
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले साझेदार लघुवित्त संस्थाहरुको सहभागितामा वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा प्रदेश नं २ र ३ मा अवस्थित १३ वटा साझेदार लघुवित्त संस्थाहरुका अध्यक्ष, संचालक सदस्य, कार्यकारी प्रमुख लगायत २३ जना उच्च पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
उक्त गोष्ठीको सभापतित्व आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले गरेका थिए । कार्यक्रमको उद्घाटनमा गोष्ठीको संयोजक तथा आरएमडीसीका वरिष्ठ प्रवन्धक अन्नपूर्ण श्रेष्ठले सहभागीहरुलाई स्वागत गरेका थिए ।
समीक्षा गोष्ठीले एक अर्कालाई चिन्ने, बुझ्ने र एक आपसमा अनुभव साटासाट गरी सिक्ने र सिकाउने अवसर दिँदै आएको संस्थाले जनाएकाे छ । साथै, यसले लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौती निराकरण गर्नमा ठुलो सहयोग पुर्याउने छ ।
उक्त समारोहमा आरएमडीसीका नायव प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले नेपालको लघुवित्त क्षेत्रको विकास र विस्तारमा आरएमडीसीको भुमिका प्रस्तुत गरेका थिए । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले कार्यक्रमको उपादेयता र यसबाट लघुवित्त क्षेत्रमा पार्ने सकारात्मक प्रभाव वारे उल्लेख गरेका थिए ।
कार्यक्रममा सबै सहभागी संस्थाहरुका प्रतिनिधीहरुले आफ्नो संस्थाको अनुभव, प्रगति विवरण र संस्थामा देखिएका समस्या तथा चुनौतीहरु प्रस्तुत गर्नुका साथै समस्या समाधानको लागी चालेका कदमहरु र गरेका श्रृजनात्मक कार्यहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले लघुवित्त सम्बन्धी नेपाल राष्ट्र बैंकको नीति नियम, निर्देशन, संस्थागत सुशासन आदिको बारेमा गहन प्रस्तुतीकरण गर्नुका साथै सहभागीहरुको जिज्ञासा समाधान गर्नु भएको थियो ।
साथै, उनले नेपालमा लघुवित्त क्षेत्रको विकास र प्रबद्र्धनमा नेपाल राष्ट्र बैकले शुरुदेखि नै सकारात्मक सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपाल राष्ट्र बैंकको सहयोगी भूमिका रहने बताए । गोष्ठी कार्यक्रम एक अर्काको अनुभवबाट सिक्ने हुँदा आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै जाने संस्थाले बताएकाे छ ।