लागिरहने प्रतिबद्घता व्यक्त गरेका छन् । नाजुक अवस्थामा अस्पताल पु¥याइएका बिरामीहरुको उपचारका क्रममा कृत्रिम श्वास प्रणालीबाट बिरामीहरुको मुटुको चालसंचालनमा ल्याई बिरामीहरुलाई पुनर्जीवन प्रदान गर्न सो उपकरणबाट महत्वपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ ।

जनता बैंककाे स्वतन्त्र संचालकमा सैंजु नियुक्त, बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको स्वतन्त्र संचालकमा मीनाकुमारी सैंजु नियुक्त भएकी छिन् । बैंकको हालै सम्पन्न संचालक समितिको बैठकले सैंजुलाई संचालकमा नियुक्त गरेको हो । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले सैंजु नियुक्त भएकै दिन पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । बैंकिङ क्षेत्रमा करिब ३० वर्षको अनुभव रहेको सैजु नेपाल बैंक लिमिटेडबाट वि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी थिइन् । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्ने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्त हुने कम्पनीको विश्वास रहेको छ ।

गैँडाकोटस्थित सहकारीबाट १२ करोड मुनाफा, नेपालमा पहिलो पटक एटीएम सेवा शुरु

काठमाडौं । दैनिक ५० पैसा बचत सङ्कलन गरी शुरु गरिएको गैँडाकोटको विकु बचत तथा ऋण सहकारी संस्थाले गत आवमा ११ करोड ८३ लाख नौ हजार ९६५ मुनाफा आर्जन गरेको छ । २०४८ साल भदौमा २६ शेयरधनीबाट शुरु भएको सहकारीले गत वर्ष कूल पूँजी तीन अर्ब ५३ करोड पुर्याएको छ । संस्थाका अध्यक्ष केशव सापकोटाका अनुसार सहकारीले दुई अर्ब ५६ करोड लगानी गरेको छ । निक्षेप रु दुई अर्ब ६५ करोड सङ्कलन गरेको सहकारीमा शेयरपूँजी मात्रै ३१ करोड ५० लाख पुगेको छ । ४५ हजार सदस्य रहेको उक्त संस्थाको मुख्य कार्यालय गैँडाकोटमा रहेको छ । ११ वटा सेवा केन्द्र रहेका सहकारीमा मानव संसाधन विभाग प्रमुख रामप्रसाद भुषालका अनुसार विभिन्न कोषमा मात्रै २७ करोड २५ लाख १० हजार रहेको छ जसमध्ये जगेडा कोषमा १३ करोड ३५ लाख रहेको जनाएका छन् । सहकारीले नेपालमै पहिलो पटक एटिएम सेवासमेत शुरु गरेको छ । भुषालका अनुसार सोही एटिएम कार्डबाट शेयरधनीले नेपाल, भारत र भूटानका बैंकहरुबाट पैसा निकाल्न पाउने भएका छन् । सहकारीले मिसकल, ट्याबलेट, स्मार्ट मोबाइल बैंकिङ, नगदरहित सेवा विस्तार गरिरहेको छ । अध्यक्ष सापकोटाका अनुसार जन्मदेखि मृत्युसम्म भन्ने नारालाई परिमार्जन गरी कोखदेखि चितासम्म भन्ने नारासाथ शेयरधनीलाई सेवा दिइरहेको जानकारी दिएका छन् । रासस

सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको मोबाइल एप सार्वजनिक

काठमाडौं । थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरणसहित सो एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताएका छन् । सो एपमा सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, वडा विवरण, महत्वपूर्ण स्थान र आपत्कालीन सम्पर्क नम्बरको पूर्ण विवरण राखिएको छ । गाउँपालिका अध्यक्ष राईले जो कोहीले भोगेको समस्या, गुनासो, गाउँपालिका वा जनप्रतिनिधिका बारेका सुझाव मोबाइल एपबाट नै दर्ता गर्न सकिने बताएका छन् । विश्वको जुनसुकै कुनाबाट पनि गाउँपालिकाका बारेमा आफ्नो धारणा राख्न सकिने भएको छ । सात गाउँपालिकामध्ये मोबाइल एप सार्वजानिक गर्नेमा थुलुङदूधकोशी पहिलो बनेको छ । सोलुदूधकुण्ड नगरपालिकाले भने केही महीनाअघि नै मोबाइल एप सार्वजनिक गरेको थियो । रासस

लमजुङको न्यादी जलविद्युत्को हेडरेस सुरुङ ब्रेक थ्रु गरिर्दै, छ अर्ब लागत लाग्ने अनुमान

काठमाडौं । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थ्रु गरिएको छ । प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका परियोजना व्यवस्थापक उत्तम अमात्यले आयोजनाको तीन दशमलव ८४ किलोमिटर मुख्य सुरुङ खन्ने काम सकिएको बताएका छन् । आयोजनामा सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिनेमा ६८ मिटर खनिएको छ । हाइड्रोमेकानिकल ठेकेदारले पाइप आयोजनास्थलमा ल्याउन शुरु गरेका छन् । विद्युत्गृहको जग हाल्ने काम सकिएको छ भने बाँध क्षेत्रको सिभिल संरचना निर्माणको २० प्रतिशत काम पूरा भएको छ । बाँध क्षेत्रमा ढलानको काम भइरहेको र विद्युत्गृहमा दुई पेलटन टर्वाइन राखिने छ भने यसको ३० प्रतिशत काम पूरा भएको आयोजनाले जानकारी दिएको छ । सर्ज ट्याङ्कको निर्माणकार्य सकिएको व्यवस्थापक अमात्यले बताएका छन् । विसं २०७३ चैत ३० देखि निर्माण शुरु गरिएको उक्त आयोजना २०७६ चैत २३ ९सन् २०२० अप्रिल ५० मा सक्ने सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको ५० प्रतिशत काम सकिएको छ । सम्झौता अवधिमै निर्माण सकिने लक्ष्यअनुसार २४सै घण्टा काम भइरहेको आयोजनाले जनाएको छ । उक्त आयोजना सम्पन्न गर्न छ अर्ब लागत अनुमान गरिएको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले (नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी) ऋण लगानी गरेका छन् । आयोजनाले मस्र्याङ्दी गाउँपालिका–३ खुदी टारीकुनासम्म १३२ केभीको साढे पाँच किमी प्रसारणलाइन निर्माण गर्ने कार्य थालेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणबाट खुदीको टारीकुनामा निर्माण हुने २२० केभी सवस्टेसन तथा प्रसारणलाइनको निर्माणकार्य गर्न बोलपत्र आह्वान भइसकेको आयोजनाले जनाएको छ । न्यादी जलविद्युत् आयोजनाले वैकल्पिक थप प्रसारणलाइनसमेत निर्माण गर्नेबारे नेपाल विद्युत् प्राधिकरणमा प्रस्ताव पेश गरिसकेको आयोजनाका प्रशासकीय अधिृकत वासुदेव गर्तौलाको भनाई रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुख्खायामका लागि रु ८.४० मा विद्युत् खरीद सम्झौता गरेको छ । आयोजनामा बुटवल पावर कम्पनीको ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनीको दुई दशमलव ७८ प्रतिशत लगानी रहनेछ । आयोजनाको निर्माण चिनियाँ कम्पनी चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले गरेको छ । नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ जनाएका छन् । रासस

आरएमडीसीको साझेदार लघुवित्तको वार्षिक गोष्ठी सम्पन्न

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले साझेदार लघुवित्त संस्थाहरुको सहभागितामा वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा प्रदेश नं २ र ३ मा अवस्थित १३ वटा साझेदार लघुवित्त संस्थाहरुका अध्यक्ष, संचालक सदस्य, कार्यकारी प्रमुख लगायत २३ जना उच्च पदाधिकारीहरुको सहभागीता रहेको थियो । उक्त गोष्ठीको सभापतित्व आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले गरेका थिए । कार्यक्रमको उद्घाटनमा गोष्ठीको संयोजक तथा आरएमडीसीका वरिष्ठ प्रवन्धक अन्नपूर्ण श्रेष्ठले सहभागीहरुलाई स्वागत  गरेका थिए । समीक्षा गोष्ठीले एक अर्कालाई चिन्ने, बुझ्ने र एक आपसमा अनुभव साटासाट गरी सिक्ने र सिकाउने अवसर दिँदै आएको संस्थाले जनाएकाे छ । साथै, यसले लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौती निराकरण गर्नमा ठुलो सहयोग पुर्याउने छ । उक्त समारोहमा आरएमडीसीका नायव प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले नेपालको लघुवित्त क्षेत्रको विकास र विस्तारमा आरएमडीसीको भुमिका प्रस्तुत गरेका थिए । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले कार्यक्रमको उपादेयता र यसबाट लघुवित्त क्षेत्रमा पार्ने सकारात्मक प्रभाव वारे उल्लेख गरेका थिए । कार्यक्रममा सबै सहभागी संस्थाहरुका प्रतिनिधीहरुले आफ्नो संस्थाको अनुभव, प्रगति विवरण र संस्थामा देखिएका समस्या तथा चुनौतीहरु प्रस्तुत गर्नुका साथै समस्या समाधानको लागी चालेका कदमहरु र गरेका श्रृजनात्मक कार्यहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले लघुवित्त सम्बन्धी नेपाल राष्ट्र बैंकको नीति नियम, निर्देशन, संस्थागत सुशासन आदिको बारेमा गहन प्रस्तुतीकरण गर्नुका साथै सहभागीहरुको जिज्ञासा समाधान गर्नु भएको थियो । साथै, उनले नेपालमा लघुवित्त क्षेत्रको विकास र प्रबद्र्धनमा नेपाल राष्ट्र बैकले शुरुदेखि नै सकारात्मक सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपाल राष्ट्र बैंकको सहयोगी भूमिका रहने बताए । गोष्ठी कार्यक्रम एक अर्काको अनुभवबाट सिक्ने हुँदा आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै जाने संस्थाले बताएकाे छ ।